site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक छेउका बिरुवामा छाडा चौपायाको रजाइँ, ‘ट्रि गार्ड’ भित्रैका बिरुवा हराए

काठमाडौं । ०७१ मंसिर १०–११ मा काठमाडौंमा पहिलो सार्क सम्मेलन आयोजना हुँदा काठमाडौं महानगरपालिका र नेपाल टेलिकमको सहकार्यमा माइतीघरदेखि सिनामङ्गलसम्मको सडकको बीच (डिभाइडर) र किनारमा वृक्षारोपण गरियो । 

काठमाडौं महानगरपालिकालाई हरियो बनाउने र वातावरणमा स्वच्छ हावाको प्रवाह बढाउने उद्देश्यले दुई निकायहरूबीच यस्तो सहकार्य गरिएको भए पनि त्यसरी रोपिएका बोटबिरुवाको अवस्था के छ भन्नेबारे अहिले दुवै निकाय बेखबर छन् । 

यस्तो लाग्छ, कामनपाको ‘हराभरा’ नारामै सीमित हुँदैछ अनि टेलिकमलाई पनि यतातिर फर्केर हेर्ने फुर्सद छैन । रुख रोपेर मात्र हुँदैन, तिनको संरक्षणको जिम्मा रोप्नेले नै मिलाउनुपर्छ । तर त्यतिखेर रोपिएका बिरुवाहरूको दयनीय अवस्था देख्दा यी दुई निकायको ‘उद्देश्य’ले साकार रूप पाउन सक्ने देखिँदैन । 

Argakhachi Cement Island Ad

महानगर–टेलिकम हानथाप
‘‘नेपाल टेलिकमसँग हामीले सहकार्य गरेका हौं । तर ती बिरुवाको संरक्षणको जिम्मा हामीले लिएका छैनौं,” काठमाडौं महानगरपालिकाका निर्देशक सनतकुमार थापाले बाह्रखरीसँग भने । थापाका अनुसार, बिरुवाको संरक्षणको जिम्मा नेपाल टेलिकमको हो ।

टेलिकम प्रशासनले पनि यो कुरालाई अस्वीकार गरेन । बरु आफ्नो कमजोरी ढाकछोप गर्न टेलिकमका अधिकारीहरूले प्रयास गरेको पाइयो ।
‘‘बोटबिरुवाको सुरक्षामा सर्वसाधारण पनि जिम्मेवार बन्नुपर्छ, टेलिकमको एकल प्रयास मात्रैले यसको संरक्षण सम्भव छैन,’’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् । 

‘‘पैदल यात्रुले बिरुवाका पातहरू चुँड्दै हिँड्नु र दुबोको चउरमा बसिदिनु नै बिरुवाहरूले आकार लिन नसक्नुको प्रमुख कारण हो । पैदलयात्रु तथा फुटपाथ व्यवस्थापनसँग जोडिएको यो विषय महानगरले हेर्नुपर्ने सिधै देखिन्छ,” उनको तर्क छ । 

‘ट्रि गार्ड’भित्रै छैनन् बिरुवा
निश्चय नै बिरुवाहरू बढ्न नसक्नु र टाक्सिँदै जानुमा वैद्यले बताएकै कारण जिम्मेवार हुन सक्छ । तर बिरुवा जोगाउन भनी प्रयोग गरिएका फलामे तारका ‘ट्रि गार्ड’भित्र बिरुवा नै नरहेको देख्दाचाहिँ वैद्यको मतमा पूर्ण विश्वस्त हुन सकिँदैन ।

बानेश्वर चोक बायाँतिरका दशवटा ट्रिगार्डभित्र बिरुवा नै नहुनुको कारण चाहिँ के हो ? महानगरका निर्देशक थापा भन्छन्, “बोटै नाश गर्ने किसिमको रोग र खराब नियतका व्यक्तिहरूले बिरुवाहरू डाँठैसहित उखेल्नुु यसको कारण हो । तर रोपिएका स्थानमा बिरुवा नै नहुनु अस्वाभाविक हो, यसको जिम्मा टेलिकमले लिएकाले यो प्रश्न उतै सोध्नुस् ।”

यता, टेलिकमकी प्रवक्तासँग महानगरका निर्देशकको मत मिल्दैन । टेलिकमले बिरुवाको संरक्षणको जिम्मा लिँदै आफ्नो मातहतमा रहेर काम गर्ने गरी दुई वर्षयता दुईवटा साझेदारी निकायसँग सहकार्य थालेको पनि हो । 

वैद्य भन्छिन्, ‘‘हामीले अरू निकायलाई संरक्षणको जिम्मा दिएका हौं । सुरुको एक वर्ष र पछिल्लो एक वर्ष गरी जम्मा दुई वर्ष ती कम्पनीले सन्तोषजनक काम गरेका थिए । तर केही महिनायता संरक्षणको जिम्मा लिएको अर्को कम्पनीले अपरेसन मेन्टिनेन्सको काम गरिरहेको भए पनि उसको काम प्रभावकारी नदेखिए हामी सो कम्पनीलाई आवश्यक कानुनी उपचार गर्नेछौं ।’’

वास्तवमा पछिल्लो चार महिनायता जिम्मा दिइएको नयाँ कम्पनीले कतिजना कामदार खटाएर बिरुवाको संरक्षण गरिरहेको छ, यसबारे टेलिकमलाई नै पत्तो छैन । यद्यपि मौसमी फूल र बिरुवा रोप्ने काममा टेलिकम जुटिरहेको वैद्य बताउँछिन् ।  राति, बिहान र साँझ फूल र बोटबिरुवामा सिँचाइ गर्ने काम टेलिकम मातहतबाट भइरहेको वैद्यको दाबी छ । बिरुवा भने सुकेको देखिन्छ । बुद्धनगरदेखि नयाँबानेश्वर चोकसम्म बायाँ किनाराका बिरुवाहरू सुकेर पूर्ण रूपमा मरिसकेका छन् । 

अर्को कारक छाडा चौपाया
यसरी लगाइएका बिरुवाहरूको संरक्षण हुन नसक्नुको अर्को कारण छाडा चौपाया हुन् । 

‘‘कोटेश्वर–तीनकुने आसपासका क्षेत्रमा छाडा रूपमा छोडिएका गाईवस्तुले बिरुवामा अत्यधिक समस्या देखाउने गरेका छन्,’’ महानगरका निर्देशक थापाले भने, ‘‘यसको नियन्त्रणका लागि हामीले महानगरीय प्रहरी महाशाखाको अगुवाइमा चौपाया व्यवस्थापन टोली गठन गरेका छौं, यसले छाडा चौपायाको नियन्त्रणमा प्रभावकारी काम गरिरहेको छ ।’’ 

‘प्रभावकारी’ भनिए पनि सो टोलीको काम त्यति उत्कृष्ट देखिँदैन । तस्बिरमा देखिएका चौपायाहरूले नै यस कुराको पुष्टि गर्छन् । धार्मिक आस्था र परम्पराअनुसार मानिसहरूले सडकमा छोड्ने गरेका चौपायाहरूले बिरुवा भाँच्ने र हाँगा लुछ्ने गरेको पाइएको छ ।    
 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७३  १२:३८
प्रतिक्रिया दिनुहोस्