फाइदाको व्यापार गर्छु भनेर मोदी र जयशंकर मिलेर नाकाबन्दीको चिठ्ठा खोले । त्यो थाहा पाउनासाथ ओलीले राष्ट्रवाद, आत्मनिर्भरता र विकासका अंक मिलाएर त्यही चिठ्ठा किने । उनलाई उनले सोचेभन्दा पनि धेरै ‘ज्याकपट’ नै पर्यो ।
हो, ओलीको सत्ता आरोहणको यात्रा बारेमा सामान्य जनताले पनि बुझ्न सक्ने वास्तविकता यही नै हो । नाकाबन्दी लगाएकोमा ओलीले सबभन्दा धेरै धन्यवाद मोदीलाई नै दिनुपर्छ । उनी त सायद अझै पनि चाहँदा हुन् भारतले अर्को त्यस्तै नाकाबन्दी लगाओस् ता कि आफ्नो खोक्रो राष्ट्रवादलाई फेरि रंगरोगन लगाएर ठूलो स्वरले प्रचार गर्दै नेपाली जनतालाई अरू दुईचार वर्ष भुलाउन पाइयोस् ।
ओली र तत्कालीन नेकपा (एमाले)लाई नाकाबन्दीको चिट्ठा नै परेको हो भन्न दुईपटक सोच्नु पर्दैन । खरो बोल्न सक्ने र उच्च राजनीतिक आकांक्षा भएका ओलीले नाकाबन्दीको निकै राम्रो उपयोग गरे । भारतमा पाकिस्तानलाई गाली गरेपछि राष्ट्रवादी हुने गरेजस्तै नेपालमा पनि भारतलाई गाली गरेपछि अधिकांश पहाडियाको जमातमा राष्ट्रवादी हुन अरू केही गर्नै पर्दैन ।
त्यो कुरा राम्रोसँग बुझेका ओलीले त्यसैको फाइदा उठाएर चर्को राष्ट्रवादको प्रचार गरे । त्यसमा अझ टेवा पुर्यायो उनले जनता माझ बाँडेका सपना र उच्च ‘भिजन’हरूले । पहिलेका नेताबाट त्यस्ता कुनै उच्च ‘भिजन’ सुन्न नपाएका नेपाली उनका तिनै ठूला कुराबाट निकै उत्साहित बने । जोसको बेला होस हुँदैन भनेजस्तै नेपाली जनताले पनि नाकाबन्दीको विरोधमा निस्केको जोसको बेला ओलीका हावाबाट बिजुली निकाल्ने, घरघरमा छिट्टै ग्यास पाइप जोडेर खाना पकाउने, नेपालको झन्डा अंकित पानी जहाज आफैँले समुद्रमा चलाएर आफ्नो व्यापार आफैँ गर्नेजस्ता सपना पत्याए । वास्तविक धरातलीय यथार्थमा गएर त्यसलाई विश्लेषण गर्ने र त्यसको सम्भावना कति छ भनेर बुझ्ने प्रयास कसैफे गरेनन् ।
कसैले गरेकै भए पनि त्यतिबेलाको भारत विरोधी वातावरणले ती ‘भिजन’लाई सपनामात्र मानेर हावा गफको संज्ञा दिनेलाई देशद्रोहीको भनिने थियो । त्यसैले त्यो ‘देशद्रोही’ बन्ने हिम्मत कसैमा आएन । ओलीको हावा गफमा आफ्ना पंखहरु फिँजाएर हामीर उनको नेतृत्वमा भारतसँगको परनिर्भरता पूरै हटेर आत्मनिर्भर हुनेछौं भन्ने सुन्दर सपनामै उडिरह्यौं ।
वास्तवमा उनले भनेजस्तो सबै काम गरेर देखाएको भए ओलीको त्यो ‘भिजन’ गलत थिएन । अथवा, सत्तामा पुग्नासाथ संयमित भएर व्यवस्थित र क्रमबद्धरूपमा विकासका योजना ल्याएर तिनलाई पूरा गर्दै गएको भए पनि जनताले उनका विचार, उनका ‘भिजन’लाई सम्मान गर्थे । तर, सत्तामा पुगेपछि पनि न त उनले हावा गफ दिन छोडे न त कुनै वास्तविक ‘भिजन’ भएको नेताले गर्नेजस्तो काम नै गरेर देखाए । कतिसम्म भने पानी जहाजको कार्यालयसमेत खोलेर त्यसलाई आफैँ उद्घाटन गरेर जनतालाई मूर्ख बनाउने कोसिस गरे । जनताले त्यतिसम्म पनि बुझ्दैनन् भनेर जनतालाई साच्चै नै भेँडा नै हुन् यिनलाई जे गरे पनि हुन्छ भन्ने सन्देश दिए । ती सबै देख्दा नाकाबन्दीका बेलाको ओलीको त्यो राष्ट्रवाद सत्ता आरोहणको लागि प्रयोग भएको अश्त्र मात्रै रहेछ भन्ने पुष्टि भयो । ओलीको हावा गफमा आफ्ना पंख फिंजाएर सपनामा उडेका जनता अहिले पखेटा भाँचिएर भुइँमा लडेका पंक्षीजस्ता भएका छन् ।
भारतको नाकाबन्दी, नेपाली कांग्रेससहित अन्य दलको नालायक नेतृत्व, नेतालाई भगवानजस्तै मान्ने नेकपाका कर्मठ कार्यकर्ता तथा मदन भण्डारी र मनमोहन अधिकारीको नाम बेचेपछि चुनाव जित्न नेकपाका नेताले खासै मेहेनत गर्नु परेन । त्यसैले त्यो उनीहरुको लागि चिट्ठा परे सरह नै थियो ।
चिट्ठामा पाएको पुरस्कार जहिले पनि आफूले पसिना बगाएर आर्जन गरेको धन जस्तो प्यारो हुँदैन । त्यसैले धेरै मानिसले त्यसको दुरूपयोग गर्छन् । चिट्ठा परेको धन जथाभावी खर्च गर्छन् । खानपिन, घुमफिर, मोजमस्तीमा सबै धन रित्याउँछन् । अनि पछि पुन: आफ्नो वास्तविक स्थितिमा पुगेपछि पछुतो मान्छन् । तर, त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ ।
चिट्ठाबाट नै पाएको भए पनि त्यसलाई राम्रोसँग सदुपयोग गर्न सक्यो भने त्यसले राम्रो प्रतिफल दिन्छ । अहिले ओली सरकारको कार्य शैली हेर्दा सत्ता चिट्ठामा पाएजस्तै गरी चलाइरहेको देखिन्छ । आफूले दु:ख गरेर आर्जन गरेर पाएको सत्ता भए पो त्यसको महत्त्व बुझ्नु, त्यसलाई मान सम्मान गर्नु ? चिट्ठामा पाएको सत्तामा अहिले मोजमस्ती नगरे कहिले गर्ने ? यही सोचाइ देखिन्छ अधिकांश मन्त्री, सांसद र जनप्रतिनिधिमा ।
अलिकति पनि राम्रा काम नभएका होइनन् । केही राम्रा काम पनि भएका छन् । तर, कुशासन, दण्डहीनता, भ्रष्टाचारले सीमा नाघेको अवस्थामा ती केही राम्रा काम छायामा परे । विलासिता, नातावाद र अन्याय अहिलेको सरकारका विशेषगुण बनेका छन् । दुर्गमका जनता सिटामोल पनि खान नपाएर मर्ने अवस्था छ तर उच्च सरकारी पदाधिकारी विदेशमा उपचार गर्न व्यस्त छन् । अझ प्रदेश ५ ले त एक कदम अगाडि बढेर प्रदेशका मन्त्रीको विदेशमा भएको सबै स्वास्थ्य खर्च पनि सरकारले बेहोर्ने गरी कानुन ल्याउन लागेको सुनिएको छ । त्यतिमात्र होइन प्रदेश ५ ले नै जनप्रतिनिधिलाई दोहोरो सुविधा उपलब्ध गराउँदै छ भन्ने समाचार पनि आएको छ । विनासंकोच जनप्रतिनिधिले लुटतन्त्र मच्चाएका छन् । ओलीले कुर्लेको राष्ट्रवाद, विकास, आत्मनिर्भरताका लागि यसभन्दा राम्रो व्यंग्य के हुन सक्ला र ?
अर्को चुनाव आउन अझै लगभग तीन वर्ष बाँकी नै हुँदा ओली र उनका आसेपासेको अझै पनि बुद्धी नपलाएर उनीहरूले सोझा नेपालीले गरेको विश्वाशमा घात गरेर सत्तालाई चिठ्ठाबाट पाएको धनजस्तै दुरुपयोग गरिरहे भने अर्को चुनावमा खोक्रो राष्ट्रवादको नम्बरले फेरि सत्ताको चिट्ठा नपर्ने निश्चितै छ । अब बाँकी तीन वर्ष पनि लुटतन्त्रमै रमाउने कि आफ्ना ‘भिजन’ हरूलाई मूर्तरूप दिनेतर्फ लाग्ने भन्ने गम्भीर प्रश्न नेकपा र ओलीसामु खडा भएको छ ।