काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगका विभिन्न नकारात्मक परिणामहरु देखिइरहेका छन् । सामाजिक सञ्जालको लतले मानिसमा मानसिक तनाव बढ्दै गएको मनोचिकित्सकहरु बताइरहेका छन् । यसको लतले मानिसहरुलाई यति धेरै गाँजिसक्यो की मानिसहरु सामाजिक जीवन भुलेर भर्चुअल जिन्दगीमै रमाउन थालिसकेका छन् ।
भर्चुअल र रियल संसार अनि किशोर मनोविज्ञानलाई समेटेर बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘गुम्फन’ मञ्चन भैरहेको छ ।
नाटकका पात्रहरु एलिना र आयान ‘अनलाइन गार्डेन’मा रमाउन थाल्छन् वास्तविक जिन्दगी भुलेर । वास्तविक जिन्दगीमा भने उनीहरु निराश, लक्ष्यविहीन, सामाजिक र पारिवारिक सम्बन्धबाट आजित र मनोरोगका सिकार हुन्छन् । आयान न त आफ्नो बुवासँग बसेर कहिले गफ गर्ने पर्छन् न त कलेजमा साथीहरुसँग नै खुलेर बोल्ने र जिस्किने गर्छन् । सधैं झर्किने अनि रुखो व्यवहार देखाउने गर्छन् आफ्नो गुरु र बुवालाई ।
‘अनलाइन गार्डेन’ मा भने उनले बिलकुलै फरक परिचय बनाएका छन् । शान्त, नम्र, आदर्शवादी अनि विवेकशील ‘डार्क फ्लो’ को नामले परिचित छन् । यस्तै एलिना पनि जिन्दगीमा केही लक्ष्य नभएकी, आफ्नो शारीरिक बनावटलाई लिएर निकै निराश रहने गर्छिन् रियल लाइफमा ।
एलिनाको ठिक विपरीत उसको मिल्ने साथी ज्यास्मिन भने भविष्यको निश्चित लक्ष्य भएकी र शारीरिक बनावटले पनि ‘पर्फेक्ट’ र प्रेममा रमाइरहेकी छिन् ।
ज्यास्मिन अनलाइनको दुनियाँ र वास्तविक दुनियाँलाई समानान्तर रुपमा अघि बढाउन माहिर छिन् । एलिना भने आफ्नो मोटोपनलाई लिएर तनावमा हुन्छिन् र हर क्षण ‘स्लिम’ बन्ने प्रयासमा छिन् ।
सधैं गुनासो रहने उनको मोटोपन । उनी ‘गार्डेन’मा जान थालेपछि भने त्यसले केही फरक नै पार्दैन उनलाई । ज्यास्मिनको अकाउन्टबाट एकदिन लुकेर अनलाइन गार्डेनमा गएकी एलिना अन्ततः त्यसमै हराउन थाल्छिन् ।
एलिनाले गार्डेनमा आफ्नो वास्वतिक परिचय लुकाएरै रमाइरहेकी हुन्छिन् आयानजस्तै । तर वास्तविक जिन्दगीमा भने उनीहरु एउटै कक्षाका तर कहिले नबोलेका साथीहरु हुन्छन् ।
भर्चुअल संसारमा कसैले पनि कसैको वास्तविकता प्रस्तुत गर्दैनन् । उनीहरु आफ्नो कुराहरु पोख्न स्वतन्त्र हुन्छन् । यति स्वतन्त्र की उनीहरुका लागि उच्छृङ्खल संवाद पनि सामान्य नै लाग्छ
भर्चुअल संसारमा आफ्नो वास्तविक परिचय लुकाएर रमाइरहेका आयान र एलिनाले के कहिल्यै पनि एकअर्काको वास्तविक परिचय थाहा पाउँदैनन् त ? के गार्डेनले उनीहरुमा रहेको तनाव र निराशा साँच्चै दूर गर्दिन्छ त ? या अझै बढाइदिन्छ ?
यी सबै कुरा थाहा पाउनको लागि भने नाटक नै हेर्नुपर्ने हुन्छ ।
नाटकका राम्रो पक्ष
मञ्चमा प्रयोग गरिएका कृत्रिम बत्ती र कोरसको प्रयोगले नाटकलाई अझै जिवन्त र दर्शकलाई नाटकमा बाधिँराख्न मद्दत गरेको छ । राजनीतिक व्यंग्यमा आधारित नाटक निर्देशन गरिरहेका निर्देशक दिलीप रानाभाट अहिलेको किशोरकिशोरीको मनोभाव र परिवेशलाई दुरुस्तै उतार्न सफल भएका छन् ।
सुधार्नुपर्ने पक्ष
‘सिंहदरबारको टेन्डर’ र ‘झिमिकझिमिक झ्याप्प’ नाटक निर्देशन गरिसकेका निर्देशक रानाभाट तेस्रो नाटकमा आउँदा पनि केही कुरामा अझै चुकेको लाग्छ । नाटक हेर्दै जाँदा कतिपय दृश्यहरु कसरी घटित भए भनेर दर्शक अलमलिन सक्छन् । तर, समग्रमा तेस्रो निर्देशनमा यतिको परिपक्वतालाई नकार्न भने मिल्दैन ।
थिएटर भिलेजको नाटक परिवारले मञ्चन गरिरहेको ‘गुम्फन’ मंगलबार बाहेक भदौ २९ गतेसम्म हरेक दिन मञ्चन हुनेछ ।
एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’ बाट प्रभावित यस नाटकलाई नेली केइनानेन र लिया अब्सेसले अंग्रेजीमा अनुवाद गरी ‘फलिङ’ बनाए । सोही ‘फलिङ’ लाई जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन् ।
निर्देशक दिलिप रानाभाटले नाटकका कतिपय कुराहरु आफैंसँग पनि मिल्ने र अहिलेको सामाजिक सञ्जालको बढ्दो लोकप्रियतामा यो नाटक उचित हुने देखेर ‘गुम्फन’ निर्देशन गरेको बताए । “अहिले हामी भर्चुअल वर्ल्ड र रियल वर्ल्डको मझधारमा छौं । राजनीतिक व्यंग्यात्मक नाटक बनाइरहँदा युवा पुस्तासँग काम पनि गरौं र युवा दर्शकलाई उनीहरुकै कथा भनेर नाटक हेर्न अझै आकर्षित पनि गरौं भन्ने सोच आएर गुम्फन निर्देशन गरेको हुँ,” रानाभाटले भने ।
नाटकमा अद्वेत अकेला, अभिषेक गैरे, आयुष्ना गिरी, इस्टु कार्की, एचके अधिकारी, गुगल लामा, मदन सुवेदी, प्रमोद खड्का, पिबिएम रिदम र संगीता थापाको अभिनय रहेको छ ।
तस्बिरहरूः सरिता खड्का