site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख महरा र आइरिस समकक्षी सेनबीच भेटवार्ता

दाङ । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।  सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका समकक्षी आइरिस सभामुख सेनसँग आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धकाबारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको सभामुखको प्रेस सल्लाहकार डिल्ली मल्लले जाकारी गराएका छन । 

Argakhachi Cement Island Ad

त्यस अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलको नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउँदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानून निर्माणमा मुख्य जोड दिएको वताए ।  

"नेपालको संघीय संसद सबै वर्ग, लिङ्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ," सभामुख महराले भने , "देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरु चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं ।"

नेपालको पर्यटन प्रबर्द्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको बताउँदै सभामुख महराले नेपाल भ्रमणका लागि आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन पनि समकक्षी सेनसँग अनुरोध गरेको सभामुखको प्रेस सल्लाहकार मल्लले जाकारी गराए ।  
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्