हालै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना कार्यकर्तालाई एउटा ऊर्दी जारी गर्यो - ‘दल र नेतृत्वप्रति कुनै पनि कार्यकर्ताले नकारात्मक टिप्पणी गर्न पाउने छैनन् ।’ लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भएर देशकै सरकारको नेतृत्व गरिरहेको दलले नै कार्यकर्ताको वाक् स्वतन्त्रतामा अंकुश लगाउने ऊर्दी जारी गर्नु हास्यास्पदमात्रै हैन, लोकत्रन्त्रको उपहास पनि हो । विडम्बना, आफ्नो दल र नेतालाई कसैले अलिकति पनि दुर्वाच्य बोल्यो भने आकाशै घन्किने गरी ठूलो स्वरमा ऊमाथि जाइलाग्ने ती कार्यकर्ता अहिले आफ्नो आवाज बन्द गरिदिने त्यो ऊर्दी जारी हुँदा भने चुइक्कसमेत गरेका छैनन् ।
सायद, नेकपाका नेताहरुलाई सरकारले काम गर्न नसकेकोले अब जनतामात्र हैन आफ्नै कार्यकर्ता पनि निराश भएका छन् र उनीहरु अब बोल्न थाल्नेछन् भन्ने पहिले नै थाहा थियो होला । त्यसैले ती सम्भावित विरोधका आवाजलाई दबाउन त्यसभन्दा पहिले नै उनीहरुमाथि अंकुश लगाउनु बेस हुन्छ भनेर नेतृत्वले त्यसो गरेको हुन सक्छ ।
बोलुन् पनि कसरी विचरा, जो नेतृत्वका दास हुन् । राजतन्त्रका समर्थकले केही बोल्दा तिनलाई ‘निरङ्कुश दासतामा बाँच्न चाहनेहरु’ भनेर ठूलोठूलो स्वरमा आरोप लगाउनेहरुले अहिले वास्ताविक दासता थोपर्ने को रहेछ र वास्तविक दासतामा बस्न रुचाउने को रहेछ भनेर आफैँ प्रमाणित गरेर देखाएका छन् ।
स्वभावत: कम्युनिस्टहरु आफ्नो विरोध सहन सक्दैनन् । त्यसको मूल कारण हो- उनीहरु आफ्नो शाशन र कार्यशैलीमा आफैँ विश्वस्त हुँदैनन् । उनीहरूलाई थाहा हुन्छ तिनको शासनमा जनता पिल्सिएका हुन्छन् र सत्ताको विरोधमा बोल्न चाहन्छन् । तर, कसैले विरोध सरु गरेमा त्यो विरोधको आगो अनियन्त्रितरूपमा फैलँदै जान्छ र आफ्नो सत्ता तथा शक्ति गुम्छ भनेर पहिले नै विरोधका स्वरलाई बन्द गरिदिएका हुन्छन् । त्यति गर्दा पनि कोही विरोधमा उत्रिहाल्यो भने तिनले विरोधीलाई गद्दारको आरोप लगाएर पन्छाउँछन् । त्यही काम अहिले नेकपामा हुन लागेको स्पष्टै देख्न सकिन्छ । नेतृत्वको कार्यकर्तालाई स्पष्ट सन्देश छ - ‘तिमीहरूलाई हाम्रो दास बनेर बस्न मन्जुर छ भने यहाँ तिमीहरुलाई स्वागत छ तर विरोधका आवाज निकाल्नेलाई यहाँ कुनै स्थान छैन ।’
आफ्नो नेतृत्वले आफूलाई ‘अरिंगाल’ जस्तो छुद्र उपमा दिँदा पनि त्यसलाई शिरोधार्य गर्दै आफ्ना विरोधीमाथि अरिंगाल सरी नै जाइलाग्ने ती कार्यकर्ताको हैसियत आफ्नो दलभित्र चाहिँ झिंगा जत्तिको पनि रहेनछ भन्ने त्यस उर्दीले र त्यसपछि कार्यकर्ताको मौनले देखाएको छ ।
नेतृत्वले जे मन लाग्यो त्यही बोले पनि त्यसको बचावट गर्ने कार्यकर्ता आफ्नो मुखमा पट्टी लाग्दा कस्तो अनुभव गरेका होलान् ? आफूले कहिले उखान टुक्का, कहिले हावादारी कुरा, कहिले विपक्षीलाई तुच्छ शब्द प्रयोग गर्ने तर कार्यकर्तालाई चाहिँ नराम्रो कामको विरोधमा बोल्नसमेत अंकुश लगाउने कस्तो निरंकुशता हो ?
देशमा लोकतन्त्र स्थापना गर्न योगदान दिने नेकपाका ती लाखौं कार्यकर्ता अहिले दयाका पात्र बनेका छन् । के के न पाउँलाजस्तो गरेर ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएका ती कार्यकर्ता अहिले नेतृत्वले जे गरे पनि अमुक बस्न बाध्य हुनको लागि हो ? कार्यकर्ताले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।
नेकपाका ती अमुक कार्यकर्तालाई प्रश्न छ - तपाईँहरू नेतृत्वको अरिंगालमात्र भएर त्यही तानाशाही नेतृत्वको गुनगानमात्र गाउँदै बस्नु हुन्छ कि देश र जनता अनि आफ्नै स्वतन्त्रताको लागि पनि अन्याय, अत्याचार र कुशासनविरुद्ध आवाज उठाउने आँट गर्नुहुन्छ ? छातीमा हात राखेर नेपाल आमाको कसम खाएर भन्नुस् त - के नेकपाको सरकारले जति गर्नुपर्थ्यो, जति गर्न सक्थ्यो त्यसको २५ प्रतिशत काम पनि गरेको छ ? के तपाईँहरुले गर्नुभएको अपेक्षा पूरा गर्नेतिर नेतृत्वले कदम चालेको देखिन्छ ? के जनता तपाईँहरुको दल र नेताहरुको शासनबाट खुसी र सन्तुष्ट छन् ? के संसद्मा दुई तिहाइ बहुमत पाएको बलियो सरकारले देखाउने पारा यही हो ? के देशमा भ्रष्टाचार पहिलेभन्दा झन् मौलाएको छैन ? नेताहरू त काठमाडौँमा बसेर अरु तीन वर्ष मोज गर्लान्, जनताको अगाडि गएर सरकारले गरेको कुकर्मको गाथा सुन्ने र जनताको गाली खाने त तपाईँहरुले नै हो । अब तपाईँहरु आफैँ सोच्नुस् त्यस्तो भ्रस्टाचार, अन्याय र अत्याचारको पर्याय भइसकेको सरकारको र त्यसको नेतृत्व गर्ने दल एवं त्यसका नेताको विरोधमा तपाईँहरु पनि बोल्नु पर्ने कि नपर्ने ?
'सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ' भने झैं आज आफ्ना कार्यकर्ताको मुखमा पट्टी लगाउन आदेश दिन सक्नेहरूले भोलि सम्पूर्ण जनतालाई पनि यस्तै आदेश दिँदैनन् भन्ने के आधार छ र ? त्यसै पनि विभिन्न तरिका अपनाएर जनताको वाक् स्वतन्त्रतामाथि समय समयमा प्रहार हुँदै आई नै रहेको छ । त्यसैले यो लोकतन्त्रको उपहास र तानाशाही प्रवृत्ति विरुद्ध नेकपाका अरिंगालहरू मौन रहे पनि, उनीहरुले नेतृत्वको अलोकतान्त्रिक र तानाशाही कदमको विरोधमा बोल्ने आँट नगरे पनि उनीहरूलगायत सम्पूर्ण नेपालीको हितका लागि सबैले समयमै यस प्रवृत्तिको विरोधमा आवाज उठाउन जरुरी छ ।