दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले हातपात गरेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक कार्यालयमा ताला लगाउन गएका उनीहरुले रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई हातपात गरेका हुन । उपकुलपति संगिता भण्डारीले पत्रकारहरुसमेत आएर कार्यालयमा तोडफोड गरेको र रजिष्ट्रारलाई दुर्व्यवहार गरेको भन्दै दुखेसो पोखिन ।
उनले सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको जानकारी गराइन । उनले विकीरण गौतम, विवेक श्रेष्ठ, सविन प्रियासन, नविन अभिलासीलगायत विरुद्ध किटानी जाहेरी दिएको बताइन ।
प्रियासन नेपाल पत्रकार महासंघ दाङका सभापति हुन् भने अभिलासी पत्रकार हुन । गौतम स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानका संयोजक हुन भने श्रेष्ठ नेकपा दाङका कार्यकर्ता हुन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर उजुरी आएको पुस्टि गरेका छन । सीसीटीभी फुटेजमा हेर्दा रजिष्ट्रारलाई विवेक श्रेष्ठले घोक्राएर भुइँमा लडाएको देखिन्छ । प्याकुरेलको हातमा चोट लागेको छ । वुलुका ८ वजे सामान्य उपचारपछि आराम गरिरहेका छन् ।
उपकुलपतिको राजीनामा अभियानको मुख्य माग हो । तर, उपकुलपति भण्डारीले राजीनामा नदिने अडान लिँदै आएकी छन् ।