
काठमाडौं । पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेका चारजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८, तोरेपानीबाट उडेको दुईवटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भइ फेवातालको बीच भागमा खसेको सशस्त्रका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालीका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरूलाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाइ प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी छन् ।