site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्य तथा संस्कृतिमा योगदान पुर्‍याएका डा. टिएन जोशी सम्मानित 

काठमाडौं । धनगढी उपमहानगरपालिकाले गौरापर्वको अवसर पारेर आयोजना गरेको बहत् डेउडा प्रतियोगिता समापन समारोहमा वरिष्ठ पत्रकार उपप्राध्यापक डा. टी एन जोशीलाई सम्मानित भएका छन् ।

सुदूरपश्चिमको लोक संस्कृतिमा विद्यावारिधि गरेका जोशीले भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि सम्मानित गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समारोहमा धनगढी उपमहानगरपालिकाकी कार्यबाहक नगरप्रमुख तथा न्यायिक समिति संयोजक सुशीला मिश्रले जोशीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । सो अवसरमा बोल्दै कार्यबाहक नगरप्रमुख मिश्रले धनगढी उपमहानगरपालिकाले सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण योजना बनाएको बताइन् ।

सम्मानित व्यक्तित्व डा. जोशीले संस्कृतिको संरक्षण बिना सामाजिक समृद्धि असम्भव भएको बताउँदै सुदूरपश्चिम लोकसाहित्य र संस्कृतिको भण्डार भएको बताए । उनले नगरपालिकाले लोक संस्कृति संरक्षणका क्षेत्रमा गरेको कार्य प्रशंसनीय भएको बताए । सम्मानले थप जिम्मेबारी बोध भएको समेत उनले बताए । 

समारोहमा प्राज्ञ नरेन्द्रराज रेग्मी, लोक गायक सुरत रावत डोटेली कान्छा, साहित्यकार हेमन्ती जोशी र शिक्षिका साबित्री जोशीलाई समेत उपमहानगरपालिकाले सम्मानित गरेको छ ।

यसैबीच धनगढी उपमहानगरपालिकाले आयोजना गरेको लैंगिक हिंसा बिरूद्ध डेउडा प्रतियोगिता आज सम्पन्न भएको छ । दुई दिन चलेको प्रतियोगितामा धनगढी वडा नं १२, ११ र २ का महिला समूह क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् । विजयीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा १० ओटा महिला समूह सहभागी भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १९:०१
प्रतिक्रिया दिनुहोस्