दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले करार सेवाका नौजना मेडिकल कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ ।
प्रतिष्ठानमा कार्यरत सरकारी सेवाका १२ जना डाक्टरलाई पनि काममा फर्किन आग्रह गर्दै नफर्किने भए बुझबुझारथ गर्न निर्देशन दिएको छ । प्रतिष्ठानका रजिष्ट्रार राम प्रसाद प्याकुर्यालका अनुसार प्रतिष्ठानमा सरकारी सेवाका डाक्टरहरुले करार सेवाका डाक्टरहरुको आन्दोलनलाई नैतिक समर्थन गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेका कारण काममा नफर्किने भए बुझबुझारथ गर्न भनिएको हो ।
प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीलगायत पदाधिकारीले पटक-पटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै डाक्टरहरु आन्दोलित भएका थिए ।
प्रतिष्ठानका रजिष्ट्रार प्याकुर्यालका अनुसार रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ भने समान प्रकारका स्वास्थ्य संस्थामा सहयोग माग गरिएको छ ।
प्रतिष्ठानले सामूहिक राजीनामा दिएका भनिएका चिकित्सकहरुलाई औपचारिकरुपमा प्रतिष्ठानमा राजीनामा पेश गर्न भनेपछि इमेलमार्फत राजीनामा आएको रजिष्ट्रार प्याकुर्यालको भनाइ छ ।
प्रतिष्ठानले शनिबार सूचना जारी गरी काम गर्न इच्छुक नभए राजीनामा दिन सकिने तर सेवा बन्द गरेर अस्पतालको सेवा प्रभावित बनाउन नपाइने जनाएको थियो ।
यससँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरुको संख्या चार छ । आइतबार दिउँसो चिकित्सकहरुको राजीनामा स्वीकृत भएपछि प्रतिष्ठानको सेवा थप अन्योलमा परेको छ ।