अहिले पत्रकार रवि लामिछानेको गिरफ्तारीले सामाजिक सञ्जालमात्रै हैन सडक र संसद् पनि तातेको छ । उनका समर्थक र विरोधीलाई आआफ्नो औकात देखाउने राम्रो मौका मिलेको छ । एकातर्फ रवि र उनका समर्थकलाई तह लगाउने र उनले आफूसँग गरेको व्यवहारको बदला लिने यही बेला हो भनेर उनका विरोधी लागेका छन् भने अर्कोतर्फ रविका समर्थक सडकबाटै उनलाई निर्दोष साबित गर्न प्रहरी, न्यायालय र सरकारलाई दबाबमात्र हैन चेतावनीसमेत दिँदै गरेका देखिन्छन् ।
नेपालमा अहिले कानुनी प्रक्रियाभन्दा सडकबाटै होहल्ला गरेर, दबाब दिएर चाहेजस्तो फैसला गराउन सकिन्छ भन्ने मनोवृत्ति फैलँदै गएको छ । रवि प्रकरण त प्रतिनिधि उदाहरणमात्रै हो । भिडको हल्ला र दबाबले आफ्नो पक्षमा फैसला गर्ने गराउने गराउने काम धेरै पहिले नै सरु भएको हो र अहिले पनि जारी छ । नेपालमा मात्रै हैन कानुनी राज्य स्थापित नभएको र भ्रष्ट कर्मचारी र नेता कुर्सीमा पुगेका अधिकांश गरिब र अशिक्षित देशमा सडकबाट भिडले फैसला गर्नु स्वाभाविक आवश्यकता हुनपुगेको छ । सोझो र सभ्य तरिकाले माग राख्दा कसैले नसुन्ने भएकाले जनतालाई सडकमा निम्त्याएर भिडको फैसला गर्न गराउन बाध्य पार्ने काम सरकार, प्रशासन र न्यायालयले गरेका हुन् । सरकार र प्रहरीले जनताको विश्वास जित्न सकेको भए न त रविहरू जन्मिन्थे, न त उनका यति धेरै समर्थक हुन्थे । न ती समर्थकले सडक तताउनै पर्थ्यो । प्रहरी, अदालत र नेताप्रति जनताको विश्वास भए सबै कानुनी प्रक्रियामा जान्थ्यो । अनि जे फैसला भए पनि स्वीकार्य हुन्थ्यो ।
प्रजातन्त्रको पुन:स्थापनापछि राजनीतिक दल र नेताले प्रहरी, प्रशासन र न्यायालयलाई बति धेरै राजनीतिकरण गरेका छन् भने त्यहाँ जनताका सेवकभन्दा तिनै दल र नेताका सेवक धेरै छन् । जनतालाई प्रहरीले सहयोग गर्छ, न्यायालयले निष्पक्ष न्याय दिन्छ भन्नेमा विश्वास छैन । सरकारको काममा जनतालाई भरोसा छैन ।
भिडतन्त्रले कसैको भलो गर्दैन । त्यसको गतिलो उदाहरण निर्मला पन्त बलात्कार र हत्या काण्ड हो । बलात्कार र हत्या हुनेबित्तिकै घटनालाई गम्भीररूपमा लिएर निष्पक्ष छानबिन गरेको भए सायद हत्याराको पहिचान भइसक्थ्यो होला । तर, अन्य कतिपय मामलामा जस्तै प्रहरी प्रशासनले यसलाई पनि गम्भीरतापूर्वक लिएन । जनताले न्याय खोज्न सडक तताउनु पर्यो । न्यायको लागि भिडको सहायता लिनुपर्दा अनाहकमा एक जनाको ज्यान पनि गयो । अनि अर्का एकजनाले अपाङ्गता लिएर बस्नु परेको छ । प्रहरीले आफ्नो साखमात्रै गुमाएन सरकारको विश्वसनियतामा जनताले औँला ठड्याए । निर्मलाका परिवारले पनि न्याय पाएनन् ।
अराजकताको राजनीतिले नेपाली समाजमा गहिरो जरो गाडेर बसेको छ । यसलाई जरैदेखि उखेलेर फाल्न निकै कठिन छ । यो अराजकाताको राजनीति जसरी बिस्तारै जरा गाडेर बलियो हुँदैगयो यसको जरा सुकाउन र विष वृक्षलाई ढाल्न सायद त्यति नै समय लाग्नेछ ।
निर्वाचनपिछ बनेको स्थिर सरकारलाई त्यो अराजकता र अनैतिकताको विष वृक्ष उखेलेर फाल्ने निकै राम्रो अवसर थियो । तर, त्यो अवसरको सदुपयोग गर्नुको साटो बहुमतको अहंकारमा दुरूपयोग गरिरहेको छ । त्यसैले पनि अराजकताको विष वृक्षको जरा सुक्नुको साटो झाँगिदै गएका हुन् ।
अझै पनि सबै बिग्रिसकेको छैन । समयले अहिले सरकार,राजनीतिक दल, प्रहरी र न्यायालयलाई रवि प्रकरणको रूपमा आफ्नो छवि सुधार्ने मौका दिएको छ । रवि दोषी छन् या निर्दोष छन् त्यो अर्को पाटो हो तर निष्पक्ष छानबिन गरेर प्रमाणसहित दोषीलाई दोषी र निर्दोषलाई निर्दोष साबित गरेर जनताको मन जित्न सके भिडले फैसला गर्ने क्रम कम हुँदै जानेछ । अनि अराजकता कम भएर नेपाल कानुनी राज्यतर्फ उन्मुख हुनेछ ।