site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगु नियन्त्रणमा वर्षेनी करोडौं खर्च, बिरामीको संख्या भने हरेक वर्ष बढ्दै

काठमाडौं । सरकारले डेंगु रोग नियन्त्रण तथा रोकथाम लागि हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर वर्षेनी डेंगुका बिरामीहरु बढिरहेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ । 

चालु आर्थिक २०७६-०७७ वर्षमा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न ८५ वटा पालिकामा एक करोड ६६ लाख रुपैयाँ खोजी तथा नष्ट गर्ने अभियान सञ्चालनका लागि रकम विनियोजन गरिएको छ । केन्द्रमा यस रोग नियन्त्रणका लागि एक करोड ७१ लाख बजेट विनियोजन गरिएको महाशाखाले जनाएको छ । 

आर्थिक वर्ष २०७५-०७६ महाशाखाको गत साउन २४ गतेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी डेंगुको संक्रमणको १ नम्बर प्रदेश देखिएको छ । जसमा तीन हजार एक सय ५२ जनामा डेंगु देखिएको छ । 

प्रदेश २ मा गत साउन २४ गतेसम्म १२ जनामा डेंगु देखिएको छ । प्रदेश ३ मा एक सय २६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश ५ मा ९६ जना, कर्णाली प्रदेशमा १ जना, सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जनाएको छ । सातै प्रदेशमा कुल तीन हजार चार सय २५ जनामा डेंगु देखिएको छ । 

आर्थिक वर्ष २०७४-०७५ मा तथ्यांक हेर्दा सातै प्रदेशमा कुल आठ सय ११ जनामा डेंगु देखिएको थियो । आर्थिक वर्ष २०७३-०७४ मा दुई हजार एक सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो भने आर्थिक वर्ष आर्थिक वर्ष २०७२-०७३ एक हजार पाँच सय २७ जनामा डेंगुको संक्रमण देखिएको थियो । महाशाखाले सार्वजनिक गरेको ६ वर्षको तथ्यांक हेर्दा अहिलेसम्मको सबैभन्दा बढी आर्थिक वर्ष २०७५-०७६ मा देखिएको छ । 

गत आर्थिक वर्ष २०७५-०७६ मा ७ करोड ९३ लाख रकम डेंगु नियन्त्रणमा खर्च गरेको छ । जसमा केन्द्रीय सरकार अन्तर्गत एक करोड २० लाख, सातै प्रदेशमा चार करोड ८३ लाख र स्थानीय तहहरुमा एक करोड ९० लाख विनियोजन गरिएको थियो । पाँच वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु पाँच वर्षको बीचमा ५६ जिल्लामा देखा परिसकेको महाशाखाले जनाएको छ । 

हरेक वर्ष डेंगुका विरामीहरु घट्नुका साटो बढ्दै गएको महाशाखाका निर्देशक डा.विवेक लालले बताए । “पहिला पहिला हरेक जिल्लामा किटजन्य रोगहरुको अनुगमन नियन्त्रणका विज्ञहरु थिए, ती विज्ञहरुको दरबन्दी अहिले हटाइएको छ,” उनले भने, “जनशक्ति र बजेटका कारण पनि डेंगु नियन्त्रणमा समस्या भएको छ ।” पछिल्लो विभिन्न अध्ययन हेर्दा अविकसित देशहरुमा मात्र होइन् विकसित देशहरुमा पनि डेंगुको जोखिम बढिरहेको देखिएको उनले बताए । उनले भने, “गत वर्षको तुलनामा यो वर्ष अझै दशैँसम्म डेंगुका बिरामी बढ्ने देखिएको छ ।” 

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौंका अस्पताललगायतका स्थानमा स्थलगत अध्ययन गर्दा काठमाडौं पनि डेंगुको उच्च जोखिममा रहेको बताएका छन् । 
महाशाखाका जनस्वास्थ्य प्रमुख घनश्याम पोखरेलले ‘एडिस एजिप्टाई’ नामक लामखुट्टे टोकेमा डेंगु हुने बताए । 

“डेंगु भएमा एक्कासी उच्च ज्वरो आउने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्न  असाध्यै टाउको दुख्ने, शरीरमा बिबिरा आउने र ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने आदि लक्षण देखिने गर्छ,” उनले भने, “यो लामखुट्टे सफा पानीमा बस्ने हुँदा पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाक्ने, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पूरा ढाकिने लुगा लगाउने, साना बालबालिकालाई जुनसुकै समयमा पनि झुलभित्र सुताउने, कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने आदि गरेमा बच्न सकिन्छ ।” 

वर्षाको समयमा आकासे पानी जमेको स्थानमा अथवा खानेपानीको भाडो नछोपी राखेमा त्यस स्थानमा यसले फुल पार्ने, त्यो फुल पानी नभएका अवस्थामा पनि भाडोको छेउमा टासिएर बस्ने पानी हालेपछि पुन देखिने उनले बताए । 

जलवायु परिवर्तनका कारणले पनि तराईका लाम्खुट्टेहरु पहाड र हिमाली क्षेत्रमा पनि भेटिने गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक सुसिलनाथ प्याकुरेले बताए ।  उनले भने, “पछिल्लो ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढ्दै गएको देखिन्छ । नेपालमा पनि किटजन्य रोगको जोखिम उच्च पहाडी जिल्लामा समेत बढ्दा नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।” 

चिकित्सकहरुका अनुसार रोगको प्रकोप देखिनु अघि नै नियन्त्रणका प्रयास नगर्दा डेंगुका बिरामीहरु बढेको बताउँछन् । नेपालमा सन् २००४ मा  एकजना विदेशी नागरिकमा देखिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro