site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यावसायिक बन्दै चित्रकला, पौभादेखि मल्टिमिडियासम्म

अन्तर्राष्ट्रिय जल रङ महोत्सवको अवसरमा गएको शनिबार इन्डोनेसियाको बालीस्थित पर्यटकीयस्थलमा बसेर क्यान्भासमा दृश्य उतार्दै नेपाली कलाकार । तस्बिरः रासस


काठमाडौं । कलाको पुरानो र सुन्दर रुपमध्येको एक हो, चित्रकला । पछिल्लो समय व्यक्तिको भित्री भावनाहरु प्रस्फुटन गर्नेदेखि लिएर समाजलाई दुरुस्तै रंगमार्फत् उतार्ने तथा सांस्कृतिक आदानप्रदान गर्ने दरिलो माध्यमको रुपमा स्थापित हुँदै गएको छ चित्रकला । 

सुरुवातमा वाटर कलरको प्रयोगबाट सेतो कागजमा उतार्ने गरिन्थ्यो । तर अहिले प्रविधिको विकास भएसँगै वाटर कलर भन्दा एक्रेलिक कलरको बढी प्रयोग गरेर खस्रो चिप्लो क्यानभासमा उतार्न थालिएको छ चित्रकलालाई । अझै पछिल्लो समय त मल्टिमिडियामा पनि यसको रुपरंग फैलिन थालेको छ ।

पहिले सोखको रुपमा मात्रै लिइने चित्रकला अहिले व्यवसाय र जीवनयापनको पाटोको रुपमा पनि विकास हुन थालेको नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति किरण मानन्धर बताउँछन् । “सुरुमा म नेपाल फर्किंदा जागिर खाइनँ, घरमै बसेर चित्रकला सुरु गरेँ । पोस्टकार्ड बनाएर ५ रुपैयाँमा पनि बेचेको थिएँ । तर अहिले यसको मूल्यमा निकै वृद्धि भएको छ र एउटै चित्रकला पनि लाखौंमा लिने दर्शकहरु छन्,” मानन्धर आफ्नो अनुभव सुनाउँछन् । मानन्धरले नेपालमा चित्रकला सुरु गर्दाको समयमा नेपालमा चित्रकला नै गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्नेमा धेरैलाई आशंका थियो । अहिले यो सोचमा परिवर्तन आइसकेको उनको बुझाइ छ । “चित्रकलामा बाटो लामो छ र संघर्ष पनि बढी गर्नुपर्छ तर यसको फल राम्रो पाइन्छ,” मानन्धर भन्छन् । चित्रकलाको मूल्य अलि महँगो हुनुको एक कारण यो पनि हुन सक्ने उनको भनाइ छ ।

उनको अनुभव अनुसार नेपाली कलाकारले अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । अन्तरराष्ट्रिय बजारसँग तुलना गर्ने हो भने नेपाली चित्रकलाको मूल्य निकै कम छ । हाम्रो छिमेकी राष्ट्र भारत, बंगलादेशका कलाकार र चित्रहरुको मूल्यसम्म पनि नेपाली चित्रकलाको मूल्य पुग्न नसकेको कलाकारहरुको दुखेसो छ ।

यद्यपि पहिले भन्दा अहिले यसको माग निकै बढेको छ । अहिले नेपाली कलाकारहरु अन्तरराष्ट्रिय स्तरमा पनि जान थालेका छन् । नेपालमै पनि अहिले हरेक दिनजसो चित्रकला प्रदर्शनीहरु हुन थालेका छन् । 

यो नजरमा हेर्ने हो भने कलाकारहरुको संख्या र यससँग सम्बन्धित संस्थाहरु पनि बढ्न थालेका छन् । अहिले चित्रकला विषयमा डिग्री हासिल गर्न सक्ने कलेज पनि खुलेका छन् । यसको मतलब चित्रकलाका दर्शक र विक्रेता पनि उल्लेख्य रुपमा वृद्धि हुन थालेको छ ।

नेपालको उद्योग र व्यापार व्यवसायमा आएको वृद्धिसँगै चित्रकलाको माग र चित्रहरुको बजार पहिला भन्दा राम्रो भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार बताउँछन् । भूमण्डलीकरणसँगै चित्रकला सम्बन्धी बुझाइ र महत्व फरक हुन थालेको उनको भनाइ छ । अहिले नेपालीहरु पनि आफ्नो घर सजावटकै लागि पनि चित्रहरु किन्ने गरेको चित्रकार बताउँछन् ।

“चित्रकला हामी नेपालीको संस्कृति नै हो । धार्मिक क्षेत्र, मठमन्दिर, दरबारहरुको भित्तामा पहिल्यैदेखि नै चित्र कोर्ने प्रचलन थियो । अहिले यो संस्कृतिको पाटोलाई अलिकति आधुनिकतासँग जोडिएर पुनर्जीवित भएको छ,” उनले भने, “धार्मिक चित्रकलाहरु थाङ्का तथा पौवामा देखिन्छ । अहिलेको नेपाली समाजलाई प्रस्तुत गर्ने समकालीन चित्रहरु क्यानभासमा आइरहेका छन् । अहिले नेपाली चित्रकारहरु धार्मिक पक्षलाई आधुनिक फर्म जस्तै ‘एब्सट्रयाक्ट’को प्रयोगमार्फत् उतार्ने गर्दछन् ।

तर, चित्रकलाको मूल्य महँगो हुने आम गुनासो छ । यसबारे चित्रकार भन्छन्, “चित्रकलाको मूल्यको कुनै सिमाना नै छ्रैन । यो कसरी र किन बढ्छ भन्ने कुरा अलिकति विवादास्पद नै छ । बाहिरका चित्रकारहरुले आफ्नो रेट बढाउने हिसाबले महँगो मूल्य तोक्ने गरेको पाइन्छ । विदेशमा जति नै महँगो मूल्य भए पनि अफोर्ड गर्न सक्ने क्रेताहरु छन् । तर नेपाली बजारमा यो अवस्था आइसकेको छैन ।” 

चित्रको मूल्य कलाकारको काम, क्षमता र अनुभवले तय गर्छ । यसको कुनै आधिकारिक नियम छैन । कलाकारले नै आफ्नो इच्छा अनुसारको मूल्य तय गर्छन् । त्यसो त चित्रकलाको मूल्य कलाकारको ख्यातिले पनि तय गर्दछ । नेपालमा पौवा थाङ्काको मूल्य बढीमा ४० लाख रुपैयाँसम्म हुने गरेको छ । 

वरिष्ठ चित्रकार किरण मानन्धर जस्तै गोपाल चित्रकार पनि चित्रकलामै लागेर जीविकोपार्जन गर्न सकिँदैन भन्ने कुरामा असहमत छन् । उनीहरुका अनुसार अहिले चित्रकलामै लागेर जीविकोपार्जन गर्न गाह्रो छैन । चित्रकलामै लागेर जीविकोपार्जन गरिरहेका थुप्रै कलाकारहरु छन् । 

“म पनि यही क्षेत्र रोजेर अघि बढिरहेको छु । एउटै चित्रको ८–१० लाखसम्म पनि मूल्य पाएको छु । यसको बजार नभएको होइन । मेरो विचारमा अहिलेको समयमा चित्रकलामै लागेर कलाकारहरु भोकभोकै मर्नुपर्ने अवस्था छैन,” चित्रकारले भने । उनका अनुसार अहिले चित्रकलामा लागेर निरुत्साहित हुनुपर्ने अवस्था छैन । 

नेपालमा व्यवसाय नै गरेर बस्ने कलाकारहरुको संख्या पाँच सयको हाराहरीमा रहेको अनुमान यही क्षेत्रमा लागेकाहरुको छ । बाँकी भने सोखको रुपमा काम गरिरहेका छन् । नेपालमा चित्रकलाको अवस्थामा परिवर्तन आएपनि राजनीतिक अस्थिरताको असर कलाको अरु विधासँगै चित्रकलामा पनि परेको अग्रज चित्रकारहरु बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro