site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 काठमाडौं उपत्यकाका ४१ प्रतिशतले मात्र स्तनपान गराउँछन् 

काठमाडौं । पछिल्लो समय आफ्नो शिशुलाई स्तनपान गराउने आमाको संख्या घट्दै गएको पाइएको छ । जन्मेको एक घण्टाभित्र स्तनपान नगराउँदा शिशुको मृत्यु हुने सम्भावना तीन गुणा बढी हुने पोषणविद्हरु बताउँछन् ।

पोषणविद् डा. अरुणा उप्रेतिले स्तनपान गराउँदा आमा र शिशु दुबैलाई फाइदा हुने बताउँछिन्् । “स्तनपान जन्मेको एक घण्टाभित्रमा गराएमा रोगसँग लड्ने क्षमता बढ्छ भने आमाको पाठेघरको मुुखको आकार खुम्चिएर पहिलाको अवस्थामा आउने हुन्छ,” उनले भनिन्, “केही निजी अस्पतालहरुका नर्सले शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दुधलाई प्रतिस्थापन गर्ने अन्य बट्टाको दुध खुवाउन सुझाव दिने गरेको पाइन्छ, त्यो गलत हो ।”

जन्मेको छ महिनासम्म नियमित स्तनपान गरेको शिशुमाभन्दा स्तनपान नगरेको शिशुमा मृत्युको सम्भावना १४ गुणा बढी रहने विभिन्न अध्ययनले देखाएको उनले बताइन् ।  “आमाको बिगौती दुध एकदमै पोशिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ समेत भनिन्छ,” उनले भनिन्, “आधुनिक जीवनशैलीसँगै स्तनपानले सौन्दर्य घटाउने मान्यतालगायतले केही महिलाहरुले स्तनपानको साटो अन्य दुध तथा खाद्यान्न खुवाउने गरेको देखिन्छ । तर स्तनपान गराउँदा आमा पनि स्वस्थ्य र शिशु पनि स्वस्थ्य हुन्छ ।”

जुन बच्चाले स्तनपान नगरेको बच्चामा निमोनिया, झाडापखाला, कुपोषणलगायत समस्या देखिने गरेको पोषणविद्हरुको भनाइ छ । 

स्वास्थ्य सेवा विभागअन्तगर्तको परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार काठमाडांै उपत्यकाभित्रका अस्पतालको स्तनपान गराउने महिला ४१ प्रतिशत रहेको पाइएको छ । 

जन्मेको एक घण्टाभित्र ५५ प्रतिशतले मात्र आफ्नो शिशुलाई स्तनपान गराउने गरेको पाइएको छ । ६ महिनासम्म पूर्ण स्तनपान ६६ प्रतिशतले गराउने गरेको छ । बच्चा जन्मेको २ वर्षसम्म आमाको दुध जति खुवाउँदा ८० प्रतिशत मानसिक विकास हुने पोषणविद्हरु बताउँछन् ।

सन् २०११ को तथ्यांकअनुसार ६९.९ प्रतिशत आमाले स्तनपान गराउने गरेका थिए । तर सन् २०१६ मा आइपुग्दा सो संख्या घटेर ६६.१ मा पुगेको छ । सरकारले दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्ममा स्तनपान गराउने आमाको दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर सो लक्ष्य विपरीत स्तनपान गराउने महिलाको संख्यामा कमी हुँदै गएको छ । जसले सरकारलाई चुनौती थपिएको छ । 

जनसंख्याकीय स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १० जनामध्ये तीनजनालाई स्तनपानभन्दा पहिले शिशुलाई घ्यु, मह, चिनी खुवाउने गरेको जनाइएको छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली २०५१ स्तनपानको उचित प्रबर्द्धन गर्नुपर्ने, स्वास्थ्य कार्यकर्ताहरुले उत्पादक वा वितरकबाट कुनै प्रकारको आर्थिक वा भौतिक उपहार स्वीकार गर्न नहुने, आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रबर्द्धन गर्न नहुने, टीभी, रेडियो, सिनेमा, टेलिफोन, पत्रिका आदिमा विज्ञापन गर्न नहुने उल्लेख छ । 

तर उक्त नियमावाली कार्यान्वयनमा ल्याउन नसक्दा आमाको दुधलाई प्रतिस्थापन गर्ने बट्टाको दुधलगायतका सामग्रीहरु प्रतिबन्ध हुन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक ८ लाख २० हजार शिशुको ज्यान जाने गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro