काठमाडौं । आयातमा अगाडि छ नेपाल । धान–चामलदेखि गाडीसम्म सबैकुरा आयात गर्नुपर्ने बाध्यता छ । नेपालबाट निर्यात हुने वस्तुको सूची लामो छैन । त्यही छोटो सूचीमा पर्छ कृत्रिम लेन्स ।
तिलगंगा आँखा प्रतिष्ठानले वार्षिक करिब पाँच लाख कृत्रिम लेन्स उत्पादन गरेर निर्यात गर्दै आएको छ । कूल उत्पादित लेन्समध्ये करिब ४० प्रतिशत नेपालमा खपत हुने गरेको छ बाँकी विभिन्न देशमा निर्यात हुन्छ । कृत्रिम लेन्स भारत चीन, पाकिस्तान, दक्षिण अफ्रिका, ताईवान, मलेसिया, सिगांपुर, थाइल्याण्ड, इन्डोनेसियालगायत ७० देशमा निर्यात हुने गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले सन् १९९६ देखि २०१८ को अन्त्यसम्ममा ५६ लाख ३५ हजार ८ सय कृत्रिम लेन्स उत्पादन गरिसकेको छ । एक अष्ट्रेलियन गैरसरकारी संस्थाको सहयोगमा नेपालमा कृत्रिम लेन्स उत्पादन हुँदै आएको छ ।
मोतियाबिन्दुका कारण दृष्टि गुमाएका बिरामीका लागि प्रतिष्ठानले उत्पादन गर्ने लेन्स प्रभावकारी हुने चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानले हाल दुई प्रकारका लेन्स उत्पादन गर्दै आएको छ ।
पीएमएमए लेन्स पुरानो प्रविधिबाट उत्पादन गरिन्छ भने फोल्डेबल लेन्स नयाँ प्रविधिबाट उत्पादन गरिन्छ । फोल्डेबल लेन्सहरु अधिकांश विदेशी बजारमा निर्यात हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानबाट उत्पादित लेन्स नेपालका सबै आँखा अस्पतालहरुमा प्रयोग हुनुका साथै विदेशका ७० भन्दा बढी देशमा निर्यात हुने गरेको प्रतिष्ठानका जनसम्पर्क निर्देशक भगिरथ बानियाँले बताए । “अब कोही पनि मोतिबिन्दु भई दृष्टि गुमाएर अन्धकारमा बस्नु पर्दैन । प्रतिष्ठानमा उत्पादन हुने कृत्रिम लेन्स विदेशमा समेत खपत हुन थालेपछि यसको माग र उत्पादन पनि बढ्दै गएको छ,” उनले भने, “पिएमएमए लेन्स वार्षिक करिब २ लाख ३० हजार उत्पादन हुन्छ भने फोल्डेबल लेन्स करिब १ लाख ४५ हजार उत्पादन हुन्छ ।”
पिएमएमए लेन्सको २५० रुपैयाँसम्म पर्छ भने फोल्डेबल लेन्सको १२ सयसम्म । बानियाँले भने, “एकपटकमा साढे ५ सय वटासम्म लेन्स बनाइन्छ, यसका लागि ४ सातासम्म लाग्छ । लेन्स हाम्रो छालासँग मिल्ने बनाउनुपर्छ । उत्पादन गरिएको लेन्स ५ वर्षभित्र प्रयोग गर्नुपर्छ । एकपटक प्रयोग गरेपछि जीवनभर परिवर्तन गर्नुपर्दैन ।”
विकासोन्मुख देशमा अझै पनि पिएमएमए लेन्स पाउन गाह्रो रहेको उनी बताउँछन् । “हाम्रो आँखाको लेन्समा बादल लागेमा मोतिबिन्दु हुन्छ, त्यो स्थानमा प्राकृतिक लेन्स हटाएर शल्यक्रियाको माध्यमबाट कृत्रिम लेन्स प्रयोग गरिन्छ । हामीले मोतियाबिन्दुको शल्यक्रिया लेन्सको प्रयोग गर्ने गरेका छौं । वर्षमा ३२ देखि ३४ वटा शिविर चलाउँछौं । ग्रामीण क्षेत्रमा देखिएको मोतियाबिन्दुको समस्या शल्यक्रिया गर्नेबित्तिकै ठीक हुन्छ,” उनले भने ।
तिलगंगाले सन् २००० देखि विदेशमा पनि लेन्स निर्यात गर्न थालेको हो । प्रतिष्ठानले लेन्स उत्पादनका लागि ५ वटा मेसिन प्रयोग गरिरहेको छ । यसका लागि दैनिक ८६ जना जनशक्ति परिचालन भएको बताइएको छ । लेन्स उत्पादनका लागि मेसिन थप गर्न गतवर्ष प्रतिष्ठानलाई सरकारले १० करोड रुपैयाँ अनुदानसमेत दिएको थियो । सो अनुदानबाट लेन्स उत्पादन गर्ने दुईवटा मेसिन खरिद गर्ने तयारी रहेको बताइएको छ ।