फलामलाई चुम्बकले तानेजस्तै घुँगरुको मिठो धुनले तान्छ लीना मालाकारलाई । सन् १९९३ मा लीना मालाकार भिज भारतीय राजदूतावास र आईसिसिआर (इन्डियन काउन्सिल फर कल्चरल रिलेसन) इन्डियाको सहकार्यमा कल्चरल एक्सजेन्ज प्रोग्रामको छात्रवृत्तिमार्फत् भारतको चर्चित क्लासिकल डान्स फर्म कत्थक सिक्न भारत गइन् । भारतमा उनले श्रीराम भारतीय कला केन्द्रमा श्रीमती नन्दनी सिंहबाट कत्थक सिक्ने मौका पाइन् ।
उनले कहिले सोचेकी थिइनन्– कत्थक सिकेर उतै हराउँछु भनेर । किनभने न त उनको नृत्यमै लागेर यसमै भविष्य बनाउने सोच थियो, न त भारतमा उनको कोही साथी र आफन्त नै थिए ।
तर आज उनी भारतको एक प्रोफेसनल कत्थक नृत्याङ्गना भनेर चिनिन्छिन् । उनी भारतमा नेपाली कत्थक नृत्याङ्गना भनेर चिनिएकी छन् र यो परिचयमा उनलाई गर्व लाग्छ ।
काठमाडौंको मालाकार परिवारकी पुलपुलिएकी कान्छी छोरी, खासै नबोल्ने तर सानैदेखि नाच्नमा भने रुची राख्ने गर्थिन् मालाकार । अरु चुलबुले बच्चाजस्तै उनी पनि एक्लै हुँदा होस् या परिवारका सदस्यको साथमा, सधैं नाचिरहन्थिन् ।
उमेर बढ्दै जाँदा लीनाको लक्ष्य पनि बन्दै र बदलिँदै गए । उनकै शब्दमा भन्दा एक ‘फ्रिकआउट करियर कन्सियस’ नभएका टिनेज केटाकेटीजस्तै । आज फिल्ममा कोही पत्रकार देखे भोलिपल्ट आफू पनि पत्रकार बन्ने सपना आउँथ्यो ।
कोही साथी एयरहोस्टेस बनेको देख्दा हिजोसम्म फिल्मको जस्तो पत्रकार बन्ने लक्ष्यलाई साथीजस्तै एयरहोस्टेस बनी अकाशमा उड्ने सपनाले ‘रिप्लेस’ गरिदिइसकेको हुुन्थ्यो ।
तर योबीचमा पनि उनको सानैदेखिको छमछम नाच्ने बानीले भने उनको मन र शरीरमा कहिँकतै डेरा जमाइनै रहेको थियो । यसैकारण उनी बुवाआमाको अनुमतिमा पद्मकन्या क्याम्पसमा भर्ना भइन् । जहाँ लीनाले कत्थक मुख्य विषय लिएर पढ्न थालिन् ।
पद्मकन्यामा उनले हनी श्रेष्ठबाट २ वर्ष कत्थक सिकिन् । यहिक्रममा श्रेष्ठले उनलाई भारतमा ‘स्कलरसिप’ मा कत्थक सिकाउने कुराको जानकारी दिइन् । अझ त्यहाँ त व्यवहारिक शिक्षा पनि हुन्छ र एक वर्ष भारतमा फ्रिमा घुम्न पनि पाइने सोचेर उनले आवश्यक कागजात बुझाइन् । छात्रवृत्ति पाइन् पनि । भारतमा छात्रवृत्तिमा कत्थक सिक्न जाने बेलासम्ममा पनि उनले कत्थकमै भविष्य देखेकी थिइनन् ।
नेपालमा प्रायः दिदी पूर्णिमा मालाकारसँग हुने उनलाई विलकुलै नयाँ देश नयाँ मानिससँग केही हप्ता मन नै बुझेन । उनी हरेक रात आफ्नो परिवारलाई सम्झिएर रुने गर्थिन् । यसकारण गएको १५ दिन बितिसक्दा पनि कत्थकको आधारभूत कुरा पनि उनले सिक्न सकेकी थिइनन्।
विश्वभरिका एक से एक कत्थकमै आफ्नो सुनौलो भविष्य सोचेर नुत्यमा लगाव भएका विद्यार्थीहरुको भिडमा उनी पछाडि परिन् । यो कुरा उनीहरुलाई कत्थक सिकाउने गुरुले नोटिस गरिरहेकी थिइन् ।
एक दिन लीनालाई गुरुले केही आक्रोशित भावमा कक्षा सुरु भएको यत्तिका दिनसम्म पनि तिमीले बेसिक लेबल पनि सिक्न सकेकी छैनौ भन्दै कक्षाबाट निकालिदिइन् । अबको एक हप्तामा तिमीले सिकेनौ भने म तिम्रो छात्रवृत्ति क्यान्सिल गराएर तिम्रो देश फिर्ता पठाइदिन्छु भनेर गाली पनि गरिन् ।
गुरुको त्यो गालीले लीनाको दिल दिमाखमा छोयो । जसकारण उनी रातभरि सुत्न सकिनन् र मनमनै जसरी भएपनि सिकेरै छोड्ने प्रण बनाइन् ।
लगातारको मेहनतले केही महिनामै उनी गुरु र बाँकी साथीहरुको सहयोगमा सबैभन्दा राम्रो विद्यार्थी बनिन् । त्यो समयसम्म त कत्थक लत नै भइसकेको थियो । त्यसपछि उनमा आफू कत्थककै लागि जन्मिएकी रहेछु भन्ने सोच पलायो ।
एक वर्षको लागिमात्रै भनेर गएकी उनी ५ वर्षसम्म उतै बसिन् र कत्थकमै स्नातकोतर गरिन् । ५ वर्षको लामो बसाइमा उनले भारतको चर्चित डान्स फर्ममात्रै सिकिनन् थुप्रै भारत तथा विदेशका साथीहरु पनि बनाए ।
ती साथीहरु मध्ये गगन भिज जीवनसाथीकै रुपमा भेटाइन् । लीनालाई डिग्री लिएर नेपाल आउने र यता कत्थक सिकाउने भन्ने सोच थियो । तर स्नातकोतर सकिने बित्तिकै विवाहको प्रस्ताव अस्विकार गर्न सकिनन् र विवाह बन्धनमा बाँधिइन् ।
उनका पति दिल्लीका चर्चित मूर्तिकार हुन् । पति पनि कला क्षेत्रकै भएर लीनाले कत्थकमा धेरै साथ र सहयोग पाइन् । उनले विस्तारै विद्यालयहरुमा कत्थक प्रशिक्षकको काम पाउन थालिन् । तर यही समयमा उनीहरुको परिवारमा नयाँ सदस्य थपिए छोरा सिद्धान्त भिज ।
जसले जे भनेपनि विवाहित त्यसमाथि एक सन्तानकी आमा भइसकेपछि आफ्नो पहिलो जिम्मेवारी परिवार सोचेर करिव ८ वर्ष जति उनी आफ्नो सपनाबाट टाढा रहिन् ।
कत्थकमा आफूले आफैंलाई पाउने, नाच्दा सबै दुःख पीडा भुलेर रमाउने उनलाई एकदिन आफन्त पर्नेले नै तिमी साधारण कत्थक गुरु थियौ अब त त्यो पनि छैन भन्दै उनको खिल्ली उडाए ।
लामो सघंर्षपछि कत्थकमा बनाएको ठाउँ छोड्नु हुँदैन । केही गरेर देखाउनु पर्छ भन्ने सोचले उनले फेरि पहिलेकै गुरुसँग दिनकै ४–५ घण्टा जति कक्षा लिन थालिन् ।
उनको अठोट र कडा मिहिनतेले रंग ल्यायो र अहिले उनी आईसिसिआर (भारतीय सांस्कृतिक सम्बन्ध परिषद) मा कत्थक नृत्याङ्गना प्यानलमा सम्मिलित छिन् । यसैबाट उनी देश विदेशमा कत्थक सिकाउन रपर्फर्म गर्न गइरहेकी हुन्छिन् । उनी भारतमा र भारतलाई प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय स्तरमा कत्थक गर्ने एकमात्रै नेपाली महिला हुन् ।
यसै सिलसिलामा उनी एक महिनाअघि जन्मभूमि नेपाल आएकी थिइन् । नेपालमै पहिलोेपल्ट आयोजना भएको नृत्योत्सवमा भाग लिन उनी नेपाल आएकी हुन् । नृत्योत्सवमा लीनाले सोलो कत्थकसँगै साथीसँग कत्थक र भरतनाट्यमको जुगलबन्दी पनि प्रस्तुत गरिन् ।
उनी पद्मकन्या क्याम्पस, सृजना आर्ट ग्यालरी, पाठशाला स्कुल र पाटन नासा कल्चर एण्ड जुम्बा डान्स स्टुडियो लगायतका संस्थाहरुमा गेष्ट लेक्चरर पनि छिन् । कत्थक सम्बन्धि वर्कसपको लागि उनी समयसमयमा नेपाल आइरहन्छिन् । तर स्टेजमा प्रस्तुति नै गर्न भने पहिलो पटक आएकी हुन् ।
उनको विचारमा कलालाई भूगोलले छुट्याउँदैन । नेपालमा पनि कत्थकको बढ्दो क्रेजले उनी निकै खुशी छिन् । नेपालमा कत्थकमै केही योगदान दिन चाहन्छिन् । यसको लागि उनले साथीहरुसँग मिलेर केही सोच बनाइरहेको बताइन् ।
“अहिले मलाई नेपालको चरिया पनि सिक्न मन छ । तर पनि लगभग २ दशक देखि जयपुर घराना कत्थक गरिरहेको भएर शरीरले अर्को फर्म लिन सक्दैन,” उनले भनिन् ।
उनी भारत तथा विदेशमा नेपाली कत्थक डान्सरको रुपमा यति धेरै सम्मान तथा हौसला मिले पनि आफ्नै देशले भने माया नदिएकोमा केही दुःखी छिन् ।
“भारतमा सरकारले नै कला क्षेत्रलाई प्राथमिकतामा राख्छ । भारतले जस्तै हामीले पनि हाम्रो विभिन्न जातिको सांस्कृतिक नृत्य अन्तरराष्ट्रिय रगंमञ्चमा पस्कन सक्छौं । हामीसँग पनि अनेक संस्कृति झल्किने नृत्यहरु छन् । भारतमा कला र कलाकारलाई पनि धेरै अवसरहरु र सम्मान मिल्छ । तर नेपालमा किन सरकारले आजसम्म पनि कला र कलाकारलाई पहिलो दर्जामा राख्दैन ?” उनी प्रश्न गर्छिन् ।