site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला इन्चार्जमा प्रचण्ड अगाडि, दुई प्रदेशमा नेपाल समूहको उपस्थिति शून्य !

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले ७७ भूगोल जिल्ला कमिटीसहित नेकपाले जिल्ला कमिटीकै हैसियतका ६ महानगर कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । 

नेकपामा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटीसहित ४४१ जनाको केन्द्रीय कमिटी छ । जसमध्ये २३५ केन्द्रीय नेताले जिम्मेवारी पाएका हुन् । ७७ जिल्लामध्ये पूर्वएमालेले ४१ जिल्लामा इन्चार्ज लिएको छ । माओवादी केन्द्रको भागमा ३६ जिल्ला इन्चार्ज परेको छ ।

६ महानगरपालिकामध्ये विराटनगर र चितवनको भरतपुर महनगरपालिका पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । काठमाडौँ, ललितपुर, पोखरा र वीरगञ्ज महानगरपालिका कमिटीको इन्चार्ज पूर्वएमालेले लिएको छ । चार महानगरमध्ये ३ माधव नेपाल पक्षले र पोखरा महानगरपालिकामात्रै केपी ओली पक्षले पाएको छ ।

जिल्ला इन्चार्जमा पार्टी अध्यक्ष प्रचण्ड पक्षको संख्या बढी छ । प्रदेश १ मा पाँचथर, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु जिल्ला कमिटीसहित विराटनगर महानगरपालिकाको इन्चार्जमा प्रचण्डनिकट नेता चयन भएका छन् ।

दुई नम्बर प्रदेशमा सप्तरी, धनुषाको जिल्लामा मात्रै प्रचण्ड पक्षीय नेता इन्चार्ज चयन भएका छन् ।

तीन नम्बर प्रदेशमा धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली जिल्ला कमिटी र भरतपुर महानगरपालिका कमिटीको इन्चार्ज प्रचण्डको भागमा परेको छ । भरतपुर महानगरकी इन्चार्ज त्यहाँकी मेयर एवम् प्रचण्डपुत्री रेणु दाहाल चयन भएकी छन् ।

गण्डकी प्रदेशमा प्रचण्ड पक्षका चारजना जिल्ला इन्चार्ज चयन भएका छन् । गोरखा, तनहुँ,, पर्वत, बाग्लुङमा प्रचण्ड पक्ष नेता जिल्ला इन्चार्ज छानिएका छन् ।

पाँच नम्बर प्रदेशमा प्रचण्ड पक्षका चारजना इन्चार्ज चयन भएका छन् । कपिलवस्तु, गुल्मी, प्युठान, रोल्पामा प्रचण्ड पक्षका नेता जिल्ला इन्चार्ज छानिएका छन् । कर्णाली प्रदेशतर्फ सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला र सल्यान प्रचण्डको भागमा परेको छ ।

सुदूरपश्चिमको इन्चार्जमा पनि प्रचण्डको उल्लेख्य उपस्थिति छ । बैतडी, डडेलधुरा, अछाममा प्रचण्ड पक्ष नेता इन्चार्ज तोकिएका छन् ।

ओली पक्ष प्रदेश १ र ३ मा कमजोर, नेपाल पक्ष दुई प्रदेशमा उपस्थितिविहीन

पार्टीका वरिष्ठ नेता माधन नेपाल समूहको प्रदेश १ मा राम्रो उपस्थिति छ । नेपाल पक्षले प्रदेश १ मा ताप्लेजुङ, झापा, सुनसरी, तेह्रथुम, संखुवासभा, ओखलढुंगा र उदयपुर जिल्ला कमिटीमा इन्चार्ज पाउँदा खोटाङका विशाल भट्टराईमात्रै ओलीतर्फबाट इन्चार्ज छानिएका छन् ।

प्रदेश २ मा केपी ओली समूहले सिरहा र बारामा इन्चार्ज पाउँदा नेपाल पक्षले एउटामात्रै पाएको छ, पर्सा जिल्ला कमिटी । नेपाल समूहले दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्जको पनि इन्चार्ज पाएको छ । दिनेश राई महानगर कमिटीको इन्चार्ज चयन भएका छन् ।

प्रदेश ३ मा पनि नेपाल समूहको उपस्थिति बलियो छ । चितवन, मकवानपुर, रामेछाप जिल्ला कमिटीसहित काठमाडौैं र ललितपुर महनागर कमिटीको इन्चार्ज  नेपाल समूहले पाएको छ ।
काठमाडौं महानगर कमिटीको इन्चार्ज जीवनरराम श्रेष्ठ तोकिएका छन् भने ललितपुर महनागर कमिटीको इन्चार्ज सुशीला नेपाल चयन भएकी छन् ।

तीन नम्बर प्रदेशमा ओली समूहको ३ जनामात्रै इन्चार्ज छन् । नुवाकोट, काभ्रेपलाञ्चोक र काठमाडौंै जिल्ला कमिटीको इन्चार्ज ओली पक्षले पाएको हो ।

गण्डकीमा नेपाल पक्षले १ जना इन्चार्ज पाएको छ, मुस्ताङ जिल्ला कमिटी । मुस्ताङमा श्रीमाया थकाली इन्चार्ज चयन भएकी छन् । लम्जुङ, स्याङ्जा, मनाङ, नवलपरासीपूर्व, म्याग्दी जिल्ला कमिटी र पोखरा महनागर कमिटीको इन्चार्ज ओली समूहले पाएको छ ।

पाँच नम्बर प्रदेशमा पाल्पामात्रै नेपाल पक्षले पाएको छ । त्यहाँ सोमप्रसाद पाण्डेय इन्चार्ज चयन भएका छन् । पश्चिम नवलपरासी, रुपन्देही, अर्घाखाँची, रुकुमपूर्व र बाँके ओलीपक्षले लिएको छ ।

कर्णाली र सुदूरपश्चिममा नेपाल पक्षमा खुलेर लागेका इन्चार्ज छैनन् । कर्णालीमा सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा ओली समूहले लिएको छ । सुदूरपश्चिममा कञ्चनपुर, डोटी, बझाङ, बाजुरा इन्चार्ज ओली पक्षमा मानिन्छन् ।

डोटीका प्रेम आलेलाई दुवै पक्षले आफ्नो सूचीमा राखेको छ ।

चौथो शक्तिमा बादल

जिल्ला अध्यक्ष सचिवमा राम्रो उपस्थिति देखाएको बादल पक्षले रौतहट, रसुवा, भक्तपुर, ललितपुर, कास्की, कैलाली जिल्ला इन्चार्ज पाएको छ ।

पाँचौँ र छैटौँ शक्ति मानिएका नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले ३–३ जिल्ला इन्चार्ज पाएका छन् ।

नारायणकाजी पक्षले महोत्तरी, सर्लाही, दाङ जिल्ला कमिटीको इन्चार्ज लिएको छ । वामदेव गौतमले भने बर्दिया, मुगु र दार्चुलाको इन्चार्ज लिएका छन् ।

यद्यपि मुुगु इन्चार्ज तोकिएका मोहन बानियाँ आफू वामदेव समूहबाट अलग भइसकेको र मूल पार्टीमा रहेको बताउँदै आएका छन् ।

पार्टी प्रमुख र प्रधानमन्त्री भइसकेका झलनाथ खनाल पक्षले भने एउटै पनि जिल्ला इन्चार्ज पाएन । जिल्ला अध्यक्ष बाँडफाँटमा खनाल पक्षले सर्लाही पाएको थियो । सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्त खनाल निकट हुन् ।

के हुन्छ जिल्ला इन्चार्ज र सहइन्चार्जको भूमिका ? 

त्रिशंकू शक्ति व्यस्थापनका लागि नेकपाले १० जनासम्म सहइन्चार्ज तोकेको छ । तर, वर्तमान संगठनात्मक संरचनामा इन्चार्ज र सहइन्चार्जको कार्यकारी भूमिका हुँदैन । विधानमा केही व्यवस्था छैन ।

अभ्यासका हिसाबले भने इन्चार्ज पार्टीको केन्द्रीय प्रतिनिधि रहने र पार्टीको नीति, नियम, निर्देशन कार्यान्वयन गराउने दायित्व हुने केन्द्रीय सदस्य सूर्य थापा बताउँछन् ।

विधानमा कुनै प्रावधान नराखिएको भए पनि नियमावलीले इन्चार्जको भूमिका किटान गरेको छ । नियमावलीको दफा २९ मा सम्बन्धित भौगोलिक क्षेत्र, विभाग र फाँटका इन्चार्जले कार्यक्षेत्रको कार्ययोजना हरेक वर्षको पहिलो महिनामा, कामको आवधिक प्रतिवेदन, प्रत्येक छ महिनामा र वार्षिक समीक्षा प्रतिवेदन वर्षको अन्तमा सम्बन्धित तहको सचिवालयमा बुझाउनुपर्नेछ । विशेष अभियानको प्रतिवेदन अभियान सकिए लगत्तै सम्बन्धित तहको सचिवालयमा बुझाउनुपर्ने उल्लेख छ ।

महिलाको संख्या न्यून

संविधानको दलसम्बन्धी व्यवस्थामा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गरिएको छ । ४४१ को केन्द्रीय कमिटीमा पनि महिलाको कोटा पूरा नगरेको नेकपाले जिल्ला इन्चार्जमा पनि महिलाको भूमिका नजरअन्दाज नै गरेको छ ।

८३ जिल्ला कमिटीको इन्चार्ज तोक्दा  २७ जना महिलाले जिम्मेवारी पाउनुपर्ने हो । तर, १० जनालेमात्रै जिम्मेवारी पाएका छन् । प्रदेश १ तर्फ तेह्रथुममा जयन्ती राई इन्चार्ज तोकिएकी छन् ।

प्रदेश २ मा इन्चार्जतर्फ महिलाको संख्या शून्य छ । प्रदेश ३ मा रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुसाल, ललितपुर महानगरमा सुशीला नेपाल, भरतपुर महानगरमा रेणु दाहाल इन्चार्ज चयन भएकी छन् ।

स्याङ्जामा पद्मा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज चयन चुनिएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro