उनले बेलायतबाट आँखाको शल्यचिकित्सा विषयमा विशेषज्ञ तालिम सक्याइसकेका थिए । केही समय त्यतै बसी आफ्नो विधामा चमक ल्याउने कर्ममा तल्लिन थिए । चिकित्साशास्त्रको अध्ययनमा जति तालिम लियो, त्यति नै राम्रो डाक्टर र सर्जन हुने भएकोले पनि चिकित्सकहरू बढीभन्दा बढी समय अभ्यासमा लगाउँछन् । यही अभ्यासमा उनको जोश र जाँगर खर्च हुँदैथियो ।
त्यसैबेला काठमाडौंमा रहेका उनका आफन्तले पठाएको खबर उनले पाए, ‘वीर अस्पतालका आँखाका डाक्टर नरेन्द्रध्वज जोशी विदेशिए । तपाईँ काठमाडौं आउनुस्’ ।
उनका अनुसार काठमाडौंमा आँखाको उपचारमा राम्रो अवसर थियो । र अर्को कुरो, काठमाडौं छोडेर अन्त जानु पर्थेन ।
त्यतिखेर उनले बेलायतमै बेलायती युवतीसँग बिहे गरिसकेका थिए । उनको छोरी पनि भइसकेकी थिइन् । पत्नी बेलायतमै नर्स भए पनि केही समय उप्रान्त उनी सपरिवार काठमाडौं ओर्लिए ।
यसरी बेलायतबाट आँखा रोग विशेषज्ञका रुपमा काठमाडौं भित्रिएका डा. यन्तमणि प्रधान (८६)ले वीर अस्पतालमा काम सुरु गरे । त्यसबेला आँखाका लागि चाहिने आवश्यक उपकरणहरू डा. जोशीले व्यवस्था गरिसकेका थिए । त्यसबेला डा. लक्ष्मीनारायण प्रसाद नाक–कान–घाँटीका अतिरिक्त आँखाको उपचार पनि गर्थे । तर, डा. प्रधान काठमाडौं आएपछि डा. लक्ष्मीनारायण इएनटीतर्फ केन्द्रित भए । उनले आँखा उपचारको काम सुरु गरे ।
सोमबार दिउँसो सानेपास्थित डा. प्रधानको निवासमै उनीसँग कुराकानी गर्दा उनी त्यो समय सम्झिँदै थिए । उमेरका कारण तिथिमितिमा तलबितल भए पनि कतिपय सम्झिएका प्रसंग उनी हाँसेर सुनाउँदै थिए । डा. प्रधान भन्छन्, “म बेलायतबाट काठमाडौं फर्किएपछि केही समय होटलमै बसेँ, परिवारका साथ । पछि मात्रै डेरा लिएँ । वीर अस्पतालमा काम गर्न सुरु गरिसकेको थिएँ । त्यसैबेला एक दिन कारणवश सार्वजनिक बसमा यात्रा गर्नुपर्यो । त्यतिबेला बसमै मेरो पकेट मारियो । मसँग भएको अलिकति डलर र पाउण्ड पनि पकेटमारले चोर्यो । मलाई त रुनु न हाँस्नु बनाएको थियो ।”
उनले वीरमा काम सुरु गरिसकेका थिए । वीर अस्पतालमा तलब कम थियो । यस्तै ३ सय ५० रुपैयाँ थियो । त्यसैले उनी प्राइभेट प्राक्टिसमा पनि लागे । निजी क्लिनिकमा २५ रुपैयाँ थियो बिरामी जाँचेको । पछि क्लिनिकमा बिरामी जाँचेको ७ रुपैयाँमा झारिन्, तत्कालिन स्वास्थ्य मन्त्री सुशीला थापाले । त्यसपछि त झनै क्लिनिकमा बिरामीको चाप बढ्न थाल्यो । डा. प्रधानका अनुसार यसरी क्लिनिकमा बिरामी मनग्यै हेर्नुपर्दथ्यो । पैसा पनि राम्रै हुन्थ्यो ।
वीर अस्पतालबाट आँखा रोगमा विशेषज्ञ सेवा शुरु गरेका डा. यन्तमणि प्रधानले २०३० सालमा नेपाल आँखा अस्पतालको स्थापनापछि त्यहाँ पनि काम गरे ।
यसरी वीर अस्पताल, आँखा अस्पताल अनि पोखरा अस्पताल गरेर उनले लामो समय आँखाका बिरामीहरूको सेवा गरे ।
वीर अस्पतालमा आँखाका बिरामीहरूको चाप अत्यधिक हुन्थ्यो । त्यसबेला कहिले काही बोलाएका बेला राजदरबार पनि जानु पर्दथ्यो, राजपरिवारका सदस्यहरूको आँखा जाँच गर्न ।
आँखाको उपचारका लागि दरबारमा उनको सिफारिस भएको रहेछ । भरखर बेलायतबाट फर्किएका डा. प्रधानले राजदरबार जाने क्रमको सुरुआत भएको थियो ।
राजदरबारमा उपचारका लागि जाँदा वीर अस्पतालबाट आँखा जाँच्ने मेसिनदेखि सारा उपकरण बोकेर जानुपरेको उनको मानसपटलमा अहिले पनि ताजै छ ।
एकपटक उनले तत्कालिन राजा महेन्द्रकी आमाको आँखा जाँचे । उनले मुमा बडामहारानीको आँखामा जलबिन्दु रोगको असर देखे । आँखाको एउटा नशा खिइएको थियो । यस विषयलाई लिएर डा. प्रधानले दरबारका तत्कालीन शाही फिजिसियन डा. मृगेन्द्रराज पाण्डेलाई आफूले देखेको कुरा सुनाए । उनले मुमा बडामहारानी सरकारलाई जलबिन्दुको समस्या रहेको बताएका थिए ।
डा. प्रधान हाँस्दै भन्छन्, “मैले आँखामा जलबिन्दुको शंका लाग्यो भन्दा मलाई ‘यसरी जे पायो त्यही भन्न हुँदैन दरबारमा’ भनियो । तर मैले देखेको कुरा राजालाई भन्नै पथ्र्यो । मैले भनेँ पनि । पछि मुमा बडामहारानीलाई आँखाको उपचारका लागि बेलायत पठाईयो । उहाँसँगै म पनि गएँ र बेलायत बसेर मुमा बडामहारानीको उपचार गराएँ । आखिर, मैले गरेको डायग्नोसिस नै ठीक रहेछ । बेलायतका डाक्टरले पनि त्यही रोगको उपचार गरे । करिब एक महिनापछि हामी काठमाडौं फर्कियौं ।”
डा. प्रधानले बेलायतबाट नयाँ नयाँ चिकित्सा पद्धति सिकेर आएका थिए । त्यसैले जुन रोगका बारेमा आफूलाई शंका लागेको थियो, राजालाई त्यहि भने । पछि उनले आँखाको प्रेसर पनि चेक गरे । यसो गर्दा जलबिन्दु नै हो भन्ने उनलाई पक्का भएको थियो । पछि एक पटक राजा महेन्द्रले सोधेछन्, ‘मुमाको आँखाको डायग्नोसिस गर्ने डाक्टर तिमी नै होइनौ’ भनेर ।
त्यसपछि काठमाडौंमा डा. यन्तमणिको चर्चा शुरु भयो । उनले नाम कमाउँदै गए । नामसँगै उनकोमा आँखाका बिरामीको संख्या पनि ह्वात्तै बढ्यो । दैनिक सयौं बिरामीलाई तिनले जाँच गर्नुपर्दथ्यो ।
डा. प्रधान भन्छन्, “राजदरबारमा जाँदा हामीलाई त्यहाँ बोल्ने तौरतरिका र अरु थप कुरा सिकाइन्थ्यो । तर सबैभन्दा गाह्रो काम भनेको, दरबारका सदस्यहरूका उपचार गर्दा घण्टौसम्म उठेरै उपचार गर्नु पर्दथ्यो । बस्नै पाइन्थेन । चार पाँच घण्टा उभिएरै उपचार गर्दा सास्ती नै हुन्थ्यो ।”
राजपरिवारका सदस्यहरूको आँखाको उपचार गर्दै जाँदा उनको दरबारसँग पनि राम्रै सम्बन्ध हुन गयो । त्यसको असर बाहिर अस्पताल र क्लिनिकमा बिरामीको चापबाट देखिन थाल्यो ।
उनले सम्झिए एउटा अर्को प्रसंग । अनि हाँस्दै भने, “एक दिन तत्कालिन मुमाबडामहारानीले मलाई भनिन् ‘तिमीलाई के चाहिन्छ ? भन ।’ त्यसबेला मैले केही भन्नै सकिन । मैले पनि ‘केही चाहिँँदैन’ भनेँ । पछि त एक दुई जना मेरा हितैषी डाक्टरले भने पनि, ‘माग्नु पर्दैन मुमा बडामहारानीसँग, आफूलाई चाहिएको कुरो’ ।”
०००
डा. यन्तमणि प्रधानको जन्म सिक्किमको डुगा गाउँमा भयो । उनको बाल्यकालको प्रारम्भिक समय डुगामै बित्यो ।
उनका अनुसार उनको मावली तेह्रथुम भए पनि पुख्र्यौलि घर सिक्किम नै हो । धेरै अघि उनका पुर्खा काठमाडौंको पाटनबाट सिक्किम बसाइँ सरेर गएको उनले पनि सुनेका हुन् । आज पनि डा. प्रधान मौका मिल्दा आफू जन्मेको गाउँ डुगा पुग्छन् ।
पढ्ने उमेर भएपछि उनी खस्र्याङ आए । खस्र्याङमा उनको काकाको घर थियो । उनी काका कहाँ बसेर पढ्न थाले । काका र ठूलोबाका सन्तानहरू गरि उनीहरू पाँच छ जना खस्र्याङमा बसेर पढ्दै थिए ।
डा. प्रधानले सम्झिए चिसो खस्र्याङको कठिन समय । भन्छन्, “काकाको तलब त्यसबेला जम्मा तीन सय रुपैयाँ थियो । गाह्रो थियो काकालाई । हामी धेरै जना थियौं । कहिलेकाहीँ मासु खाँदा दुई टुक्रा मासु र दुई टुक्रा आलु पर्दथ्यो भागमा । एकजोर जुत्ता वर्षौ धुस्नु पर्दथ्यो । पाइन्ट शर्ट पनि एउटा मात्रै सिलाईएको हुन्थ्यो । पानी परेको बेला जुत्ता नलगाएर खाली खुट्टा नै स्कूल जान्थ्यौं हामी । किनभने पानीमा भिजे जुत्ता बिग्रिन्थ्यो । जाडो महिनामा पनि भरसक जुत्ता जोगाइन्थ्यो । केटाकेटी उमेर थियो । त्यसैले पनि सायद जाडो पनि खासै लाग्थेन । ‘केटाकेटीको जाडो बाख्राले खान्छ’ भन्छन् नि !”
सन् १९५० मा उनले राम्रो नम्बर ल्याएर म्याट्रिक पास गरे, खस्र्याङ स्कूलबाट । त्यसपछि आइएससी पढ्नका लागि उनी दार्जिलिङ गए । उनी दार्जिलिङको गभर्मेन्ट कलेजमा भर्ना भए र पढ्न थाले । उतिखेर उनी खाना खानलाई ४० मिनेट परको बाटो हिँडेरै जान्थे । खाना महिनावारि तोकिएको थियो । त्यो सस्तो पर्दथ्यो । त्यसैले त्यति टाढा पुगेर भात खान्थे र फर्किन्थे । पैसा खर्च गर्न खासै पाइन्थेन । चाहिएको कुरामा मात्रै खर्च गर्नु पर्दथ्यो ।
दार्जिलिङमा रहँदा उनले साहित्यकारहरू सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइरालाको नाम सुने पनि उनको ध्यान पढाइमा रह्यो । उनी पढ्नमै तल्लिन भए ।
दार्जिलिङको सरकारी कलेजमा आइएससी पढेका उनी फस्र्ट डिभिजनमा पास भए । त्यसपछिको बाटो के ? यो प्रश्नको जवाफ खोज्नु थियो उनले । उनी डाक्टर विषय पढ्न चाहन्थे । तर सिलिगुढीमा कलेज थिएन । कलकत्ता जान गाह्रो थियो ।
डा. यन्तमणिका अनुसार उनका दाजु नरेन्द्रकुमार प्रधान काठमाडौंमा थिए । उनले आइएससीमा पनि फस्र्ट डिभिजन ल्याएको सुनेपछि दाइले यन्तमणिलाई काठमाडौं बोलाए ।
काठमाडौंमा आएर यन्तमणिले शिक्षा विभागमा स्कलरसीपमा एमबीबीएसका लागि निवेदन दिए । उनको आइएससीमा राम्रो नम्बर भएकोले उनले एमबीबीएस अध्ययनको मौका पाए । त्यसबेला डा. यन्तमणिसँगै डा. रामप्रसाद पोखरेल र डा. महेश्वरानन्द बैद्यलगायतले पनि लखनउ मेडिकल कलेजमा एमबीबीएस पढ्ने मौका पाएका थिए ।
०००
लायन्स क्लबको डिस्ट्रिक गभर्नर भइसकेका डा. यन्तमणि प्रधान आज पनि कुनै न कुनै रुपमा लायन्स क्लबसँग गाँसिएका छन् । लायन्समा धेरै कुरा राम्रो रहेको उनी बताउँछन् ।
लायन्स क्लबमा आवद्ध भएपछि फेलोसीप बलियो हुने उनको तर्क छ । लायन्स क्लब यसरी नै आजको रुपमा झाँगिएको हो ।
सुरुमा उनी त्यति उत्सुक थिएनन् लायन्स क्लबसँग जोडिनलाई । तर हिरा सिंहले उनलाई एक दिन जवरजस्ती लायन्समा ल्याएको घोषणा गरे ।
त्यसबेला प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । लायन्स क्लबको एउटा कार्यक्रममा थापा प्रमुख अतिथि थिए । डा. यन्तमणि पनि कार्यक्रममा पुगेका थिए । त्यसैबेला ठाकुर हिरा सिंहले आफूले बोल्ने क्रममा डा. यन्तमणि प्रधान पनि लायन्सको सदस्य भएको उद्घोष गरिदिए । यो सुनेर डा. प्रधान चकित भए ।
अब सदस्य बन्नै थियो, लायन्स क्लबको । उनी सदस्य बने । अन्ततः डिस्ट्रिक गभर्नरसम्म भए, डाक्टर प्रधान । र, आफू लायन्स क्लबको नेतृत्वमा रहेका बेला उनले आँखा उपचारका लागि भ्याएसम्मका काम गरे ।
आँखा उपचारका शिविरहरू समयसमयमा सञ्चालनमा आइरहेका थिए । उनीसँगै स्वदेशी विदेशी डाक्टरहरूको टोली गाउँगाउँ पुगेर आँखा शिविर गर्थे । यसरी लाखौँ मानिसलाई डा. यन्तमणि र उनको चिकित्सक समूहले उज्यालो दिएको छ ।
त्यसैबेला भृकुटीमण्डपभित्र एउटा आँखा र इएनटी क्लिनिक थियो । त्यहाँ पनि समय दिन्थे डा. प्रधान । त्यसबेला आँखा रोगमा विशेषतः ट्रोकोमा (परेला भित्र पसेर नानीमा घाउ हुनु) र क्याट्र्याक्ट (मोतीबिन्दू) नै बढी पाइने गरेको उनको भनाइ छ । त्यही समयमा लायन्स क्लबबाट आँखा उपचार केन्द्र खोल्ने कुराको उठान भयो । त्यसले सकारात्मक बाटो समायो । त्यसैबेला मीनभवनमा एक जना मारवाडीले सस्तोमा जग्गा पनि दिए ।
त्यहीँ नै आँखा उपचार केन्द्रका रुपमा लायन्स आई क्लिनिकको सुरुआत भयो । त्यहाँ एकतले भवन बन्यो । र सर्वसाधारणको आँखाको उपचार सुरु भयो ।
डा. प्रधान लायन्स क्लबको डिस्ट्रिक गभर्नर भए । त्यसै बेला उनले जापान, क्यानाडालगायतका देशहरूसँग मीनभवनस्थित आँखा क्लिनिकका लागि सहयोग मागे । क्लिनिकलाई डोनेसन आउन थाल्यो र विस्तारै यसले विकसित रुप धारण गर्दै गयो ।
आज त्यही आँखा क्लिनिक लायन्स आँखा उपचार केन्द्र हुँदै लायन्स आँखा अस्पतालका रुपमा विकसित भइसकेको छ । आज पनि हजारौंले त्यस आँखा अस्पतालबाट उपचार सेवा पाउँदै आएका छन् ।
डा. प्रधानले आफूले आँखा उपचार केन्द्रका लागि खट्दाको समय सम्झिए, “आँखाको उपचार केन्द्रको विकासका लागि हामीले क्यानाडा र जापानका संस्थाहरूसँग डोनेशनका कुरा उठाएका थियौं । पछि त क्यानाडा र जापानबाट यति पैसा आयो कि पैसा खर्च गर्ने ठाउँ नै फेला परेन । लाग्यो, हामीसँग पैसा खर्च गर्ने ठाउँ पनि छैन ! क्षमता पनि छैन !”
उनका अनुसार आँखाको उपचारका क्षेत्रमा नेपाल अहिले निक्कै माथि पुगेको छ । नेपालका हरेक आँखा अस्पतालहरूले आँखाको उपचारमा राम्रो काम गरेको उनले पाएका छन् । सन् २००५ सम्म उनी आँखाको शल्यक्रिया कार्यमा सक्रिय थिए, झापास्थित पाथिभरा आँखा अस्पतालमा । त्यसपछि उनी परामर्श सेवामा मात्रै सीमित रहे । र, अहिले पूर्णरुपमा अवकाश जीवन बिताइरहेका छन् ।
०००
शिक्षा मन्त्रालयको एमबीबीएस सीट पाएर कोही पटना गए । कोही कलकत्ता पुगे । यन्तमणि लखनऊ पुगे । र, उनले पाँच वर्षमा एमबीबीएस सिध्याए । अनि अर्को एक वर्ष इन्टर्नसीप पनि त्यहीँ गरे ।
लखनऊमा पढाइका अलावा उनी साथीहरूसित खुबै रमाइलो पनि गर्थे । लखनऊको हजरतगञ्जमा एउटा नाम चलेको रेष्टुरेन्ट थियो । त्यसबेला खुबै चलेको रेष्टुरेन्ट थियो त्यो । नाम थियो, क्वालिटी रेस्टुराँ । उनीहरू छुट्टी भयो कि त्यहीँ पुग्थे ।
डा. प्रधान लखनऊको घटना सम्झिएर हाँसे । भने, “त्यसबेला तीन सय रुपैयाँ छात्रवृत्ति रकम पाइन्थ्यो । खर्च पुग्थ्यो । एक दिन मेरो एक सय रुपैयाँ हरायो । सय रुपैयाँ हराउँदा मलाई यति दिक्क लाग्यो, त्यसको कुरै नगरौं ! मैले लखनऊमै पहिलो पटक सुट सिलाएर लगाएको थिएँ । सुटमा टाई लगाएर फोटो पनि खिचेको थिएँ ।”
एमबीबीएस सक्न पाँच वर्ष लाग्यो । एक वर्षको इन्टर्न । यसरी उनी छ वर्ष लखनऊ नै बसे । त्यसपछि काठमाडौं फर्किएका उनले भक्तपुर अस्पतालमा जागिर पाए । र, भक्तपुर अस्पतालमा तीन वर्ष काम गरे ।
अस्पतालमा काम गर्दै जाँदा उनले सामान्य शल्यचिकित्सा (जनरल सर्जरी)मा एमएस वा एफआरसीएस गर्ने सोच बनाएका थिए । सोचाई अनुसार नै उनले स्वास्थ्य मन्त्रालयमा आवेदन दिए । आँखाको सर्जरी तर्फ उनको रुची थिएन ।
तर उनले जनरल सर्जरीका लागि सीट पाएनन् । त्यसबेला एकजना सचिवका भाइको नाम जनरल सर्जरीका लागि छानियो । डा. प्रधानको नाम एनेस्थिसिया (बेहोस पार्ने) विषयमा पुग्यो ।
यो उनका दाइले थाहा पाए । उनका दाइ वीरबहादुर मास्केको संगत तत्कालिन स्वास्थ्य मन्त्रीसँग थियो । त्यसैले उनले मन्त्रीलाई भनेछन्, ‘मेरो भाइलाई हेपेको तिमीहरूले ?’
मन्त्रीले पनि साथीलाई ‘मिलाउँछु’ भनेछन् । त्यसपछि ब्रिटिश काउन्सिलको स्कलरसीपमा आँखा सर्जरीको अध्ययनका लागि यन्तमणि प्रधानले बेलायत जाने मौका पाए ।
डा. यन्तमणि भन्छन्, “मेरो नाम सचिवको भाइका कारणले गर्दा जनर सर्जरीबाट काटियो । तर ती सचिवका भाइले आफ्नो पढाई पूरा गर्न सकेनन् । कस्तो लाजमर्दो ! उनी त्यतिकै फर्किए भन्ने मैले पनि सुनेको हुँ ।” सन् १९५९ मा एमबीबीएस पास गरेर आएपछि तीन वर्ष भक्तपुर अस्पतालमा काम गरेर प्रधान सन् १०६३ तिर बेलायत गए ।
०००
आँखाको उपचार आफैमा गाह्रो काम हो भन्छन् डा. यन्तमणि प्रधान । बेलायतमा आँखा सर्जरीको तालिम लिँदा सानासाना अपरेशनमात्र गर्न लगाउँथे प्रोफेसरहरूले । मोतिबिन्दुको अपरेशन ठूला डाक्टर वा रजिष्ट्रारहरूले नै गर्ने गरेको उनको भनाइ छ ।
बेलायतमा अध्ययनका बेला डा. यन्तमणिहरूको काम आँखामा बढेको मासु हटाउने, ट्रोकोमा (परेला आँखा भित्र पर्ने समस्या)को उपचार गर्ने मात्रै हुन्थ्यो ।
यता बेलायतबाट स्वदेश फर्किएपछि उनलाई भ्याईनभ्याई हुनथाल्यो । उनले कहिल्यै फुर्सद पाएनन् । वीरमा बिरामी हेर्ने समय दुई बजेसम्म हुन्थ्यो । तर कहिलेकाँही चार–पाँच बजेसम्मै बिरामी हेर्थे, डा. यन्तमणि ।
डा. प्रधानका अनुसार त्यसबेला आँखाको रोगमा मोतीबिन्दु नै धेरै देखिन्थ्यो । एक पटक एउटा जापानी टोलीसँग जनकपुरमा आँखा क्याम्पमा उनी गएका थिए । त्यसबेला दुई दिनमा दुई सय बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरेर बिरामीहरूलाई दृष्टि दिएका थिए । त्यो दुई दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म आफूहरूले निरन्तर अपरेशन गरेको सम्झिँदै थिए उनी ।
उनी भन्छन्, “वास्तवमा त्यो चमत्कार नै त हो यो ! मोतीबिन्दु भएर नदेख्ने आँखा अपरेशन गरेको केही दिनमै देख्ने हुनु भनेको सामान्य कुरा थिएन । हामीले अनेक ठाउँमा गएर आँखाको शिविर चलायौँ । लाखौको आँखाको उपचार गर्यौं ।”
यति भन्दाभन्दै उनको अनुहारमा खुशी फैलियो । त्यसपछि उनले सम्झिए, एउटा अर्को घटना । उनी कुनै गाउँमा पुगेका थिए आँखा शिविर लिएर । त्यसबेला एकजना वृद्धको मोतीबिन्दुको अपरेशन गरे । चस्मा दिए, फर्किए । केही वर्षपछि फेरि त्यही गाउँ जाँदा ती वृद्ध भन्दै थिए, ‘पहिले डाक्टर साहबलाई देखेको थिइन । सौभाग्यले, डाक्टर साहबले उपचार गरिदिनुभएको आँखाले नै डाक्टर साहबलाई देख्न पाएँ’ ।
आँखामा विशेषज्ञ तालिम लिएर बेलायतबाट काठमाडौं आउँदा उनले गाडी उतैबाट लिएर आएका थिए । तर पछि उनले लामो समय साइकलमा ओहोरदोहोर गरे । उनको चर्चा साइकल चढ्ने डाक्टरका रुपमा पनि भएको थियो । त्यसबेला साइकल चढेरै उनी आफ्नो निवास सानेपादेखि क्लिनिकसम्म जान्थे ।
तर जब काठमाडौंमा ट्राफिक बढ्दै गयो, उनले साइकल हाँक्न छोडे ।
तस्बिरः सरिता खड्का