site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा पानीजन्य रोगका बिरामी बढे, सतर्कता अपनाउन चिकित्सकको आग्रह 

काठमाडौ । वर्षा याम सुरु भएसँगै पानीजन्य रोगका बिरामी बढ्न थालेका चिकित्सकहरुले बताएका छन् । कान्ति बाल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो केही दिनयता पानीजन्य रोगका बिरामी बढिरहेका अस्पताल प्रशासनले जनाएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार दैनिक झाडापखाला, ज्वरो र बान्ताका बिरामी बढ्न थालेका छन् । “अन्य बिरामीको तुलनामा झाडापखालाको समस्या लिएर बढी आउने गरेका छन्,” उनले भने, “गर्मीको समय अझ पानी पर्ने मौसममा पानी, हावा, लामखुट्टे लगायतबाट सरुवा रोगको संक्रमण हुने सम्भावना उच्च रहन्छ ।” पानी उमालेर खाने, बाहिरका खानेकुरा नखाने गरेमा पानीजन्य रोगबाट बच्न सकिने डा. पुनको भनाइ छ ।

झाडाबान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर गर्नुका साथै रक्तचाप कम हुने हुँदा त्यस्तो समस्या समयमा नियन्त्रणमा राख्नुपर्ने डा. पुन बताउँछन् । अस्पतालका अर्का डाक्टर अनुप बास्तोलाले दूषित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने बताए । दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सकहरुको सुझाव छ । 

वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले पानीजन्य रोगका बिरामी बढ्नुको मुख्य कारण दुषित पानीको सेवन गर्दा झाडापखाला, टाईफाईड र ज्वरोको समस्या बढिरहेको बताए । “अस्पतालमा दैनिक ज्वरो र झाडापखालाको समस्या लिएर बिरामी बढी देखिने गरेको छ,” उनले भने, “पानीबाट विशेषगरी टाइफाइड, झाडापखाला, हैजा, स्पाइरोसिस लगायतका रोग सर्न हुन्छ भने रुघाखोकी, इन्फ्लुइन्जाहरु हावाबाट सर्ने हुन्छ ।” संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्रीहरु निर्मलीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने, भिडभाड स्थानमा जाँदा अनिवार्य मास्स लगाएर मात्र जाने, लामुखुट्टेबाट बच्न सुत्ने बेलामा झुलको प्रयोग र घर वरपर पानी जम्ने स्थानको सरसफाइमा ध्यान दिनुपर्ने डा. गैरेको भनाइ छ ।

कान्ति बाल अस्पतालका डा. गणेश राईले गर्मी र पानीजन्य रोगबाट जोगिन खानपानमा ध्यान दिनुपर्ने बताए । “पछिल्लो केहि दिनयता ज्वरो आउने, पेट दुख्ने  र झाडापखालाका बालबालिका पहिलेको तुलनामा दुई गुणा बढेका छन्,” उनले भने, “बालबाललिकालाई घरबाहिरको खानेकुरा खान नदिने, घरमै बनाएका खानेकुरा खान दिने अझ पानी उमालेर मात्र पिउन दिएमा कुनै पानीजन्य रोगको संक्रमणबाट जोगाउन सकिन्छ ।”

वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु हुने हुँदा उमालेर चिसो बनाएको पानी पिउन सुझाव दिए । “साबुन पानीले हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने हुन्,” उनले भने, “पानीजन्य रोगले माहामारीको रुप लिन सक्ने हुँदा समयमै सतर्क हुनुपर्छ ।”

कसरी बच्ने ?

पानी उमालेर, फिल्टर गरेर, पानी शुद्ध बनाउने औषधि हालेर मात्रै पिउने
घर, अफिस वरपर सफा राख्ने 
खुला राखेका, बासी खानेकुरा नखाने
झुल टाँगेर सुत्ने ।
भिडभाड भएको स्थानमा जाँदा मासक लगाउने
पूरा बाउला भएका कपडा लगाउने

 

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro