काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्षले जिल्ला इन्चार्ज र सहइन्चार्जका लागि नयाँ प्रस्ताव अघि सारेका छन् । यसअघि सांसद, मन्त्री भएकालाई पनि इन्चार्ज, सहइन्चार्ज बनाउने प्रस्ताव गरेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यसपटक साविक जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारेका हुन् ।
पूर्वएमाले जिल्ला अध्यक्ष रहेको जिल्लामा पूर्वमाओवादी केन्द्रलाई इन्चार्ज बनाउने र पूर्वमाओवादी केन्द्र जिल्ला अध्यक्ष रहेको जिल्लामा पूर्वएमाले इन्चार्ज रहने प्रस्ताव पनि अघि सारिएको छ ।
गत वैशाख ९ गते ४४ जिल्ला पूर्व एमाले र ३३ जिल्ला पूर्वमाओवादी केन्द्रलाई बाँडफाँट गरिइसकिएको छ । अध्यक्ष एमालेको भागमा परेको जिल्लामा सचिव माओवादी केन्द्रको भागमा परेको छ । साविक माओवादी केन्द्र अध्यक्ष भएको जिल्लामा अध्यक्ष साविक एमालेले पाएको छ ।
जिल्ला इन्चार्ज र सहइन्चार्जको हकमा पनि सोही व्यवस्था प्रस्तावित छ । तर, त्यसमा माधवकुमार नेपाल समूहले सहमति जनाई नसकेको उनी निकट स्रोतले जानकारी दियो ।
“साविक (पूर्वएमाले र माओवादी केन्द्र) पार्टीमा जिल्ला इन्चार्ज र सहइन्चार्जको भूमिकामा रहेकालाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव ल्याइएको छ, त्यसमा सहमति भइसकेको छैन,” नेपाल निकट स्रोतले बाह्रखरीसँग भन्यो । सोमबार बालुवाटारमा अध्यक्ष ओली–प्रचण्ड र नेता नेपालका बीचमा झण्डै सवा घण्टा छलफल चलेको थियो । तर, छलफल निष्कर्षमा पुगिनसकेको नेपाल पक्षको भनाइ छ ।
ओली–प्रचण्डको प्रस्तावमा सहमति जुटे काठमाडौं जिल्लाको इन्चार्ज सावित्रा भुसाल हुनेछिन् । किनकि, उनी साविक एमालेकी काठमाडौं इन्चार्ज हुन् । सहमति भए सहइन्चार्ज पूर्वमाओवादीका लेखनाथ न्यौपाने तोकिनेछन् ।
प्रचण्डको मध्यमार्गी प्रस्ताव
यसअघि ओली–प्रचण्डले मन्त्री, संसदीय समितिका सभापति, सांसदलाई पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज दिन सकिने प्रस्ताव अघि सारेका थिए । एउटा जिल्लामा एकजना इन्चार्ज र दुईजनासम्म इन्चार्ज तोक्ने प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए ।
तर, नेता नेपालले सिनियर नेतालाई इन्चार्ज / सहइन्चार्जको जिम्मेवारी दिनुपर्ने र राजकीय (मन्त्री, सचेतक, संसदीय समितिका सभापति) भूमिकामा रहेकालाई जिम्मेवारी दिनु नहुने बताएका थिए ।
चौथो वरीयताका नेता झलनाथ खनाल, पाँचौं वरीयताका वामदेव गौतमले पनि ओली–प्रचण्डको सूचीप्रति असहमति प्रकट गर्दै विरोध जनाएपछि कार्यविभाजन अलपत्र परेको थियो ।
बाह्रखरीसँगको कुराकानीमा नेता खनालले ओली–प्रचण्डको सूची ‘एकलौटी’ भएको प्रतिक्रिया दिएका थिए ।
अहिले नेता नेपाल पक्षलाई पनि मान्य हुनेगरी प्रस्ताव अघि सारिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । “उहाँ (माधव नेपाल)को प्रस्तावसमेतलाई मनन् गरी तीनै पक्षलाई मान्य हुनेगरी छलफल भइरहेको छ । सहमति जुटिसकेको छैन । वरीयता र पुरानै कमरेडहरूलाई जिम्मेवारी दिनेगरी छलफल चलेको छ,” उनले थपे ।
अहिले नेता नेपाल श्रीलङ्का भ्रमणमा छन् । र, उनी २९ गते स्वदेश फर्कनेछन् । उनी फर्किएलगत्तै कार्यविभाजन टुंग्याइने नेकपाले जानकारी दिएको छ ।
नेकपामा ४४५ केन्द्रीय सदस्यको कार्यविभाजन हुन बाँकी छ । पोलिट्ब्युरो गठन पनि हुन सकेको छैन । पार्टीको अन्तरिम विधानअनुसार नेकपाले केन्द्रीय कमिटीको एकतिहाइ संख्याको पोलिट्ब्युरो गठन गर्न सक्नेछ । प्रवास कमिटी, ३२ वटा विभाग र केन्द्रीय निकायहरूको गठन पनि हुन सकेको छैन । असार मसान्तभित्र एकीकरण प्रक्रियामा थाँती रहेका काम पूरा गर्ने दुवै अध्यक्षले बताइरहेका छन् ।
एक वर्षदेखि रोकिएको प्रतिवेदन छपाइको काम पनि अघि बढेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । पार्टीको अन्तरिम राजनीतिक कार्यदिशा पनि जनताको जनवाद नै तय भएको छ ।