निश्चिन्त बगिरहेको कर्णाली । त्यसैको भँगालो गेरुवा र नेपालको ‘नाइल’ कर्णालीले अँगालोमा बेरको मनोहर टापु हो राजापुर ! आँखाले भ्याएसम्मको हरित क्षेत्र । टाँगामा सामान ओसारिरहेका चौधरी समुदाय । कच्ची तर धूलो नउड्ने सडक । प्रकृतिको बान्किलो छटा र सृष्टिको सुन्दर उपहार लाग्छ, राजापुर । कथन छ– राजापुरमा राजखलकको पनि जग्गाजमिन छ । त्यसैका कारण सो क्षेत्रको नामै राजापुर रहन गएको हो । वास्तवमा राजापुर क्षेत्र अन्न उत्पादनको अमरापुर हो । सररर चल्ने हावाले लहलहाइरहेको गहुँ बाली ।
रुमालजस्तो मिलेको फराकिला खेत । गह्रामा पाखुरा जोतिरहेका रैथानेहरूले राजापुरलाई अन्नभण्डारमा परिणत गरिदिएका छन् । उसो त राजापुरलाई पश्चिम नेपालको अन्नगोदामकै रूपमा चित्रित पनि गरिन्छ । कलकल बग्ने कर्णालीका दुई भँगालाले राजापुरलाई त्यो दीर्घ वरदान दिएका छन् भनौँ ।
० ० ०
सिरसिरे हावाले वातावरणलाई चिस्याउन भरपुर प्रयत्न गरिरहको छ । छेवैमा जंगल । जंगलबाट जीउमा ठोकिन आइपुग्ने बतासका झोँकाले मीठो स्वागत गरिरहेको प्रतीत हुन्छ । राजापुरको मध्यभागमा पर्छ अमर सहिद श्री दशरथ चन्द माध्यमिक विद्यालय । बिहीबारदेखि एसईई परीक्षा सुरु हुने भएकाले बुधबार पठनपाठन बन्द थियो । छेवैमा एमालेको मेची–महाकाली अभियानअन्तर्गत राजपुर सभाका लागि तयार पारिएको मञ्च थियो । र्याली आइपुगिसकेको थिएन । स्कुलको चौरबाट सौम्य मुद्रामा भीड नियालिरहेका थिए सुदन घिमिरेले । उनी त्यस विद्यालयका शिक्षक तथा लेखापालसमेत रहेछन् । र, राजापुरका रैथाने पनि । भीड देख्नेबित्तिकै उनको मुहारमा अभूतपूर्व सौर्यलाली छायो ।
भन्दै थिए, “राजापुर क्षेत्रमा सभा हुने सुनेदेखि मेरो मनमा बेग्लै उत्साह सञ्चार भएको छ– राजापुर पुरानै अवस्थामा फर्कने भयो अब !”
उनको अनुहारका अणु–अणु उज्यालो देखिन्थ्यो । खुसीले पुलकित हुँदै थिए, “सुन्नु भयो, राजापुरले पुरानो विरासत ब्युँताउँछ ! फेरि राजापुर धीत मरुञ्जेल हाँस्छ !” उनको आसय बुझ्न कठिन थिएन । कुनै सयम राजापुर पश्चिम नेपालको व्यापारिक केन्द्र थियो । ०२५ सालदेखि ०५० सम्म त सुदूरपश्चिमेलीहरूको नुन र कपडा किन्न आउने व्यापारिक केन्द्र थियो राजापुर ।
लहरै मारवाडीका पसल । डोकाभरि घ्यु बोकेर आउने हुम्ला, जुम्ला, दैलेखका मानिसहरू । उनको अनुहारको उज्यालो पातलियो । बताउन थाले, “समय त्यस्तो कहाँ रह्यो र । त्यसपछि भने कर्णालीमा धेरै पानी बग्यो ! राजापुरको उतारचढावको साक्षी बन्यो कर्णाली !”
समय निरन्तर चलिमात्र रहँदैन, निर्मम पनि हुन्छ । पश्चिमको व्यापारिक केन्द्रमा सुख्खा लागेर ‘बगर’मा परिणत होला भनेर सायदै कसैले अनुमान गरेका थिए तर भइदियो त्यस्तै ! राजापुर व्यापारिका लागि झन्डै ‘निर्जन बस्ती’ बन्न पुग्यो ।
०१९ सालमा महेन्द्र राजमार्ग निर्माण सुरु भए पछि राजापुरको दुर्दशा पनि सुरु भयो । यसकारण कि राजापुरसँग सीमा जोडिएको कर्णाली पारिको टीकापुर महेन्द्र राजमार्गसँग जोडियो । भारतको सीमावर्ती राजापुर बजार अन्ततः टापुमात्रै बन्ने अवस्था आयो ।
“०२५ सालदेखि बजारको अवस्था क्रमशः खुम्चन थाल्यो,” सुदन जोड्छन्, “तर, माओवादी द्वन्द्वमा करिब बन्द हुने अवस्थामा पो पुग्यो ।” भारतीय सीमावर्ती इलाका भएकाले अधिकांश व्यापारी भारतका थिए । तर, पुस्तौँपुस्तादेखि बसेका । “मैलेमात्र होइन मेरा बाबुबाजेले थाहा पाउँदासम्म ती व्यापारीहरू यहीँ थिए । व्यापार, व्यवसाय गर्थे,” उनको अनुहारमा अतिरिक्त हाँसो छायो ।
०५२ सालमा माओवादीले सशस्त्र संघर्ष सुरु गरे यता मुलुकका कुनै पनि भू–भाग चोखो थिएनन्, ती सबै युद्धको भुंग्रोमा न पिल्सिएका हुन् । राजापुर क्षेत्र त झनै आगोमा परेको चरुझैँ भयो । राजापुर बजार सुख्खा बन्न रत्तिबेर पनि लागेन ।
गरिब, निमुखा थारुहरू माओवादी आन्दोलनतर्फ आकर्षित भए । जमिन्दारहरू अन्यत्र पलायन हुन थाले भने व्यापारीहरू भागेर भारत जाने अवस्था बन्यो । युद्धताका राजापुर बजार कर्णालीको उदेकलाग्लो बगरजस्तै बन्यो– उराठ, उदेक लाग्दो !
० ० ०
हिउँदमा कम सुसेली हाल्ने कर्णाली भदौमा भाका फेर्छ ! त्यसो त यो आम नदीहरूकै विशेषता हो । कर्णाली नदी तटको राजापुरको अहिलेको हाँसो नवविवाहिता दुलहीको सिउँदो हर्षमिश्रित छ । कारण राजापुरमा गुल्जार छाएको छ । मुर्झाउँदै गएको बजार बिउँझिएको प्रतीत हुन्छ ।
कसरी सम्भव भयो यो सब ?
स्थानीय व्यापारी तनवीर सिद्दिकी भन्छन्, “०६३ अगाडि अधिकांश व्यापारीसँग नागरिकता थिएन । कैयौँ यहीँ जन्मिए, हुर्किए तर पनि विभिन्न कारणले नागरिकता पाएनन् । नागरिकता नभएकाले पसल–धन्दा दर्ता हुन पाएन । राजनीतिको दाउपेचको सिकार भए । केही सीप नचलेपछि कतिपय भारत फर्किए ।” ०६३ मा नयाँ नागकिता ऐन लागू भएपछि धेरैजसो व्यापारीले नागरिकता पाए । र, क्रमशः उजाडिएको राजापुर बजारमा वसन्तको पालुवा पल्लवित हुन थाल्यो ।
अर्को, जमिन्दारको ओतमुनि र उनीहरूको जग्गा अधियाँमा कमाएर चुल्हो जोडेका चौधरी समुदायको नाममा एक धूर जग्गा थिएन । तर, ०५१ सालमा कमैया मुक्त घोषणा गरिएपछि कतिपय चौधरीहरूले जग्गा पाए । त्यसले पनि राजापुरको व्यापारिक सौन्दर्य अभिवृद्धिमा टेवा पु¥याएको घिमिरे दाबी गर्छन् ।
० ० ०
चिसापानीदेखि दक्षिणतर्फ केही झरेपछि कर्णाली नदीको एउटा भँगालो पूर्वतर्फ छड्किएको छ । गेरुवा नदी त्यी हो । उक्त भँगालो बगेको कोठियाघाटमा १५ सय मिटर लामो पक्की पुल बनेको छ । भनिन्छ– यो देशको सबैभन्दा लामो पुल पनि हो । व्यवसायी तनवीर सुनाउँछन्, “राजापुर क्षेत्रको व्यापार व्यवसाय सुस्ताउनुमा कर्णाली नदीको दुवैतर्फ पुल नहुनु पनि एउटा कारण थियो । राजमार्गसँग जोडिएकाले टीकापुर अघि लाग्यो । “डुंगामा ओहोरदोहोर गर्नुपथ्र्यो,” तनवीरलाई सम्झना छ, “नेपालगन्ज, बुटवलमा सहर विस्तार भएपछि राजापुर क्षेत्र क्रमशः ओझेल पर्दै गयो ।”
जिल्लाको अन्य भागसँग जोड्ने गरी झन्डै एक अर्ब रुपैयाँको लागतमा पक्की पुल बनाइएपछि राजापुर क्षेत्रको मुहार फेरिएको छ । र, यहाँको व्यापारिक केन्द्रको रूपमा सुपरिचित राजापुर क्षेत्र पूर्ववत् अवस्थामा फर्कनेमा निश्चिन्त छन् त्यहाँका व्यापारीहरू । ०६८ सालमा निर्माण प्रारम्भ भएको पुल ०७१ असारमा निर्माण सम्पन्न भयो र भदौमा उद्घाटन पनि भयो । आवश्यकताले छिटो हिँड्न बाध्य पार्छ । यो पुल पनि लक्ष्यभन्दा १० महिनाअगावै निर्माण सम्पन्न भएको शिक्षक सूदन घिमिरे बताउँछन् ।
पुल बन्नुअघि ६ महिना पन्टुन ब्रिज (पानीमाथि तैरिने पुल) राखिन्थ्यो । बाँकी ६ महिना भने जोखिमपूर्ण स्टिमरको यात्रा गर्न स्थानीय बाध्य थिए । पुल बनेपछि राजापुरबासीको अनुहारमा बेग्लै कान्ति छाएको छ ।
अहिले पुल अवलोकनका लागिमात्रै पनि सयौँ मानिस कोठियाघाट पुग्छन् । यसअघि मेचीको कन्काई पुल नेपालको सबैभन्दा लामो मानिन्थ्यो । त्यसको लम्बाइ ७ सय मिटर थियो । गेरुवाको पुल १५ सय मिटर लामो छ ।
० ० ०
राजापुर क्षेत्र, श्रीलंका टापु र भौरा टप्पा भनेर चिनिन्छ । टापुमा करिब ३ लाख मानिस बसोबास रहेको अनुमान छ । ११ गाविस रहेको राजापुर क्षेत्र अहिले ७ वटा गाविस मिलाएर राजापुर नगरपालिका बाँकी ४ गाविस मिलाएर गेरुवा गाउँपालिका बनेको छ ।
राजापुर क्षेत्रमा ओहोरदोहोरका लागि पश्चिमतर्फ कैलालीको टीकापुर जोड्ने दौलतपुर घाटमा पनि ७ सय ३१ मिटर लामो पक्की पुल बनेको छ । र, यो सञ्चालनमा पनि आइसकेको छ ।
पुल निर्माण भएसँगै बर्दियासँग कैलाली जिल्लाको पनि यातायातको सिधा सम्पर्क सुरु भएको छ । बाटोको स्तरोन्नति भए धनगढी र महेन्द्रनगरबाट नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं चल्ने लामो दूरीका यातायातका लागि पनि यात्रा छोटो र कम झन्झटिलो हुने घिमिरेको विश्वास छ ।
राजापुर क्षेत्रलाई उजिल्याउन हुलाकी राजमार्गले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयको छ ।
“हुलाकी राजमार्ग निर्माणले पूर्णता पाएपछि राजापुर क्षेत्रले ठूलो फड्को मार्छ र यहाँको मानिसको चर्या बदलिन्छ,” घिमिरे फिस्स हाँसे । हुलाकी राजमार्गअन्तर्गत वेलुवा–राजापुर खण्ड गत माघ ८ गते शिलान्यास भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले त्यसको शिलान्यास गरेका हुन् ।
० ० ०
राजापुर चौधरी समुदायको बाहुल्य रहेको ठाउँ हो । उक्त क्षेत्रलाई थारु समुदायको सांस्कृतिक संग्रहालय बनाउन सकिन्छ । घिमिरे थप्छन्, “नेपालको पर्यटन धार्मिक–सांस्कृतिक हो । त्यसमाथि पनि थारू जातिको संस्कृति अझ फराकिलो छ । कलात्मक र बान्किलो छ । चौधरी समुदायको बाहुल्य रहेको राजापुरलाई थारू संस्कृतिको केन्द्रका रूपमा बुट्टा भर्न सकिन्छ ।”
राजापुरमा ०४५ सालमा नेपाल र जापानको संयुक्त लगानीमा १३ करोड खर्चेर जापानी प्रविधिको अत्याधुनिक चामल कारखाना स्थापना गरियो । तर, ०५९ सालमा माओवादी सशस्त्र विद्रोहीले बम हानेर खरानी बनाइदिए । कारखानालाई ०६६ मा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको घिमिरे बताउँछन् ।
यो कारखानाबाट उत्पादित चामल मध्यपश्चिम तथा सुदूरपश्चिमका थुप्रै जिल्लामा बिक्रीवितरण हुन्छ । र, यसले पनि राजापुरलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग पुर्याएको छ ।
० ० ०
पछिल्लो समय बर्दियाका विभिन्न ठाउँमा होमस्टे खुलेका छन् । त्यसले थारू संस्कृतिको संरक्षण र सम्वद्र्धनमा थप टेवा पु¥याएको छ । राजापुर क्षेत्र पनि होमस्टेको अर्को सम्भाव्य स्थल हो । कर्णालीको किनार, उर्वर माटो र थारू समुदायको सांस्कृतिक छटाले राजापुरलाई होमस्टेको राजभूमि बनाउन सकिनेमा द्विविधा छैन ।