site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र निर्माणमा भित्रियो ‘गुरिल्ला’ शैली, कथा भन्ने तरिका भने पुरानै

काठमाडौं । प्रविधिले चलचित्र निर्माणलाई ‘गुरिल्ला’ शैलीमा प्रवेश गराए पनि त्यसको अपेक्षित असर नेपाली चलचित्रमा देखिन सकेको छैन । प्रविधिले चलचित्र निर्माणलाई सहज बाटोमा हिँडाए पनि त्यसको फाइदा अझै पनि नेपाली चलचित्र उद्योगले लिन सकेको छैन ।

२०२० को दशकको जस्तो ठूलो क्यामेरा बोक्नुपर्ने युगको अन्त्य भयो । गीत रेकर्ड गर्न इन्डिया जानु पर्दैन । पोस्ट प्रोडक्सनको काम नेपालमै सुरु भएको दशकौं भइसक्यो । चाहेको खण्डमा भीडभित्र पसेर ‘गुरिल्ला’ शैलीमा चलचित्र खिच्न सकिन्छ । “ट्राफिक जामको फुटेज चाहियो भने अब फिल्मकै लागि भनेर ट्राफिक जाम गरिरहनु पर्दैन । ट्राफिकभित्र एक्टर–एक्ट्रेस पसेर चलचित्र खिच्न सकिन्छ,” चलचित्र निर्देशक नरेश कुमार केसी भन्छन्, “तर प्रविधिले दिएको यो सुविधा नेपाली चलचित्रले अझै पनि उपयोग गर्न सकेको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेलुलाइड रिलमा चलचित्र काट्नुपर्थ्यो । झोलामा चलचित्रको नाङ्लो जत्रो रिल बोकेर हलहलमा हिँड्नुपर्थ्यो । चलचित्र लिक हुने ठूलो सम्भावना हुन्थ्यो । 

चलचित्र डिजिटलाइज भएपछि सेलुलाइड युगको अन्त्य भयो । सेलुलाइडमा रिलमा चलचित्र काट्नु पर्ने भएकाले जति टेक बढी लियो, त्यति चलचित्रको लगानी बढ्थ्यो । डिजिटल प्रविधिले यो समस्याको अन्त्य गरिदियो । प्रविधिको छेकबार रहेन । 

“प्रविधिका हिसाबले हामी जति सहज अवस्थामा पुग्यौं, त्यही अनुपातमा स्टोरी टेलिङमा विविधता आउन सकेको छैन,” केसी भन्छन्,  “हरर, थ्रिलर, हार्डकोर लभस्टोरी पनि छैन । अहिले बनिरहेको भनेको कमेडीमात्रै हो । हामीसँग अथाह स्टोरी छन् । तर त्यसलाई उठान गर्नै सकेका छैनौं ।”

कथा भन्ने माध्यम धेरै आए पनि भन्ने तरिकामा प्रगति हुन नसकेको उनी बताउँछन् । कथा भन्ने माध्यम युट्युबदेखि आईफ्लिक्स, नेटफ्लिक्ससम्म आइसकेका छन् । तर, नेपालले ‘स्टोरी टेलिङ’मा फड्को मार्न सकेको छैन । 

चलचित्र विकास बोर्ड र तत्कालीन शाही नेपाल चलचित्र संस्थानका संस्थापक अध्यक्ष यादव खरेल पनि प्रविधिको विकासको तुलनामा चलचित्रको अन्य पक्षमा विकास हुन नसकेको बताउँछन् । नेपाली कला, संस्कृति र साहित्य उजागर गर्ने चलचित्रलाई सरकारले अनुदान नदिएसम्म नेपाली चलचित्रमा विविधता आउन कठिन हुने उनको भनाइ छ । “सुरुका वर्षको तुलनामा पक्कै पनि केही विविधता आएको छ । तर जति आउनुपर्ने हो, त्यो नआएको पक्कै हो,” खरेलले बाह्रखरीसँग भने, “राष्ट्रिय चलचित्र नीतिमा नेपाली मौलिक कथा समेट्ने चलचित्रलाई सरकारले अनुदान गर्नुपर्ने कुरा समेटिएको छ । त्यही अनुसारको कानुन बन्यो भने पक्कै पनि विभिन्न विषयमा चलचित्र निर्माण सुरु हुनेछ ।” 

नयाँ विषय उठान गर्दा लगानी गुम्ने डरले निर्माताहरुले त्यतातर्फ ध्यान दिन नसकेको उनको भनाइ छ । “मैले जाखिम मोलेर त्यो बेला मिथोलोजीमा आधारित चलचित्र ‘श्री स्वस्थानी’ बनाएँ । बायोपिक बनेका थिएनन्, मैले ‘आदिकवि भानुभक्त’ बनाएँ । ऐतिहासिक विषयमा चलचित्र थिएनन्, ‘प्रेमपिण्ड’ बनाएँ । कमेडी चलचित्र थिएनन्, ‘लोभी पापी’ बनाएँ,” खरेल भन्छन्, “तर चलचित्रमा ठूलो लगानी हुने भएकाले लगानीकर्ताले जोखिम मोल्न चाहँदैनन् । बक्स अफिसमा जसको ट्रेन्ड राम्रो छ, त्यस्तै चलचित्रमा लगानी हुन्छ । ‘छक्का पञ्जा’ चलेपछि अहिले कमेडी चलचित्रमा लगानी गर्नेहरु धेरै छन् ।” खरेल अन्य क्षेत्रमा जस्तै राजनीतिक अस्थिरताको प्रभाव चलचित्र क्षेत्रमा पनि परेको बताउँछन् ।  
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १२:३९
प्रतिक्रिया दिनुहोस्