site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रको नयाँ प्रविधि पञ्‍चायतकालमै भित्रिएको हो
SkywellSkywell

चलचित्र संस्थानसँग उनी अप्रत्यासित रुपमा गाँसिन पुगे । सम्भवतः उनले यतातिर सोचेका पनि थिएनन् । तर जोडिए भरखरै स्थापित शाही नेपाल चलचित्र संस्थानमा ।

उनी काठमाडौंमै थिए । पढाइ सकिएको थियो । एमएको रिजल्ट आइसकेको थियो । अबको बाटो शैक्षिक क्षेत्रलाई अङ्गाल्ने विचारमा थिए उनी । 

नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि तत्कालिन सरकारले २०२८ सालमा चलचित्र संस्थानको स्थापना गर्यो । त्यसअघि सञ्चार मन्त्रालय अन्तर्गत फिल्म बन्दै आएको थियो । तर चलचित्र निर्माणमा संस्थागत विकासको आवश्यकता महसुस गरी संस्थानको स्थापना गरिएको थियो ।

KFC Island Ad
NIC Asia

उनी जागिरको तयारीमा रहेकोले दैनिक गोरखापत्र हेर्थे । कतिपय ठाउँमा निवेदन पनि दिएका थिए । त्यसैबेला गोरखापत्रका एउटा विज्ञापन सूचना छापियो । चलचित्र संस्थानले थुप्रै कर्मचारी माग गरेको रहेछ ।

तर उनले आफ्ना लागि त्यो विज्ञापनमा मिल्दो पद कुनै देखेनन् । त्यसैबेला उनको ध्यान पटकथा लेखकको विज्ञापनमा गयो । यसो विचार गरे, उनका लागि मिल्ने पद यही एउटै मात्र थियो । 

Royal Enfield Island Ad

विज्ञापनमा ‘पटकथा लेखक’ पदका लागि पटकथा विषय पढेको हुनुपर्ने वा पटकथा लेखनको अनुभव हुनुपर्ने वा कुनै चलचित्रमा सहयोग मात्रै गरेको भए पनि हुनुपर्ने उल्लेखित थियो । 

तर, त्यस विज्ञापनमा उम्मेदवारको वाञ्छनीय योग्यतामा ‘एउटा उपन्यास लेखेको हुनुपर्ने वा लेखन कला जानेको हुनुपर्ने’ पनि थियो । यसैले उनलाई तान्यो र उनले संस्थानमा निवेदन दिने सोच बनाए । 

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मासँग पुरानो वानेश्वरस्थित उनको निवासमा भेट हुँदा उनले संस्थानमा जागिर खाँदाको सन्दर्भ खोतले र भने, “त्यसबेलासम्म मैले एउटा मात्रै होइन, तीनवटा उपन्यास लेखिसकेको थिएँ । त्यसैले मैले चलचित्र संस्थानलाई खिपेरै निवेदन लेखेँ, ‘मैले कुनै पनि विश्वविद्यालयबाट पटकथाको विषयमा पढेको छैन । न त मसँग यस सम्वन्धी अनुभव नै छ । मैले तीन वटा उपन्यास लेखेको छु । मौका दिनुभयो भने पटकथा लेख्न पनि सिक्ने नै छु । मलाई अन्तरवार्तामा बस्ने मौका दिइयोस्’ ।” 

जे होला होला, कतै न कतै जागिर पाउँथे नै उनले । अझै त्रिचन्द्र कलेजमा पढाउने कुरामा निश्चितजस्तै थियो । तर पनि केही फरक कार्यालय हेरिरहेका थिए शर्मा । 

चलचित्र संस्थानले लक्ष्मीनाथलाई अन्तरवार्ताका लागि बोलायो । उनी अन्तरवार्ताका लागि गए । पाँच सात मिनेटमा सकिनुपर्ने अन्तरवार्ता उनीसँग आधा घण्टा लिइयो । 

अन्तरवार्ताको अन्त्यमा उनलाई सोधियो, “नाटक लेखन र पटकथा लेखनमा के फरक छ ?” 

उनले पनि सिधै भने, “मलाई थाहा छैन । म लेख्न सक्छु । मलाई सिक्ने वातावरण दिनुभयो भने म पटकथा लेख्न सिक्छु ।”

यति भनेर उनी हिँडे । पछि उनलाई बोलाइयो र सातौ तहको अधिकृत (पटकथा लेखक) पदमा नियुक्ति दिइयो । तर उनलाई भनियो, ‘परीक्षणकाल छ महिना रहने छ । तपाईले राम्ररी काम गरे तपाईलाई तालिममा पनि पठाइने छ ।’ 

यसरी उनी चलचित्र संस्थानमा प्रवेश गरे । त्यसबेला अरु कार्यालय तिर ४७५ रुपैयाँ तलब थियो भने चलचित्र संस्थानमा ५५० रुपैयाँ तलब थियो । त्यसैले उनले संस्थानमा नै जागिर खाए । त्यसबेला संस्थानमा यादव खरेल महाप्रवन्धक थिए । 

उनी आशावादी थिए, पटकथा सम्वन्धी अध्ययन र तालिमका लागि बाहिर जान पाइन्छ भन्ने विषयमा । त्यसैले उनले अह्राएको काम गर्दै गए । 

एक दिन संस्थानका प्रमुख यादव खरेलले लक्ष्मीनाथलाई बोलाए । भदौको महिना थियो । गाईजात्रा आउँदै थियो । यादव खरेलले लक्ष्मीनाथलाई गाईजात्राका विषयमा डक्युमेन्ट्रीका लागि डाटासहित स्कृप्ट लेख्न भने । उनले खरेललाई स्कृप्ट लेख्न नआउने बताए । यादवले पनि ‘तपाईले सिक्छु भन्नु भएको होइन ? सिक्नुस्’ भने ।

अनि उनले पनि सिक्ने प्रयास गरे । डाटाहरू खोजे । स्कृप्ट लेखे र दिए खरेललाई । संस्थानले छायाकार वैकुण्ठमान मास्केलाई स्कृप्ट अनुसार गाईजात्रा खिच्न पठायो ।

डक्युमेन्ट्री खिचियो । प्रोसेसिङका लागि फिल्म बम्बई पठाइयो । अन्ततः गाईजात्राको डक्युमेन्ट्री पर्दाका लागि तयार भयो । प्रदर्शन पनि भयो । 

त्यसपछि लक्ष्मीनाथ शर्माले डक्युमेन्ट्री र समाचार चित्रहरूमा काम गर्दैगए । 

त्यसैबेला ‘मनको बाँध’को निर्माणको कुरा उठ्यो । बम्बईबाट निर्देशनका लागि प्रकाश थापा झिकाइए । कथा श्रीधर खनालले लेखे । 

लक्ष्मीनाथलाई संस्थान प्रमुखले ‘तपाईलाई पटकथाका विषयमा ज्ञान पनि हुन्छ । ल प्रकाशजीसँग काम गर्नुस्’ भनेर प्रकाशका साथ लगाइयो ।

प्रकाश थापाले बम्बईमा केही फिल्म खेले पनि उनले निर्देशन गरेका थिएनन् । लामो समयको बम्बई बसाईले उनको भाषामा हिन्दीको व्यापक प्रभाव थियो । उनीसँग स्कृप्टको काममा बस्दा लक्ष्मीनाथलाई कतिपय कुरोमा चित्त बुझ्थेन र विरोध गर्थे । एक दिन लक्ष्मीनाथले प्रकाश थापालाई ‘यो यादवजीलाई देखाउनुस्’ भने ।

यादव खरेलले पनि प्रकाश थापाको भाषाभन्दा लक्ष्मीनाथको भाषा राम्रो हुने ठानी शर्मालाई सम्वाद लेख्ने जिम्मा दिए । यसरी उनले ‘मनको बाध’को पटकथा लेखनसहित संवादमा पनि सहयोग गरे । 

‘मनको बाँध’को छायाँकन सुरु भयो । सहायक निर्देशकहरू अरुहरू थिए । तर तिनको काम प्रकाश थापालाई मन परेनछ । संस्थानले फेरि लक्ष्मीनाथलाई भन्यो, ‘तपाईले सिक्छु भन्नु भएको छ । लौ, तपाई सिक्नुस् । प्रकाशजीको सहायक निर्देशक बन्नुस् । 

यसरी सहायक निर्देशकको जिम्मेबारी पाएका लक्ष्मीनाथले ‘मनको बाँध’मा क्ल्याप देखाउने काम पनि गरे ।

उनलाई सिक्नु थियो । सानो ठूलो काम भनेनन् । सिक्दै गए । लाज पनि मानेनन् । अल्छी पनि गरेनन् । लक्ष्मीनाथको कामका कारण प्रकाश थापाले उनलाई मनपराउन थाले । र भ्याएसम्म जिम्मेवारी थप्दै गए । 
कहिले काहीँ थापासँग विवाद पनि हुन्थ्यो । विशेषतः भाषाका विषयमा । त्यसबेला थापा भन्थे अरे ‘तपाई डाइरेक्टर कि म डाइरेक्टर ।’

यति एउटा फिल्ममा काम गर्दैगर्दा नै लक्ष्मीनाथको मूल्यांकन गर्यो संस्थानले । केटो ठिकै छ भन्ने सोच्यो, सायद । त्यसैले उनलाई पटकथा र निर्देशनको तीन वर्षे तालिमका लागि पुनास्थित ‘फिल्म एण्ड टेलिभिजन इन्स्टीच्युट’ पठाइयो ।

लक्ष्मीनाथ शर्मा भन्छन्, “सन् १९७४ देखि १९७७ सम्म म पुनामा थिएँ । त्यहाँबाट फर्किए पछि मैले केही डक्युमेन्ट्री र न्युज फिल्महरू बनाएँ ।” 

नेपालमा निर्माण भएको पहिलो कथानक चलचित्र थियो ‘आमा’ । यो सरकारी निकायले निर्माण गरेको चलचित्र थियो । त्यसको केही वर्षपछि निजी क्षेत्रबाट पहिलो नेपाली चलचित्र ‘माइतीघर’ बनेको थियो । त्यस पछि सरकारको सूचना शाखाले चलचित्रहरू  ‘परिवर्तन’, ‘हिजो आज भोली’को निर्माण गरिसकेको थियो । यसका निर्देशकहरू हिरा सिंह खत्री र बीएस थापा (माइतीघर) दुबै बम्बईबाट आएका थिए । 

ती नेपाली चलचित्रहरूले नेपालमा व्यापक भाषिक, सांस्कृतिक आक्रमण गरेको लक्ष्मीनाथ शर्माको तर्क छ । नेपाली चलचित्रको निर्माणका लागि प्रविधि र प्राविधिक सबै बम्बईबाटै आउनुले पनि चलचित्रको भाषामाथि अतिक्रमण भएको थियो । भाषामा उताकै प्रभाव थियो । उताकै स्वरुप थियो । 

पछिमात्र राजा र राजपरिवारको वृत्तचित्र मात्रै हैन, केही सामाजिक विषयमा पनि चलचित्र निर्माण हुनुपर्छ भनेरै अन्य प्रकृतिका चलचित्रको निर्माण क्रम सुरु भएको थियो ।

त्यसबेला चलचित्र संस्थानले पाएको बजेट राजा र राजपरिवारको वृत्तचित्र बनाउँदैमा सकिन्थ्यो । त्यसैले तीन–चार वर्षमा एउटा चलचित्र बनाउँथ्यो संस्थानले । त्यसैको परिणाम थियो, ‘चलचित्र मनको बाँध’ ।

‘मनको बाँध’ रिलिज नहुँदै लक्ष्मीनाथ शर्मा तालिमका लागि पुना जाँदै थिए । उनले पटकथा लेखनको तालिमका लागि कोलम्बो प्लान अन्तरगत आवेदन दिएका थिए । तर त्यसबेलासम्म पटकथा लेखन र निर्देशन दुबै एकैठाउँमा गाभियो । त्यसैले लक्ष्मीनाथ चलचित्र निर्देशकको तालिम लिनेगरी पुना पुगे । 

लक्ष्मीनाथ भन्छन्, “चलचित्रको निदेशन र पटकथा दुबै मूल विषय हुन् र उत्तिक्कै बलिया मानिन्छन् । चलचित्रमा हरेक विषयको हरेक विषयसँग अन्तरसम्बन्ध रहेकै हुन्छ । एउटा निर्देशकले पटकथा लेख्न जानेकै हुनुपर्छ । नभए उसले सही रुपमा चलचित्रलाई पर्दामा चित्रित गर्न सक्दैन् । त्यसैले पनि तपाईले फिल्न निर्देशन गर्नु हुन्छ भने तपाईँलाई सबै विषयमा ज्ञान हुनुपर्छ ।” 

पुना फिल्म इन्टिच्युटमा उनीसँग निर्देशन विषयमा दस जना विद्यार्थी थिए । त्यस्तै क्यामेरामा दस जना, साउण्डमा दस जना, एडिटिङमा दस जना थिए भने अभिनयमा दस जना केटा र दस जना केटी थिए ।

लक्ष्मीनाथलगायत पुनामा तालिम लिँदै गरेका सबै विद्यार्थीहरूको दैनिकी एकै किसिमको थियो । उनीहरू बिहान जुरुक्क उठेर फ्रेस हुन्थे । खाजा खान्थे । क्लासमा गएर चलचित्र पढ्न थाल्थे । सबै विद्यार्थी होस्टलमा नै बस्थे । पुनामै बसोबास गर्ने भए पनि ती विद्यार्थी होस्टलमै बस्नु पर्दथ्यो ।

दिउँसो खाना पछि पनि क्लासमा बसेर चलचित्र सिक्नु पर्दथ्यो । बिहानै चलचित्र बेलुकै चलचित्र । जतिबेला पनि चलचित्र नै चलचित्र । हरेक समय चलचित्रका कुराहरू पढाइन्थे । सैद्धान्तिक कक्षाभन्दा चलचित्रको अभ्यासमा तिनीहरूको धेरै समय बित्थ्यो । कक्षामा पनि विश्व प्रसिद्ध चलचित्रका क्लीपहरु देखाइन्थ्यो ।

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा सम्झिन्छन् त्यो समय, “बेलुकी रोटी दाल खाइसके पछि सबै विद्यार्थीले एउटा चलचित्र अनिवार्य हेर्नुपर्ने हुन्थ्यो । त्यसबेला क्लासिकल फिल्महरू नै हेरिन्थ्यो ।  हामी दिनमा दुई तीन वटा पनि चलचित्र हेर्दथ्यौं । यसरी पुना बसुन्जेल हामीले फिल्म हेर्ने मात्र नभएर फिल्म नै खाने, फिल्म नै सुत्ने र सपना पनि फिल्मकै देख्ने गर्यौं ।” 

एकपटक चलचित्र हेर्दा हेर्दा उनको आँखा नै दुख्यो । त्यहाँ डाक्टरको पनि व्यवस्था थियो । एक दिन उनले त्यहाँका डाक्टरलाई भेटेर आफ्नो समस्या सुनाए । ती डाक्टरले पनि भनेछन्, “केही गर्नु पर्दैन । आँखा धोउ र नरम टावेलले पुछ । उनले पनि आँखा धुँदै फिल्म हेर्दै गए । पछिपछि त बानी नै भयो । 

उनी हास्दै भन्छन्, “आज एकै दिनमा पाँच वटा फिल्म हेर्दा पनि मेरो आँखा दुख्दैन ।”

०००
उनी इलामको बरबोटेमा जन्मिए । फिक्कल स्थित स्कूलमा बाह्रखरी सिके । पछि करफोक स्कूलमा भर्ना भए । र त्यहीँबाट एसएलसी पास गरे ।

लक्ष्मीनाथ शर्मा कक्षा पाँचमा हुँदादेखि नै लेख्थे । सुरुमा उनी कविता लेख्थे । पछि निवन्ध पनि लेख्न थाले । स्कूलमा निवन्ध लेखेर, कविता लेखेर उपहार पाउँथे, उनी । उपहारमा कापी र कलम नै हुन्थ्यो ।

आठ कक्षामा पुग्दा उनी स्कूलको साहित्य मन्त्री भए । स्कूलबाट जुनेली नामको पत्रिका निस्किन्थ्यो । पत्रिका बनारसबाट छापिएर आउँथ्यो । २०१६ सालमा जुनेलीमा नै उनको पहिलो कविता छापियो, म बाहुनको छोरो शीर्षकमा । यो उनको पहिलो कविता थियो ।

एसएलसी पास भएपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । उनले प्राइभेटबाट आइए पास गरे । र, पछि बीए र एमए पनि यहीँ पढे । उनी भन्छन्, “बीएमा पढ्दै गर्दा नै मैले तीन वटा उपन्यास लेखेँ । जुन उपन्यासले मलाई चलचित्र संस्थानमा प्रवेश गरायो ।”

काठमाडौंमा रहँदा उनले आफ्ना जेठा दाजु तारानाथ शर्माका धेरै किताबहरूको कपी प्रेसमा पठाउन साफी गरेका थिए । उनले कवि इश्वर बल्लभको ‘आगोका फूलहरू हुन् आगोका फूलहरु होइनन्’ कविता संग्रहको प्रुफ पनि हेरेका थिए । 


२०१७ सालमा तत्कालीन राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए । उनले पञ्चायती व्यवस्थाको थालनी गरे । प्रजातान्त्रिक पद्धतिबाट जितेर आएका प्रधानमन्त्रीलगायतलाई अपदस्त गरी नेताहरूलाई थुन्ने काम भयो ।  

२०१८ सालको कुरा हो । राजा महेन्द्रको महत्वाकांक्षाले पञ्चायती शासनको शुरुआत भएको थियो ।

रुसमा सन् १९१७ मा क्रान्ति भएको थियो । क्रान्ति पछि रुसको कम्युनिज्मलाई सशक्त र दीर्घकालीन बनाउनका लागि लेनीनले चलचित्र निर्देशकहरूलाई कम्युनिज्मका विषयमा फिल्म बनाउन दबाब दिएका थिए । 
त्यस अघि पनि इटलीमा मुसोलीनीले र जर्मनीमा हिटलरले चलचित्र माध्यमको पूर्ण दुरुपयोग गरेका थिए । तिनले चलचित्रका माध्यमबाट देशका युवाहरूलाई दिग्भ्रमित तुल्याउँदै सैनिकका रुपमा काम गर्न लगाएका थिए । 

लक्ष्मीनाथका अनुसार मुसोलिनीले शत्रुको पोशाक लगाएर एउटा बटालीयन खडा गरे र आफ्नो देशका सेनाको पोशाक लगाएर एउटा बटालीयन खडा गरी दुबै पक्षबीचमा अनेक बितण्डा मच्चाएको दृश्यसहितको चलचित्र बनाएर हिंसा, बलात्कार, लुटपाट गरेको दृश्य खिचेर देखाउने काम गरे । र युवाहरूलाई प्रभावित गर्दै देशका लागि युद्धमा लाग्न भने । 

यस्तै भ्रम चलचित्रका माध्यमबाट जर्मनीका क्रुर शासक हिटलरले पनि फैलाएका थिए । यसरी इटाली, जर्मनी र रसियामा चलचित्र कला र प्रविधिको व्यापक दुरुपयोग भएको थियो ।

निर्देशक लक्ष्मीनाथ शर्मा भन्छन्, “यो कुरा राजा महेन्द्रलाई थाहा थियो । उनले यस बारेमा पढेका–बुझेका थिए, सायद । यसैले त चलचित्र कलाले ठूलो काम गर्छ भन्ने सोचेरै पञ्चायती व्यवस्थाप्रति आम जनतालाई आकर्षित गर्नै चलचित्र कला र प्रविधिको प्रयोग गरियो । मलाई लाग्छ, पञ्चायतकालमा चलचित्र कला र प्रविधिको दुरुपयोग भएको नै हो ।”

२०१८ सालमा बम्बईबाट नेपाल भित्रिएका हिरासिंह खत्रीले राजाको जन्मोत्सब, रानीको जन्मोत्सब, क्षेत्रीय भ्रमण, राजदरबारका विभिन्न खबरहरूलाई लिएर वृत्तचित्र र समाचर चित्र बनाउँदै गए । पछि कथानक चलचित्रका रुपमा पञ्चायती व्यवस्थाको गुणगान गाउँदै चलचित्र निर्माण हुनथाल्यो । 

ती चलचित्र नेपालका गाउँगाउँमा लगेर देखाइन्थ्यो । यसरी पञ्चायती व्यवस्थाको प्रोमोसनका लागि मात्रै चलचित्रको प्रयोग हुँदै गयो । 

निर्देशक शर्मा भन्छन्, “तर एउटा कुरो पक्कै के हो भने, राजा महेन्द्रको यो दुरुपयोग पछिको समयका लागि राम्रो भयो । दुरुपयोग भए पनि नेपालमा चलचित्र कला र प्रविधिको नितान्त नौलो माध्यम र आधुनिक प्रविधि भित्रिएको थियो ।” 

०००
लक्ष्मीनाथ शर्मा पुनाबाट फर्किँदाताका कथानक चलचित्र ‘सिन्दुर’ निर्माणको कुरो अन्तिम चरणमा थियो । प्रकाश थापाको निर्देशनमा चलचित्र निर्माण हुँदैथियो । त्यसबीचमा ‘कुमारी’ पनि निर्माण भएर प्रदर्शनमा आइसकेको थियो । कुमारी खासै चलेन । 

उनी फर्किए पछि उनलाई ‘सिन्दुर’को सहायक निर्देशन गर्न भनियो । यो काममा उनले प्रकाश थापालाई सहयोग गरे । तर पछि चलचित्र ‘जीवन रेखा’मा पनि प्रकाश थापाले सहायक निर्देशन गर्न भने पछि उनले ‘नाई’ भने ।  

उनले भने, “मैले सिधै भनेँ, अहँ ! म गर्दिन । निर्देशन पढेर आएको छु । अब निर्देशन नै गछुँ ।’  

त्यस पछि २०३९ सालमा उनले संस्थानको कथानक चलचित्र ‘बदलिँदो आकाश’को निर्देशन गर्ने अवसर पाए । जसमा नीर शाह, हरिहर शर्मा, सुभद्रा अधिकारीजस्ता भेट्रान कलाकारहरूले अभिनय गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro