
“मेरो आमाको साथीको बुबा बित्नुभएको थियो । आमाले मलाई पनि जा भन्नुभयो । म गएँ । औपचारिकता निभाउन मात्रै गएको थिएँ,” चार वर्षअघिको कालिम्पोङको घटना काठमाडौंको लाजिम्पाटको एक अपार्टमेन्टमा बसेर सुनाउँछन् अनमोल । मान्छे जन्मनु र मर्नु सामान्य घटना । भलै मृत्यु जसको घरमा आइपुग्छ त्यो पीडाको सागर लिएर आउँछ । अनमोल त्यसअघि पनि पटकपटक मलामी गइसकेका थिए । त्यसैले त्यो दिन पनि उनका लागि नौलो थिएन । केवल विगतको पुनरावृत्ति मात्रै थियो ।
मलामीहरु अन्तिम काजकिरिया सकेर घर फर्किने हतारोमा थिए । उमेर छिप्पिएका ‘अंकल आन्टी’हरु उसैगरी रोइरहेका थिए । त्यो दिन मृतकका आफन्तको रुवाइले अनमोललाई फरक तरिकाले छोयो । मन अमिलो भयो । मनमा प्रश्न जन्मियो । ‘कुनै दिन यसैगरी मैले मेरो बुबा गुमाएँ भने के हुन्छ ?’
आफैँले आफैँलाई गरेको प्रश्नको जवाफ खोज्न अनमोललाई निकै गाह्रो भयो । “मैले त्यो बेला रियलाइज गरेँ मेरो बाउले मेरा लागि कति गरेको रहेछ । मैले मेरो बाबाले मलाई गरेको मायाँलाई कति ढुक्कले लिएको रहेछु ?”
अनमोललाई लाग्यो–मैले मेरो बुबालाई केही गर्न नसके पनि रेस्पोन्स गर्नुपर्छ । ताकी मैले बुबालाई माया गर्छु । उनले सोचे, “बाबा मेरा लागि यतिधेरै दुःख गर्नुभएकोमा धन्यवाद भन्छु ।” भन्नका लागि गए पनि अनमोल तर सकेनन् । उनले मोबाइलमा म्यासेज गर्न खोजे तर लाजले सकेनन् ।
उनले साथीहरुलाई सोधे, ‘तिमीहरु बाबालाई यसो भन्छौ ?’ उनीहरुको जवाफ थियो, ‘कहाँ भन्छ हो, लाज लाग्दैन ?’ उनले चाल पाए, “ओ हो यो कमन समस्या पो रहेछ । बाबालाई माया गर्न सक्छु भन्न नसक्ने तर त्यही कुरा आमालाई भन्न सक्ने ।”
अनमोलको अनुहारमा गम्भीरता छाउँछ, म मेरो गर्लफ्रेन्ड (अहिले श्रीमती)लाई छिनछिनै लभ यू्... । भन्न सक्ने तर त्यही कुरा बाबालाई किन भन्न सक्तिन ?” त्यही प्रेसरमा उनले लेखे, “मेरो गर्लफ्रेन्डलाई लभ यू भन्दाभन्दा मुख पनि थाक्छ तर आप्पा तिमीलाई माया गर्छु भन्न मलाई किन लाज लाग्छ ?”
यही वाक्य हो अनमोलको चलचित्र ‘आप्पा’को प्रारम्भको कथा । त्यसपछि अनमोलका साथीका बुवाहरु बित्दै गए । त्यो भयावह मृत्यले अनमोललाई तर्साउन थाल्यो । त्यसपछि उनलाई लाग्यो यो त विश्वको स्टोरी हो भने चलचित्रमार्फत किन नभन्ने ? अनमोलको दिमागमा आयो अरु चलचित्रका कथा खोज्छन् तर मलाई त कथाले खोज्दै आयो । त्यसो भए किन नभन्ने त सिनेमामार्फत ?
चलचित्रका लागि स्टोरी लाइन त भयो । तर स्टोरीलाइनले मात्रै चलचित्र बन्दैन । यसभित्र पनि कथा, पटकथा र संवादहरु हुन्छन् । चलचित्र भन्ने आफ्नै तौरतरिका हुन्छ ।
अनमोल ट्रेकिङमा गइरहन्छन् । नेपाल र इन्डियाको सीमा क्षेत्र सन्दफू उनको ट्रेकिङको पहिलो रोजाई हो । उनले ट्रेकिङमा सन्दफूको रफ बाटोमा वल्र्डवार टुका विलासी ल्यान्ड रोबर गाडी गुडेको देख्थे । उनलाई झ्याप्पै तानेको सन्दफूमा लगेर उनको दिमागमा बसेको बुवा र छोराको आत्मीय सम्बन्धको कथालाई फेन्टासी तरिकाले भन्ने सोचे ।
तर, उनलाई चाहिएको थियो थप कथा । जसले उनको कथालाई थप टेवा पु¥याओस् । कोसँग हुन्छ कथा ? दिनकै कयौं व्यक्तिसँग जम्काभेट र संगत हुने गाडी चालकसँग । त्यसपछि उनलाई लाग्यो मेरो कथा यहाँबाट भन्नुपर्छ ।
अनमोलले कथा तान्न थाले । कहिले बुवाको कोणबाट कहिले छोरोकातर्फबाट । आफ्नै रियललाइफमा भोगेका, देखेका र सुनेका कुरा उनले टिपे । र, ‘आप्पा’को कथा तयार भयो ।
अनमोलले अंग्रेजीका दुई शब्द ‘लभ यू’ भनेर बुवालाई भन्न सकेनन् । त्यती मात्रै पनि होइन । तपाईंकै लागि चलचित्र बनाउँदैछु भन्न पनि सकेनन् । “चलचित्र बनाउँछु । देखाउँछु त्यसपछि सँगै देखाउन लैजान्छु अनि त यसले भन्न खोजेको के र’छ उहाँले बुझिहाल्नुहुन्छ नि भन्ने लाग्यो,” चलचित्र रिलिजको तीन दिन अगाडि भेट हुँदा अनमोल भन्दै थिए, “हामी केटा मान्छे कस्तो हुँदा र’छौँ बाबालाई मनको कुरा भन्न नसक्ने ।”
अनमोल आफ्नो बुवासँगको आजसम्मकै इमोश्नल क्षण सुनाउँछन्, “आजभन्दा ठिक छ दिन अगाडि कोलकोतामा मेरी छोरी जन्मिइन् । बाबा र मसँगै थियौँ । त्यो खुसीको क्षणमा मैले आफूलाई कन्ट्रोल गर्नै सकिन अंगालो मारेर रोएँ ।” सीधासीधा भन्दा, “यो फिल्म मैैले मेरो बाबालाई म माया गर्छु भन्नलाई रचेको ठूलो कथा हो ।”
आफ्नो आप्पा (बुवा)का लागि माया गर्छु भनेर अनमोल गुरुङले लेखेको र निर्देशन गरेको चलचित्र ‘आप्पा’ सम्पूर्ण बुवा र छोराका कथा भएको अनमोल बताउँछन् ।