site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्यासिनो खोलौँ, प्रदेशलाई जुरुक्क उठाऔँ : मुख्यमन्त्री गुरुङ

पोखरा । छ वर्षअघि सरकारले तोकेको रोयल्टी तिर्न नसक्ने भन्दै क्यासिनो 'पोखरा ग्राण्ड' बन्द भयो । भ्याली लिंक प्रालीले त्यतिखेर पोखरामा २०६५ सालदेखि सञ्चालन गरेको उक्त क्यासिनो वार्षिक चार करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने भएपछि बन्द गरियो । व्यवस्थापन पक्षले त्यतिबेला जारी गरेको विज्ञप्तिमा सरकारको कडा नियमनकारी नीतिका कारण बन्द गर्नुपरेको उल्लेख गरिएको थियो । हुन पनि सरकारले २०७० साउन १ गतेदेखि लागु हुनेगरि क्यासिनोको रोयल्टी शतप्रतिशत बढाएको थियो । दुई करोडबाट एकैपटक चार करोड रुपैयाँ तिर्नुपर्ने भएपछि उक्त क्यासिनो ठप्प भयो ।

पोखराकै अर्को पाँचतारे फुलबारी रिसोर्ट पनि २०७४ यता बन्द छ । गुणस्तरीय (खर्चालु) पर्यटक तान्ने उद्देश्यले बनेका अर्बौँ लगानीका ठूला रिसोर्ट बन्द छन् । पर्यटन व्यवसायीहरुको गुनासो छ, पर्यटकको बसाई अवधि छोटियो, खर्चमा कमी भयो । यता, पर्यटन उद्योगमा यस्ता संकट देखिएका छन् भने सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य राखेको छ । संघ सरकारलेझैँ गण्डकी प्रदेश सरकारले पनि २०१९, २०२० र २०२२ लाई पर्यटनका तीन अभियानको रुपमा घोषणा गरि अन्तिम वर्ष सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सोही लक्ष्य प्राप्तिको लागि सोमबार पोखरास्थित माउण्ट ग्लोरी रिसोर्टमा प्रदेशभरिका स्थानीय तह र जिल्ला समन्वय समितिका पदाधिकारीसहित प्रथम बैठक बसेको छ । सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले क्यासिनो सञ्चालनको कुरा उठाएका छन् ।

रिर्सोटहरुमा क्यासिनो चलाउने र त्यहाँबाट अर्थतन्त्र उकास्न सकिने उनको सोंच छ । उनले मकाउको दृष्टान्त सुनाउँदै भने, “मकाउको अर्थतन्त्रको मुख्य आधार जुवा हो । क्यासिनो हो । त्यहाँ ५-६ लाख दिनभरि जुवाखालमा हुन्छन् । त्यहाँ बसले निशुल्क लगिदिन्छ, ल्याइदिन्छ, दुध, पाउरोटी, चिया खान दिन्छ । भित्र पनि सबै निशुल्क छ । तर, त्यहाँ खेल्ने मान्छे भने सबै टाई सुट लगाएका हुने रहेछन्, यस्सो जुवाखालमा आँखा लगेको त मेरो आँखा तिरमिरायो ।”

क्यासिनोमा काम गर्ने नेपालीहरुले पनि राम्रो सुविधा पाएको उनले बताए । तर, नेपालमा जुवालाई नराम्रो तरिकाले लिने गरिएको उनको तर्क थियो । “हाम्रोमा नेपालमा के छ भने कौडा हानेर भाषा फालेर घरबारै बिगारेको सारासम्पत्ति बेचेको, श्रीमतीलाई दाउमा हारेको, छोराछोरीलाई दाउ हानेको सुन्छौँ नी हामी, त्यसकारण जुवा खेल्यो भने खतम भन्छौँ, मैले यो कुरा उठाएँ अब मलाई पनि खतम भन्छन्,” उनले भने, “तर, क्यासिनो पोखरामा जरुरी छ । क्यासिनोले पर्यटकको बसाई लम्ब्याउँछ । सरकारलाई ट्याक्स, रोयल्टी पनि तिर्छ, होटेलले पनि टुरिस्टहरु पाउँछ, जतिधेरै खायो, सुत्यो, बस्यो, खेल्यो त्यतिधेरै पैसा पाउँछ । त्यसकारणले विदेशीको लागि रिसोर्टहरुमा क्यासिनो खोल्नुपर्छ भन्छु मैले ।”

अमेरिकाको लस भेगास क्यासिनोले नै प्रख्यात बनेको उनले बताए । “केही नभएको लस भेगासमा हेरौँ, रेस्लिङ खेल्ने बक्सिङ खेल्ने, जुवा खेल्ने त्यहाँ जान्छन् । मान्छेले बनाएपछि ढुंगा पनि सुन बन्दोरहेछ । हामीले यहाँको ढुंगालाई सुनमा परिणत गरौँ । त्यो कामको लागि ८५ वटै स्थानीय तह, ११ वटा जिसस र प्रदेश सरकार गरि ९७ भाई मिलेर गण्डकी प्रदेशलाई जुरुक्क उठाउँ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १८:०३
प्रतिक्रिया दिनुहोस्