site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भारतका ४५ थिएटरमा ९० ‘शो’ पायो ‘आप्पा’ले 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आप्पा’ भारतका विभिन्न सहरमा करिब चार दर्जन थिएटरमा रिलिज हुने भएको छ । गत शुक्रबार नेपालसँगै भारतमा पनि रिलिज हुने भनिएको चलचित्र उच्च माग भएको तर प्रचारका लागि समय अभाव भएका कारण प्रदर्शन मिति पछि सारिएको थियो । निर्देशक अनमोल गुरुङका अनुसार ‘आप्पा’ अब यही शुक्रबार रिलिज हुनेछ । 

चलचित्रका मुख्य कलाकार दयाहाङ राईलाई गोहाटी लिएर गएका निर्देशक गुरुङ दयाहाङको क्रेज देखेर आफू छक्क परेको बताउँछन् । गोहाटी आसाममा दुई–दुईवटा ‘शो’ पाएको ‘आप्पा’लाई दयाहाङलाई हेर्न हलसम्म आएका नेपालीभाषी दर्शकको संख्या देखेपछि हलले गोहाटी र आसामा मात्रै १५ ‘शो’ दिएको गुरुङले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सिलोङ लगायत ठाउँमा पब्लिसिटीका लागि समय भएन त्यसैले दया दाइसँग समय लिएर फेरि एकपटक इन्डिया जाँदैछु,” गुरुङले बाह्रखरीसँग भने, “दया दाइ हङकङबाट आएपछि म फेरि उहाँलाई लिएर इन्डिया जाँदैछु ।” राई अहिले साङपाङ साँझका लागि हङकङमा छन् । 

४५ थिएटरमा प्रतिदिन कम्तिमा दुईटा ‘शो’ पाएको निर्देशक गुरुङ बताउँछन् । गुरुङका अनुसार कालिम्पोङ, मिरिक, दार्जिलिङ, खर्साङ, सिलगुडी, डुवर्स, ग्यान्टोक, नयाँ दिल्दी, कोलकाता, गोहाटी, सिलोङ, आसाम लगायत ठाउँमा ‘आप्पा’ एकसाथ प्रदर्शन हुनेछ । उनले चलचित्र डिष्टिब्युटरमार्फत् नै प्रदर्शन हुन लागेको बताए । 

बुवा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित चलचित्र ‘आप्पा’ आर्ट मुभी र कमर्सियल मुभीको फ्युजन रहेको लेखक तथा निर्देशक गुरुङले बताए । दयाहाङ राई र सिद्धान्त राज तामाङ चलचित्रको मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  ११:२१
प्रतिक्रिया दिनुहोस्