site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सपनाको मिलन

बोस्टन (अमेरिका) । मिलन थापामा फिल्मका नयाँ नयाँ प्रविधि जान्ने हुटहुटी छ । प्रविधि जान्ने त्यही हुटहुटीले उनलाई अमेरिका ल्याइपुर्‍यायो । नेपाल छँदा म्युजिक भिडियो छायांकन र सम्पादनमा स्थापित उनी यता पनि यही पेशामा भविश्य खोज्दै छन् ।  यता आएपछि प्रविधिमा उनको पहुँच बढेको छ । तर, स्थान र विषय भने नेपाल बराबर कतै लाग्दैन उनलाई । “अलिक राम्रो क्यामेरा किनेपछि कहिले नेपाल कुदौं जस्तो हुन्छ,” हालै नयाँ प्रयोगका साथ ‘ट्राभर्स नेपाल’ बनाएर धेरै ‘फलोअर’ कमाएका मिलनले भने । 

त्यो भिडियोको प्रतिक्रियाले हौसिएका मिलन नेपाल चिनाउने नयाँ भिडियोको सम्पादनमा छन् । यसको सुटिङमा ६ महिना नेपाल बसेका उनले भने, “पहिलो भिडियो रहरै रहरमा पुरा भएको थियो । दर्शकले निकै रुचाए । यसपटक नेपालको विविधता झल्काउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको यात्रा गरेका छौं ।”
एकवर्ष अघि तयार भएको पहिलो भिडियोमा चलेका कलाकारलाई समेत खेलाएका मिलनले यसपालि बास्तबिक पात्रलाई समेटेका छन् । विभिन्न जातजाति, भाषा, पहिरन र भूगोल समेटेर भिडियो बनाउनुको मुख्य कारण अमेरिकामा आफूले भोगेको अनुभव पनि हो भन्छन् उनी । 

“मान्छेहरु मलाई सिधै चाइनिज, कोरियन वा भियतनामी ठानेर सोही भाषमा कुरा सुरु गर्छन । हैन म नेपाली हुँ भन्यो मरिगए पत्याउँदैनन् । यस्तो अनुहार पनि नेपाली हुन्छ भनेर अनौठो मान्छन्,” उनी भन्छन्, “मलाई साह्रै झोंक चल्यो र यी हेर कस्ता कस्ता हुन्छन् नेपाली भनेर देखाउन मन लाग्यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसपाली नेपालको भौगोलिक विविधताका साथै जातीय पहिचानल र सांस्कृतिक सम्पदामा प्रविधिको पछिल्लो उपलब्धी पोख्न उनी क्रियाशील छन् । 

फिल्म क्षेत्रलाई सपनाको व्यापार पनि भनिन्छ र फिल्मकर्मीलाई सपनाको व्यापारी । तर, मिलनको सपना भने व्यापार हैन सिर्जना तर्फ ज्यादा छ । उनी सपना देख्छन् तर त्यसको हिसाब गर्दैनन् । बरु आफ्नो सपनालाई ‘स्क्रिन’मा उतार्ने उपकरणको हिसाव गर्छन्, त्यसको जोहो गर्न लागि पर्छन् ।  उनीसँग सपना छ, सपनालाई पर्दामा उतार्ने कला पनि छ । उनी त्यो सीप र सपना ठूलो संसारमा फिंजाउन चाहन्छन् । 

“राम्रो चिजको कमी छैन नेपालमा । तर, संसारलाई भिडियोमा देखाउन भने राम्रो उपकरण  पनि चाहिन्छ, राम्रो दृष्टिकोण त झन् चाहिन्छ । मेरो संघर्ष राम्रो चिजलाई राम्रो उपकरणले राम्रो दृष्टिकोणका साथ संसारभर पुर्‍याउँ भन्ने हो,” उनी भन्छन् । उनी स्याङ्जामा जन्मिए, पोखरामा हुर्किए र अहिले ‘अमेरिकन ड्रिम’ पच्छ्याउँदै अमेरिकाको बोस्टन आइपुगेका छन् । ‘क्रियटिभ भिजुअल आर्टिस्ट’को रुपमा उनी नेपाली र अमेरिकी प्रोडक्शन हाउसमा परिचय बनाइरहेका छन् । 

संसारलाई हेर्ने दृष्टिको हरेकको आ–आफ्नै हुन्छ । यहाँ भएका विषय र वस्तुलाई नौलो र आकर्षक तवरले देखाउन सक्ने खुवीका कारण भिजुअल आर्टिष्टहरु सफल हुन्छन् । एउटा म्युजिक भिडियो तयार पार्ने सिलसिलामा पनि उनी हरेक विधाका कलाकारमा एउटा ‘युनिक’ दृष्टिकोण पाउँछन् । जसरी उनीहरु ड्रम र गिटार चलाएर शब्दलाई सजीव बनाउँछन् आफू त्यस्तै कर्म भिडियो मार्फत गर्न आकर्षित भएको पाउँछन् । “आफूलाई अभिव्यक्त गर्ने आ–आफ्ना तरिका हुन्छन्, औजार हुन्छन् । भिडियो मेरो तरिका हो भने क्यामेरा मेरो औजार,” यो आत्मविश्वासलाई मिलनले पुष्टि गर्दै आएका छन् । 

जव प्रविधिको उच्च उच्च प्रयोग नेपालका विषय र पात्रमाथि गर्न पाउँछन्, उनलाई लाग्छ आफ्नो सपनाको मिलन भयो । र, सपनको मिलन गराउने यात्रामा उनी कम्मर कसेर लागेका छन् ।

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १७:४०
प्रतिक्रिया दिनुहोस्