
काठमाडौं । नायिका करिष्मा मानन्धर सरकारी विद्यालयमा अध्ययन् गर्ने भएकी छन् । अधिकांश अभिभावकको रोजाइ निजी विद्यालय भइरहेका बेला करिष्मा कक्षा ११ र १२ सरकारी विद्यालयमै पढ्न लागेकी हुन् ।
“मेरो घर (गोदावरी) नजिकै दुईटा सरकारी स्कुल छन् । म ति दुईटामध्ये एउटा स्कुल पढ्छु,” नायिका मानन्धरले बाह्रखरीसँग भनिन्, “घरबाट नजिकै भएकाले रेगुलर जान्छु भन्दा पनि सम्भव हुन्छ । विहान पढाई हुनेभएकाले दिउँसो काम पनि सजिलो हुन्छ ।”
सरकारी विद्यालयमा सरकारले ठूलो लगानी गरेपनि अधिकांश सरकारी कर्मचारीकै छोराछोरी सरकारी विद्यालयमा अध्ययन् गर्दैनन् । “सकरारी विद्यालयमा पढ्नुपर्छ भन्ने सकारात्मक सन्देश दिन पनि म सरकारी विद्यालयमा पढ्न लागेकी हुँ,” करिष्मा भन्छिन्, “मलाई अब पढेर जागिर खानु छैन । दिउँसो पढाई हुने सरकारी स्कुलमा दुई नबज्दै खालीभइसक्छ भन्ने सुनेकी छु । निजी स्कुलमा जस्तै सरकारीमा पनि राम्रो पढाई हुनुपर्छ । र, सकरारी स्कुल पनि रोजाईमा पर्नुपर्छ भन्ने मेरो मान्यता छ ।”
करिष्मा कमर्श पढ्ने योजनामा छिन् । केही दिन अगाडि प्रकाशित भएको एसईईको परीक्षामा उनले बी प्लस ल्याएर उत्तिर्ण भएकी थिइन् ।