
– जयवीर सुब्बा
गजे गुरुङले फूलमतीको चुल्ठोमा बाबरी फूल सिउरिदिँदै ऐतिहासिक कथा टुंग्याउन थाल्यो, “त्यसरी पृथ्वीलाई नास गर्ने हुँदा आफैं पनि नासियो ।”
“के हुन्थ्यो हाम्रो मुटु नमरेसम्म ?”
“ऐया, औंला नपड्काइदेऊ न अर्काको । यी गोराहरू घाम अस्ताउने देशबाट धपेटिएर यता यस्तो देवी–देवरालीतिर उक्लिएका किन ?”
“लाटी, यिनीहरूको गच्छे छ, सुन र माटो खोज्न हिँड्छन् । यताबाट भोट गई सुनको टोपी लाउन खोज्छन् यिनीहरू ।”
“यही त हो,” गजेले भन्यो, “मानिसले सिकेको पहिलो उपद्रव ।”
फूलमतीले चुवाको फूल छोडाएर गजेको अनुहारभरि छर्दै भनी, “बाँसुरी बजाऊ न ।”
“तिमीले टुङ्ना बजाउने ।”
बाँसुरी र टुङ्नाको लयालु आवाज शरद्को चिसिँदो हावासँग मिसिएर खरुकी पाखा रन्कियो । वृक्षहरूबाट खसेका पातहरूसम्म संगीतको तालमा ओर्लन थाले । दुईका नयन–नयनको पुल बाँधियो, दृष्टि साटासाट भए अनि एकले अर्काको मुहार आफ्नै सम्झन लागे । गजेको ओंठमा अडिएको बाँसुरीको ध्वनि शनैःशनैः धीमा हुँदै गयो, अन्त्यमा टक्क अडियो । उसको दृष्टिले सुन्दरताको रमिता हेर्न थाल्यो । फूलमती टुङ्ना बजाउन छाडी सौन्दर्य नै उज्यालो पारेर मुुसुक्क मुस्कुराई ।
“अब मैले जानुपर्छ,” गजे धनुष–वाण सम्हाल्दै बोल्यो ।
“जाऊ,” फूलमतीले गजेको शीरमा दुबो सिउरी माताको टीको लगाइदिँदै भनी, “तस्करलाई पौवा गढी चढ्न नदेऊ ।”
“पौवा गढी त के, ओगटेको सिन्धुलीबाट पनि लखेटौंला ।”
“हाम्रो जित होस्, हे देवी–देवता !”
“लौ, यो बाँसुरी तिमीसित राख, ओठ नलाउनू अनि ।”
“के हो ?”
“जुठो पर्छ ।”
“बाबै नि, कत्तिको जुठो नसहने है ?”
“हा...हा...हा... खोइ यो आँशु पुछौं । यो देशमा नारीले आँशु होइन, रगत बहाउनु छ ।”
“यो आँशुमा तिमी किन ध्यान दिन्छौ ? यो त डरको मैलो पानी बहेजति बहेको मात्र हो । माईले रच्छे गरून् ।”
“लौ, देवी–देवराली पुज्दै गर्नू,” भनेर गजेले हत्तारो फड्का लियो । फूलमतीको भिजेको नजरले गजेलाई पछ्याउँदै रह्यो । ऊ भन्दै थिई, “वनकाली रच्छे गर ।”
पौवा गढी हान्न अंग्रेजीहरू सिन्धुलीदेखि गई वनले ढाकिएको साँघुरो उकालो गोरेटो लागे । वनको तातो–तातो हावा, चरा चुरुंगीका च्यूँच्यूँ, च्यारच्यार, बछ्यूँ मौरीका भुनभुन् । भर्खरै सिन्धुलीको विजयानन्दको सुरमा हिँडिरहेको एक अंग्रेजको निधारमा बछ्यूँ थुरिएर उड्यो ।
“पहाडी गोली हो क्यार यो,” त्यसले भन्यो ।
अर्कोले भन्यो, “पहाडी देवीले म्वाई खाएको पो त ।”
तिनीहरूका हाँसो फुटे । माथिबाट नायक हार्डी गर्जिए, “तिमीहरूले पाठशालामा चुप लाग्नु सिकेनौ ?”
सबै एक लाममा गढी फोर्न लुरूलुरू उकालिँदै थिए । गोरेटोको दाहिनेतिरबाट सुसेलेको कडा आवाज आयो— ‘सइइ...थित् ।’ सबै तर्सिएर उतैतिर हेर्न थाल्दा देब्रेतिर त्यस्तै आवाज भयो अनि अकस्मात् अंग्रेज फौजको लस्करमाझ सरदार वंशराज गुरुङको दलले हमला ग¥यो । अंग्रेजहरूको लाम चुडिएर सर्पझैं छताछुल्ल भयो । आतेस खाएका अंग्रेजहरू जंगल पसे । एक सुगठित अंग्रेजलाई गजेले खुकुरी हान्यो तर उसले खुकुरी भएको हात समाएर गजेलाई फ्याँक्ने सुर गर्दा छरितो गुरुङले त्यसको छातीमा आफ्नो शीरले उधिन्यो । दुबै बीस हातजति खसेर एउटा सिस्ना घारीमा जाकिए, एउटा ठूलो ढुंगो लडेर गयो । त्यहाँबाट बछ्यूँको गोलै निस्किएर आई भेटेसम्मलाई चिल्न लाग्यो । त्यहाँ पालेजत्तिकै सिस्ना र बछ्यूँ थिए ।
अंग्रेजहरुलाई अब असह्य भयो । १०–१२ जना अंग्रेजहरू एउटा ठूलो तोप रक्षा गर्दै लाँदै थिए । गजे उफ्रिएर त्यहीँ पुग्यो । गोराहरू झम्टिए ऊतिर तर झिल्के गुरुङको रक्तप्यासी खुकुरीको नृत्य हुँदा र तिनीहरुका अनुहारतिर डाबर उठ्ने गरी सिस्नाले पोल्दा तिनीहरू अकमकिए । त्यही समयमा अरू गुरुङहरू मुर्मुरिएर आए । गोराहरू तोप त्यहीँ ओराल्दै सोतारिए । एउटा बछ्यूँले गजेको कानमा चिल्यो । गजे ज्वाला भएर हार्डीतिर झम्टियो तर उसलाई भुँडीमा गोली लाग्यो । ऊ लडेन, अझ उग्र भएर हार्डीको पछि लाग्यो । अंग्रेजहरूले त्यहाँबाट सुइँकुच्चा ठोके ।
शिकारी गुरुङहरूको ‘जय गोरखनाथ’को जय–ध्वनिले जंगलै उचाल्यो । सबै सरदार वंशराजका वरिपरि गिर्दा लागे । सरदारले सबैलाई स्यावासी दिए । तर, त्यहाँ गजे थिएन । सबैले उसको खोजी गरे तर कतै पाएनन् । उसका धनुष र ठोक्रा पाइए, अरू दसी पाइएन । सबैले भने, “गजेलाई गोराहरूले पक्डेर लगे ।”
“पृथ्वी सरकारको प्यारो जवानलाई फर्काउनैपर्छ,” वंशराज कराए ।
‘जय गोरखनाथ’को मुटु थर्काउने जय–ध्वनि डाँडा, कन्दरा र गगन व्याप्त पार्दै गजे गुरुङ भाग्दै गरेको एक गोरासँग भिडिन पुग्यो । दुईको मल्लयुद्ध शुरु भयो । दुबैले बन्दुक र धनु ताके । गुरुङले करङतोड हातको सप्का गोराको कम्मरमा कस्यो । अर्कोले हुर्राएर दुवै अघि सुइँकाइदियो– दुबैजना ठूलो भीरबाट ओइरिएर गई आधा बीचमा बजारिए । ती दुई एकछिन चले, त्यसपछि शान्त भए ।
सूर्यास्तपछि दुवैको संज्ञा खुल्यो । तिनीहरूले उठ्ने कोसिस गरे तर सकेनन् । उज्यालो भयो । गोरा ब्युँझियो । उसले चारैतिर निहाल्यो अनि गजेलाई झक्झकायो । गजे जुरुक्क उठेर बस्यो । ती दुई हेराहेर गर्न लागे । फेरि आफ्ना चारैतिर हेरे । उकालो हेरे टुप्पा नदेखिने, ओरालो हेर्दा चालीस हातजति तल खस्नु पर्ने । गजेले डिलमा उम्रिराखेको धोबिनीको जरा मुक्यायो अनि मुख बिगा¥यो । गजेले अर्को धोबिनीको जरा तानेर गोरालाई दियो । गोराले त्यो खायो अनि मुसुक्क हाँस्यो । त्यति नै बेला गजे भुँडी समाएर लड्यो । गोराले त्यो गोली लागेको घाउमा आफ्नो कमिज च्यातेर दबाई लगाई पट्टी बाँधिदियो । गजे उठ्यो । गोराले छातीको खल्तीबाट एउटा तस्बिर झिकेर गजेलाई देखायो । गजेले ‘को हो ?’ भन्ने इशारा ग¥यो । गोराले त्यो तस्बिर ओठमा छुवाएर छातीमा टाँस्दै गजेलाई इशारामै सोध्यो— उसको पनि छ÷छैन । गजेले ‘छ’ भनेर शीर हल्लायो । उसले आफूले बेरेको गलबन्दी फोएर गोरालाई पहिराउँदै भन्यो, “हामी मीत भयौं ।”
अर्कोले आफ्नो हीराजडित औंठी गुरुङको औंलामा पहिरायो । गुरुङले ढोग दियो, उसले पनि ढोग दियो । तत्पश्चात् ती दुईले पटुका र पेटी लाएको वस्त्र च्याती अङ्कुसे घोचा जोडेर भीरबाट तल ओर्लनसम्म हुने एउटा साधन बनाए । पहिला गोरा झ¥यो । गजे झर्दै थियो, गोराको चीत्कार आयो । ऊ ओर्लेर हेर्दा गोराको छातीमा एउटा तीर भासिएको थियो । छट्पटिएर मर्दै थियो । अलि पर फूलमती क्रोधले थर्थराइरहेकी थिई ।
“कस्ले हान्यो ?” गजे गर्जियो ।
“मैले शत्रु मारें,” फूलमती बोली ।
गजेले हुर्रिएर गई फूलमतीलाई खुकुरीले हान्यो । फूलमती भुइँमा लडी । उसको गर्दन छिनिएन । केशको मुठाले खुकुरीको प्रहार रोकियो । ऊ छट्पटाउन लागी । गोरा मरिसकेको थियो । गजे थरथर कामिरहेको थियो । फूलमतीले गजेलाई हेर्दै भनी, “मलाई किन... हिर्कायौ ?”
“ऊ हाम्रो चिनो साटेको मीत हो ।”
“...................”
“साहै्र दुख्यो घाउ, मलाई समात न ।”
गजे मौन उभिरह्यो ।
“मलाई यो रगतको टीका लगाइदेऊ ।”
“म मर्छु, तिम्रो खुट्टा छुनु देऊ ।”
गजे मूर्तिझैं अचल थियो ।
“मेरो राजा, धरतीबाट उठाई सिउँदोमा लाइदेऊ ।”
गजे निश्चल थियो ।
“मेरो पाप रगतसँगै बगिसक्यो, क्षमा दिन्नौ ?”
“................”
“तिम्रो बाँसुरी देवीथानमा छ । मेरो रगत त्यहाँ लगेर देवीलाई चढाइदिनू है ।”
गजे चुपै बस्यो ।
“देवीलाई भन्दिनू, अर्को जुनी नदिनू भनेर । गाउँमा सुनाइदिनू त्यो आफैं मरी भनेर । आमालाई रुनु नदिनू, त्यो कसैकी पनि होइन भनेर । तिमीलाई केही भए मलाई सम्झिनू, म सँगै छु भनेर ।”
गजे त्यसरी मूर्तिवत् थियो ।
“पा...नी, पानी पा...”
गजेको आँखाबाट जलको धारा छुट्यो । त्यही झर्ना आत्माले पिएर फूलमतीले यसो भन्दै प्राण त्याग गरी–
“माया त अझै रैछ ।”
(सिक्किमको गान्तोकस्थित जनपक्ष प्रकाशनद्वारा प्रकाशित र पीएम खनालद्वारा सम्पादित ‘कथा–विम्ब’बाट साभार ।)