
– पोस्तक श्रेष्ठ
अपरान्हको समय । बाहिर पारिलो घाम लागेको थियो । सञ्जीवनी कपडा धोइरहेकी थिई । ड्राइभर गोपाल टुप्लुक्क आइपुग्यो । उसले गाडी भने ल्याएको थिएन ।
“तिमी हिँडेर आयौ त ! अनि सर ?”
“सर आउन ढिला हुन्छ रे ! गाडी आफैं राख्नुभो र मलाई फर्काइदिनुभो । डेरा गएर पनि के गर्नू, एक्लो मान्छे । म त यता घरतिर केही काम पर्छ कि भनेर आएँ । अनि हजुर आफैं लुगा धुन लागिबक्सेछ त । रुकमाया दिदी कता जानुभयो ?”
“रुकमाया दिदीको बूढालाई सञ्चो छैन रे ! त्यही भएर आउनुभएन ।”
सञ्जीवनी आफ्नै सुरमा लुगा मिचिरहिन् ।
“अनि वासिङ मसिन पनि छ, होइन र ?”
“छ तर के गर्नू ! बिजुलीको नाश, पानी धेरै खर्च हुने । मैलो पनि राम्ररी जाँदैन । हातले धोएको जस्तो मसिनले धोएको कहाँ सफा हुन्छ र ?”
“ए हो है ! म लुगा धोइदिऊँ कि हजुर ?” कमिजको बाहुला सार्दै गोपाल अघि स¥यो ।
“भैगो भैगो, मै गर्छु । मेरो अरू काम नै के छ र ! बरु तिमी यो तरकारीबारीमा झारहरू उखलिदेऊ न त ।”
“हैन, हजुरको त निधारमा त घाउ लागेछ नि ?” कसो–कसो गोपालको नजर सञ्जीवनीको निधारतिर पुगेछ ।
“अँ...,” सञ्जीवनी अलि अकमकाइन्, “हिजो साँझ अँध्यारोमा दराजमा ठोकिएँ ।”
“हिजो लोडसेडिङ थियो र ?”
“हत्तेरिका गोपाल ! कति निधिखुदी गरेको ?” सञ्जीवनीलाई झिँजो लागेछ । उसले कसरी भनोस्— श्रीमान्ले धक्का दिँदा दराजमा ठोक्किएको भनेर ।
गोपाल अलि सकपकायो । मालिक्नी त्यसरी झर्केको उसको लागि पहिलो अनुभव थियो ।
“बुहारी ! खाजा, नास्ता बनाउनु पर्दैन ? मेरो औषधि खाने समय भयो । बाहिर के गफ गरेर बसिराखेको ?” भित्रबाट सासूको आवाज आयो । सञ्जीवनी लुगा त्यत्तिकै छोडेर भित्र पसी । गोपाल करेसाबारीतिर छि¥यो ।
सञ्जीवनीले खाजा बनाई, चिया पकाई, सासू–ससुरालाई दिई । बाहिर गोपाललाई पनि चिया र खाजा ल्याइदिई । गोपाल हातमुख धोएर आयो ।
“अनि औषधि केही लगाउनुभयो कि नाइ ?” गोपालको नजर फेरि सञ्जीवनीको निधारतिरै गयो ।
सञ्जीवनी केही बोलिन । उसले मनमनै गमी— यो कस्तो केटो होला ? परिवारमा अरू कसैलाई उसको चोटबारे कुनै वास्ता छैन, तर यो भने त्यही कुरा कोट्याइरहन्छ !
गोपालको अनुहारतिर पुलुक्क हेरी । ऊ निष्कपट र निष्पाप देखिन्थ्यो । ऊ चुपचाप लुगा धुनै व्यस्त रही ।
० ० ०
सञ्जीवनी स्नातक सकेर त्यत्तिकै बसेकी थिई । भाउजूको माइतीतिरको एउटा बिहेमा जाँदा रत्नेन्द्रका बाबु–आमाले उसलाई देखेछन् र मन पराएछन् । उसको जानकारीबेगर नै धेरै कुरा अघि बढिसकेको रहेछ । एकदिन रत्नेन्द्र सञ्जीवनीलाई हेर्न आयो । उसले मन पराएरै त होला— बिहेको लागि हरियो झन्डा देखाइदियो । त्यसपछि बिहेको कुरो औपचारिक रूपमा अघि बढ्यो ।
“दाइ, म अहिले बिहे गर्न चाहन्नँ,” सञ्जीवनी भने विवाहको लागि तयार थिइन ।
सञ्जीवनीका बाबु सानैमा बितेका र आमा वृद्ध–अशक्त भएकीले परिवारको जेठोबाठो निर्णयकर्ता दाजु नै थियो ।
“काठमाडौंमा घर छ, गाउँमा प्रशस्त जग्जाजमिन छ । केटो ठेक्कापट्टाको काम गर्छ । मनग्गै पैसा कमाउँछ । घरमा नोकरचाकर छन् । तँलाई सुखले पाल्छन्,” दाजुले भन्यो ।
“मलाई एमए गर्ने इच्छा छ दाइ । आत्मनिर्भर बन्न चाहन्छु । श्रीमानले मलाई पालोस् भन्ने म चाहन्नँ,” पढेलेखेकी आधुनिक युवती थिई सञ्जीवनी र उसको सोच पनि आधुनिक ।
“अगाडि पढ्न चाहेमा पनि पढाइदिन्छन् । दाइजो पनि चाँहिदैन रे ! तँ पछि अरू दुई–दुईवटी बहिनी छन् । उनीहरूको पनि बिहे गर्नु छ । हाम्रो आर्थिक हैसियत तँलाई थाहा छँदै छ । यस्तो केटो उम्काउनु हुन्न,” दाजुको तर्क थियो ।
“बीएसम्म पढिहाल्नु भो नानी, आखिर एकदिन बिहे त गर्नै पर्छ । हामी छोरी मान्छेको उमेर ढल्केपछि फेरि गतिलो केटो पाउन गाह्रो हुन्छ । राम्रो घरबाट प्रस्ताव आउँदा छोड्नु हुन्न,” अघिसम्म चुपचाप बसिरहेकी भाउजूको पालो थियो बोल्ने अहिले ।
सञ्जीवनीले आमाको अनुहारमा हेरी । “दाजु–भाउजूले राम्रै कुलघरान हेरेका त होलान् नि, छोरी,” आमाको समर्थन दाजु–भाउजूलाई नै थियो ।
उसले आफ्ना दिवंगत बाबालाई सम्झिई । शायद बाबा भएको भए स्थिति अर्कै हुने थियो ! हुन त दाजु–भाउजूले दुःखसुख गरेर भए पनि बीएसम्म त पढाइदिएकै हुन् । शायद उनीहरू अब सञ्जीवनीलाई अन्माइदिएर जिम्मेवारीबाट मुक्त हुन चाहन्थे । दुई–दुई वटी बहिनी अझै हाइस्कुलमै थिए । एक मनले सोची— घर छोडेर हिँडू कि ? तर, जाने कहाँ ? त्यो सही निर्णय होलाजस्तो पनि लागेन । विवाहको प्रस्ताव स्वीकार गर्नुको अर्को विकल्प देखिएन । चिनाहरू भिडाइए । ग्रहदशा हेरियो । नमिलेका राशि–नक्षत्रहरू पनि पण्डितले मिलाइदिए । साइत जु¥यो । रत्नेन्द्र जन्ती लिएर आइपुग्यो । उसलाई ती जन्तीहरू आफ्नो सपनाका मलामीजस्ता लागे ।
ऊ रत्नेन्द्रको घरमा भित्रिई । दाजुले भनेजस्तै रत्नेन्द्रको परिवार सम्पन्न रहेछ । भव्य घर । सवारी साधन । भौतिक सुख–सुविधाको कुनै कमी नभएको । उमेरले साठीको दशक अन्त्यतिर पुगेका सासू–ससुरा । एक देवर र एक नन्द रहेछन्, जो विवाहको उत्सव सकिनेबित्तिकै अमेरिका फर्किइहाले । घरभित्र काम गर्ने रुकमाया रहिछ । एउटा ड्राइभर– गोपाल । गोपालको भूमिका गाडी चलाउनमा मात्र सीमित रहेनछ । ऊसँग धेरै सीप रहेछ । सानातिना मर्मतसम्भारका काम, बिजुली, धारा–पाइप, रंगरोगनका काम सबै जानेको । मान्छे धेरै सजिलो र सहयोगी रहेछ । कुनै कुरा ‘हुन्न’ र ‘सक्दिनँ’ भन्न नसक्ने ।
सञ्जीवनीले पढाइ जारी राख्ने इच्छा व्यक्त गरी । रत्नेन्द्रले कुनै उत्साह देखाएन तर नाइ पनि भनेन । उसको स्वभाव कस्तो रहेछ भने ऊ कुनै कुरामा मौन बस्यो भने त्यो उसको स्वीकृति हो भनेर बुझ्नु पर्ने । नहुने कुरोचाँहि हुन्न नै भन्थ्यो । सञ्जीवनीले मेहनत गरेर अध्ययन गरी र समाजशास्त्रमा एमए उत्तीर्ण भई । त्यसपछि उसले जागिर खाने कुरो निकाली । त्यसमा भने रत्नेन्द्र मौन बसेन ।
“हेर, घरमा वृद्ध बुवाआमा हुनुहुन्छ । म व्यस्त रहन्छु । कहिले हप्तौं, महिनौं बाहिर रहनु पर्छ । घर कसले सम्हाल्छ ? त्यही पनि हाम्रो परिवारमा छोरी–बुहारीहरूले नोकरी गर्दैनन् । फेरि तिमीलाई किन जागिर खानु प¥यो ? के अभाव छ र तिमीलाई ? जागिरै खाए पनि तिमीले कति नै कमाउँछ्यौ र ?”
“ए, श्रीमती भनेको घर सम्हाल्नका लागि ल्याइँदो रहेछ ? छोरी मान्छेले जागिर खाने अभावमा मात्र हो ?” उसको मनमा प्रश्नहरू उठे तर मौन बसी । भित्रभित्र छटपट्टी भयो । माइतीले बोझ सम्झिने र श्रीमान्ले घरको शोभा ठान्ने नारीको नियतिलाई धिक्कारी ।
“के मेरो बाँकी जीवन घरधन्दा, चुल्हो–चौकोमै बित्ने भो ? मेरा इच्छाहरूको अवसान भएकै हो ?” ऊ उकुसमुकुस भई । त्यसपछि उसको सम्बन्ध रत्नेन्द्रसँग त्यति सहज हुन सकेन । रत्नेन्द्र उदायचलदेखि अस्तायचलसम्म व्यस्त रहन्थ्यो । बिहानै चिया पिएर निस्किन्थ्यो र एकैचोटि साँझ खाना खाने बेलातिर मात्र घर आइपुग्थ्यो । कहिले त खाना पनि बाहिरै खाएर आएको हुन्थ्यो । अनि अक्सर रक्सीको नशामा पनि । त्यो क्रम बढ्दै गए पछि सञ्जीवनी एकदिन विष्फोट भएकी थिई, “हैन, हजुर घर सधैं ढिलो आइसिन्छ । फेरि रक्सीले टन्न मातेर । के चाला हो यो ?”
“मेरो कामै त्यस्तै छ । ठेक्कापट्टाको काम । तिमी घरमा बस्नेले के बुझ्थ्यौ ! हाकिमहरूलाई रिझाउनु पर्छ । गणेश भगवान होइनन्, लड्डु–पेडाले रिझिने । दारुपानी पिलाउनु प¥यो । उनीहरूलाई दारु टक्र्याएर आफू दूधको गिलास लिएर बस्ने कुरा पनि आएन । साथ दिनै प¥यो,” रत्नेन्द्रको बहाना गतिलै थियो ।
‘तिमी घरमा बस्नेले के बुझ्छ्यौ ?’ रत्नेन्द्रको यो वाक्य सीधै सञ्जीवनीको मुटु छेंडेर निस्कियो ।
“मलाई घरमा थन्क्याएको हजुरले होइन ? मलाई पनि दि’स्योस् न त बाहिर नोकरी गर्न ! म पनि बुझूँ, बाहिरको संसार,” सञ्जीवनी त्यो दिन प्रतिवादको पूरा तयारीमा थिई । किन हो— रत्नेन्द्र चुप बस्यो र विवाद ट¥यो ।
त्यसपछिका केही दिन रत्नेन्द्र उज्यालैमा घर फर्कियो । तर, बिस्तारै उसको समयसारिणी फेरि पहिलेकै जस्तै हुन थाल्यो । काठमाडौंबाहिर जाँदा अर्कै कुरा, काठमाडौंमै हुँदा पनि कुनै रात घर नआउने गर्न थाल्यो ।
“बुहारी, के चाला हो यो रत्नेन्द्रको ? रातबिरात घर आउँछ । कहिले आउँदै आउँदैन । तिमीसँग त्यो किन रत्तिन सकेन हँ ? बुहारी भित्र्याएपछि बानी सुध्रिन्छ कि भनेको, उस्तै छ । आफ्नो पोइलाई वशमा राख है । यति साह्रै खुला नछोड । पछि आफैंले पछुताउनु पर्ला,” एकदिन सासूले भनी ।
छोरा उसको तर छोराको आनीबानी बिग्रिनुको दोषको भारी भने बुहारीले बोक्नु पर्ने ? श्रीमतीले श्रीमानलाई रत्याउनु पर्ने ? अनि श्रीमानले श्रीमतीलाई रत्याउन पर्दैन ? सञ्जीवनीको मनमा वितृष्णा जाग्यो ।
त्यो साँझ सञ्जीवनीको रत्नेन्द्रसँग फेरि ठाकठुक प¥यो । नशामा रहेको रत्नेन्द्रले सञ्जीवनीलाई धक्का दियो । ऊ दराजमा ठोक्किई र निधारमा चोट लाग्यो । निधारको चोट सामान्य नै थियो तर मनभित्र गहिरो चोट लाग्यो ।
० ० ०
रत्नेन्द्रले सञ्जीवनीलाई साथ लिएर हिँड्न छोड्यो । अब सञ्जीवनीलाई कतै जान परे गोपाललाई पठाइदिन्थ्यो । अनेक बहाना बनाएर ऊ सञ्जीवनीदेखि परै रहन थाल्यो । ऊ घर आउँदा ओच्छ्यान त एउटै हुन्थ्यो तर मन कोसौं टाढा । उनीहरू विपरीत दिशातिर फर्केर सुतेका हुन्थे । संवाद सीमित हुन थाल्यो । सञ्जीवनी त्यसै पनि अन्तर्मुखी स्वभावकी थिई ।
“गोपाल, मलाई गाडी चलाउन सिकाइदिन्छौ ?” एकदिन बजारबाट फर्किंदै गर्दा सञ्जीवनीले गोपाललाई भनी ।
“सिकाउन त हुन्थ्यो म्याडम, फेरि हजुर आफैंले गाडी चलाएपछि म बेरोजगार हुने हुँ कि ?” गोपालले टाउको कन्यायो ।
सञ्जीवनी हाँसी । “तिमीजस्तो असल, सीप जानेको मान्छे कसरी बेरोजगार हुन्छौ ? जहाँ पनि काम पाइहाल्छौ ।”
“काम त पाउँछु म्याडम तर हजुरजस्तो असल मालिक्नी कहाँ पाउँछु र ?”
आफ्नो प्रशंसा सुनेर होला, सञ्जीवनीको गालामा केही लाली फैलियो, “तिमी कुरा गर्न पनि कति सिपालु है ? अनि कतिसम्म पढेका छौ ?”
“गाउँमै एसएलसीसम्म त पास गरेको हुँ, त्यसपछि पढाइमा ब्रेक लाग्यो ।”
“ए ! पढाइ जारी राखे हुन्थ्यो नि । अनि बिहे पनि गरेका छैनौ, होइन ?” सञ्जीवनीले गोपालको वैयक्तिक जीवन खोतल्न थाली ।
“बिहे भनेको आ–आफ्नो भाग्यको कुरो रहेछ म्याडम । गाउँमा मनपरेकी एउटी केटी त थिई । म केही पैसा जोडूँला र बिहे गरूँला भनेर यता आएँ, उता उसका बाबु–आमाले अर्कैसँग पो झ्याइँ पारिदिएछन् । त्यसपछि फेरि कसैसँग हित्तचित्त मिलेको छैन ।”
“ओहो ! तिम्रो कथा त वियोगान्तक पो रहेछ त ! पाइहाल्छौ नि एकदिन अर्को कुनै हित्तचित्त मिल्ने ।”
गोपाल खिसिक्क हाँस्यो । जहिले पनि हँसिलो रहने । फरासिलो पनि ।
गाडी सिक्न सञ्जीवनीले श्रीमानबाट अनुमति पाई । गोपालले दुई–चार दिनको अन्तरालमा सञ्जीवनीलाई गाडी सिकाउन थाल्यो । स्टेयरिङ समातेको केही दिनमात्र भएको थियो, एउटा मोटरसाइकलले बाटो काटिदिँदा गाडी अनियन्त्रित भयो र अर्को लेनतिर मोडियो । विपरीत दिशातिरबाट आएको अर्को कारले ड्याम्म हिर्कायो । सञ्जीवनी घाइते भई । उसको टाउकोबाट रगत बगिरहेको थियो । खुट्टा टेक्न मिलिरहेको थिएन । धन्न गोपाललाई भने केही भएन । उसले रत्नेन्द्रलाई तत्काल खबर ग¥यो र सञ्जीवनीलाई लिएर अस्पताल गयो । सबै परीक्षण गर्दा पत्ता लाग्यो— टाउकोमा त खास केही क्षति रहेनछ तर देब्रे खुट्टा भने भाँच्चिएछ । प्लास्टर चढाइयो । तीन–चार दिन अस्पतालनै बस्नुपर्ने भयो ।
छेउको अर्को शय्यामा एउटी युवती थिई । उसको साथमा एउटा युवक थियो, जो शायद श्रीमान् वा प्रेमी हुनुपर्छ । युवक सधैं ती युवतीको हात समातेर बसिरहेको हुन्थ्यो । निधार छामिरहेको हुन्थ्यो । केशराशिहरू खेलाइरहेको हुन्थ्यो । त्यो दृश्य देखेर सञ्जीवनीलाई अनौठो महसुस हुन्थ्यो । उसले कल्पना गरी— रत्नेन्द्रले पनि आफूलाई स्पर्श गरिरहेको । केशराशि चलाइरहेको । कल्पनामै पनि ऊ रोमाञ्चित भई । छालामा काँडा उम्रियो ।
साँझतिर रत्नेन्द्र आइपुग्यो । सञ्जीवनीलाई छुन त परै जाओस्, नजिक कुर्सीमा समेत बसेन । उभिएरै कुरा ग¥यो । उसका कुराहरू औपचारिक थिए । व्यवहार चिसो । ऊ संवेदनाहीन देखिन्थ्यो । आँखामा न माया झल्किन्थ्यो न सहानुभूति । वास्तवमा श्रीमानको माया कस्तो हुन्छ भन्ने सञ्जीवनीलाई कहिल्यै अनुभव भएन । रत्नेन्द्र त्यो साँझपछि एकैपटक डिस्चार्ज हुने दिनमात्र आएको थियो । औषधि किनेर ल्याउने, खाना ल्याउने, खुवाउने सबै काम गोपालले नै गथ्र्यो । कहिलेकाहीँ पालो दिन रुकमाया आउँथी । सञ्जीवनीलाई ओच्छ्यानबाट उठ्न–बस्न सहारा चाहिन्थ्यो । श्रीमानको मायालु स्पर्श नपाएकी सञ्जीवनी समवयी गोपालको स्पर्शमा काउकुती महसुस गर्थी । पीडा कम भएको अनुभूति हुन्थ्यो । गोपालको सेवाभावप्रति सञ्जीवनी अनुगृहित थिई ।
“गोपाल, तिमीले पूर्वजन्ममा मेरो ठूलो ऋण खाएका रहेछौ र अहिले तिर्दै छौ है ?” सञ्जीवनीले भनी ।
“होइन म्याडम, के मर्जी भा’को होला ! धेरै कुराहरू नसोचिबक्सियोस् न । हजुरको सेवा गर्न पाउनु त मेरो भाग्य पो,” गोपालको नम्रभावमा कुनै कमी थिएन ।
“भाग्य त मेरो पो होला गोपाल । तिमीजस्तो सहयोगीको साथ पाएँ । तिम्रो सरलाई मेरो कुनै वास्ता छैन तर तिमीले कस्तो तन्मयका साथ मेरो सेवा गरिरहेका छौ । तिमी नभएको भए मेरो के हाल हुन्थ्यो होला है ?” लुकाउने प्रयास गर्दागर्दै पनि सञ्जीवनीको आँखामा आँसु टिल्पिलायो ।
“तिमीले मेरो यति धेरै किन ख्याल राखेको गोपाल, भन त ?” सञ्जीवनीले आफ्नो आँखा गोपालको आँखामा गाडी ।
“खै हजुर...!” गोपाल अक्मकायो र नजर हटायो । सञ्जीवनीका नजर भने गोपालतिरै एकोहोरिएका थिए ।
एक महिनापछि सञ्जीवनीको प्लास्टर काटियो । ऊ पहिलेजस्तै हिँडडुल गर्न सक्ने भई । रत्नेन्द्रको दैनिकी भने बदलिएको थिएन, न त उसको आनीबानी नै । सञ्जीवनीलाई किनमेलको लागि लैजाने, कतै पु¥याउने, लिएर आउने काम यथावत् गोपालकै थियो ।
एकदिन सञ्जीवनी र गोपाल किनमेल गरेर फर्किंदै थिए । गाडी मूल सडकबाट घरतिर मोडिने चोकमा पुग्दा सञ्जीवनीले गाडी रोक्न लगाई, “गोपाल, एकछिन गाडी रोक त । घरमा दूध सकिएको छ । केही पाकेट लिएर जानु प¥यो ।”
गोपालले गाडी रोक्यो र दूधका केही पोका लिएर आयो । ऊ गाडीको ढोका खोलेर चढ्न मात्र के लागेको थियो, कसैले एउटा भद्दा मजाक ग¥यो, “ठेक्दारचाँहि तरुनीसँग भुल्ने, ठेक्दारनीचाँहि ड्राइभरसँग डुल्ने ।”
पसलको आँगनमा क्यारमबोर्ड खेलेर बसेका केटाहरूमध्ये एउटाले सञ्जीवनीतिर इंगित गर्दै प्याच्च बोल्यो । सञ्जीवनीलाई भाउन्न भएर आयो । गोपाल उफ्रिएर त्यो केटोको कठालो समात्न पुग्यो । सञ्जीवनीले गोपाललाई छुटाएर ल्याई । घर पुगुन्जेलसम्म पनि गोपालले सञ्जीवनीको मुखमा सीधा हेर्न सकेन । घर पुगेपछि गोपालले गाडी गराजमा थन्क्यायो र फटाफट निस्कियो । सञ्जीवनीले चिया–नास्ता खाएर जान गरेको अनुरोध पनि टारिदियो ।
सञ्जीवनीलाई गोपालसँग जोडेर गरिएको टिप्पणीभन्दा ‘ठेक्दारचाँहि तरुनीसँग भुल्ने ...’ वाक्यले बेस्सरी झस्कायो । उसलाई याद आयो— एकदिन गाडीको सिटमुनि एउटा लिपस्टिक भेटिएको थियो । त्यतिबेला त्यो शायद आफ्नै पर्सबाट खसेको होला भन्ने ठानी । अर्को पटक एउटा सल भेटिएको थियो, जुन उसको थिएन । त्यसबारे उसले रत्नेन्द्रलाई सोध्दा गाडीमा अफिसका कर्मचारीहरू पनि चढ्ने भएकाले कसैको होला भनेर सहजै जवाफ दिएको थियो ।
के रत्नेन्द्रले बाहिर केटी राखेको छ ? ऊ सधैं घर ढिला फर्किने, कहिले आउँदै नआउने कारण यही हो ? साइट भिजिट भनेर हप्तौं काठमाडौंबाहिर रहने कारण पनि यही हो ? त्यो चोकको केटोको कुराले गोपाललाई किन गम्भीर बनायो ? के उसलाई रत्नेन्द्रको बाह्य सम्बन्धबारे जानकारी छ ? सञ्जीवनीको मनमा अनेक प्रश्न आए । कुनै प्रमाण थिएन तर रत्नेन्द्रका बानी–व्यवहार र घटनाक्रम केलाउँदा शंका गर्ने प्रशस्त आधार थिए । त्यो रात रत्नेन्द्र आएन । मनमा अनेक तर्कना खेलाउँदै ऊ कुन बेला निदाई, पत्तै पाइन ।
भोलिपल्ट गोपाल आएन । पर्सिपल्ट सञ्जीवनीले गोपाललाई फोन गरेरै बोलाई । आकासमा कालो बादल मडारिइरहेको थियो र दिउँसै अन्धकार छाएको थियो । तर, उसले कतै जाने निहुँ पारेर गोपाललाई गाडी निकाल्न लगाई । बाटोभरि गोपाल चुप नै रह्यो ।
“गोपाल, तिमी यसरी चुपचाप बस्ने मान्छे त होइनौ !”
“अस्ति त्यो केटोले घिनलाग्दो कुरा ग¥यो म्याडम । मेरो नाम जोडेर हजुरमाथि हिलो छ्याप्यो, म लज्जित छु ।”
“तिमीसँग मलाई गाडीमा प्रायः सँगै देखेर त्यसो भनेको होला । मलाई त्यसमा कुनै चिन्ता छैन । बरु त्यो केटोले भनेको पहिलो वाक्यले भने मलाई बिझाइरहेको छ । तिमीलाई केही थाहा छ त्यसबारेमा ?”
गोपाल मौन बस्यो । त्यो एउटा गम्भीर रहस्योद्घाटनपूर्वको मौनता रहेछ । एउटा ज्वालामुखी विष्फोटनपूर्वको सन्नाटा ।
“के भनूँ म्याडम ! म सानो मान्छे । हजुर यति सुन्दर, सुशील र शिक्षित होइबक्सिन्छ । सरले बाहिर त्यसरी मन डुलाउन नहुने । हजुरमाथि ठूलो अन्याय भइराखेको छ,” गोपालका आँखा रसाए ।
बाहिर आकासमा झिलिक्क ग¥यो । एउटा भयानक गर्जनसहित चट्याङ प¥यो र पानी दर्कियो । सञ्जीवनीको आङ ढक्क फुलेर आयो । मुटुको धड्कन तीब्र भयो । सिसाको वाइपर जोडजोडले चलिरहेको थियो । उसले तीन–चार पटक लामोलामो सास तान्दै बिस्तारै छोडी । मुटुको चापलाई त नियन्त्रण गरी तर आँखाबाट आँसुका थोपा चालै नपाई झरेछन् । आँसु पुछी र गोपालतर्फ हेरी । ऊ पनि आफ्नो आँखाको आँसु पुछ्दै थियो ।
“तिमीलाई मप्रति दया लाग्छ गोपाल ? एउटा मद्दत गर्न सक्छौ ?”
“दया होइन हजुर, म त हजुरको इज्जत गर्छु म्याडम । मर्जी होइबक्सियोस् न, जे गर्न पनि तयार छु ।”
त्यसपछि सञ्जीवनीले गोपाललाई केही कुरा भनिन् । गोपालले स्वीकृतीमा टाउको हल्लायो ।
६ महिनापछि
गोपालले गाडी एउटा खाजाघरअघि रोक्यो । सञ्जीवनी र गोपाल दुबै भित्र पसे । गोपाल छुट्टै टेबलमा बस्न खोज्यो ।
“यहाँ बस गोपाल, किन छुट्टै बसेको ?”
“हजुरसँग एउटै टेबलमा बस्ने मेरो के हैसियत छ र ? म यहीँ ठीक छु हजुर ।”
सञ्जीवनीको नजर गोपालतर्फ केन्द्रित भयो । त्यो हेराइ अर्कै पाराको देखिन्थ्यो । ऊ मन्द–मन्द मुस्कुराइरहेकी पनि थिई । एकछिनमा उसको अनुहारको रंग परिवर्तन भयो । ऊ जुरुक्क उठी र गोपाललाई तानेर ल्याई ।
“मैले भनेपछि बस न !”
अप्ठ्यारो मान्दै गोपाल कुर्सी तानेर बस्यो ।
“ल भन के खान्छौ ?”
“हजुर, जे भए नि हुन्छ ।”
सञ्जीवनीले दुबैको लागि केही खानेकुरा मागी । गोपाल रेस्टुरेन्टभित्र यताउती हेर्न थाल्यो । सञ्जीवनीको नजर भने एकतमास गोपालतर्फ मात्र थियो ।
“तिमीलाई म नजिकबाट नियाल्न चाहन्छु, भोलिदेखि हाम्रो भेट होला–नहोला,” उसको आवाज अनायास भारी भयो ।
“हजुर के मर्जी होइबक्सेको ?” गोपाल आश्चर्यचकित भयो, “हजुर कतै जान लागिबक्सेको हो र ?”
“तिमीलाई धेरै धन्यवाद दिन चाहन्छु । रत्नेन्द्रविरुद्ध सबै प्रमाण जुटाउन तिमीले मद्दत ग¥यौ । तिमीले खिचेका भिडियो, केटीहरूसँगका संवाद रेकर्डिङहरू सबै अदालतमा पेश भइसकेको छ । आफू हार्ने निश्चित भएपछि ऊ अदालतबाहिरै मुद्दा सल्ट्याउन राजी भएको छ । भोलि हाम्रो डिभोर्स पेपरमा सही हुन्छ र म स्वतन्त्र हुन्छु ।”
“खै, म त खुशी हुँ कि दुःखी म्याडम !” वास्तवमा गोपाल अन्योलमा परेको देखिन्थ्यो, “अनि हजुर कहाँ गइबक्सिन्छ त ?”
“मैले एउटा गैरसरकारी संस्थामा राम्रो जागिर पाएकी छु । तर, यहाँ होइन, वीरेन्द्रनगर, सुर्खेत । भोलि छोडपत्रको काम सकिएपछि सीधै कलंकी पुगेर बस चढ्छु ।”
गोपाल केही बोलेन । सञ्जीवनीले गोपालको अनुहारका भाव पढ्ने कोसिस गरी ।
“तिमीलाई मेरो न्यास्रो लाग्छ, गोपाल ?”
“हजुर... खै के भनूँ र !” गोपाल एकछिन अन्कनायो अनि टोलायो ।
वातावरणमा एकछिन शून्यता छायो । सञ्जीवनी चम्चाले प्लेटका खानेकुरा खेलाउन थाली । मनभित्र पनि कुराहरू खेलिरहेका थिए । अकस्मात उसको मुखबाट एउटा प्रश्न फुत्कियो, “तिमी मसँग जान्छौ ?”
“हजुर ?!” गोपाल झस्कियो । उसको लागि शायद यो प्रश्न अनपेक्षित थियो । ऊ असमञ्जसमा प¥यो र सोध्यो, “त्यहाँ हजुरको अफिसमा ड्राइभर चाहिएको छ र ?”
भन्छन् नि, हजामको नजर मान्छेको कपालमै जान्छ रे ! जुत्ता पालिस गर्नेको ध्यान मान्छेको जुत्तामै जान्छ रे ! ड्राइभर गोपालको ध्यान पनि आफ्नै रोजगारीतर्फमात्र थियो ।
सञ्जीवनी मुसुक्क हाँसी ।
“तिमी कति सीधा छौ है गोपाल ?”
त्यसपछि सञ्जीवनीले चियाको अन्तिम घुटको लिई । बिल भुक्तान गरी र उठ्दै गर्दा भनी, “ल, जाने भए भोलि दिउँसो ४ बजे कलंकी चोकमा आउनू ।”
० ० ०
भोलीपल्ट सञ्जीवनी कलंकी चोकमा उभिरहेकी थिई । घामलाई बादलले छेकेको थियो । वातावरण घुर्मैलो । सुर्खेत जाने बस लागिराखेको थियो । ऊ व्यग्र भई । गोपाललाई खोज्न आँखाहरू परपरसम्म पुगे । नजर तारन्तार घडीतिर पनि जान्थ्यो । घडीको सुई रफ्तारमा कुदिरहेको भान हुन्थ्यो । ढुकढुकी बढेको थियो । ४ बजिसक्दा पनि गोपाल देखा परेन । उसको फोन पनि स्वीच अफ थियो । उसलाई लाग्यो— शायद गोपाल अब आउँदैन । ऊ निराश हुँदै बसतर्फ बढी ।
“ब्याग म बोकिदिऊँ कि म्याडम ?”
आवाजसँगै कसैले पछाडिबाट झोला तान्यो । त्यतिबेलै बादलको घुम्टो हट्यो र घामको उज्यालो सञ्जीवनीको अनुहारभरि पोखियो । ऊ सूर्यमुखी फूलजस्तै फक्रिई । ऊ बसमा उक्लिई र गोपाललाई हात दिई । एकैछिनमा बस गुड्यो । बस नागढुंगा हुँदै नागबेली सडकमा ओरालो लाग्यो । एउटा घुम्तीमा सञ्जीवनीले झ्यालको सिसा खोली । झ्यालबाट सिरसिरे बतास भित्र छि¥यो र सञ्जीवनीका केशराशिहरू गोपालका अनुहारभरि छरिए । ऊ खिलखिलाएर हाँसी । दायाँतर्फ हिमाल पनि खुलेर हाँसेको प्रतीत हुन्थ्यो । बाहिर आकाश सफा र उन्मुक्त थियो ।
केही दिनमै चोकमा हल्ला पुगिसकेको थियो । क्यारेम खेल्दै गरेका केटाहरू कुरा गर्दै थिए, “एउटा कुरा थाहा पाइस् ? ड्राइभरले त ठेक्दारनीलाई भगाए छ नि यार !”
“होइन, तैंले उल्टो भनिस् । ठेक्दारनीले पो ड्राइभर भगाइन्,” अर्कोले सच्यायो ।
“हत्तेरिका, के भा’को होला ठेकदारनीको मति ! के नपुग्दो थ्यो र त्यो आइमाईलाई ? त्यत्रो धनसम्पत्तिको मालिक छोडेर एउटा हरितन्नम ड्राइभरसँग पोइल गा’की ?!” बाँसको मुढामा बसेर चुरोट तानिरहेको अर्कोले टिप्पणी ग¥यो ।
उनीहरू कुरा गरिरहँदा रत्नेन्द्र त्यही बाटो गुज्रिँदै थियो ।