site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविताः एकथान प्रश्नहरू

- तुलसीप्रसाद दहाल


उनीहरू एक भएर

एकैसाथ गाउँ छिरेका थियौं

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकैचोटि सडकमा निस्किएका थियौं

केही थान प्रश्नहरू लिएर

केही थान उत्तरहरू खोज्न

 

हाम्रा प्रश्नहरु सामान्य थिए ।

 

हामीले सोधेंका थियौँ

तिम्रो घरमा जस्तो हाम्रो घरमा

एक भाँडो चामल किन पाक्दैन ?

तिम्राजस्तै सुकिला, न्याना कपडा

हाम्रो आङमा किन पर्दैन ?

तिम्रा प्यारा राजा-रानी जाने जस्तै

हाम्रा सिँगाने बच्चाहरु जाने स्कुल

किन राम्रो बन्दैन ?

 

तिम्रा बच्चाहरु च्छ्यान पर्दा

तिमीले यता भित्रै उता बाहिर देख्ने

वैद्य डाक्टरहरू हाम्रा आँखाले किन देख्दैन ?

तिम्रा छोरी-बुहारी, चेलीहरु

सुत्केरी हुँदा अस्पताल जान्छन् रे !

त्यो अस्पताल कस्तो हुन्छ, भनिदेऊ

 

के तिम्रा छोरीहरू पर गोठमा गएर छाउ बार्छन् ?

के तिम्राहरू आधा पेट सुतेर पूरा पेटको सपना देख्छन् ?

के सिटामोल जीवनजल खान नपाएर

तिम्रा आफ्नाहरु पनि अकालमै  बिते ?

के तिम्रा आफ्नाहरु लुटिएका छैनन् ?

लुटिएकाहरुको आर्तनादले तिमीलाई कत्तिको पोल्छ ?

 

हामीले प्रश्नहरु सोधिरहयौं

 

तिम्रो दरबारझैँ लाग्ने घरको आँगनमा

दुबोमाथिको त्यो शीतल शीत

हाम्रो झुपडीबाहिर किन पोल्ने हुन्छ ?

तिम्रो घरको कौशीबाट देखिँदा

मनै रमाउने ती जून-ताराहरु 

हाम्रो छानो चिहाएर भित्र छिर्दा

मन किन पोल्छ ?

 

हाम्रा प्रश्नहरु उसले सुन्न चाहेको नै थिएन

तर, हामीले सोधिरह्यौं

 

तिम्रो घरअगाडिको जस्तो

हाम्रो घरअगाडिको बाटो किन छैन ?

तिम्रो घरमा पानी दिनेजस्तै घाराले

हाम्रो घरमा किन चैं हावामात्र फाल्छ ?

तिम्रो लागि पानी-पँधेरोझैं लाग्ने शहर

हाम्रा लागि किन कोशौं टाढा हुन्छ ?

 

अँ, साँच्ची !

तिमीले अन्याय गर्दा चुप्प लाग्ने समाज

हामीमाथिको अन्याय कसरी हेरेर बस्छ हँ ?

 

प्रश्नहरुले आजित भएको उसले  

हाम्रा उत्तरहरु भेटिने पुस्तक दिन तयार भयो

त्यै पुस्तकको प्रयोग गरेर

मेरा मित्रहरुले धेरै प्रश्नको उत्तर पाए

, अहिले उनीहरु

देशकै मुटुमा किला गाढेर बसेका छन्,

मलाई भने तिनै प्रश्नहरुले सतारहन्छन् ।

 

दुर्भाग्य !

मेरा मित्रहरुलाई तिनै प्रश्नहरु बेकम्मा लाग्छन्

जुन प्रश्नहरु हिजो हामीले एक भएर सोधेका थियौं

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १०:२३
प्रतिक्रिया दिनुहोस्