site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हतियार

– कृष्ण कुसुम 


चैत १६ गते स्कुलको अभिभावक दिवस । शायद २०५० को चैत ८–९ तिर हुँदो हो । अभिभावक दिवस मनाउने क्रममा विविध खेलकुदका साथै अन्य अतिरिक्त क्रियाकलाप पनि हुने । वादविवाद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफलगायत कार्यक्रमसँगै कविता प्रतियोगिता पनि हुने भयो । के सुरमा मलाई पनि कविता भन्ने रहर जागेछ र बुझाइदिएँ एउटा कविता । कविताको शीर्षक थियो, ‘मेरो कलम’ ।

अहिले अचम्म लाग्छ, कहाँबाट पलायो होला ममा त्यो रहर ? न त मेरा कक्षाका अरू साथीले बुझाएका न त मेरै दुई दिदीहरूले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हामी तीन दिदीभाइमा म र कान्छी दिदी लक्ष्मी कक्षा ४ पढ्ने । माइली दिदी दुर्गाचाहिँ हामीसँगै कक्षा ३ मा पढेर पहिलो भएपछि कक्षा ५ मा पढ्थिन् ।

अब कलमको कविता वाचन गर्न परेपछि त्यसैअनुसारको तयारी पनि गर्नै प¥यो । दिदी दुर्गाले पोहोर कक्षामा पहिलो भएर पाएको फाउन्टेन कलम लेख्न छाडेको ६ महिना भइसकेको थियो । त्यसलाई तातो पानीमा डुबाएर सफा गरें । मसी हालीवरि नयाँजस्तै त्यो कलम सेतो सर्टको खल्तीमा भिरेर कविता पढें—

मेरो एउटा कलम छ 
सधैं साथमा रहन्छ 
मसी सकिए रिसाउँछ 
कैलेकाहीँ बिसाउँछ 
मेरो एउटा कलम छ ।

फ्याट्टै ‘फस्ट’ नै पो भैयो त बा ! केटो एकाएक कवि पो बन्यो त अब । कक्षा १–७ सम्मका विद्यार्थीबीचको प्रतियोगितामा म पहिलो हुँदा कक्षा ७ का दाजु दोस्रो भए । म दंग परें । अरू सबै छक्क परे । सोध्थे, “कसरी लेखिस् यस्तो राम्रो कविता ?”

कोहीचाहिँ म आफैंले लेखेको हो कि होइन— निक्र्याेल गर्न कविता नहेरी सुनाउन भन्थे । मच्चीमच्ची सुनाउँथें । कण्ठ नै त थियो आखिर । प्रतियोगितामा सुनाउन तयारी गर्दागर्दै सबै याद भइसकेको थियो । तर, तिनीहरूको शंका भने सही थियो । यो कविता मेरो मौलिक रचना थिएन ।

२०४९ फागुन–चैततिर बुवा कृषि सामग्री केन्द्रको तालिमका लागि गाउँबाट छानिएर भैरहवा जानुभएको थियो । फर्किंदा एकथान स्मारिका ल्याउनुभएको थियो । त्यही स्मारिकामा प्रकाशित बालकविताको ६०–७० प्रतिशत अंश निकालेर आफ्ना चानचुन ३०–४० प्रतिशत मिसाएर आफ्नो कविता बनाएको थिएँ । पूरै कविता कण्ठस्थ सुनाउन सक्ने र कक्षामा पनि राम्रै पढ्ने भएकाले (म ३ कक्षाबाट दोस्रो भएर गए पनि पहिलो हुनेको अनुपस्थितिमा कार्यवाहक ‘फस्र्ट’ थिएँ) अरूका कविता भनेर शंंका गर्नुपर्ने अवस्था रहेन । आजसम्म पनि त्यो तथ्य मेरो परिवारका सदस्यबाहेक अरूमा सार्वजनिक भएन । पहिलोपटक यही लेखमार्फत सार्वजनिक गर्दै छु, आफ्नो पहिलो कविताबारे ।

४ कक्षामै कविता प्रतियोगितामा प्रथम भएपछि त बाध्यता नै भयो कविता लेख्न । अरू बेला नलेखे पनि हरेक साल चैत १६ को छेकोमा हुने वार्षिक प्रतियोगितामा सहभागी हुन पनि लेख्नैपर्ने भयो । वाचन गर्ने लिस्टमा मेरो नाम पछि परेर वाचन गरिनँ भने पनि सरहरूले ‘किन यसपल्ट बुझाएनौ ?’ भनेर सोध्नहुन्थ्यो । त्यसैले हरेक साल लेखियो । र, कक्षा ७ सम्मका विद्यार्थीहरूबीच हुने बाल कविता प्रतियोगितामा सधैं पुरस्कृत पनि भइयो ।

०५५ सालसम्म कविता अलिअलि रहर र अलिअलि बाध्यताजस्तो रहेछ मेरो लागि । ०५५ मा कक्षा ८ पढ्दै गर्दा भने कवितासँग राम्रैसँग प्रेम बस्यो । अब मेरा लागि कविता बाध्यता रहेन । पुरस्कार लिने रहरमात्र बनेन । नेपाली पढाउने विष्णुप्रसाद धिताल सरले हरेक शुक्रबार नियमित रूपमा रचना सुन्ने÷सुनाउने कार्यक्रम गराउने हुनुभयो । नाम राख्नुभयो, ‘प्रतिभा प्रवाह ।’ कक्षामा रहेका हरेक विद्यार्थी कुनै न कुनै भूमिकामा सहभागी होऊन् भनेर हामीमध्येबाटै उद्घोषक, सभापतिलगायत चुन्ने गर्नुहुन्थ्यो । र, आआफ्नो रचना सुनाउने त भइहाल्यो । सरले चाहिँ अन्त्यमा सबैका रचना एवं भूमिकाको सांगोपांगो टिप्पणी गर्ने । 

त्यो कार्य सिंगो एक वर्षको नियमितता नै बन्यो । मलाईचाहिँ शुक्रबारको तेस्रो पिरियड एउटा उत्सवजस्तो लाग्थ्यो । यसरी नियमित रूपमा सक्रिय सहभागी हुँदै गर्दा मैले उद्घोषणकला सिक्न पाएँ । कवितालाई आफ्नो अभिव्यक्तिको माध्यम बनाउन सिकें ।

मैले आफ्नो हतियारको रूपमा कविताको सहारा लिएका दुई प्रसंग यस्ता थिए—

प्रसंग १— 

०५६ भदौ महिना तीजको दर खाने दिनको अघिल्लो दिन ठूल्दिदीको घर जानुपर्ने भयो, दिदीलाई लिन । घरबाट झन्डै तीन घण्टा हिँडेर जानुपर्ने । शायद बिहीबार थियो । हाफ छुट्टीमा सरहरूसँग बिदा मागेर दिदी लक्ष्मीको साथ लागेर गएँ, भोलिपल्ट स्कुल भ्याउने गरी फर्किने हिसाबले । दरखाने दिन बिहान साढे ६ बजे नै फर्कियौं, साथमा दुई भाञ्जीहरूसहित दिदीलाई लिएर । वर्षात्का बेला दुई बच्चा बोकेर ल्याउनु पर्दा घर आइपुग्दा १० नै बज्यो । बिहान सवा १० बजे कक्षा शुरु हुने । खाना खाएर जाँदा ढिलो हुने भएकाले खाना नखाई स्कुल दौडिएँ । हिँडेर आउँदा पसिना–पसिना भएकाले हातमुख धोएर ड्रेसको सर्ट लगाएर पाइन्टचाहिँ ‘आउट ड्रेस’कै लगाएँ । यति तयार भएर स्कुलको गेटमा पुग्दा सवा १० भइसकेछ (स्कुल घरबाट ५ मिनेटको दूरीमा थियो) । प्रार्थना १० बजे शुरु हुन्थ्यो र सोही समयमा स्कुलको गेट लागिसक्थ्यो । म स्कुलको गेटमा पुग्दा गेट बन्द भइसकेछ । देखें— भित्र पनि प्रार्थना सकिवरि सबैजना आ–आफ्नो कक्षातर्फ जाँदै थिए । गेटबाहिरबाट पाले दाइलाई चिच्याएर बोलाएँ । सुनेनन् । दुई–तीन मिनेट उसैगरी बोलाएँ । स्कुलको चौर ठूलो र कक्षा कोठा पनि गेटबाट टाढै भएकाले मैले बोलाएको कसैले सुनेनन् । गेटको प्वालबाट चियाएर हेर्दा सरहरू हातमा चक–डस्टर बोकी कक्षा–कक्षातिर लम्किँदै गरेको देखें । मेरो मन अत्तासियो, छट्पटिएँ ।

पाकेको खाना नखाई स्कुल दगुरेको तर कक्षामा जानबाट रोकिएँ गेटमै । आत्तिएर यताउता गर्दै थिएँ, गेटसँगै भएको स्कुलको क्यान्टिनमा काम गर्ने भाइले मलाई देख्यो । म छट्पटिरहेको देखेर ‘पर्खाल चढेर हामफाली जाऊ न दाइ’ भन्यो । कक्षामा जान हतारिएको म ढोका खोल्न कोही नआउने पक्का भएपछि उसैको सुझाव मानेर पर्खाल चढें । दौडिएँ कक्षातिर । कक्षा कोठामा पुगेपछि थाहा पाएँ, पहिलो ‘पिरियड’ अंग्रेजी पढाउने सर स्कुलको कामले जिल्ला सदरमुकाम जानु भएर कक्षा खाली रहेछ । 

खाना नखाई हतारहतार स्कुल आउँदा कक्षामा शिक्षक अनुपस्थित भएकाले खिन्न भएँ । र, त्योभन्दा नरमाइलो त पर्खाल चढेर आएकोमा कारबाही गर्न सहायक प्रधानाध्यापक सर आउँदा लाग्यो । ‘तँ स्कुलको नियम तोड्ने ? हिरो हुन खोज्या होस् ?’ भन्दै गाली गर्नुभो ।

“सर म हिजो पनि हाफ छुट्टीमा बिदा मागेरै ग’को हुँ । आज आउँदाआउँदै १०÷१५ मिनेट ढिलो भयो । बरु खानापछि खाउँला भनेर भोकै आएको पढाइ नै ठूलो लागेर । आउँदा गेट लागिसकेछ । एकछिन सबैलाई बोलाएँ, कसैले सुनेनन् । म त अब कक्षामा ढिलो हुने भएँ भनेर पो पर्खाल नाघेर आएको नि सर । म पढ्न आएको हुँ सर, हिरो बन्न वा दादागिरी गर्न यसो गरेको होइन,” आफ्नो विवशता सुनाएँ ।

त्यतिबेला मलाई एउटामात्र क्लास छुटे पनि सर्वस्व छुटेझैं लाग्थ्यो ।

हुन त स्कुलमा त्यति साह्रै कडा नियम पनि थिएन । धेरैजसो केटाहरू आउट ड्रेसमा आउँथे । कपाल पाल्ने र मुद्रा लाउने सामान्य नै थियो । तर, ती सहायक प्रअ सर अलि त्यस्तै हुनुहुन्थ्यो, साँच्चै दादागिरी नै गर्नेसँग डराएर खासै केही भन्न नसक्ने तर सीधासादालाई पाए थर्काइहाल्ने स्वभावको ।

डराएको देखेर सर झन् रन्किनुभो । मेरो अनुनय वास्ता नगरी खुबै झपार्नुभो । त्यतिले नपुगेर ‘हिरो बन्न खोजेर ढिलो आइस् र पर्खाल नाघिस्’ भन्दै प्रअको अफिसमा लैजानुभयो । प्रअको अफिसमा प्रअबाहेक अरु एक–दुईजना सरहरू पनि हुनुहुन्थ्यो । आजसम्म कहिल्यै पनि यसरी कारबाहीमा नपरेको म त्यसरी जाँदा साह्रै नमज्जा लाग्यो । एकातिर तीन घण्टा हिँडेर आएकाले थाकेको ज्यान भोकै छ, अर्कोतिर आफ्नो बेइज्जत । साह्रै अमिलो भयो मन । कागती निचोरेझैं अनुहार बनाउँदै आफूले पर्खाल चढ्नुपरेको कुरा पुनः एकपटक सविस्तार सुनाएँ । मेरो कुरा सुनिसकेपछि प्रअले ‘केही छैन । गलत उद्देश्यले होइन रहेछ, हामीलाई चैं तिम्ले पनि किन यसो ग¥यौ भन्ने लागेर मात्र सोधेको हो । तिम्लाई कारबाही गर्न हैन । बरु अहिले कक्षा खाली भए जाऊ, खाना खाएर आऊ’ भन्नुभो । अघिदेखि गुम्सिएर बसेको म प्रअको यति आड पाएपछि रोएँ । डाँको छोडेरै रोएँ । मलाई उहाँहरूले केही कारबाही नगरे पनि सहायक प्रअलाई सबै कुरा भनिसक्दा पनि उहाँले गरेको व्यवहारले चित्त दुखेको थियो । ‘इगो हर्ट’ भएको थियो मेरो । (हुन त म अलि पिन्चे नै छु, मलाई झगडा गर्न भन्दा पहिला रुन आउँछ) । लाग्यो— ए बाबा ! म त कक्षाको पहिलो विद्यार्थी पो हुँ त ! आजसम्म अनुशासनको विषयमा कहिले पो यस्तो गाली खानुपरेको थियो र ! सधैंजसोको पहिलो हुँ, सधैं अनुशासनमै बसेर पढाइबाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय नै हो । आज एकदिनको बाध्यतामा केको नाटक गर्नुपरेको ? कुनचाहिँ अनुशासनमा ख्याल गर्ने स्कुल हो र ?

म रोएपछि अर्को सरले सम्झाउनुभयो, “बाबु, बाँदरले रुख चढ्दा अनौठो मानिन्न तर गाई नै रुख चढ्यो रे भनेपछि के भएछ हँ ? जस्तो लाग्नु ठिकै होइन र ? हामीलाई पनि त्यही लागेरमात्र सोधेको । हामीले गाली त गरेनौं नि । तिम्रो कुरा सुनियो, तिम्रो अप्ठ्यारो बुझ्यौं । नरोऊ, जाऊ अब ।”

त्यसपछि आफ्नो कक्षामा आएँ । म रोएको देखेर मसँग मिल्ने साथीहरूले ननिको माने । अरू साथीहरूले पनि सहायक प्रअलाई हिरो बन्न खोजेको भन्दै गाली गरे । केही साथीहरूले भने, “तँलाई कुटेको छैन, केही कारबाही गरेको छैन । हामीलाई भएको भए पिट्थे । केही नगर्दा पनि किन रुन्छस् ? नरो ।”

पहिलो घण्टी सकिएर दोस्रो घण्टी शुरु हुन लाग्दा १० कक्षाको सेकेन्ड ब्वाई पर्खाल नाघेर आए । मलाई याद भएसम्म उनी सधैं प्रार्थना समय सकिएपछि मात्र आउँथे स्कुल । नजिकै घर भएर पनि । उनलाई धेरै पढ्छु, समय खेर फाल्दिनँ भनेर देखाउन मन लाग्ने । साथै हल्का फेसन पनि गर्थे– कानमा मुन्द्रा, लामो कपाल, हातमा बाला ।

एकछिन अघि मलाई गाली गर्ने सरलगायतले उसलाई नदेखेजस्तो गरे । एकैछिन अघि मलाई गरेको व्यवहार र अहिले उसलाई केही नभनेपछि मलाई झन् नराम्रो लाग्यो । तुरुन्त एउटा व्यंग्य कविता लेखेर स्कुलको सूचना पाटीमा टाँसें । शीर्षक राखेँ, ‘वा क्षेत्रपालको प्रशासन ।’ (स्कुलको नाम क्षेत्रपाल मावि हो।) कविताको मूलभाव साँच्चै हिरोगिरी गर्ने र अनुशासन तोड्नेसँग डराएर कोही बोल्दैन, सोझालाई भने छोड्दै छोड्दैन भन्नेखाले थियो ।

स्कुल छुट्टी भएपछि सोत्तर काट्न जाँदै थिएँ । साथमा थिए, दुई दिदीसहित अरू तीन–चारजना । बाटोमा उनै सर भेटिनुभो । भेटिनासाथ भन्नुभयो, “के छ कविज्यू ? मलाई व्यंग्य गरेको कविता लेखेर टाँसियो हैन त ?”

यतिबेला चाहिँ दिदीहरू पनि साथमा हुनुका साथै बिहानै हेडसरको सपोर्ट पाइसकेकाले निर्धक्क बोलें, “सर, मैले स्कुल प्रशासनले जे गर्छ, त्यही लेख्या हो । हजुरको नाम लेखेको थिइनँ त कवितामा ।”

“तिमीलाई गाली गरेको हो त लाटा ? राम्रो मान्छे बिग्रेला भनेर पो सम्झाको बिहान मैले, त्यसै रिसाउने ?” नम्र भएर प्रस्तुत हुनुभयो ।

“म बिग्रिनुभन्दा पनि मैले किन पर्खाल नाघेर आएँ भनेकै थिएँ । मपछि पर्खाल नाघी आउनेलाई त कसैले केही भनेनन् त फेरि ? त्यही कुरा कवितामा लेख्या हुँ मैले ।”

“अर्कोसँग के तुलना गर्नू ? त्यो त त्यस्तै छ नि । तिमी त आफ्नो मान्छे, छाडा लाग्दै गयौ भने भोलि बिग्रिन के बेर भन्ने लागेर हो,” उहाँले फकाउन थाल्नुभयो ।

बिहान मलाई त्यसरी गाली गर्दै कराउने मान्छे अहिले यति नरम भएर बोलेपछि लाग्यो, कविताले काम ग¥यो ।

प्रसंग २—

कक्षामा सबैभन्दा सानो भए पनि पहिलो विद्यार्थी भएकोले सबैसँग राम्रै थियो सम्बन्ध । सरहरूले माया गर्ने र साथीभाइले इज्जतकै व्यवहार गर्थे । तर, केही केटा यस्ता थिए कि तिनीहरू स्वयं शिक्षकहरूलाई पनि गन्दैनथे । साथीहरूको उपनाम राखेर उडाउनु, कुनै केटीसँग नाम जोडेर जिस्काउनु त सामान्यजस्तै थियो ।

आखिर उमेर नै त्यस्तै थियो । टिनएजर स्वभाव होला शायद, जवानीको दोष भनौं । ०५६ चैतको अन्तिम साता । कक्षा ९ का आखिरी दिन चल्दै गर्दाको एकदिन । कक्षाको कुनै केटीले म बसेको बेन्चमा हेरिरहेको र मैले पनि उसलाई हेरिरहेको चित्र बनाएर एउटा साथीले कागजको रकेट मतिर उडायो ।

सरले पढाइरहेकै बेला मसँग ठोक्किएको त्यो कागजको रकेट हेरें । मैले त्यहाँ कोरिएको चित्र हेर्दै गर्दा मलाई जिस्क्याउन रकेट उडाउने त्यो समूह आफू–आफूमा मुखामुख गरेर हाँस्यो । तिनीहरूलाई लाग्यो होला— गज्जप गरियो, मजा आयो ।

तिनीहरूको मुखाकृति र पठाएको चित्र हेरेर मेरा कान राता भए । अलिअलि लाज, अलिअलि डरजस्तो लागेर । अनि अलि बढी चाहिँ तिनीहरूसँग रिस उठेर । तर, म त्यो समूहसँग न त झगडा गर्न सक्थें न त वादविवाद नै । चुपचाप कागज च्यातेर मिल्काएँ । उनीहरू फेरि आँखै–आँखाले आपसमा कुरा गरे र हाँसे ।

नयाँ वर्षको छेकोमा घटेको त्यो घटनाको दुई दिनपछि कक्षामा शुभकामना आदानप्रदान कार्यक्रम हुने भयो, ०५७ साललाई स्वागत गर्न । नेपाली कक्षामा आ–आफ्ना रचना सुनाउने कुरा गर्नुभयो विष्णु सरले । योजनाअनुसार कसैले कविता त कसैले चुट्किला र कसैले गीत सुनाए । कक्षामा दुई–तीनजना राम्रै गाउने केटाहरू पनि थिए । तिनले नारायण गोपाल र यम बरालका गीत सुनाए ।

मैलेचाहिँ दुई दिनअघिको त्यही घटनालाई आफ्नो कविताको हतियारमार्फत् पैंचो तिरें । अझ भनौं— कवितामा आफ्ना कुण्ठा पोखें । मसँग कविताभन्दा दह्रो र भरपर्दो हतियार केही भएन प्रहार गर्न । कविता आफू रमाउने नाउँमा अरूलाई उडाउने, पढाइमा भन्दा खिसीट्युरीमा व्यस्त रहने, दादागिरी देखाउनेमाथि व्यंग्य थियो । उनीहरूले प्रष्टै बुझ्ने गरी लेखेको थिएँ— ‘बिनाकारण साथीको नाम केटीसँग जोडेर रमाइलो गर्दा उसलाई कस्तो चोट पर्ला ? बुझ्न सिक’ भन्ने खालको ।

सबैको पालो सकिएपछि सरले आफ्नो छन्द कविता सुनाएर हरेक रचनाको समीक्षा गर्नुभयो । समीक्षाको क्रममा मेरो कवितालाई लामै भूमिका बाँधेर कविताको मर्म अझै राम्ररी बुझाइदिनुभयो । फलतः कक्षा सकिएपछि चित्र बनाउने र रकेट उडाउने साथीहरू मेरो नजिक आएर भने, “सरी कृष्ण, हामीले जोक गरेका थियौं । तिमीलाई नराम्रो लागेछ, सिरियस्ली नलिऊ यार ।”

उनीहरूले गल्ती गरेको अनुभूति गरेपछि मेरो मन हल्का भयो । मेरो हतियारले यहाँ पनि राम्रै काम ग¥यो । मजस्तो झगडा गर्न नसक्ने, कुस्ती नखेल्ने मान्छेलाई सबैभन्दा सजिलो हतियार कविता रै’छ भन्ने यकिन भएपछि कविताप्रतिको प्रेम अझै बढ्यो ।

कविताको बाटो लागेर साहित्यको यात्रामा निस्केको मैले कविता हुँदै गजल, मुक्तक, कथा, संस्मरण आदिमा पनि पाइला चालें । पछि आफूभन्दा अग्रज कविका कविता पढ्न थालियो । पढ्दै, छलफल गर्दै जाँदा कवितालाई अलि गहिराइमा महसुस गर्न थालेपछि कविता भनेर मैले जे लेखिरहेको थिएँ, त्यो वास्तविक कविता होइन भन्ने ज्ञात भयो । एउटा सुन्दर कविताले सिंगो उपन्यास बोल्न सक्छ जस्तो लाग्छ । समयक्रममा कविताको वास्तविक शक्ति बुझेपछि कविता लेख्नु भनेको साँच्चै जोखिम मोल्नु लाग्यो ।

म यो जोखिमबाट भागेको पनि लगभग पाँच वर्ष पुग्न लागेछ । कविताबाहेक अरू विधा फुटकर लेखिरहेको छु । आजभोलि आफूले नलेखे पनि अरूले लेखेका राम्रा कविता पढ्न मज्जा लाग्छ, मेरो पहिलो प्रेम कविता नै हो । पछिल्लो समय यो समयका बुलन्द कवि विनोदविक्रम केसीका कविताले मस्तिष्क हल्लाउँछन् । त्यस्तै अरु केही कविका कविता पनि भेटेसम्म पढ्छु । यूट्युबमा खोजेर हेर्छु । तर, कविताका नाममा जे पायो त्यही खेस्रा भने पढ्न छाडेको छु ।

(न्युजर्सी, अमेरिका)
 

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०९:४०
प्रतिक्रिया दिनुहोस्