site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘द ब्लुजम्यान’— मुक्ति शाक्य

– विकास मरासिनी


पश्चिममा रोबर्ट जोनसन र बीबी किङलाई ‘ब्लुज’ विधामा पुर्‍याएको गुन सम्झेर जुन आदरका साथ हेर्ने गरिन्छ, नेपालमा मुक्ति शाक्यलाई पनि त्यसैगरी हेरिन्छ । मुक्तिले त्योबेला ‘ब्लुज’ भित्र्याए, जतिबेला नेपाल आधुनिक र लोकगीतको रस्साकस्सीमा थियो । नेपाली संगीत पारखीलाई लागि ‘ब्लुज’ले अर्कै स्वाद दियो । मुक्तिले ‘ब्लुज’ संगीत भित्र्याउने काममात्र गरेनन्, सामाजिक विषयवस्तु पस्केर स्थानीय र नेपालीपन पनि दिए । त्यसैले उनलाई ‘ब्लुजम्यान’ अथवा ‘किङ अफ ब्लुज इन नेपाल’को उपाधि दिइएको छ ।

मुक्ति काठमाडौंका रैथाने हुन् । उनले सानैबाट घरमा संगीतको वातावरण पाए, जसले उनमा संगीतको भ्रुण जन्मायो । घरमा बुवाले हार्मोनियम, तबला बजाउँथे । भजन पनि गाउँथे । संगीतप्रति बुवाको लगावले मुक्तिमा प्रत्यक्ष प्रभाव पारेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुक्ति भन्छन्, “मलाई घरैबाट वातावरण मिल्यो । यही कारण म आफूलाई निकै भाग्यमानी ठान्छु । सबैले यस्तो खालको वातावरण पाउँदैनन् । त्यो समयमा गितार बोक्नु निकै गाह्रो कुरा थियो । तर, मलाई कहिल्यै गाह्रो अनुभव भएन । मैले परिवारबाट पूरै सपोर्ट पाएँ, जसले गर्दा यहाँसम्म आएको छु ।”

मुक्ति गितारसित गहिरो प्रेममा थिए । दिनरात गितार बजाउँथे । त्यतिबेला हिप्पीहरू स्वयम्भू, मरुहिटीतिर नशाले लठ्ठिँदै अंग्रेजी गीत गाउँथे । मुक्तिलाई हिप्पीहरूको संगीतले तानेको थियो । उनीहरूकै संगतले संगीतका धेरै रसबारे जान्ने अवसर पाए । त्यसले उनलाई पश्चिमी संगीतको ‘डाइहार्ड’ बनायो ।

बेलायती ब्यान्ड ‘द रोलिङ स्टोन’बाट प्रभावित मुक्ति देशमा केही नयाँ गर्न चाहन्थे । त्यतिबेला नेपालमा ब्यान्डको अवस्था नाजुक थियो । सन् १९७१ मा बेसिस्टको रूपमा लोकल ब्यान्ड ‘रेडियम’मा काम गरे । ‘रेडियम’ त्यो बेलाको लोकप्रिय स्थानीय ब्यान्ड थियो । १९८० को दशकको बीचमा आफ्नै उमेरका साथीहरूसँग मिलेर दोस्रो ब्यान्ड खोले, ‘द इलिजेन्स’ । ब्यान्डले आफैं गीत लेख्ने गथ्र्यो । त्यो समयमा ब्यान्डले आफ्नो प्रस्तुति देखाउन कुनै कसर बाँकी राखेन । मुक्तिलाई सबैले चिन्दै गए । उनी युवापुस्ताको आइडलै बने । उनको आवाजमा जादू थियो । युवापुस्तादेखि बूढाबूढीसम्म सबैले उनलाई मन पराउँथे । एकचोटि माइकल ज्याक्सनको ‘डेन्जरस’ भन्ने गीत गाएर सबैलाई चकित पारेका थिए ।

सन् १९८१ मा प्रेमिका मारियासँग बिहे गरेर मुक्ति स्पेन गए । उनी गएपछि ब्यान्ड बन्द भयो । स्पेनमा ‘ट्रामोन्टना’ ब्यान्डको लिड गिटारिस्ट भएर काम गर्न थाले । स्पेनका विभिन्न ठाउँमा कन्सर्ट गर्दै आफ्नो प्रतिभा निखार्र्दै गए । स्पेनमा रहँदा उनले संगीतको बारेमा धेरै कुरा सिक्ने अवसर पाए । यो ज्ञानलाई देशमै उपयोग गर्ने लालसा उनमा थियो । त्यसैले एक दशकसम्म संगीतकै साधनामा लीन रहे, स्पेनमै ।

१९९० को दशकमा नेपाल फर्किएपछि पुराना ब्यान्ड सदस्य जम्मा गरेर पुरानै पारामा गाउन थाले । ब्यान्डको नाम राखियो ‘रिभाइभल’ । त्यो ब्यान्डले छिट्टै आफ्नो स्थान बनायो । फ्यानहरूले जिमी हेन्ड्रिक्स, जिम मोरिसन, बिटल्स, डिप पर्पलका गीत गाउन आग्रह गर्थे । मुक्तिहरू नाइनास्ती नगरी गाउँथे । जसरी पनि समर्थकहरूको मन जित्न चाहन्थे ।

ब्यान्डले बेलाबेलामा कभर गाए पनि आफ्ना गीतलाई बढी प्राथमिकता दिन्थ्यो । त्यतिबेला ‘१९७४ एडी’, ‘कबवेब’, ‘रवीन एन्ड लुजा’जस्ता ब्यान्ड स्थापना भइसकेका थिए । यी ब्यान्डहरूले नेपाली संगीतलाई आधुनिक र पप विधामा मात्र सीमित नगरेको देखेर मुक्ति निकै खुशी भए । यो त्यतिबेला थियो, जतिबेला नयाँ पुस्ता बिस्तारै संगीतका अनेक आयामसित परिचित हुन खोज्दै थियो ।

ब्यान्डहरूले होटल तथा रेस्टुराँहरूमा बजाउन थालेका थिए । गाएबापत उनीहरूले राम्रो पारिश्रमिक पनि पाउन थालेका थिए । संगीतमै लागेर गर्जो टर्ने अवस्था आयो । मुक्तिले यसको राम्रो फाइदा उठाए ।

ब्यान्डमा सदस्यहरू आउने–जाने क्रम संसारभरि चल्छ । ‘रिभाइभल’मा पनि सन् १९९३ देखि १९९६ सम्म धेरै सदस्य फेरिए । सन् १९९७ मा चर्चित ब्यान्ड ‘नेवाज’ले गिटारिस्ट र भोकलिस्ट खोजेको थियो । मुक्ति आफूले भनेजस्तो टिम भेटेपछि ‘नेवाज’ गए । उनी ब्यान्डमा गएपछि नाम राखियो ‘मुक्ति एन्ड रिभाइभल’ । यो ब्यान्ड उनका लागि कोसेढुंगा सावित भयोे । यसमा मुक्तिले खोजेजस्ता सदस्य थिए । नयाँ ब्यान्डले ‘ब्लुज’ विधालाई अझ सशक्त बनायो ।

ब्यान्डले सन् २००० मा पहिलो एल्बम निकाल्यो— ‘कलंकीको जाम’ । यो एल्बममा ९ वटा गीत छन् । सबै गीत उत्तिकै लोकप्रिय छन् । देश विकासमा जाम भएको प्रतीकात्मक अर्थमा यो एल्बमको नाम राखिएको थियो । त्यसपछि ‘बुझाइदेऊ (२००३)’, ‘देख्दै छु (२००७)’ र ‘सधैंभरि (२०१२)’ एल्बम निकाले । यी चारवटै एल्बममा समाजकै गीत छन् । सामाजिक विषयवस्तु टिपेर गीत उनिएका छन् । समाजका विकृति, विसंगति, मानिसका पीडा, व्यथा ‘मुक्ति एन्ड रिभाइभल’का गीतमा समेटिएका छन् ।

मुक्ति आफैं गीत लेख्थे । उनलाई नगरकोटको डाँडो खुब मन पथ्र्यो । त्यहाँ गएर उनले प्रशस्त गीत लेखेका छन् ।

“सन् २००० पछि नेपालमा धमाधम ‘अन्डरग्राउन्ड’ ब्यान्डहरू खुल्न थालेका छन् । टुबोर्ग, रुस्लानजस्ता कम्पनीले प्रायोजन गरेका छन् । यो खुशीको कुरा हो,” मुक्ति भन्छन्, “हाम्रो पालामा यस्तो कहाँ हुनू !”

मुक्तिले गीत गाउन थाल्दाको समय अहिलेजस्तो थिएन । एकातिर नेपाली संगीत बजार लोक, आधुनिक र पप गीतभन्दा बाहिर जान सकेको थिएन, अर्कातिर स्रोताको रुचि विकास भइसकेको थिएन ।

“अहिले कुनै पनि ब्यान्डमाथि पानीका बोतल फ्याँकिदैन । उतिबेला बेलुका कन्सर्ट गर्न निकै गाह्रो हुन्थ्यो,” पुराना दिन सम्झिन्छन् मुक्ति, “भर्खर कन्सर्ट शुरु गर्‍यो, पुलिस धपाउन आउँथ्यो । चारैतिर आधुनिक गीतको वर्चस्व छँदा पनि मैले हार मानिनँ । आफ्नो बाटोमा लागिरहें र ब्लुजलाई नेपालमा स्थापित गरें ।”

मुक्ति अहिलेको संगीत देखेर निराश हुन्छन् । “अहिलेको पुस्ताले म्युजिकको मर्म बुझ्न सकेन । यसलाई फेसनको रूपमा लिन थालिएको छ,” मुक्ति भन्छन्, “म्युजिकलाई प्रोफेसनल भन्दा पनि प्यासनको रूपमा लिनुपर्छ । प्रोफेसन र प्यासनबीच आकाश–पातालको फरक छ ।”

मुक्तिले संगीतमा जीवनै समर्पण गरे । संगीतबाटै थोरै नाम र केही दाम कमाए । यद्यपि अरू विधाका गायकजस्तो उनको नाम स्थापित छैन । उनलाई चिन्नेहरू थोरै छन् । उनले नेपालमा ‘ब्लुज’ भित्र्याएको पनि धेरैलाई थाहा छैन । र, पनि उनलाई यसप्रति गुनासो छैन । भन्छन्, “संगीत हृदयबाट आउनुपर्छ । मैले हृदयबाट संगीतको सेवा गरें । मान्छेले चिनून् या नचिनून्, त्यसले मेरो संगीतकर्ममा खासै असर पार्दैन ।”
 

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०८:१५
प्रतिक्रिया दिनुहोस्