
– गणेश पौडेल
“के नै नापिस् र यतिका धेरै वर्ष विदेश बसेर ? न यौटा घर बनाइस् न यौटी स्वास्नी नै जोड्न सकिस्,” कसैले प्याच्च भन्दियो (जो मेरो आफन्त थियो ।)
“हँ ?” उसको कुरा सुनेर म झस्किएँ । फेरि सोचें— ठीकै त हो उसको कुरा । साँच्चै के नै पो नाप्न सकेको छु र परदेश भासिएर ? जिन्दगीलाई पुरानो लयभन्दा एक बित्ता पर सार्न सकेको भए पो ! अझै ज्यूँको त्यूूँ छ जीवनशैली । जस्तो कि— बाले मुघे खोलाबाट घाँसका भारी बोक्न छाडेका छैनन् । आमैले ढिकी–जाँतो गर्न छाडेकी छैनन् । घरमा च्यादर (जस्तापाता) बाले नै हालेका हुन् । खाजामा मकै भटमास भुट्नै पर्छ । अझै पनि टालिएका लुगाफाटा घरभरि भेटिन्छन् । कहिल्यै फुर्सदले टुसुक्क पिठ टेकाउन पाउँदैनन् बा–आमाले । भूकम्पले आधा भत्काएको घर टालटुल गर्नुभन्दा अरू केही उपति गरेको छैन मैले ।
“परदेशमा धनको पहाड छ । परदेशिनु भनेको त्यही धनको पहाडबाट सकेजति धन सोरेर आफ्नो भागमा थुपार्न हिँड्नु हो । अनि धन कमाएको प्रमाणचैं शहरमा बडेमानको घर बनाउनु, शहरमा नसके गाउँमै भए पनि घरचैं गतिलै बनाउनु पर्यो ।”
‘घर’ परदेशिएकाको प्रगति नाप्ने हाम्रो समाजको एकसूत्रीय मापक हो ।
हुन पनि हो । पहिलेदेखि नै हाम्रो समाजमा विदेश गएर मजदुरी गर्नेहरूले देखाउने गरेको प्रगति यही र यस्तै नै त छ । जे देखे–जानेको छ, त्यही त हो मान्छेले खोज्ने भनेको । फरक यत्ति हो— अलि राम्रो कमाइ हुने देशमा जानेहरूले शहरमा जोड्छन् । ठीकै कमाउनेले गाउँमै । घर त जोड्छन् जोड्छन् ।
ऋण पान गरेर परदेश भासियो । न रात न दिन, न प्यास न थकान— केही नभनी कमायो । ऋण तिर्यो, अलिअलि उब्रिएकोले घर बनायो । बाइक किन्यो, भुटुटु पार्दै गाउँ चहार्यो । डेग–सेग किन्यो— बाह्रै मास डाङडाङ डुङडुङ पार्यो, छिमेकी तर्सायो । आमा–बाउलाई हल्काफुल्का गरगहना जोडिदियो ताकि बाले गाउँ चहार्दा छोराले पठाइदिएको भन्दै खुट्टामा विदेशी जुत्ता टल्काऊन् । आमाले छोराको उपति भन्दै घाँटीको सिक्री र औंलाको औंठी देखाउन पाऊन् र पो प्रगति, नत्र उधोगति ।
कमायो, उडायो अनि फेरि परदेश भासियो । मैले बालापनदेखि जान्दै, बुझ्दै, भोग्दै आएको यथार्थ यही हो । कमाएर देशमै केही गरौं भन्नेहरू शायदै देखिन्छन् ।
बूढापाकाहरूले छोरी–चेलीलाई राम्रो कुटुम्ब खोज्ने एउटा गतिलो आधार पनि हो ‘गज्जबको घर’ । उनीहरूको बुझाइ छ— घर गतिलो भए परिवार पनि गतिलै हुन्छ । अझै पनि गाउँघरमा चलन छ— दुई–चार जना बूढापाकाहरू भेला भएर लाठी टेक्दै अग्लो डाँडामा गयो र उधोतिर देखिने गाउँ चिहायो । लाहुरेको घर परैबाट टल्किन्छ । टिलिक्क टल्किएको घर हेर्यो र अड्कल काट्यो— त्यत्तिको घरमा चैं कुटुम्ब जोड्न सकिन्छ । त्यहाँबाट माग्न आएचैं छोरी–चेली दिन्छु । त्यहाँचैं दाइजो गज्जब पाइन्छ । त्यो घरमा चैं माग्न जानुपर्छ । त्यो घरकी चेली बुहारी बनाउनुपर्छ ।
पैसा सरसापट माग्नुपरे पनि त गतिलै घर हेरिन्छ । कतै पदयात्रामा बास बस्नुपरे पनि गतिलै घरको ढोका ढक्ढक्याइन्छ । गतिलो घर हुनेहरूसँग बोल्दा भाषाको स्तर पनि त फरक पर्छ । मजाक पनि गतिलो घर हुनेको कम उडाइन्छ । गतिलो घर हुनेको बोली पनि छिटो बिक्छ । गतिलो घर हुनेको नाम पनि गतिला घरे, ठूला घरे, तीन तले आदि राखिन्छ । लाग्छ— समाजले परिवारको स्तर घर हेरेरै निर्धारण गर्छ ।
गाउँलाई छाडौं— शहरमा पनि गतिलो घर भनेको गतिलै हुन्छ । अलि ठूलो कम्पाउन्ड, नयाँ डिजाइन र चिटिक्क परेको रंगरोगन— लाहुरे (हाम्रोतिर वैदेशिक रोजगारीमा जानेजति सबैलाई लाहुरे भन्ने चलन छ ।)को घर परैबाट छुट्टिन्छ । लाहुरेको चुरिफुरी फाल्टै हुन्छ भन्ने विश्वास छ ।
सम्पत्ति र घरको पछि मान्छे कति लाग्छन् भन्ने एउटा किस्सा सुनाउँछु—
म केटाकेटी नै थिएँ । हाम्रो गाउँँको एकजना दाइको औद्योगिक दुर्घटनामा परेर परदेशमै मृत्यु भएछ । सबै प्रक्रिया पु¥याएर केही महिनापछि रातो बाकसमा सडेर दाइ घर आइपुग्यो र दाइसँगै गतिलो खाम पनि आयो । दाइका बालाई दाइको सदगद गर्नुभन्दा पहिल्यै खामको व्यवस्थानमा हतारो भयो । हप्ता दिन नपुग्दै झापामा गज्जबको घर बैना गरे । छोराको शोकमा मन दुखाउनुको साटो बूढाले हाकाहाकी भने, “जाने गइगयो, अब सुर्ता गरेर के अर्थ ? बुहारी, नातिलाई घर किनिदिइहालें, अब भाडै उठाएर भए पनि बाँचिहाल्छन् नि !”
अर्को पनि एउटा किस्सा छ । छुट्टीमा नेपाल गएका बेला मोरङका एकजना आफन्तको घोडा (बाइक)मा पछाडि बसेर शहर फन्को मार्दै थिएँ । खासमा मलाई बैंकमा जानु थियो तर ती आफन् तले शहरको टोलटोल घुमाए । घुमाउनेमात्र कहाँ, अग्ला–अग्ला घर देखाउँदै भनिरहे, “त्यो चार तले घर कोरियाको पैसाले बनेको हो । तीन वर्षमै चार तले ठड्यायो मोराले । त्यो घरको मालिक दुबईमा छ तर पैसा राम्रो कमाएछ । हामीले नै गरेको घडेरी प्लानिङमा उधारोम किनेर गएको थियो, पाँच वर्षमै उकासिवरि तीन तले ठड्यायो । त्यसको मालिकचैं जापानमा छ । त्यसले चैं भर्खर भिटा किन्यो, अब घर बनाउँछ ...।”
उनले अरू पनि धेरै घर देखाए । घरसँगै फरक–फरक देशका नाम सुनाए । उनको तात्पर्य थियो— यति धेरै घरहरूको भीडमा तिम्रो घर छैन । यति धेरै मान्छेको उपतिको भीडमा तिम्रो टाउको छैन ।
० ० ०
अघि नै भनें नि, कसैले प्याच्च भन्दियो, “के नै नापिस् र यतिका धेरै वर्ष बिदेश बसेर ? न यौटा घर बनाइस् न यौटी स्वास्नी नै जोड्न सकिस् ।”
यो कुराले मलाई खुब दुख्यो । मसँगै परदेश आएका साथीहरूको लिस्ट तयार पारें । उनीहरूको घरको हालत बुझें । आधाभन्दा धेरै साथीले घर हैन, दरबार (तीन तलेभन्दा अग्लो घरलाई दरबार भनेको हुँ) ठड्याइसकेछन् । बाँकीले घर (दुई तलासम्मको) बनाएछन् । त्यो पनि देशका मुख्य–मुख्य शहरहरूमा । ‘घर कहाँ बनाइस् ?’ भनेर सोध्यो भनेमात्र पनि साथीहरू क्या शानले जवाफ दिइहाल्छन्, “मेरो काठमाडौंमा तीन तले, मेरो पोखरामा चार तले, मेरो चितवनमा तीन तले, मेरो धरानमा तीन तले, मेरो बुटवल, मेरो विराटनगर ...।”
ओहो ! घरभन्दा पनि यहाँ त ठाउँ र तलाको कम्पिटिसन पो हुँदो रहेछ । त्यतिमात्र कहाँ हुनू ! घरबारे जिज्ञासा राखेको मात्र के थिएँ, साथीहरूले इनबक्समा फोटो नै प्रमाण पेश गर्न थाले । रंगको कुरा गर्न थाले । इँटा, रड, सिमेन्टका ब्रान्डहरूको कुरा गर्न थाले ।
मैले तीनचित खाइहालें । स्याला नामर्द त ममात्रै पो रहेछु । अझैसम्म एउटा कुटीधरि बनाउन सक्या छैन ।
उसो त म पनि साथीहरूले जस्तै शहरको पछि नलागेको भने होइन । परदेश आएको अर्को वर्षमा ऋणपान गरिवरि शहरको रोज्जा ठाउँमा महँगो घडेरी किनेकै हुँ । अहिले त परदेश बसेकै ६–७ वर्ष भइसक्यो । यत्रा वर्षहरूमा दुई–तीन तले घर ठड्याउने पैसा त पक्कै कमाएँ । अझ श्रमको राम्रै पारिश्रमिक दिने देशमा छु । तर, असलियतमा मैले झुपडी पनि बनाउन सक्या छैन ।
हैन हैन, बनाउन मन नगरेको चैं हुँ । ढाँट्नु केलाई छ र !
उसोभए कहाँ हालिस् त त्यत्रो कमाइ ?
प्रिय पाठक ! तपाईंको मनमा यही प्रश्न खेल्यो होला यतिबेला ।
आउनुस्, यसैको स्पष्टीकरण दिन्छु अब ।
हुन त घर अनिवार्य आवश्यकता नै हो । बाँच्नको लागि बास अनिवार्य छ । संसारको सबैभन्दा सुरक्षित ठाउँ घर हो । घर ओत लाग्ने छहारी हो, जसले हाम्रो सुरक्षा गर्छ ।
मेरो मतलब यो होइन— घर बनाउनु गलत हो । पैसाको सर्वनाश हो । मेरो मनको खास कुरोचैं के भने नि— मैले सोचें— शहरमा त घडेरी किनें । दुःख–सुख घर पनि बनाउँला, त्यसपछि खानु के ? फेरि घर त दिनदिनै हामीजस्तै बुढिँदै जाने हो । निर्जीव भए पनि घरको आयु हुन्छ । घरले खान दिँदैन । घरले कमाउँदैन । कमाइहाले पनि रंगरोगन, टालटुलमै सकिन्छ । ठूलो लगानी गरेपछि हिफाजत गर्नै प¥यो । अर्को कुरा— शहरमा बडेमानको घर भएपछि गाउँबाट बा–आमालाई शहर सार्नै पर्यो । गाउँमा देखेजति ‘सेरोफेरो सबै मेरो’ भनेर बसेका बा–आमालाई शहरको १०÷१२ को चार पर्खालभित्र कसरी सीमित गर्न सकिन्छ र ? जंगलमा मृग, खरायो खेदाउने बालाई नाथे ३२ इन्चको टीभीभित्र देखिने डिस्कभरीको बाघले के आनन्द दिँदो हो र ! छाँगोमा गएर थापिने बा–आमालाई नाथे छिरछिरे सावरले के नुहाइको मजा दिँदो होला र ! शान्त, सफा वातावरणमा बसेका उनीहरू शहरको कोलाहल र प्रदूषणमा कसरी घुलमिल हुन सक्छन् र ? माटोको वासनामा लठ्ठिने बानी परेका बा–आमालाई शहरीया महँगीको अत्तरले सुवास पक्कै दिँदैन ।
अब मेरो मन भाँडियो । मलाई लाग्यो— मैले शहरमा घडेरी किनेर गल्ती गरें । अब शहरमा घर बनाउनु हुन्न । घर भनेको शहरको आसपास गाउँमै हुनुपर्छ । बा–आमालाई पहाडमा भन्दा तराई उत्तमचैं हुन्छ तर शहर विकल्प भने होइन ।
मैले तराईमा शहरभन्दा अलि भित्र अलिकति खेती किनें । मैले रोज्जा ठाउँमा गत्तिलो घर नबनाएर कुनामा खेती किनेको थाहा पाउनेजतिले मलाई थुके । ‘माल पाएर चाल नपाएको’ भन्दै टोकसे । “शहरमा घर नबनाएर गाउँमा खेती किन्नु भनेको दशैंमा जुवा खेलेर सम्पत्ति उढाउनु जस्तै हो,” उनीहरूले तर्क गरे । मलाई लाग्यो— उनीहरूको सवालको जवाफ मैले दिइरहनु पर्दैन । कागको काम कराउने नै हो । कराउनेजति काग लखेटेर कहाँ सकिन्छ र ?
किन किनेको त खेती ? प्रिय पाठक ! तपाईंलाई पनि लाग्न सक्छ ।
मेरा आफ्नै इच्छाहरू छन् । जस्तो किः अलि ठूलो कम्पाउन्डमा झुपडी (मेरो हिसाबमा एक तले) बनाउने । झुपडीवरिपरि वातावरण स्वच्छ र हरियाली रहने गरी केही बोट नरिवल, केही बोट सुपारी, केही बोट भोगटे, केही बोट अम्बा, दुई–चारवटा मेवाका बोट, आँपका बोट, बेल, केरा, रूख कटहरका बोट लगाउने । ताकि बा–आमालाई बुढेसकालमा शीतलता ताप्दै अग्र्यानिक फलफूलले मुख मिठ्याउन पुगोस् । घरछेउमा अलिकति खेती पनि लगाउने । कम्तीमा बा–आमा रहुन्जेल वर्षभरि खान बजारे चामल किन्न नपरोस् ।
आजकलका नाति–नातिनाहरू पहिलेका जस्ता हुँदैनन् । स्मार्ट भइसके । वर्षदिन नपुग्दै मोबाइल चाहिन्छ, गेम चाहिन्छ, वाइफाइ चाहिन्छ । बाका ढाडमा लुकिडिम खेल्ने एक–दुइटा बाख्राका पाठा पाल्न सकियोस् । आमाको काखमा घुर्ने एउटा सुरी (बिरालो) पाल्न सकियोस् । पोकाको दूधले बनाएको च्यामा बा–आमाको जिब्रोले स्वाद पाउँदैन । च्यामा हाल्न र खाना खाँदा साउँ भाग मुछेर खान पुग्ने ओलन (दूध) दिने एउटा गाई पाल्न सकियोस् । आफ्नै करेसाको आलो सब्जी परक्क निमोठेर परपर भुट्न पाऊन् । मुख खोकलेर थुक्दा आफ्नै माटोमाथि परोस् र पो बा–आमाको ओठमा खुशी भरिन्छ । र पो बा–आमाको बुढ्यौली शरीर कुँजिन पाउँदैन । बा–आमालाई खुशी बनाउन सके पो जिन्दगी जिउनुको मजा हुन्छ । सन्तानलाई खुशी बनाउन उनीहरूले गरेको योगदान कसरी चटक्क बिर्सिनू ?
फेरि छोराछोरीलाई गाउँ पनि त सिकाउनु पर्यो । माटो चिन्न र माटोमा खेल्न पाऊन् लालाबालाले । मलाई लाग्छ— शहरमा हुर्किएका बच्चाले आफूमात्र चिन्छन् । गाउँमा हुर्किएकाले कम्तीमा आफ्नो परिवार चिन्छन् । शहरमा ‘टम एन्ड जेरी’ हेरेर हुर्किएको बच्चाभन्दा गाउँमा बाख्रा–पाठासँग दौडिएर हुर्किएको बच्चा धेरै ‘क्रियटिभ’ हुन्छ । म चाहन्छु— मेरो बच्चालाई ‘अम्बा केमा फल्छ ?’ भनेर सोध्दा ‘गुगलमा’ नभनिदियोस् । ‘चामल केबाट बनाइन्छ ?’ भन्दा ट्वाँ नपरोस् । रासायनिक औषधिहरू प्रयोग गरी फलाइएका फलफूल खाएर बालापनदेखि नै केटाकेटीको शरीरमा रोगको जरो नगाडियोस् । बरू मीठो नभए पनि गाउँमै फलेका गिठ्ठाहरू चपाएर हुर्किऊन् छोराछोरी । शहरको जंक फुडभन्दा गाउँका गिठ्ठाहरू धेरै स्वास्थ्यवर्दक छन् । म चाहन्छु— मेरो बच्चाले गेमको रिमोर्टको ‘कि’ थिच्न होइन, उफ्रिएर डोरी नाघ्न सिकोस् । ‘टम एन जेरी’ हेर्दै नहेरोस् होइन, हेरोस् तर घ्वाईं र गट्टा पनि नबिर्सियोस् । बाख्राका पाठासँग दौड कम्पिटिसन गरेर घुँडा नफुकाली हुर्किएका केटाकेटी पनि के केटाकेटी भन्नू र !
प्रिय पाठक ! यति पढ्दै गर्दा तपाईंलाई लाग्न सक्छ— गाउँ नै चाहिने भए अहिले बसेकै ठीक छ त । किन तराई झर्नुपर्यो ?
तपाईंको सवाल पनि ठीकै हो । तराईभन्दा पहाडै राम्रो । तर, पहाडमा सेवा–सुविधाहरू छैनन् । विकास छैन । दुर्गम भुलेर सुगम खोज्ने मानव प्रवृत्ति हो । म पनि अछुतो कहाँ छु र ! फेरि बुढेसकालमा बा–आमालाई रोगव्याधि लाग्दा दबाई–ओखती गराउन गाह्रो हुन्छ । अस्पताल, विकास, सेवा–सुविधाहरू शहरकेन्द्रित छन् । मेरो सोचमा शहरनजिकै घर भए बा–आमाको र बालबच्चाको रेखदेख राम्रो हुन्छ । बच्चाले शहर र गाउँ दुबै राम्ररी पढ्न पाउँछन् । दुःख र सुखको बार्दलीमा हुर्किन पाउँछन् । दुःखमा हुर्किएका बच्चा सुखमा मातिन सक्छन् तर दुःखमा आत्तिँदैनन् । सुखमा हुर्किएका बच्चा सुखमा मात्तिन्छन् र दुःखमा आत्तिन्छन् । शहरमा हुर्किएका बच्चाहरू चुनौतीसँग डराउँछन् । म चाहन्छु— मेरो बच्चा चुनौतीसँग नआत्तियोस् र सफलतामा नमात्तियोस् ।
आफ्नै खेती भए हामी तन्नेरीहरूले पनि त घरखेतको ताजा सागसब्जी खाएर शहरमा व्यापार–व्यवसाय गर्न पाइयो । बिहान घरदेखि शहर आउने समयमा बाटोको हराभरा र स्वच्छ हावाले कामप्रतिको जागरूकता घटाउँदैन, थप्छ नै । बेलुका काम सकेर फर्किंदा कामले दिएको मानसिक तनाव दूर हुन्छ । घरमा प्रकृतिसँग खेल्न पाइन्छ । स्वस्थ हावा भए फोक्सो सफा रहन्छ । यति एउटा स्यानो कमिटमेन्ट गरे पक्कै पनि केही वर्ष आयु बढाउन सकिन्छ भन्ने मेरो तर्क हो ।
म सोच्दै छु— अब चाँडै देश फर्किन्छु । आफ्नै खेतीमा एउटा झुपडी बनाउँछु र शहरमा कुनै व्यवसाय गर्छु । म फेरि परदेश भासिन चाहन्नँ । अब मैले परदेशमा सिकेको सीप घरदेशमा प्रयोग गर्नुपर्छ । परदेशमा गरेको मेहनत घरदेशमा पनि गर्नुपर्छ । शहरमा घर बनाएँ भने फेरि म परदेशै भासिनु पर्ने अवस्था रहन्छ ।
प्रिय पाठक ! एउटा दर्शक असली निर्णायक पनि हो । अब तपाईं नै भन्दिनू न— के म गलत बोल्दै छु ? साँच्चै झुपडीको सपना देख्नु गलत हो र ? शहरमै नबसे प्रगति हुन्न र ? सबैले शहरै रोजे गाउँमा बस्ने को होला ? घर बनाउनु, बिहे गर्नु अनि परदेशै भासिइरहनु राम्रो हो र ?
० ००
हतार लाग्यो ? पख्नू न एकछिन । अझै केही बोल्न बाँकी नै छ ।
मैले सुरूमै भनेनी कसैले प्याच्च भन्दियो “के नै नापिस र यतिका धेरै वर्ष विदेश बसेर ? न यौटा घर बनाइस् न यौटी स्वास्नी नै जोड्न सकिस् ।”
अब स्वास्नीको कुरा गर्नु छ के !
करिब सात वर्षको अन्तरालमा करिब पाँच महिना म घर (नेपाल) बसें । छुट्टीको समयमा म घर पुग्दा मसँग भेट हुने प्रायः सबैले एउटै कुरा दोहोर्याए, “टन्न कमाउँदै छस्, अब बिहे गर् । कमाएका बेलामा नगरे पछि कसैले पत्याउँदैनन् ।”
कति सजिलै भनिदिए, “बिहे गर्, छाडेर जा । यता सन्तान हुर्किन्छन्, उता धन जोडिन्छ । लन्ठै साफ ।”
कुरा नौलो होइन । सबैले बलेकै आगो ताप्ने हो । सहज बाटो हुदाहुँदै कसले पो कठिन बाटो रोज्छ र ! दुनियाँँ धनकै पछि त लाग्छ नि ! म पनि त अछुत छुइनँ । तर, कुरा यो होइन । मेरो तर्क फाल्टै छ ।
आफ्नै उमेरको हिसाब गर्ने हो भने बिहे गर्ने उमेरले मध्यान्ह पार गर्न लागेको छ । बिस्तारै अब मैले बिहेबारे पनि सोच्नुपर्छ । नत्र साँझ पर्छ ।
हुन त पहिल्यै पनि छुट्टीमा घर जाँदा बिहेका अफरहरू नआएका भने होइनन् । सबैजसो साथीहरूले छुट्टीमा घर जाँदै बिहे गरेर फर्किए । अहिले सन्तानका बाउ भइसके । अब घर फर्किंदा उनीहरूका लालाबाला विद्यालय जाने भइसक्छन् । मैले पनि उनीहरूले जस्तै गरेको भए एउटा फाइदाचैं जरूर हुने थियो— केटाकेटी हुर्काउने झन्झटबाट मुक्ति ।
चुनौतीसँग भाग्नु कायरता हो । म चुनौतीसँग भाग्न चाहन्नँ ।
मैले सोचें— बिहे नै गर्छु भनेर डेढ महिनाको छुट्टीमा घर जाँदा पनि बिहेको सुरसार गर्दा र बिहे हुँदा महिना दिन बित्छ । बाँकी रह्यो— १५ दिन । त्यही १५ दिनमा आतेजाते समय पनि जोडिन्छ । त्यसो हुँदा बिहे गरेको हप्ता दिन नबित्दै नवदुलही छाडेर परदेशिनु पर्छ । मलाई त फरक नपर्ला तर अर्काकी छोरी नौलो घरमा ल्याएर छाड्दा उसको मनमा के खेल्दो हो ? ल एकछिनलाई उसको मनमा केही नखेलोस् । ‘तैंले मात्र छाड्ने हो र ? सबैको यस्तै त छ’ भन्नुहोला । तर, उसको नजरबाट पनि हेरौं न एकफेर । आफ्नो श्रीमान् भनाउँदोसँग राम्ररी परिचय पनि हुन नपाउँदै एक्लिनु पर्दा कसलाई गाह्रो हुँदैन र ? नयाँ परिवारमा कसरी समायोजन हुनू उसले ? आफ्ना इच्छा–आकांक्षाहरू कसरी बताउनू ?
यतिमात्र होइन, कति साथीहरूको त त्यही हप्ता दिनको सहबासमा श्रीमती गर्भवती होइदिन्छिन् । गर्भवती भएको कुरा पनि उनले आफ्नो श्रीमान् सात समुद्रपारि पुगेपछि थाहा पाउँछिन् । राम्ररी चिनजान नभएको परिवारमा अब आफ्नो व्यथा कसरी बताउने तिनले ? गर्भवती अवस्थामा श्रीमतीको साथमा श्रीमान सँगै हुनुपर्छ भन्ने मलाई लाग्छ । यसो हुँदा श्रीमतीले आफ्ना मनका कुरा त राख्न पाउँछिन् । आफ्ना दुःख–पीडाहरू पनि शेयर गर्न पाउँछिन् । केही नभए श्रीमान्को काँधमा शीर अड्याएर रून पाउँछिन् । नौ महिनासम्म आफ्नो शरीरमा अर्को प्राणी राखेर हुर्काउनु चानचुने कुरा हुँदै होइन । यो अवधिमा सयौं समस्या आउँछन् । नयाँ परिवारमा आफ्ना समस्या राख्न नसकेपछि सहन बाध्य हुन्छिन् उनी । यसो गर्दा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । डिप्रेसन त छँदै छ । यही कारण कति आत्महत्याका समाचारहरू पनि आउँछन् । योभन्दा ठूलो अपराध के हुन्छ ? म कसरी गर्न सक्छु र यस्तो अपराध ?
प्रश्रव पीडाको बेला आफूसँग नहुने श्रीमान्लाई एउटी नारीको हृदयले कहिल्यै श्रीमान्को रूपमा स्वीकार्छ जस्तो लाग्दैन । म एउटा असल श्रीमान्को भूमिका निभाउन चाहन्छु ।
मनको चोटलाई धनको मल्हमले मात्र उपचार गर्न सक्दैन । मनको पीडालाई मनले नै उपचार गर्ने हो । हैन र ?
० ० ०
प्रिय आफन्त ! अब भने मैले तपाईंको सवालको जवाफ दिनैपर्ने भयो—
म स्वीकार्छु, परदेशिएर अहिलेसम्म घर बनाउन सकिनँ । बिहे पनि गर्न सकिनँ । साँच्चै तपाईंकै भाषामा भन्दा मैले केही नाप्न सकिनँ । म नालायक । तर, अब नाप्छु । अघि नै झुपडी बनाउँछु भनिहालें । अब बिहे पनि गर्छु ।
तै तै बरू एउटा सहयोग गरेर असल आफन्तको भूमिका निभाउनुस्— मेरो लागि मजस्तै मूर्ख— शहर छाडेर गाउँ रोज्ने, मोजमस्ती छाडेर खेतीकिसानी खोज्ने एउटी केटी खोज्दिनुस् । सक्नुहुन्छ ?