
काठमाडौं । शमी साहित्य प्रतिष्ठानले नेपालमा साहित्यिक पत्रिकाको भावी रणनीति र स्थायित्वका आधार विषयमाथि कार्याशाला गोष्ठीको आयोजना गरेको छ ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा तत्विषयमा दुई वटा कार्यपत्र प्रस्तुत गरिए । पहिलो कार्यपत्र आफ्नो अवधारणापत्र भन्दै मधुपर्कका पूर्वसम्पादक लक्ष्मीधर गुरागाईले प्रस्तुत गरे । उनले साहित्यिक पत्रिकामा सरकारको सँधै वक्रदृष्टि रहेको उल्लेख गरे ।
अर्का कार्यपत्र प्रस्तोता साहित्यिक पत्रकार रोचक घिमिरेले आफ्नो पत्रलाई विचारपत्र भन्दै नेपालमा साहित्यिक पत्रिकोको प्रादुर्भावदेखिको इतिहास प्रस्तुत गरे ।
उनको सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक द्वैमासिक पत्रिका रचनाको प्रकाशनमा भोगेका समस्यादेखि अन्य साहित्यिक पत्रकारहरूले भोग्दै आएका समस्याका बारेमा उल्लेख गरे । उनले सरकारले साहित्यिक पत्रिकालाई सँधै दुःख दिँदै आएको बताउँदै समाचार पत्रिका र साहित्यिक पत्रिकामा ठूलो विभेद गरेको बताए ।
कार्यक्रममा गुरागाईँको पत्रमाथि कवि मोमिलाले खरो टिप्पणी गरिन् । त्यस्तै रोचक घिमिरेको पत्रमा टिप्पणी गर्न भनिए पनि अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्माले आफ्ना विचार मात्र प्रस्तुत गरे ।
प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ माया ठकुरी, मोहन दुवाल, राधेश्याम लेकाली, ठाकुर बेलबासे, चेतनाथ धमला, सन्ध्या पहाडी, गोपाल अश्क, डोलिन्द्र शर्मालगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।