
– सुरेन्द्र खनाल
बेलुकीपख । घाम डुब्नै लाग्छ । साझा बस राजधानीको खाल्डोमा हिँडिरहन्छ, अनि रोकिन्छ । मान्छे झर्छन् । फेरि गुड्छ । फेरि रोकिन्छ, मान्छे चढ्छन् । फेरि गुड्छ । फेरि रोकिन्छ, रोकिएको रोकियै हुन्छ— जाम पर्छ ।
पसिना आफ्नोमात्रै होइन, छेउमा उभिनेका पनि आइसकेको थाहा हुन्छ ।
“हैन, के हो तिम्रो तरिका ? म हिँड्दिऊँ ? कति कुराएको हो ? यसरी पनि हुन्छ ?”
“अब १५ मिनेट ।”
“अब १० ।”
“अब ५ ।”
“अब आइसकें ।”
अर्को १० मिनेटमा पुगिन्छ ठाउँमा । नपुग्नुभन्दा ढिलै पुग्नु बेस । नदेख्नुभन्दा रिसाएकै देख्नु बेस ।
क्याफे पुग्दा ऊ त्यहाँ हुँदिन ।
“कहाँ हो तिमी ? कुरायो भन्ने अनि म आउँदा नभेटिने ? के पारा हो यो ?”
“अझ ठूलो स्वरमा बोल्छ । त्यहीँ बस न, म त्यहाँ आएर जानेको छु तिमीलाई ।”
पुराना मैलिएका कुर्सी र पुरानै टेबल । खान्दानी सिसाका साना चिया खाने गिलाँस, बेलुकीको समय र अलिअलि भीड । अस्ताउँदो घाम ।
“सर, के अर्डर गर्नुहुन्छ ?”
“अँ, एउटा मिल्क टी ल्याउनुस्, अर्कोचाहिँ ब्ल्याक । बाँकी साथी आउँदै छ, आएपछि भनौंला । अनि बिस्तारै ल्याउनुस् है, हतार छैन ।”
ऊ आई र मेरो विपरीत दिशामा बसी । अनि हाम्रो पहिलेकै योजनाअनुसार उसको अनुहार उज्यालोमा पर्छ । उसको पछाडि अस्ताउँदो घाम पर्छ । ऊछेउको गमलामा हामीले नचिनेको एउटा हरियो बोट पर्छ । ऊ खुरुखुरु आउँछे अनि एउटा डिसअपोइन्टेड लुक दिन्छे । झोला छेउको कुर्सीमा राख्छे र टेबलमा हेरेर बस्छे ।
उसलाई पछि फकाए पनि हुन्छ । हामी उसलाई एउटा चित्रमा कोर्नतिर लाग्छौं । एउटा बडेमानको सेतो कागज अगाडि ल्याउँछौं र उसको राम्रो, मीठो अनुहारको लागि एउटा बाल्टीभरिको रंग त्यता फ्याँक्छौं । उसको ठुस्केको अनुहारलाई अर्को एक बाल्टी रंग फ्याँक्छौं । अनि उसको कुमनेरबाट जिस्काइरहेको सूर्यलाई अर्को । फोहोर टेबल र कुर्सीलाई अर्को एउटा रंग । हरियो बिरुवालाई अर्को । उसको कपाललाई अर्को एउटा । पारि झोलुंगे पुलमा खेलिरहेका केटाकेटीलाई अर्को एउटा । अनि अलि वर आएर हेर्छौं । ऊ सुन्दर हिसाबले उतारिई त्यो सेतो कागजमा । त्यो भेट अनुपम तरिकाले एउटा चित्र बन्यो, जहाँ ऊ एउटा सूर्य समात्न दाहिने हात माथि–माथि ताकिरहेकी छे । र, उसका आँसुले संसार सबै भिजाएका छन् ।
“हाइ !”
“हेल्लो !”
“ठुस्किन आको हो ?”
“लाज शरम केही छैन ? मान्छेलाई आधा घण्टा कुराउने ? मलाई कुर्न कति झ्याउ लाग्छ, थाह छैन ?”
“साझा बस मेरो अधीनमा चल्दैन, जाम मलाई देखेर खुल्दैन ।”
“म कहाँ–कहाँ पुगें, के–के गरें तिमीलाई कुर्दा, मान्छेको समयको रेस्पेक्ट नै छैन यार !”
“सरी !”
“तिमी मलाई गन्दै गन्दैनौ ।”
(म तिमीलाई सबैभन्दा बढी गन्छु ।)
“कलब्याकको कुरा छोडौं, फोन ग¥यो— उठाउने नि हैन !”
(क्लासमा थिएँ ।)
“उठायो भने कुरै नसकिँदै काटिहाल्ने !”
(जागिरबाट फोन आयो ।)
“म्यासेज रिप्लाई नगर्ने !”
(फुर्सद थिएन ।)
“भिडियो कल गर्दा जान्छु नभनी जाने, कलब्याक नगर्ने !”
(साथी कोठामा छि¥यो, लाज लाग्यो ।)
“फोटो हाल्यो लाइक नै नगर्ने !”
(दुईचोटि लाइक गरेर अनलाइक भयो होला ।)
“अरू सबै केटीसित कुरा गर्दै बस्ने, मलाई मतलब नगर्ने !”
(धरोधर्म गरेको छैन ।)
“सरी ।”
“सरी ।”
“सरी ।”
उसका कम्प्लेन बढ्दै जान्छन् र ती हामीले कम्प्रिहेन्ड गर्न सक्नेभन्दा माथि जान्छन् । हामी ‘झुक्ने’ पुरानो अस्त्र प्रयोग गरेर जोगिन्छौं । बिस्तारै उसका शब्दहरू सबै हाम्रो अर्थ लगाउन सक्ने खुबीभन्दा पर जान्छन् र त्यो सबै एउटा संगीतको नोट बन्छ । ऊ चिच्याउँदा अलि तीखो बन्छ । सुस्तरी बोल्दा अलि धोद्रो बन्छ । अनि हामी एउटा एकलकाटे संगीतमा हराएको जस्तै हराइरहन्छौं । सुनिरहन्छौं । त्यहीँनेर उसको अनुहारमा आँखा नझिम्क्याइकनै टोलारहन्छौं । चर्किएका मान्छेलाई चर्किरहन दिएर एकोहोरो सुनिरहनु उनीहरूलाई सेलाउन दिने एउटा उत्तम उपाय हो । हाम्रो चित्त भंग गर्न चिया आउँछ ।
“सर, ब्ल्याक टी कता राखौं ?”
“ओ मिस्टर ! त्यो कालो चिया किन अर्डर गरेको ? म खान्नँ, तिम्रो मुखमा खन्याइदिन्छु ।”
“म्याम, हजुरलाई मिल्क टी ।”
“अरू के अर्डर गर्नुहुन्छ तपाईंहरू ?”
“अँ, खाजा के खानी अब हामी ?”
“मेरो टाउको फुटाऊ र दिमाग खाऊ तिमी !”
“अँ अहिलेलाई एउटा चिकन मोमो र एउटा फ्रेन्च फ्राई ल्याइदिनुस् । बाँकी बिस्तारै ।”
“तिमी कति तोरी हो यार ! चिया पनि कसैले कालो खान्छ ? कसरी सक्छौ यार ?”
(सुरुप् सुरुप् ।)
“तिमीले प्रेम गरेर खाँदैनौ हेर, महिनामा दुई–तीन पटक भेट्न आएर प्रेम हुँदैन, डेटिङ सेटिङ लानु छैन ।”
यहाँनेर हामी पृथ्वीमा उसको जुन भौतिक अस्तित्व छ, त्यसबाट माथि उठाउन चाहन्छौं । मानौं— ऊ हुनु र नहुनुमा फरकै छैन । खालि उसलाई एउटा भाव बनाउँछौं र त्यही भावलाई प्रेम गर्छौं । त्यसैलाई सम्झिन्छौं, त्यसैलाई बिर्सिन्छौं र त्यसैमै निदाउँछौं । त्यो हरेक अर्को पल तानिएको चुरोट होइन । हरेक अर्को पल उडाइएको धूवाँचाहिँ अवश्य हो ।
“कहिलेकाहीँ पार्कतिर पनि जाम् भन्नू नि, मुभी लैजानू, हुन्छ नि तरिका !”
ल, एउटा पार्क नै मानिदिऊँ । जो मान्छे यहाँ कफी सपमा आउँदै हाम्रो मतलब नगरी जाँदै छन्, उनीहरू नै आउँदै जाँदै गर्लान् । अनि त्यहाँ एकान्त हुन्छ ? त्यहाँ खाली ठाउँ धेरै अवश्य हुन्छ, जति विचार पनि अट्छन् । र, बेमौसमी फूलहरुमा उसलाई रमाउन दिएर गर्न सकिने सबैभन्दा उत्तम काम भनेको आफ्नो आधा अस्तित्वलाई त्यहाँ राख्ने र आधालाई फ्रेमभन्दा बाहिर निकाल्नु नै हुन्छ । र, बाहिरको अस्तित्वले भित्रका प्रेमका रंगहरूलाई, फूलका रंगहरूलाई कालो र सेतो रंगले एउटा सेतो कागजमै उतार्नु शोभायमान देखिन्छ ।
“ल जाम् हिँड पार्कतिर ।”
“सर, चिकेन मोमो कता ?”
“फ्रेन्च फ्राइचाहिँ यता देऊ है भाइ ।”
“कहिले नआएको ठाउँ, मीठो छ कि छैन ...”
“म तिम्रो एरियामा आ’को, तिमी आफैं भन मीठो छ कि छैन !”
“टोलभरिका पसल चहार्दै हिँड्न मेरो अरू केही काम छैन र ! अनि यो एरिया पनि मेरो हैन, यहाँभन्दा १५ मिनेट टाढा छ मेरो एरिया !”
“...........”
“तिमी मलाई माया गर्दैनौ हेर ।“
“मलाई अरू कसैलाई माया गर्नु नै छैन ।”
“कति गर्छौ ?“
“याति धेरै, मनभरि ।”
“हामी बिहे कहिले गर्ने ?“
“अलिकति पैसा कमाएपछि ।”
“एउटा राम्रो सेल्फी खिचुम् बरु आऊ, ल पाउट देऊ त ।”
“...........”
“म तिमीलाई एउटा प्यान्ट किन्दिन्छु ल ।“
“नो, नट एट एल ।”
“एउटा सर्ट ?
“अहँ ।”
“टिसर्ट ?”
“पर्दैन क्या ।”
“किन ?“
“मलाई गिफ्ट लिन औडाहा लाग्छ, मनै लाग्दैन ।”
“ल रियल मड्रिडको जर्सी नै किन्दिउँला ।”
“ओहो !!”
० ० ०
उसलाई, उसको अस्तित्वलाई, उसको प्रेमलाई, उसको चञ्चलतालाई र उसको मुस्कानलाई अर्कै अस्तित्व दिने हाम्रो चाहना हुन्छ । ती कुराहरूलाई वर्षौं लगाएर एउटा कवितामा कोर्नु छ, ती सबैलाई टमक्क कँसिएको हरफमा बाँध्नु छ र त्यसैलाई मन्त्र भन्नु छ, त्यसैलाई जप्नु छ र त्यसैसँग बाँच्नु छ । त्यसैसँग मर्नु छ । त्यसको गुञ्जायनसितै पृथ्वीभन्दा टाढा जानु छ ।
“सर, अरू के अर्डर गर्नुहुन्छ कि ?”
“दुई कप कालो कफी ।”
(देब्रे आँखा झिमिक्क)
“ओए भाइ ! यता आऊ तिमी । अर्डर म दिन्छु, खुरुक्क दुइटा मिल्क कफी लेर आऊ अनि बिल पनि ।”
“..........”
“अनि अब भेट्न कहिले आउँछौ ?”
“तिमी जहिले भन्छ्यौ, तहिले आउँछु ।”
“भोलि साँझ, रत्नपार्क आऊ न त ।”
“भोलि मिटिङ छ, मिल्दैन ।”
“पर्सि साँझ मै भ्याउन्नँ, निकोपर्सि आऊ ।”
“त्यो दिन ट्रेनिङ दिन जानुपर्छ, म यहाँ नै हुन्न ।”
“ए, अनि बुधबार र बिहीबार ?”
“म आइसकेको हुन्न ।”
“शुक्रबार ?”
“म साँझ आउँछु, ढिला हुन्छ कि ?”
“अनि अलिकति पनि लाज लाग्दैन है जहिले भेट्न आउँछु भन्न ?”
“शनिबार दिनभरि गोदावरी पक्का ।”
“म तिम्रो प्रायोरिटीमा कहाँ पर्छु मलाई थाहा छ । छोडेर अर्कैसित गैदिन्छु त्यसपछि थाहा हुन्छ !”
“आइ लभ यु टु !!”
“यही पर्सले टाउको फुट्ने गरी हान्दिन्छु कुन दिन म तिमीलाई ।”
“............”
“सर कफी ।”
“यता राख ।”
“बिल खै ?”
“अब ल्याउँछु म्याम ।”
र, फर्किंदा साझा बस अझै बढी प्याक हुन्छ । ऊ त्यो भीडको त्रासलाई बिर्सिन प्रयोग हुने एउटा सम्झना बनिसकेकी हुन्छे । सलल कानमा बगिरहने संगीतमा उसलाई मिलाएर शान्तिको एउटा लामो सास फेर्न प्रयत्न गर्छौं ।