site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भारतीय नेपालीभाषीको नेपाल मोह 

नरेश फुयाँल


नेपालीभाषी गोरखालीहरु भारतका विभिन्न ठाउँमा बस्छन् । दार्जिलिङ, कालिम्पोङ, सिक्कम, डुबर्स, आसामलगायत थुप्रै ठाउँमा । कयौं पुस्ता बिते पनि मनभरी नेपाली माटोको माया बोकेका उनीहरुको जिब्रोले नेपाली भाषा बोल्छ । बस्न त अब करिबकरिब असम्भव भयो अब त्यसैले एकपटक घुम्न मात्रै भए पनि आउने रहर पाल्छन् उनीहरु । 

सायद नेपालप्रतिको उनीहरुको अगाध स्नेहले उनीहरुलाई छोड्दैन त्यसैले उनीहरु नेपाली कला साहित्यमै रमाउन चाहन्छन् । नेपालीभाषीको जग्गा सानो हुन्छ, जग्गा अनुसारकै जनसंख्या । जनसंख्या पनि थोरै हुन्छ । तर पनि  उनीहरु नेपालीमा आफ्नो सिर्जनालाई फूलाउँछन्, फलाउँछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत सिजनको ‘नेपाल आइडल’ मा गायक पुष्पन प्रधानले डुर्बसमा आफूले गरेको संघर्षको कथा मञ्चबाटै सुनाएर आम दर्शकलाई भाव विह्वल बनाए । आफूभित्र कथासहितको गीत भन्ने अथाह क्षमता हुँदाहुँदै पनि उनले बलिउडको ठूलो बजारमा आफूलाई प्रमाणित गर्न चाहेनन् । करिब दुई दशकदेखि नेपाली गीत नै गाए । नेपाली भाषामै रमाए । नेपाल आएरै उनले गीत रेकर्ड गराए । नेपाली चलचित्रमै उनले आफ्नो कला र गला लगाए । ‘नेपाल आइडल’ पछि त्यो क्रम झन् झाँगियो । 

यही शुक्रबारबाट नेपाली चलचित्र ‘आप्पा’ प्रदर्शनमा आउँदैछ । अनमोल गुरुङ ‘आप्पा’का लेखक तथा निर्देशक । अभिनयदेखि प्राविधिक पाटोसम्म, लेखनदेखि निर्देशनसम्ममा भर्सटाइल व्यक्ति हुन् अनमोल । चलचित्रमा मिहिन ज्ञान राख्ने उनी सफल असफल के होलान् त्यो अनुमानको भर तर बलिउडमा आफ्नो भविश्य खोज्न उनी स्वतन्त्र थिए । तर, चाहेनन् । किनकी उनलाई नेपाल नै प्यारो । नेपाली नै प्यारो । कालिम्पोङबाट नेपाल छिरे । र, चलचित्रमा होमिए । 

अघिल्लो पुस्तामा गोपाल योञ्जन, अमर गुरुङजस्ता नेपाली संगीतका लिजेन्ड नेपाली भाषी प्रवासी नै थिए । पछिल्लो पुस्तामा मिलन नेवारदेखि मीना निरौलासम्म संगीतमा छन् । चलचित्रमा तुलसी घिमिरेदेखि उत्तम प्रधान, निरुता सिंहसम्म उतैबाट नेपाल आए । संघर्ष गरे र आफूलाई स्थापित गरे । नेपाली कला क्षेत्रमा नेपाली भाषी भारतीयहरुको ठूलो उपस्थिती छ । जुन अहिलेसम्म विद्यमान् छ । 

केही दिन अगाडि भारतको सिक्किमबाट दिपंकर मुखिया काठमाडौं आए । र, केही एफएम रेडियोहरुबाट आफ्नो गीत रिलिज गरे । दुई दशकदेखि सांगीतिक यात्रामा रहेका उनी २० वर्ष अगाडि नै काठमाडौं आएका थिए गाउनकै लागि । “सायद मलाई समयले साथ दिएन । उमेर पनि कच्चा थियो । भाषा आफ्नै भए पनि ठाउँ मेरा लागि बिरानो थियो । त्यसैले एक्लै बसेर संघर्ष गर्ने आँट आएन र सिक्किम नै फर्किएँ,” अघिल्लो हप्ता काठमाडौंमा भेटिएका दिपंकर आफ्नो २० वर्ष अगाडिको काठमाडौंमा बस्न नसकेकोप्रति आफैंले आफैंलाई दोषी देख्दै थिए, “म त्योबेला नेपाल बसेर संघर्ष गर्नुपथ्र्यो । सिक्कमको सानो जग्गामा भविष्य खोज्न रमाउनु नै मेरो गल्ती भयो ।” 

गीत कहिलेदेखि गाउन थाले दिपंकरलाई नै थाहा छैन । ब्यान्ड थियो । गीत गाउँथे पनि । तर सायद उनका लागि त्यो समय संगीत साधना हो भन्ने ज्ञान थिएन । सायद रमाइलो मात्रै ठानेका थिए । तर, जब उनले एल्बमबाहेक चलचित्रका लागि संगीत सिर्जना गर्न थाले बल्ल बुझ्न थाले गीतको जरा । त्यसभन्दा अलिकति अगाडिको कहानी सुनाउँछन् उनी, “देउसी गीत गाउने चलन थियो । साथीहरु मलाई स्वर राम्रो छ त गाउने गर न पनि भन्थे । तर मलाई लाज लाग्थ्यो । भजन समिति थियो । म गितार बोकेर बजाउँदै पहिलोपटक भजन गाउन भनेर अगाडि बढेँ । तर, एक लाइन पनि गाउन सकिन लाजले । छेउमा बसेको दाइलाई अगाडि सारेँ उहाँले त्यो भजन कम्प्लिट गरिदिनुभयो ।” 

ड्रग्सबारेको गीत थियो, जुन गीत उनले ११ कक्षामा पढ्दा जन्मथलो दार्जिलिङमा गाए । स्टेजमा उक्लिएर गाएको त्यो गीतले दिपंकरलाई दार्जिलिङमा गायक भनेर चिनायो । उत्साह थपियो । सांगीतिक ब्यान्ड ‘फ्रेन्डस सर्कल’ खोले । प्रतियोगिता हुने भयो । कम्पोज चाहियो । माग्नुभन्दा आफैं कम्पोज गर्नु बेस् । दिपंकरले आफैँ कम्पोज गरे । “जहाँजहाँ प्रतियोगिता हुन्थ्यो । त्यहाँ सहभागी हुँदा वेस्ट कम्पोजिटर ‘फ्रेन्डस सर्कल’ नै हुन्थ्यो । 

कोही कता कोही कता । ‘फ्रेन्डस सर्कल’ अलपत्र पर्‍यो । त्यही समय ‘चक्रब्यू’ नामक कलेक्सन एल्मब निस्कियो । त्यसमा दिपंकरको कम्पोज पनि समावेश भयो । कर्म र भाग्य दुबैले साथ दियो । उनको कम्पोज स्रोताले रुचाए । अग्रजहरुले पनि उनको कम्पोज माग्न थाले । 

समयले उनलाई कोलकता पुर्‍यायो । त्यहाँ उनले आफ्नो सांगीतिक यात्रालाई पूर्णविराम त दिएनन् तर कमा भने लाग्यो । १० वर्ष दार्जिलिङ फर्किए । दिपंकरको शब्द र संगीतमा दिवाकर प्रधानले हिन्दी भाषामा एल्बम निकाले । “त्यसको बाद धिरज चाम्लिङले मलाई चलचित्रको गीतका लागि अफर गर्नुभयो । मैले केही गीत पनि बनाएँ । तर दुर्भाग्य त्यो चलचित्र बनेन,” उनी भन्छन्, “तर त्यसको केही समयपछि चलचित्र ‘तिमी र म’ नामक चलचित्रका लागि मलाई अफर आयो । त्यो चलचित्रका लागि मैले गीत तयार पारेँ । गाउन भने अरुलाई नै लगाएँ । तर, यही चलचित्रमा मैले खलपात्रको पनि रोल गरेँ ।”  

चलचित्र र गीतसंगीतको यात्रा उनले सँगसँगै अगाडि बढाए । काम गर्छन् । मेहनत पनि गर्छन् । तर, बजार सानो  भएपछि फैलिन पाउँदैनन् । “केही लोकल च्यानल त छन्, तर तिनको पहुँच कम छ । फस्टाउने र फैलिने जग्गा सानो छ । अफरहरु आउन थाल्यो,” दिपंकर भन्छन्, “तर, जति काम गरे पनि सानो जग्गा भएकाले थप चर्चा नहुने । सायद थप सिक्न र आफ्नो काम देखाउन दार्जिलिङ, सिक्किमबाट बाहिर निस्किएर नेपालसम्म आइपुग्नुपर्छ भन्ने लाग्यो । र, म अहिले नेपाल आएँ । अब नेपालमा मैले संघर्ष गर्नुछ । नेपाली स्रोतामाझ परिक्षण हुनु छ ।”

अहिले उनी सिक्किममा ‘सर्कल’ रेष्टुराँ चलाउँछन् । उनको रेष्टुराँमा सांगीतिक माहोल छ । नेपालबाट गएका संगीतकर्मी हुन् या चलचित्रकर्मी – पहिलो रोजाइ उनकै रेष्टुराँ हुन्छ । निर्देशक नरेश केसीदेखि गायिकामा आस्था राउतसम्म र नायकमा उत्तम प्रधानदेखि विनय श्रेष्ठसम्म उनको रेष्टुराँमा जान्छन् । 

उनले म्युजिकल इस्ट्रुमेन्ट राखिदिएका छन् । गानाबजानाका लागि संगीतप्रेमीहरु आउँछन् । केही इभेन्टहरु पनि आयोजना गरिदिन्छन् । केहीसमय अगाडि मात्रै उनले ‘माई स्टोरी’ आयोजना गरिदिएका थिए । जसमा धेरैले आफ्नो स्टोरी सुनाए र सुने । 

पीतापूर्खाको भूमी छोडेको पीडाले होला अथवा वातावरण नै त्यस्तै भएर हो, बजार सानो भए पनि मान्छे थोरै भए पनि, कलाले उद्योगको रुप नलिए पनि हरेक नेपालीभाषी कलाको कुनै न कुनै विधामा संलग्न छन् । “दार्जिलिङ, सिक्किम, कालिम्पोङ, डुबर्सलगायत क्षेत्रका हरेक नेपाली भाषीलाई सोध्नुस्, हरेक केही न केही कलाको साधनामै हुन्छन्,” दिपंकर भन्छन्, “कोही गीतार समातेर बसेको हुन्छन् । कोही अभिनयमा रुची छ भन्छन् त कोही निर्देशक र लेखक हुुन्छन् ।” 

उनीहरुलाई नेपाल जाऊँ आफ्नो कला देखाऊँ र गोपाल योञ्जन, अमर गुरुङ, कुन्ती मोक्तान, तुलसी घिमिरेले जस्तै कला यात्राको माथिल्लो खुड्किलोमा टेकौं भन्ने हुन्छ । तर, दिपंकर आफैँ भन्छन्, “सबैलाई त्यो मौका र साथ कहाँ मिल्छ र ? म २० वर्षपछि संघर्षको मैदानमा उत्रिन खोज्दैछु । मजस्ता हजारौं नेपालीभाषी यही पर्खाइमा हुनुहुन्छ । तर, सबैलाई नेपाल आउन भाग्यले साथ दिन्छ र ?” 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  ०९:०२
प्रतिक्रिया दिनुहोस्