site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 कांग्रेसले त्यागेको उदार लोकतन्त्र

उदार लोकतन्त्र कतै ‘लोपोन्मुख सिद्धान्त’ बनिसकेको त हैन भन्ने डर लाग्न थालेको छ । संसारभर नै अहिले उदार लोकतन्त्रकै अभ्यास गरेर यसलाई मास्ने लहर देखिएको छ । पूर्वी युरोप, पूर्वी एसिया, रुस, चीन, मध्यपूर्वजस्ता परम्परागत अनुदार देश र क्षेत्रमात्र हैन अमेरिका, बेलायतजस्ता मुलुकहरूमा पनि अनुदारवादीको प्रभुत्व बढ्दै गएको छ । तैपनि, संसारमा उदारता लोकतन्त्र र मानवताका पक्षमा बोल्ने, लेख्ने र चिन्तन गर्नेहरू बाँकी नै छन् र प्राज्ञिक चिन्तनको मूल प्रवाहमै छन् । 

चर्चित इतिहास लेखक युवल नोहा हरारीले उनको पुस्तक ‘होमो डिअस : अ ब्रिफ हिस्ट्री अफ टुमारो’ मा उदारवादलाई मानवतावादको लगभग पर्यायमा स्थापित गर्दै लेखेको मजबुन उद्धृत गर्न मन लाग्यो । उनले लेखेका छन् – ‘‘उदार राजनीतिमा मतदाताको निर्णय सर्वोत्तम हुन्छ भन्ने मानिन्छ । सौन्दर्य दर्शकको आँखामा हुन्छ भन्ने उदारवादी कलाको मान्यता हुन्छ । उदार अर्थशास्त्रमा उपभोक्ता सधैँ सही हुन्छ भन्ने मानिन्छ । उदार नैतिक मान्यताले कुनै कामबाट आनन्द हुन्छ भने गर्ने अनुमति दिन्छ । उदार शिक्षाले आफैँ चिन्तन गर्न सिकाउँछ । किनभने उत्तर हामीले आफूभित्रै पाउँछौँ ।’’

नेपालमा उदारवादमा विश्वास गर्ने व्यक्ति त होलान् राजनीतिक दल भने छैनन् भने हुन्छ । स्थापनाको घोषणापत्र हेर्ने हो भने नेपाली कांग्रेसलाई उदारवादी दल भन्न सकिन्छ । जनक्रान्तिताका कांग्रेसका नेताहरूले नेपालको आधुनिकीकरणको नेतृत्व गर्दा सामाजिक क्रान्तिको मार्ग अपनाएका थिए । कांग्रेसले २०१२ सालमा आफूलाई विधिवत् ‘समाजवादी’ घोषणा नगर्दासम्म यो पार्टी उदार लोकतन्त्रवादी नै थियो । त्यसपछि पनि कांग्रेसको नेता र नीतिमा ठूलो अन्तर त देखिँदैन तर पार्टी महाधिवेशनले नै समाजवादी भनिसकेपछि उनीहरूले नै नसच्याएसम्म अरूले उदारवादी भन्न त मिलेन । कांग्रेसका सिद्धान्तकार मानिने बीपी कोइरालाका विसं २०३३ पछिका भाषणहरूमा भने समाजवादीभन्दा उदार लोकतन्त्रवादी मान्यता नै प्रतिध्वनित हुन्छ ।

अहिले त यसै पनि कांग्रेसमा सिद्धान्तको बहस सन्दर्भहीन हुन्छ होला । अहिले आचरणका दृष्टिले उदार त परैजाओस् लोकतान्त्रिक भन्न मिल्ने व्यक्तिहरू पनि कांग्रेसको नेतृत्वमा बिरलै होलान् । नेपाली कांग्रेसमा यसै पनि एउटा विसंगत अवस्था उत्पन्न भएको थियो २०१७ सालपछि । उदार लोकतान्त्रिक संस्कार भएकाहरू धेरै जना कांग्रेसको मूल प्रवाहमा टिक्न सकेनन् । अनुदार पञ्चायतलाई पनि तिनले आत्मसात् गर्न सकेनन् । पञ्चायतविरुद्ध तीन दशक संघर्ष गर्ने नेताहरूका तुलनामा पंचायतमा विभिन्न कालखण्डमा प्रवेश गरेका श्रीभद्र शर्मा, परशुनारायण चौधरी, काशीनाथ गौतम, विश्वबन्धु थापाहरू आचरण र व्यवहारका दृष्टिमा बढी लोकतान्त्रिक थिए । लोकतन्त्रप्रति अविचल निष्ठावान् नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला व्यवहारमा अपेक्षाकृत लोकतान्त्रिक थिएनन् । लाग्छ, यो विडम्बनाबाट कांग्रेस अहिले पनि मुक्त छैन । आफूलाई ‘समाजवादी’ पार्टीका नेता ठान्नेहरू अधिकांशको आचरण सामन्ती हैकमवादीको जस्तो छ । 

कम्युनिस्टलगायत अनुदार र अधिनायकवादी शासनका पक्षधरहरूका लागि अहिलेको विश्व परिस्थिति नै अनुकूल छ भने दक्षिण एसिया त झन् मलिलो हुँदै गएको छ । यस्तोमा नेपाली समाजलाई अनुदार कट्टरपन्थतर्फ धकेल्नबाट जोगाउन उदार लोकतन्त्रवादीले मात्र सक्छन् । शासन पद्धतिका रूपमा लोकतन्त्र नौलो भए पनि नेपाली समाज प्रकृतिका आधारमा उदार नै हो । तर, समाजको उदार चरित्र प्रायः अव्यक्त र अप्रकट हुन्छ । काठमाडौंका नेवारहरू समुदायको अस्तित्वमा आक्रमण भएपछि जाग्छन् तर अतिक्रमण रोक्ने रुचि राख्दैनन् । पश्चिम पहाड र मध्यतराईको बाहेक अरू समाज पनि अनुदार हैन । यद्यपि, समाजको यो उदार चरित्रप्रति राजनीति गर्नेमध्ये कसैले कहिल्यै गौरव गरेको वा जनतालाई सम्झाएको थाहा छैन । 

नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानको एउटा चरण भर्खरै पूरा गरेको समाचार सार्वजनिक भएको छ । जनताको स्तरमा नपुगेको जागरण कार्यक्रम लगभग कार्यकर्ता प्रशिक्षणको प्रकृतिको भएजस्तो देखिन्छ । जेहोस्, कांग्रेसका केन्द्रीय नेताहरू हजारौं कार्यकर्तासम्म पुगे । सरकारका कमजोरीहरूविरुद्ध कार्यकर्तालाई तिनले तिखारे होलान् पनि । परन्तु, उदार लोकतन्त्रका यी मूल्यमान्यतामा सरकारले अतिक्रमण गरेकाले विरोध गर्नु परेको हो भनेर ‘उदार लोकतन्त्र’ शब्दको उच्चारण बिरलैले गरे होलान् । सैद्धान्तिक आधारविनाको विरोध पानीको फोकाजस्तै हो । यस्तै, देशका एकतिहाइ स्थानीय तहहरूमा नेपाली कांग्रेसबाट चुनाव जितेका प्रतिनिधिको नेतृत्व छ । तिनको कार्यशैलीमा नवीनता, सिर्जनशीलता देखिएको छैन । कम्युनिस्टहरूको ‘विकासे दोहन’ भन्दा फरक भएको अहिलेसम्म सुनेको छैन । बीपीका अनुयायी भन्नेहरू वातावरणका हकमा पनि स्टालिनको भन्दा फरक शैली अपनाउन सकेका छैनन् । केन्द्रीय नेतृत्वमा पनि यस विषयमा स्पष्टता छैन । वनमा डोजर कुदाउने अहिलेको विकासे शैलीको बीपीले धेरै पहिले नै विरोध गरेका थिए । बीपीको विकास अवधारणाको जर्मनीका पूर्व चान्सलर विली ब्रान्टले समेत ‘वैकल्पिक विकास चिन्तन’का रूपमा सराहना गरेका थिए । अहिलेको दिगो विकास र वातावरण संरक्षण नारा बन्नुभन्दा पहिलेको अर्थात् सन् १९८० को दशकको कुरा हो यो । 

कांग्रेसको जागरण अभियानमा खोलैपिच्छे स्काभेटर लगाएर भारवहन क्षमताभन्दा बढी खोतल्नु दीर्घकालीनरूपमा आत्मघाती हुन्छ भनेर कुनै नेताले भने होलान् त? उदार लोकतन्त्र र वातावरण संरक्षणबीच गहिरो सम्बन्ध छ । तर, नेपाली कांग्रेसमा कसैले बुझ्न खोजेका होलान् जस्तो देखिँदैन । कांग्रेस नेतृत्वको कुनै एउटा स्थानीय तहले पनि कम्युनिस्टहरूभन्दा फरक मानवकेन्द्री र वातावरण मैत्री योजना र कार्यक्रम बनाएको थाहा भएको छैन । उनीहरू त भानु नगरपालिकाका कर्मचारीले अनिवार्य बिर्खे टोपी लगाउनेजस्तो नियम बनाउन व्यस्त छन् । सके बिर्खे टोपी किन्ने पैसा नगरपालिकाले नै दिने होला ! भानुभक्तको जन्मस्थल भएकाले नगरपालिकाले प्रयोग गर्ने नेपाली शुद्ध र सरल होस् भन्नेमा तिनको ध्यान छैन । यो त एउटा उदाहरणमात्र हो । यसैले नेपाली कांग्रेस उदार लोकतन्त्रको बाटोबाट धेरै टाढा गइसकेको देखिन्छ । अरू कुनै शक्ति उदार त टाढाको कुरा सैद्धान्तिकरूपमा लोकतान्त्रिक पनि छैनन् । कम्युनिज्म लोकतन्त्रको प्रतिवादमा जन्मेको सिद्धान्त हो । क्षेत्रीय र जातीय साम्प्रदायिक दलहरू उदार र लोकतान्त्रिक हुनै सक्तैनन् । अनुदार परम्परावादीबाट उदार लोकतन्त्रको रक्षा हुने कल्पना पनि गर्न मिल्दैन । 
नेपाल दक्षिण एसियाको अनुदार भलमा बग्लामात्रै कि थप कट्टरताको पासोमा पनि पर्ला ?  

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro