site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘म तिमीलाई सम्मान गर्छु, तिमी मलाई गर !’ 
SkywellSkywell

जेठ, अन्तिम साताको शुक्रबार । सरकारी साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले नेपाली साहित्यका तीन स्रष्टालाई सम्मान गर्दैथियो । सम्मानित हुँदैथिए पुराना पुस्ताका कथाकार डा. राजेन्द्र विमल र नयाँपुस्ताका कवि सरिता तिवारी तथा नेपाल भाषाका कवि तथा व्यङ्ग्यकार सुरेश किरण ।

सम्मान कार्यक्रममा लेखक–साहित्यकारको जमघट स्वाभाविक थियो । अग्रज तथा नयाँपुस्ताका लेखक–साहित्यकारहरू त्यहाँ उपस्थित थिए । स्वाभाविक रुपमा, चर्चा सम्मानित स्रष्टाहरूकै थियो । उनीहरुलाई भेटेर बधाई र शुभकामना दिन सबै चाहन्थे । सम्मान पाउने स्रष्टालाई धन्यवाद भन्न भ्याइनभ्याइ थियो ।

आधा शताब्दिदेखि गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्कले नेपाली भाषा–साहित्यको उत्थानमा भूमिका खेल्दै आएको छ । विगत १८ वर्षदेखि मधुपर्कमा लेख्दै आएका लेखक–साहित्यकारहरूलाई सम्मान गर्दै आएको छ । त्यसैको निरन्तरता थियो मधुपर्क सम्मान– २०७६ ।

KFC Island Ad
NIC Asia

यसरी विभिन्न क्षेत्रमा क्रियाशील रहँदै आएका व्यक्तित्वलाई विभिन्न संस्थाहरूले सम्मान गर्दै आएको खबरलाई प्रायःजसो मिडियाले स्थान दिँदै आएका छन् । तथापि, सम्मानसँगै चर्चा यो पनि चल्दै आएको छ, वितरित पुरस्कार वा सम्मान कतिको गरिमायुक्त छ ? ग्रहण गर्न लायक छ कि छैन ? 

यस्ता प्रश्न उठ्नुको मूलकारण सम्मान गर्ने संस्थाको कार्यशैली र त्यसको शङ्कास्पद नियत नै हो । राजधानीमा मात्रै यस्ता सयौं संस्था होलान्, जसले सम्मान गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेका छन् । यसरी सम्मान गर्नकै लागि स्थापित संस्था कति छन् ? त्यो आफैमा खोजीको विषय होला । तर त्यस्ता संस्थाको गरिमा र विश्वसनीयतामाथि शङ्का गरिन्छ भने त्यसले प्रदान गर्ने सम्मान वा पुरस्कारलाई कसरी गरिमामय मान्न सकिएला ? 

Royal Enfield Island Ad

नेपाली साहित्यजगत्मा कहिलेकाहीँ त आफ्नो नाममा पुरस्कार घोषणा गराउनका निम्ति मात्रै पनि मरिहत्ते गर्ने लेखक देखापर्छन् । तिनलाई पुरस्कारको रकम चाहिँदैन, केवल मिडियामा पुरस्कृत प्रतिभा भनेर नाम आए पुग्छ । पुरस्कार दिने संस्थाका अधिकारीसँग तिनले पहिल्यै भनिसकेका हुन्छन्– मलाई रकम चाहिँदैन, त्यसको घोषणामात्रै गरिदिए पुग्छ । यस्ता प्रवृत्तिले नेपाली साहित्य, साहित्यकारको मानमर्दन त गरेको छ नै साथमा पुरस्कार वा सम्मान प्रदान गर्ने संस्थामाथि पनि प्रश्नचिह्न खडा गरिदिएको छ । 

वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी सम्मान परम्परालाई सामाजिक स्वीकृतिका रुपमा लिन्छन् । तर त्यो सम्मान दिने संस्था र सम्मान दुवै असल सोच र राम्रो ढङ्गबाट परिचालित हुनुपर्ने उनको भनाइ छ । 
उनी यो पनि स्वीकार्छन् कि, कहिलेकाहीँ कतिपय सम्मानलाई लिएर विवाद उत्पन्न हुन्छ । कुनैकुनै सम्मान साटफेर (म तिमीलाई सम्मान गर्छु, तिमी मलाई गर)का आधारमा पनि हुँदै आएको छ । जुन गलत परम्परा हो । 

अधिकारी भन्छन्, “यस्ता साटफेरको सम्मानहरूले सम्मानको गरिमालाई घटाएका छन् । यतातिर हामी लेखक–साहित्यकारहरू चनाखो रहनुपर्छ भन्ने मलाई लाग्छ ।” 

यही साटफेर वा लेनदेनबाट हुने सम्मानका कारण कतिपयको दृष्टिकोण सम्मानप्रति नकारात्मक रहँदै आएको छ । कसैलाई सम्मान गर्नु आफंैमा गलत काम होइन, तर सम्मान दिने संस्था र सम्मान लिनेको स्तरका कारण पनि सम्मान विवादमा पर्दैआएको हो । यसरी गरिने सम्मानले सम्मान गर्ने र सम्मान लिने दुवै पक्षलाई सकस हुन्छ । त्यो तिनले भनून् वा नभनून् ।

वरिष्ठ कवि तथा व्यङ्ग्यकार विमल निभा नेपाली साहित्यमा चल्दै आएको सम्मानको ट्रेन्ड नै शङ्कास्पद देख्छन् । उनी भन्छन्, “नेपाली साहित्यमा ‘म तँलाई सम्मान गर्छु, तँ मलाई सम्मान गर’को अवस्था विद्यमान छ । यस्तो अवस्थाले सम्मानको गरिमालाई खस्काएको छ ।”

निभाका अनुसार लेनदेनको सम्मान बढी हाबी भइदिँदा सम्मान पनि लटरपटर सम्मानमा परिणत भइदिएको छ । यही प्रवृत्तिले सबै बिगारेको उनको भनाइ छ । ‘‘कुनैकुनै सम्मानले मात्रै लेखक वा साहित्यकारलाई आफू सम्मानित अनुभूति दिलाउँछ । अन्यथा, नेपालमा गर्व महसुस गर्ने खालको सम्मान कमै रहेको देख्छु,’’ उनले भने, “गर्व महसुुस गर्ने खालको सम्मान वा पुरस्कार पाउने वातावरण नेपालमा भइसकेको छैन । यो सुन्दा खल्लो लाग्न सक्छ । तर यो तीतो सत्य हो ।”

कथाकार तथा प्राज्ञ माया ठकुरी भने कुनै पनि सम्मान दिँदा निष्पक्ष हुनुपर्ने बताउँछिन् । योग्य र क्षमताबान सर्जकले सम्मान पाउनुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, “लेनदेनका आधारमा सम्मान हुने गरेको मैले पनि सुनेकी हुँ । आजसम्म मैले कैयौंपटक सम्मान थापेँ, तर त्यस्तो कसैबाट भएको मलाई थाहा छैन । त्यसैले यस्ता कुराको कसरी विश्वास गरूँ !”

प्राज्ञ ठकुरीले त्यो अनुभूत नगरे पनि ‘हावा नचली पात हल्लिन्न’ भन्ने चर्चालाई गलत मान्न सकिन्न । त्यसो नहुँदो हो त आज जति पनि सम्मान प्रदान गरिन्छ, सबै उत्तिकै गरिमायुक्त हुनेथिए ।

चर्चित उपन्यासकार नारायण ढकाल भने सम्मानमा लेनदेनको परम्परा संसारभरि नै रहँदै आएको बताउँछन् । उनका अनुसार विश्वप्रशिद्ध नोबेल पुरस्कारमा पनि अप्रत्यक्षरूपमा लेनदेनको खेल खेलिएको नै हुन्छ । त्यसैले ढकाललाई नोबेल पनि लेनदेनकै पुरस्कारजस्तो भान हुन्छ ।  

उनी भन्छन्, “नोबेल पुरस्कारमा पनि एकदमै राजनीति हुने गरेको अनुभव गर्न सकिन्छ । आफ्नो समयका सर्वाधिक ठूला र चर्चित लेखकलाई बाइपास गर्दै ठिक्कैका लेखकले नोबेल पुरस्कार पाएको हामीले देख्दै आएको नै हो । हाम्रो नेपालमा पनि त्यस्तै छ । राष्ट्रियरुपले चर्चित मानिएको पुरस्कारबाट लक्ष्मीप्रसाद देवकोटा पुरस्कृत हुन्नन् । भूपि शेरचन पुरस्कृत हुन्नन् । यस्ता नाम लिने हो भने धेरै छन् ।”  

ढकालका अनुसार कुनै पनि पुरस्कार नपाएका सलमान रुस्दी जस्ता लेखक पनि छन्, जो नोबेल पुरस्कार पाएका स्रस्टाहरूभन्दा धेरै माथि छन् । एउटा असल लेखक यही कोटीको हुनुपर्ने उनको तर्क छ । ढकालको यो तर्कलाई हेर्ने हो भने, सम्मानभन्दा पनि एउटा लेखकका लागि उसको कृति नै ठूलो कुरा हो । जसले स्रष्टालाई सम्मानले भन्दा बढी अमर बनाउँछ ।

सम्मानका सम्बन्धमा यी चारै स्रष्टा भन्छन् 
“सम्मान सही संस्थाले सही तरिकाबाट गरेको हो भने त्यसलाई हामीले राम्रै मान्नु पर्छ । यद्यपि, सम्मान नपाउनेले पनि राम्रो लेखिरहेका नै छन् । तिनले सम्मानतिर ध्यान दिएको पनि देखिँदैन । नाम नसुनेको कुनै संस्थाले सम्मान गर्दैछ भने संस्थाको गरिमामा ध्यान दिनुपर्छ नै । शङ्का लाग्छ भने त्यो सम्मान वा पुरस्कार लिनुभन्दा नलिनु नै बेस । म भए त लिन्नँ ।”

व्यङ्ग्यकार तथा कवि विमल निभा  

“कसैको सम्मान गरिँदा उसको साहित्यिक योगदानको मूल्याङ्कन गर्नु नै पर्छ । सम्मानले स्रष्टाको आत्मविश्वास बढ्छ । कुनै पनि संस्थाले सम्मान गर्दैछ भने त्यसलाई परित्याग गर्न हुँदैन भन्ने मेरो धारणा छ । जुनसुकै संस्थाले आदरपूर्वक सम्मान गर्छ भने त्यो सम्मानको कदर गर्दै स्रष्टाले ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ । सायद म धेरै नै पोजिटिभ पो छु कि !”

कथाकार तथा प्राज्ञ माया ठकुरी  
“सबै मानिसले आफ्नो अनुहार खोज्छ । अनुहार खोजेकै कारण विभिन्न नाम र ठाममा सम्मानहरू स्थापित भएका छन् । तर त्यो सम्मानलाई व्यवस्थित गर्ने र सही पात्रलाई सम्मान गर्न सकियो भनेमात्रै सम्मान आफै पनि सम्मानित हुन्छ । सम्मान लिनेलाई बडो गाह्रो छ । कसैले तपाईंलाई म सम्मान गर्छु भन्दा म तपाईंको रिकग्निसन मान्न बाध्य छैन वा सम्मान लिन्न भन्न कठिन हुन्छ । कतिपय साथीले ‘म कुनै पनि सम्मान र पुरस्कार ग्रहण गर्दिनँ’ भन्दै आउनुभएको छ । उहाँहरुको यो भनाइप्रति म असहमत छु । त्यसो हो भने मेरो प्रश्न, तपार्इं किन लेखेर छाप्नुहुन्छ ? लेखेर सार्वजनिक गरिसकेपछि त्योसँंग गाँसिएर आउने सबै कुरालाई स्वीकार गर्न सक्नुपर्छ एउटा लेखकले ।”

कवि दिनेश अधिकारी  

“कुनै पनि सम्मानको उद्देश्य हुन्छ । उद्देश्य फरकफरक पनि हुन सक्छ । कति संस्थाको आफ्नो निहीतार्थ अभीष्ट पूरा गर्ने उद्देश्य पनि हुन सक्छ । मेरो विचारमा एउटा लेखकले कहिले पनि सम्मान वा पुरस्कारबारे सोच्नुहुँदैन । पुरस्कार भनेको सेकेन्डरी कुरा हो । एउटा लेखकले पुरस्कारलाई केन्द्रमा राख्नु हुँदैन । लेखकले त आफ्नो समय, समाज र लेखनलाई मात्रै ध्यान दिनुपर्छ । जहाँसम्म सम्मान दिने संस्थाको कुरा छ, संस्थाको स्थापनामा शङ्का लाग्छ वा संस्था ठीक छैन भन्ने लाग्छ भने पुरस्कार वा सम्मान लिनु हुँदैन ।

तर हामीकहाँ के समस्या छ भने हामी लेखकहरू आफूलाई प्रतिपक्ष त भनिरहन्छौं, तर सरकारले जघन्य गल्तीहरू गरिरहँदा पनि नैतिकरुपले सरकारमाथि औंलो ठड्याउन सक्दैनौ ! हामीकहाँ विपक्षको कल्चर नै छैन । एकेडेमी खराब बन्छ भन्ने हामीलाई थाहा छ । तर त्यही एकेडेमीको सदस्य हुन हामी चाहिरहेका हुन्छौं । कहीँकतै सरकारी नियुक्तिका लागि मरिहत्ते गरिरहेका हुन्छौं । जबकि एउटा लेखकका लागि त्यो महत्वपूर्ण हुँदैन । लेखकमा प्रतिपक्षी कल्चर हुँदो हो त कतिपय पुरस्कार वहिष्कार गर्न सक्नुपर्ने हो । तर त्यो आँट लेखकले देखाउन सकिरहेका छैनन् !” 

उपन्यासकार नारायण ढकाल  

र अन्त्यमा, मधुपर्क सम्मानकै एउटा प्रसङ्ग यहाँ जोडनु सान्दर्भिक होला । मधुपर्क पुरस्कारबाट पुरस्कृत स्रस्टा सरिता तिवारी र सुरेश किरणले मन्तव्यका क्रममा आफ्ना कविता वा रचना मधुपर्कले कहिल्यै नछापेको गुनासो गरे । तर मधुपर्कले दिएको प्रतिभा पुरस्कार पाउँदा उनीहरू गदगद थिए । प्रतिपक्षी चेतका साथ आफ्ना कविता, आलेख वा विचार प्रस्तुत गर्ने कित्तामा उभ्याइएका यी दुई लेखकले सत्तापक्षीय पत्रिकाको पुरस्कार थापिरहँदा उपस्थित दर्शकदीर्घामा कानेखुसीले बेग्लै कथा भन्दै थियो ! कानेखुसीको सार एउटै थियो– प्रतिरोधी चेतनालाई जोगाइराख्न कत्ति गाह्रो है !    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro