काठमाडौं । बाग्लुङका ४५ वर्षीय मनहरी विष्ट गत बिहीबार वीर अस्पतालमा हातको उपचारका लागि आए । उनको हात झम्झमाउँने र काँप्ने समस्या आएपछि उनी बुधबार रात्रिबस चढेर बिहीबार बिहान वीर अस्पतालको न्युरो वार्डमा आएका थिए । सोही दिन अस्पताल लाइन बसेको ३ घण्टामा पालो पाए ।
डाक्टरले उनको हातको चेकजाँच गर्यो । रिर्पोट आइतबार मात्र आउने बताएपछि उनी गौशालाको एक होटलमा बसे । “काठमाडौंमा पहिलो पटक आएको, यहाँ आफ्ना आफन्तहरु कोही नभएपछि हरेक दिन अस्पतालको क्यान्टिनमा खाना खाँदै एक हजार रुपैयाँको कोठा भडामा लिएर बसे । आइतबार बिहानै वीरमा रिर्पोट लिन आए । रिर्पोटमा उनलाई दुई वटा नसाको औषधी दिईयो । उनी सोहि अस्पतालको फार्मेसीमा औषधी लिन गए । तर अस्पतालको फार्मेसीमा चिकित्सकले प्रेष्कृप्सन गरेको औषधी नभएको फार्मेसीका कर्मचारीले बताए ।
बसुन्धराका ४५ वर्षीय रामलाल पाठक मधुमेहबाट थलिएका दुई वर्ष भयो । उनी हरेक पटकको मधुमेह (न्युट्रडेक्स) औषधी सरकारी अस्पतालको फार्मेसीबाट लिने गरेका थिए । तर आईतबार विहानै एक महिनाअघि लिएको औषधी सकियो । उनी औषधी लिन र आफ्नो स्वास्थ्य चेकजाँच गर्न वीर अस्पताल आए । तर उनले खाइरहेको मधुमेहको औषधी वीरमा नभएको फार्मेसीका कर्मचारीले बताए ।
अस्पतालको ढोका अगाडिको फार्मेसीमा उनले त्यो औषधीको करिब दुई गुणा महँगोमा किन्नुपर्यो । “यो औषधी सरकारी अस्पतालमा १ सय ९० रुपैयामा लिने गरेको थियो । तर आज सोही औषधी निजी फार्मेसीमा ३ सय ३० रुपैयाँ लिए,”उनले भने, “सरकारी अस्पतालमा सबै प्रकारका औषधी राखियो भने हामीजस्ता गरिबलाई धेरै राहत हुने थियो तर औषधी पनि पाउन मुस्किल पर्छ सरकारी अस्पतालको फार्मेसीमा । ”
त्यसैगरी वीर अस्पतालको फार्मेसीमा कमजोरी र बेहोस भएका बिरामीका लागि उपचारमा प्रयोग हुने औषधी (न्युटिडेक्स), मृगौलाको डायलासिस गरेका बिरामीले प्रयोग गर्ने पाइप (क्याथेटर), शल्यक्रिया गरेपछि घाउ सिलाउने धागो (सुचर) सबै प्रकारका छैनन् । त्यस्तै आँखाको समस्या भएका बिरामीका लागि औषधी छैन । कानका बिरामीले प्रयोग गर्ने अधिकांस औषधी छैन । बीस सेवन गरेर अस्पताल भर्ना भएका बिरामीका लागि प्रयोग गरिने (नियोपाम एट्रोपिम -एन्टी डट) औषधी छैन । मधुमेहका बिरामीले सेवन गर्ने (न्युट्रडेक्स) औषधी छैनन् ।
आईसियूमा भर्ना भएका सिकिस्त बिरामीका लागि दिने (डाइजोपाम), छालाका ९० प्रतिशतसम्म औषधी छैनन् । इन्सुलिन पर्याप्त मात्रामा छैन भने क्यान्सरका बिरामीलाई दुखाई कम गर्न दिने (मर्फिन ) औषधी पनि छैन । यो औषधी जुनसुकै निजी फार्मेसीमा नपाउने हुँदा बिरामीका आफन्तहरुलाई निकै हैरानी हुने गरेको छ भने अन्य क्यान्सरका बिरामीलागि चाहिने अधिकांश औषधी छैनन् ।
मुटु रोगका बिरामीका लागि आवश्यक औषधी छैन । ग्याष्ट्रिकका बिरामीलाई आवश्यक (रेन्टिरेन्ज) औषधी छैन । यी त औषधी अभावका केही उदाहरण मात्र हुन् । तर अस्पतालमा आउने अधिकांस बिरामीहरु औषधी नपाउँदा निजी औषधी पसलबाट किन्न बाध्य छन् । अस्पतालको फार्मेसीमा पुग्ने अधिकांश बिरामी र बिरामीका आफन्तहरु आवश्यक औषधी नपाउने गरेको गुनासो गर्छन् ।
त्यसैगरी, अस्पताल बाहिर रहेका निजी औषधी पसल र फार्मेसीले खरिद प्रमुखलाई कमिसन दिने र ती औषधी पसल टिकाउन अस्पताल भित्रको फार्मेसीमा समयमा टेन्डर नगर्ने गरेको अस्पतालका एक कर्मचारीले बताए ।
अस्पतालका फार्मेसी प्रमुख श्याम मण्डलले टेन्डर प्रक्रियामा समस्या हुँदा ढिलो भएको बताए । “छालाका औषधी कस्मेटिक हुने हुँदा सरकारी अस्पतालको फार्मेसीमा राख्न नमिल्ने र अपरेसनमा आवश्यक औषधीहरुको टेन्डर भइसकेकोले आउने प्रक्रियामा रहेको छ,” उनले भने, “कतिपय औषधीको टेन्डर आह्वान गर्दा पनि कम्पनीहरुले आवेदन नदिँदा समेत समस्या भएको छ ।”
त्यस्तै, अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले स्थान अभाव हुँदा सबै औषधी एकैपटक स्टोर गरेर राख्न नसकिएकोले समस्या आएको बताए । “स्टोर क्षमता कम हुँदा सबै औषधी स्टोर गर्न नसकिएको र अहिले औषधी स्टोरका लागि कोठा खोज्ने काम भइररहेको छ,” उनले भने, “स्वास्थ्य मन्त्रालयलमा फार्मेसीका लागि २८ जना कर्मचारीको माग गरिएको छ । ती कर्मचारी मन्त्रालयले पठाएमा मात्र राति पनि फार्मेसी सञ्चालन गर्न सकिन्छ ।”
निर्देशक डा. सेन्चुरीले हाल अस्पतालको चारवटा काउन्टर सञ्चालनमा आएको दाबी गरे । स्वास्थ्य मन्त्रालयले जारी गरेको फार्मेसी निर्देशिका २०७२ मा फार्मेसी अस्पतालकै स्वामित्वमा रहनुपर्ने, फार्मेसी सेवा दक्ष जनशक्तिद्वारा सञ्चालन गरेको हुनुपर्ने फार्मेसीमा बिक्रि वितरण गरिने औषधी फार्मेसी कमिटीले व्यवस्थापन गनुपर्ने, ठूला अस्पतालमा विशेषज्ञ क्लिनिक फर्मासिस्टको सेवा उपलब्ध हुनुपर्ने र बिरामीलाई सहुलियत दरमा औषध उपलब्ध गराईनुपर्ने उल्लेख छ ।
अस्पतालको फार्मेसी बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र सञ्चालनमा आउने गरेको छ ।