काठमाडौं । ओखलढुंगाका पाँच वर्षीय नविन विष्टलाई ज्वरो र रुघाखोकीको समस्या देखियो । आमा बोधमायाले उनलाई तुरुन्तै ओखलढुंगा स्वास्थ्य चौकीमा लगिन् । स्वास्थ्य चौकीमा चेकजाँच गरेर औषधी खुवाएर र धामी झाँक्रीकोमा समेत लगेको तर निको नभएको नविनकी आमा बोधमाया बताउँछिन् । नविनमा ज्वरो, रुघाखोकीसँगै पिसाबबाट रगत बग्ने समस्यासमेत थपियो ।
आमा बोधमाया भन्छिन्, “नविनलाई पिसाबमा रगत बग्ने समस्या देखिएपछि गत साल भदौमा त्रिवि शिक्षण अस्पताल ( टिचिङ) उपचारका लागि ल्याए । टिचिङ अस्पतालमा नविनको चेकजाँच गरेपछि चिकित्सकले गम्भीर समस्या भएको भन्दै भर्ना गरे ।”भर्ना गरिएको तीन दिनमा नविनको अल्ट्रासाउन्ड रिर्पोटमा देब्रे मृगौलामा ट्युमर पलाएको देखियो ।
मृगौलामा ट्युमर देखिएपछि तुरुन्तै त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले कान्ति बाल अस्पतालमा रिफर गर्यो । “नविनलाई यस्तो समस्या दुई वर्ष पहिले पनि देखिएको थियो तर उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दा कुनै समस्या नदेखिएको भन्दै औषधी दिएर पठाएको थियो । तर अहिले बाबुको मृगौलामा ट्युमर पलाएको छ भन्छन्,” आमा बोधमायाले बाह्रखरीसँग भनिन् ।
कान्ति बाल अस्पतालमा नविनलाई भर्ना गरेर मृगौलाको क्यान्सरको औषधी ६ हप्तासम्मको औषधी दिए । नविनको मृगौलाको ट्युमरको शल्यक्रिया गत असोजमा भयो । शल्यक्रियापछि पनि अहिलेसम्म औषधी दिइरहेको छ । नविनलाई हरेक साता अस्पताल लैजानुपर्छ । उनलाई अस्पताल लैजान ल्याउन समस्या भएपछि बोधमायाले एउटा कोठा अस्पताल नजिकै भाडामा लिएकी छन् ।
सुरूमा त महिनामा दुई लाखसम्म लाग्थ्यो, अहिले ५० हजारसम्म औषधी उपचारमा खर्च हुने गरेको छ । “भएको जग्गा जमिन पनि छोराको उपचारमा नै सकियो तर ठिक हुँदैन् । बाबु चाँडै निको होस् भनेर भगवान पशुपतिनाथसँग भाकल गरेको छु,”बोधमाया भावुक हुँदै भन्छिन्, “नविन अहिले राम्रोसँग बोल्न र हिँड्डुल गर्न सक्दैन् । डाक्टरले नविनको औषधी असारबाट सकिने भएकोले घर लैजान सक्ने भन्नुभएको छ ।”
नेपालगञ्जका दुई वर्षीय दिपक लामाको पनि नविनकोभन्दा लक्षण अलिक फरक भए पनि समस्या भने एउटै छ । गत पुसमा दिपककी आमा ललिताले छोरो दिपकलाई घाममा राखेर शरीरमा तेल लगाउँदै गर्दा पेटको दाहिने भागमा डल्लो भेटाइन् । दिपकको पेटको डल्लो एक सातासम्म नघ्ने अझ पेट छुँदा रुने गरेपछि उनलाई उपचारका लागि लिएर भेरी अञ्चल अस्पताल गइन् ।
अस्पतालका चिकित्सकले दिपकको पेटको अल्ट्रासाउन्ड गरे । उनको अल्ट्रासाउन्ड रिर्पोटमा दाहिने मृगौलाको भित्तामा मासुको डल्लो देखियो । भेरी अञ्चल अस्पतालले उनलाई तुरुन्तै कान्ति बाल अस्पताल रिफर गरेको ललिता बताउँछिन् । कान्तिमा दिपकको पुन पेटको अल्ट्रासाउन्ड गरियो ।
चिकित्सकले तुरुन्तै भर्ना गर्न आग्रह गरे । “दिपकलाई भर्ना गरेको तीनदिनमा दाहिने मृगौला शल्यक्रिया गरेर फालिदिए,” ललिता भन्छिन्, “डाक्टरले सुरुमा नै उपचारका लागि ल्याएकाले मृगौलाको ट्युमर अन्य अंगमा फैलेको छैन् । उनको क्यान्सर पूर्ण निको हुने भन्नुभएको छ ।"
दिपकलाई सुरु-सुरुमा तीन दिनमा एक पटक किमो चढाउँनु पर्थ्यो । "तर अब ६ महिनामा एकपटक किमो चढाउनुका साथै नियमित स्वास्थ्य चेकजाँच गर्नका लागि ल्याउन डाक्टरले भन्नुभएको छ," ललिताले बताइन् । उनले पनि छोराको उपचारका लागि काठमाडौंमा कोठा भाडामा लिएकी छन् ।
त्यस्तै, कान्ति बाल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीले कुनै-कुनै बालबालिकाहरुमा एकैपटक मृगौलामा क्यान्सर देखिने गरेको बताए । “समयमै उपचारका लागि ल्याएमा रोग पत्ता लाग्ने र एकदेखि दुई महिनासम्म किमो चलाएर त्यसपछि ट्युमर पलाएको मृगौला शल्यक्रिया गरेर फालेपछि निको हुन्छ,” उनले भने “साना बच्चामा यो क्यान्सर देखिएको छ भने सुरूमा शल्यक्रिया गर्ने र किमो चलाउने गरिन्छ । तर केही ठूलाका हकमा सुरुमा किमो दिने, ट्युमरलाई सानो बनाउने र ६ हप्तापछि मात्र शल्यक्रिया गरिन्छ । “यो क्यान्सरदेखिका बच्चाहरुका धेरैजस्तो अभिभावकहरुले तेल लगाउँदा डल्लो भेटियो के भएको भन्दै ल्याउनुहुन्छ । अहिलेसम्म यसको ठ्याक्कै यही नै लक्ष्ण छैन्,” डा. गिरीले भने ।
क्यान्सर रोग विशेषज्ञहरुले यो क्यान्सर बालबालिकामा देखिने तेस्रो क्यान्सर भएको बताए । विशेष गरेर मृगौलाको क्यान्सर १ देखि २ वर्षका बालबालिकाहरुमा बढी देखिने गरेको बताउँछन् । मृगौला बन्ने क्रममा परिपक्क हुने अवस्थामा अपरिपक्क हुँदा यस्तो समस्या आउने चिकित्सकहरुले बताएका छन् ।