site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्त्येष्टिको प्रत्यक्ष प्रशारणले उद्घोषक बनायो
SkywellSkywell

रेडियो उद्घोषक बन्ने सोच प्रारम्भमा थिएन । तर उनले बोलेको उनका साथीहरूले ध्यान दिन्थे । उनको आवाज राम्रो भएको बताउँथे । यस्ता कुरा उनी सुन्थे र बिर्सिन्थे ।
एसएलसी गर्नुभन्दा अगाडि नै एक पटक उनका मिल्ने साथी किरणराज जोशीले भनेछन्, “ए निरोध, तेरो स्वर त मिठो छ यार !” 
किरणराज भन्थे, उनी सुन्थे । बस्, यत्तिमात्रै थियो । गीत गाउन आउँथेन उनलाई । त्यसैले स्वर मिठो भएरै पनि के गर्नु । 
एसएलसी गरेपछि भने उनको कलम कविता र कथा विधामा चल्न थाल्यो । उनी कविता लेखेर सुनाउन रेडियो नेपाल जान थाले । यसरी रेडियो नेपाल पुगेका उनले ‘कविता कुञ्ज’मा कविता सुनाउन सुरु गरे । उनको आवाज कविता वाचनका माध्यमबाट सर्वत्र तरङ्गित भयो । 
उनको वाचन शैलीको र स्वरको चर्चा चल्यो । तथापि रेडियो नेपालमा नै उदघोषण गर्ने मौका मिल्नेछ भन्ने अझै उनको सोचाइमा थिएन । 
एक दिन यस्तो पनि भयो । उनी रेडियो नेपाल पुगेका थिए । सायद कविता रेकर्ड गर्न । तत्कालिन राजा महेन्द्रको निधन भएको थियो । त्यसबेला रेडियो नेपालको एउटा समूह आर्यघाटबाट राजा महेन्द्रको अन्त्येष्टिको प्रत्यक्ष प्रशारणका लागि पशुपति जाँदै थियो । 
रेडियो नेपालमा एक समयका चर्चित कार्यक्रम उद्घोषक तथा पत्रकार निरोधराज पाण्डे (७२) डिल्लीबजारस्थित आफ्नो कार्यकक्षमा पुरानो कुरा सम्झिँदै थिए । उनले भने, “म रेडियो नेपाल पुग्दा त्यसबेलाका चर्चित उद्घोषकहरू आर्यघाटतिर जाने तयारीमा थिए । मलाई पनि हिँड्न भने । म पनि गएँ । अन्त्येष्टिको प्रत्यक्ष प्रशारणमा अलिअलि बोल्ने मौका पनि पाएँ । जबकी म रेडियो नेपालको कर्मचारी थिइन । तर यही सानो मौकाले अन्ततः मलाई रेडियोको उद्घोषक बनायो ।”
पशुपतिबाट भएको त्यो प्रत्यक्ष प्रशारणमा त्यो मौका कसरी पाए, कसरी बोले, त्यस विषयमा अहिले कुनै सम्झना छैन उनलाई । तर आज पनि उनी आफूलाई रेडियोमा प्रवेश दिलाउने र आफूलाई सधै सहयोग गर्ने व्यक्तिमा लक्ष्मण लोहनीलाई पाउँछन् । उनको कामको समीक्षात्मक टिप्पणी गरेर लक्ष्मण लोहनीले सधै निरोधलाई अभिप्रेरित गरिरहे । 
आर्यघाटमा पाएको प्रत्यक्ष प्रशारणको मौकाले उद्घोषण कलामा होम्मिएका निरोधराज पाण्डेले पहिलो पटक ‘विदेशमा बस्ने नेपालीहरूका लागि कार्यक्रम’ चलाए । त्यस पछि मात्रै उनी अरु कार्यक्रमहरूतिर लागे ।

०००

डिल्लीबजारका पुराना बासिन्दा हुन् निरोधराज पाण्डे । मंगलबार दिउँसो कुराकानी गर्दा उनी साठी वर्ष अघिको डिल्लीबजारको वर्णन गर्दैथिए ।
उनी आफै आठ दश वर्षका थिए । डिल्लीबजारको इलाका एकदम खुला थियो । बीचमा सडक थियो, रत्नपार्क हुँदै बानेश्वरसम्मको । निरोधराज साथीहरूसित पिपलबोटमा बसेर मोटर गन्थे । कतिवटा मोटर पूर्वबाट आयो कतिवटा पश्चिमबाट । 
निरोध हासे । भने, “घण्टौ पर्खँदापर्खँदा बल्ल एउटा मोटर आउँथ्यो । तर पनि हामीलाई रमाइलो लाग्थ्यो । सडकमा बसेर रमाइलो गथ्र्यौं । डिल्लीबजारको रोड मेनरोड नै थियो । अनि, चारैतिर नीलकाँढा नै नीलकाँढाको जङ्गल । कहिले काहीँ भने ज्ञानेश्वर चोकमा पनि हामी साथीभाइको जमघट हुन्थ्यो ।”
पाण्डेका अनुसार आजको विशाल र घना डिल्लीबजार पहिले पातलो बस्ती थियो । धेरै कम घरहरू थिए । अलिक पर चारखाल अड्डा थियो । त्यहाँ चिया पसलहरू थिए । फूच्चे निरोधराजहरू त्यहाँ पनि पुग्थे । घर छेउछाउ अलिक टाढा कसैले खोँके भने पनि को आयो भनेर हेरिन्थ्यो ।
साठी वर्षअघि निरोधराज र उनका परिवारका सदस्य र साथीहरू सहर जाने भनेर असन इन्द्रचोक जान्थे । चलन नै त्यही थियो । त्यतिबेला किनमेलका लागि पनि असन इन्द्रचोक नै जाने चलन थियो । आज किनमेल गर्न सहर जानु छ भनेर घरकाले भन्थे । 
यसरी परिवारका मानिस घर घरायसी सामान किन्न असन पुग्थे । लत्ताकपडा किन्न वा अरु कुनै सामान किन्न नयाँसडक, इन्द्रचोक नै पुग्नु पर्दथ्यो । 
उनी हाँस्दै भन्छन्, “डिल्लीबजारका हाम्रा लागि सहर भनेको असन इन्द्रचोक नै थियो । हामीले नयाँ कपडा सिलाएरु लगाउने भनेको त दशैंमा नै हो ।”
एउटा रोचक प्रसंग निरोधराज पाण्डेले सुनाए । 
“दशैंको बेला थियो । दशैंमा हाम्रो घरमा निक्खर कालो र सेतो बोको चढाउने चलन थियो । मलाई आज पनि सम्झना छ, ३५ रुपैयाँमा कालो सेतो बोकाको जोडी नै किनेर ल्याएको ! ३५ रुपैयाँमा दुई वटा बोका । सम्झिदा पनि आश्चर्य लाग्छ ।” 
निरोधका अनुसार रत्नपार्कमा नै बोका खसी बेच्ने ठाउँ बनाइएको थियो । त्यो सानो टुँडिखेल थियो । त्यसलाई रत्नपार्क भनिन्थेन ।
बाल्यकालको रमाईलोमा हराउँदै निरोधराज पाण्डेले पद्मोदय हाईस्कूलबाट एसएलसी पास गरे । उप्रान्त त्रि–चन्द्र कलेजमा भर्ना भएर वाणिज्य शास्त्र पढ्न थाले । र त्यहीँबाट ब्याचलर सिध्याए । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

उद्घोषण क्षेत्रमा रुचाईएका निरोधराज पाण्डे एक समय स्टेज कार्यक्रमहरूमा पनि सक्रिय रहे । उद्घोषकका रूपमा उनलाई नै बोलाइन्थ्यो । 
उनले कुनैकुनै वर्ष गाईजात्रा कार्यक्रममा पनि उद्घोषण गरे । यसरी रेडियो उद्घोषण, स्टेज कार्यक्रममाको उद्घोषण, विज्ञापनहरूमा उद्घोषणमा उनले आवाज दिँदैगए । यसले उनलाई आर्थिकरुपमा बलियो बनाउँदै लग्यो । 
करारको जागिर भए पनि सबैसँग मिलेर काम गर्ने स्वभाव भएका कारण उनले सबैसँग घनिष्ट भएर काम गरे । २० वर्ष जागिर गर्दा पनि आफूले कहिल्यै कसैसँग नमिठो बोलेको उनको भनाई छ । 
रेडियोको २० वर्षे अवधिमा उनले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको उद्घोषण गरे । कहिले काहीँ भने समाचार वाचक नआईपुगेर जिल्ला समाचार पढ्नु परेको उनी आज पनि सम्झिन्छन् । यद्यपि, उनको अधिकांश समय मनोरञ्जनात्मक कार्यक्रमका लागि नै बित्यो ।
निरोधराज पाण्डेले रेडियो नेपालमा प्रश्नउत्तर कार्यक्रम पनि सञ्चालन गरेका थिए । उनले गीतिकथा पनि पढे । राती विज्ञापन सेवा पनि सञ्चालन गरे । तर आज पनि निरोधलाई सुनगाभाका र गीतिकथाका उदघोषक भनेरै चिन्छन् । आज पनि उनका फ्यान छन् ।
बिहानपख प्रशारण हुने साप्ताहिक कार्यक्रम सुनगाभाको कन्सेप्ट प्रचलित तथा लोकप्रिय गीतहरू बजाउने नै थियो । त्यसबेलाका उत्कृष्ट गीतहरूलाई प्रस्तुत गरिन्थ्यो कार्यक्रममा । कतिपय अवस्थामा त गायकले नै पनि कार्यक्रममा गीत बजाईदिन भन्थे । 
निरोधराजका अनुसार उनी डिल्लीबजारस्थित घरबाट निस्किँदा दिमागमा कार्यक्रममको खाका तयार गर्दै हिँड्थे । कहिले साइकलमा जान्थे । कहिले पैदल । तर जसरी रेडियो नेपाल पुगे पनि उनको मष्तिष्कले स्क्रिप्ट बनाउने काम गरिरहेको हुन्थ्यो । 
उनी डिल्लीबजारबाट कालिकास्थान बाँसघारी हुँदै रेडियो नेपाल जाँदा कति परिचित भेटिन्थे । तर उनी दिमागमा स्क्रिप्ट बनाउन मग्न हुन्थे । कसैप्रति ध्यान जान्थेन । पछि कसैले भन्थे– ‘ए निरोध भनेर बोलाएँ । तिमी सुन्दै नसुनी हिँड्यौं ।’ 
यस्तो धेरै पटक भएको थियो । 
एक समय त उनको कार्यक्रम सुनेर सुनगाभा र गीतिकथा रेकर्ड भएको हेर्नसमेत स्रोताहरू रेडियो नेपालमा आए । निरोधराज भन्छन्, “गीतिकथामा पहिले पहिले हिन्दी गीत बज्थ्यो । पछि नेपाली गीतहरु बजाउन थालियो । सैयौं कथाहरू आउँथ्यो । छान्न पनि कठिन हुन्थ्यो । प्रायः प्रेम र सामाजिक कथा नै गीतिकथाका लागि सुहाउँथ्यो । कतिपय चर्चित लेखकका कथा पनि गीतिकथामा पढ्थेँ ।” 
कथा छान्दा कुन कथाले स्रोतालाई समाउँछ भन्ने विषयमा ध्यान दिनु पर्दथ्यो । उनका अनुसार रेडियो कार्यक्रमलाई उत्कृष्ट बनाउन खुबै मेहनत गर्थे सबै उद्घोषकहरू । कार्यक्रम खस्क्यो कि कार्यक्रमबाट बाहिरिनु पर्दथ्यो । त्यसैले कार्यक्रमको स्तरलाई कायम राखिराख्न उनीहरू हरसम्भव प्रयासरत रहन्थे । 

एक पटक निरोधसँग उनले बिर्सनै नसकने घटना घटेको छ । उनी र उनका सहकर्मी साथी मिलेर ‘प्रश्न उत्तर’ कार्यक्रम चलाउँथे । प्रश्नहरूको ओइरो लाग्थ्यो । हजारौ चिठी आउँथ्यो । उनीहरू चिठी छान्थे । मनोरञ्जनक र सूचनामूलक प्रश्नलाई बढी ध्यान दिइन्थ्यो ।
प्रश्न उत्तरमा गान्तोकबाट एउटा चिठी आयो । केटीहरूले चिठी लेखेका रहेछन् । चिठीको भाव थियो, ‘हामी पनि नेपाली हौ । हामी पनि नेपाल आउन चाहन्छौ ।’ 
कार्यक्रम चलाउने निरोधहरूले पनि यो प्रश्नमा सामान्य जवाफ दिए । ‘हुन्छ आउनुस् । यो देश तपाईंहरुको पनि हो ।’ 

निरोध हाँसे । भने, “केही समय यत्तिकै बित्यो । एक दिन त गान्तोकका ती युवतीहरू बिहानै रेडियो नेपाल आइपुगेछन् । रेडियोको एउटा साथीले तिनलाई मेरो घरमा ल्याइदियो । अब भयो फसाद ! मलाई के गर्ने कसो गर्ने भयो । मेरी आमाले ती केटीहरुलाई चिया खाजा खुवाउनु भयो । संगीतकार अम्बर गुरुङ त्यहीँ ज्ञानेश्वरमा बस्थे । ती युवतीहरूलाई मैले उनैकहाँ नै लगेर छोडेँ ।”
उनीहरूलाई अम्बर गुरुङले कन्भिन्स गरेर पठाए, सायद । त्यसको केही दिनमै उनी रेडियो तालिमका लागि मलेसिया गए । ती युवतीहरू नेपाल नै बसे वा गान्तोक फर्किए, निरोधलाई थाहा भएन । 

रेडियोमा उद्घोषण निरन्तर चल्दो थियो । मेहनत गरिरहेका थिए निरोध । कसरी कार्यक्रमलाई श्रवणीय बनाउने, त्यही घनचक्करमा उनी लागिरहेका हुन्थे । चलेको कार्यक्रम भएकोले त्यसको स्तर कायम राख्नु पनि थियो । 
२०३४ सालमा उनलाई उनको कार्यक्रम भन्दा फरक जिम्मेवारी दियो, रेडियो नेपाल व्यवस्थापनले । भोग्यप्रसाद शाह कार्यकारी निर्देशक थिए । उनले पहिलो पटक तत्कालिन राजा वीरेन्द्रको सवारी शिविरमा जाने मौका पाए । सुर्खेतमा सवारी थियो । 
रेडियोका कर्मचारीका हैसियतमा रिपोर्टिङका लागि निरोध पनि खटाइए । शिविरबाट उनले हरेक विषय सन्दर्भको समाचार बनाएर पठाउनु पर्दथ्यो । राजारानीका हरेक कार्यक्रममा उनीहरू रिपोर्टिङका लागि जान्थे ।
प्रधानमन्त्री थिए कीर्तिनिधि विष्ट । दुबै ज्ञानेश्वर डिल्लीबजार क्षेत्रका भएकोले परिचित थिए । सुर्खेत पुगेकै दिन साँझ एउटा कार्यक्रम हुँदै थियो, शिविरमा । निरोध साथीहरूसित ढोकामा उभिएका थिए । त्यसैबेला प्रधानमन्त्री कीर्तिनिधि विष्ट आइपुगे । उनले ‘ए निरोध बाबु आउ’ भन्दै निरोधको पाखुरामा समातेर भित्र लिएर गए । 

हठात् प्रवेश भयो उनको त्यस कार्यक्रममा । उनी प्रधानमन्त्रीसँगै भित्र पसेकोले प्रोटोकोल मिलेन । तर प्रधानमन्त्रीले हातै समाएर हिँडेकोले निरोधलाई कसैले केही भनेनन् । 
उनी पनि पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भएकोले उनलाई प्रोटोकल र सीट व्यवस्थापनका विषयमा थाहा भएन ।
नियमअनुसार त्यो बेला सबैभन्दा अन्तिममा भित्र पस्नुपर्ने थियो होला तर जानकारी नभएकै कारण यो सबै भयो । त्यसैबेला गृह मन्त्रालयका अधिकारी उनलाई उनी बसेको ठाउँबाट उठाउन आउँदै थिए । तर फेरि फर्किए ।
निरोध भन्छन्, “मलाई फिल त भएको थियो । तर के गर्ने गर्ने भयो । राती डिनरका बेलामा सरकारबाट सोधनी भयो यस बारेमा । मैले पनि आफूलाई यसबारे थाहा नभएको बिन्ती गरेँ ।” 
यो घटनाले उनलाई घचघच्यायो । पछि यस्तो अवस्था आएन । आज पनि यो घटना सम्झिएर उनी हाँस्छन् । “केही थाहा नभए पछि के गर्ने ?” भन्दैथिए उनी ।
यसरी वर्षेनी राजाको सवारीमा निरोध जान थाले । २०४६ सालसम्मै उनले राजाको क्षेत्रीय भ्रमण शिविरको रिपोर्टिङ गरे । 

यस्तो सवारीका बेलामा केही रमाइला र रोचक घटना भएका छन् । जसलाई उनी आज पनि सम्झिन्छन् । 
एक पटक सवारीमा उनी फेरि राजा वीरेन्द्रसँग पुगे । सायद धनकुटा शिविरमा हुँदाको कुरा हो । राजाको सवारी जिल्लाजिल्लामा हुन्थ्यो । यस्ता जिल्लातिरको सवारीमा जाँदा राजाले कतिपय ठाउँमा दुई अढाई घण्टाको समय स्थानीय प्रशासन र त्यस क्षेत्रको परियोजनहरूका बारेमा सुन्नु पर्दथ्यो । यस्तो कार्यक्रममा लामो समय नै राजा बस्थे । 

उता रानी भने त्यही समयमा त्यस क्षेत्रका विभिन्न महत्वपूर्ण स्थानहरू, जस्तै बाल मन्दिर, महिला विकास, सामाजिक सेवाका कार्य तथा विभिन्न परियोजनाको भ्रमणमा निस्किन्थिन् । यसरी रानी तीन चार वटा कार्यक्रममा जान्थिन् ।
यस किसिमका सन्दर्भलाई लिएर समाचार बनाउँदा राजा एकै ठाउँमा बसेको हुनाले राजाको समाचार रेडियोमा तीन चार मिनेटको मात्रै हुन्थ्यो । तर रानी चार पाँच ठाउँमा घुमेकोले आठ नौ मिनेटको समाचार बन्थ्यो । र राजाको तुलनामा रानीको विषयको समाचार बढी बज्थ्यो । 
यो विषयलाई लिएर काठमाडौंमा चर्चा भएछ । ‘राजा भन्दा रानीको पो रिपोर्ट ज्यादा बज्न थाल्यो’ भन्ने कुरो उठ्यो । निरोधले आफूले सुनेको यो विषय राजासँग बाँडन चाहे । 
एक दिन निरोधले शिविरमै राजारानी सँगै भएको बेला भनेछन् “सरकार, अमुक अमुक विषयमा बाहिर चर्चा चलिरहेको छ । बडामहारानी सरकारको कार्यक्रम अरु कुनै दिन बेग्लै किसिमबाट गर्ने कि ?”
निरोधका अनुसार उनले यति के भनेको थिएँ, रानी जुरुक्क उठेर निरोधलाई भनिन्, ‘तपाईँ त नेता हुनुपर्ने रहेछ’ । 

सधै तिमी भनेर सम्बोधन गर्ने रानीले तपाईं भनेको सुनेर निरोध झस्किए । ‘लौ, अब के हुने हो ? अब सवारीमा आउने दिन सकिए’ भन्ने उनलाई लाग्यो । 
तर पछि रानीले सायद रियलाईज गरिन् । यो विषयलाई लिएर निरोधलाई केही भनिएन । उनी रानी समक्ष जाँदा पनि रानीले अरुदिन जस्तै सामान्य व्यवहार गरिन् ।
यो घटना आज पनि उनको मानसपटलमा ताजै छ । जीवनकै अविस्मरणीय घटना मान्छन् उनी यसलाई । 
निरोध भन्छन्, “मैले जहिले पनि आफ्नो काममा ध्यान दिएँ । वास्तवमा म आफ्नो काममा ‘इन्जोय’ गर्थे । त्यसैले पनि मेरो काम मन पराईएको हुनसक्छ ।” 

०००

एउटा अर्को प्रसंग निरोधले सुनाए । एकपटक हेटौडामा राजारानीको क्षेत्रीय शिवीर थियो । २०४२ सालतिरको कुरा हो । भरखर मात्रै टेलिभिजन परियोजनाको प्रसंग उठेको थियो । 
त्यसबेला हेटौडास्थित राप्ती होटलमा एउटा स्टूडियो पनि तयार गरिएको थियो । त्यहाँ प्रस्तावित टेलिभिजन परियोजनका लागि समाचार खिचिन्थ्यो । 

निरोधका अनुसार त्यसबेला नेपाल टेलिभिजन परियोजनाका लागि हेटौडाबाट टेलिभिजन ब्रोडकास्ट गरिएको थियो । र केही दिन त्यो प्रारम्भिक समयमा निरोधले पनि टेलिभिजनमा बोलेका थिए । 
पछि निरोधलाई राजा वीरेन्द्रले टेलिभिजनमा काम गर्छौ भनेर सोधेका थिए । उनले यत्तिक्कै टाउको हल्लाए । पछि दरबारका सम्वाद सचिव चिरन शमशेरले उनलाई टेलिभिजनमा जानका लागि भनेका थिए ।
निरोध भन्छन्, “पछि टेलिभिजनमा कुन पोजिसनमा जाने भन्ने कुरा भयो । मैले सोचेँ, राजपरिवारको रिलेसनमा पर्ने नीर शाह टेलिभिजन परियोजनका हाकिम हुन् । आफू परेँ सामान्य नागरिक । कतै नराम्रो भए त गाह्रो हुन्छ । मैले यही कुरा चिरन शमशेरलाई भनेँ, ‘कतै मलाई अन्याय भयो भने हजुरले हेर्ने कि नहेर्ने ?’ भनेर । पछि यस विषयमा कतैबाट कुनै खबर आएन । म पनि टेलिभिजन गइनँ ।”

०००

२०४७ सालमा रेडियोबाट हटाइए उनी । त्यसपछि उनले केही समय बाहिरका कार्यक्रमहरू उदघोषण गरे । पछि ती कार्यक्रम पनि बन्द भए । 
उनले लामो समय ज्ञानेश्वर डिल्लीबजार क्षेत्रको वडाध्यक्ष भएर पनि काम गरे । पछिल्लो समय जनभावना साप्ताहिकका माध्यमबाट पत्रकारितामा सक्रिय रहेका निरोधलाई रेडियो मोहले आज पनि छोडेको छैन । आज पनि उनी रेडियो कार्यक्रम चलाउन पाए हुने सोच्छन् ।

तस्वीरः सरिता खड्का

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ११:३७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro