उनी स्कूल गएनन् । काठमाडौंको रैथाने भएर पनि उनी कहिल्यै स्कूल गएनन् । यसको अर्थ यो होइन की उनले पढेनन् । उनले पढे । तर, उनले जे जति पढे, घरमै बसेर पढे । काठमाडौंको बीच सहर त्यौँडमा बस्ने देविचन्द्र श्रेष्ठ (८०) ले घरै बसेर संस्कृतको शिक्षा हासिल गरे । अंग्रेजी पढे । अर्थशास्त्र सम्बन्धी ज्ञान प्राप्त गरे ।
पछिल्लो समय लेखनमा सक्रिय रहेका देविचन्द्र इतिहास र संस्कृति सम्बन्धी लेख लेखिरहन्छन् । सायद, लेखनकै सिलसिलामा उनी रामशाहपथस्थित राष्ट्रिय अभिलेखालय आउँदै थिए । कुराकानीका लागि उनले यस पंक्तिकारलाई पनि त्यहीँ बोलाए ।
अभिलेखालयभित्रकोे सानो पर्खालमा बसेर उनीसँग स्कूले कुरा गर्दैगर्दा उनको अनुहार चम्किएको थियो । उनी फिस्स हाँसे । भने, “मेरो स्कूल छैन । तर कलेज छ । मैले एकैचोटी एसएलसी पास गरँे । एसएलसी गरेपछि त्रिचन्द्र कलेजमा आइकम भर्ना भएँ ।”
स्कुल नगए पनि उनको पढाई लेखाई राम्रोसंँग भयो । उनले संस्कृत विषय ऋषभदेव शास्त्रीसँग पढे । अर्थात उनका संस्कृतका गुरू हुन्, ऋषभदेव ।
त्यस्तै उनले अंग्रेजी विषय र अर्थशास्त्र अंग्रेजी भाषाका धुरन्धर ज्ञाता भेषराज शर्मासँग पढ्ने मौका पाए । देविचन्द्र श्रेष्ठका अनुसार भेषराज शर्मा २००५ साल तिरका प्रशिद्ध अर्थशास्त्री मानिन्छन् । तत्कालीन समयमा भेषराजको अंंग्रेजीको भाषण सुनेर अंँग्रेज र भारतीयहरु पनि दंग पर्थे ।
अंग्रेजी, अर्थशास्त्र र संस्कृतको ज्ञान भइसकेपछि थप पढाइ सायद खोजिएन् ! त्यसैले होला, १९–२० वर्षको हुँदा नै उनले काठमाडौं मजिस्ट्रेटको कार्यालयमा मुखियाको जागिर पाए ।
उनको अंग्रेजी भाषा बलियो थियो नै । संस्कृतको पृष्ठभूमि भएकोले नेपाली भाषा पनि राम्रो थियो । उनी राम्रो अंँग्रेजी बोल्दथे । त्यसैले उनको पोल्टामा मुखियाको जागिर आयो । त्यसैबेला उनी संस्कृतको मध्यमा परीक्षा दिने सोच्दै थिए । उतिबेलै एसएलसी परीक्षाका लागि फर्म भर्नुपर्ने सूचना पनि आएको थियो ।
तत्कालिन अवस्थामा सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुका स्कूल नपढेको भए पनि एसएलसी दिने सुविधाका बारेमा उनले जानकारी पाए । यो बारेमा देविचन्द्रलाई थाहा थिएन् । उनले यो विषयमा थाहा पाए, दीर्घराज कोइरालाबाट । अर्थात्, दीर्घराज कोइरालाले नै उनलाई ‘एसएलसी देउ । पास हुन्छौ’ भनेर उत्प्रेरित गरे ।
त्यसबेला ‘डिभिजन इन्सपेक्टर अफ स्कूल’ थियो । त्यहीँबाट दीर्घराज कोइरालाले फर्म भर्न लगाए । देविचन्द्रले फर्म भरे । निश्चित तिथि मितिमा एसएलसी परीक्षा दिए । र, वि.सं. २०१६ सालमा पास गरे । एसएलसी पास भएपछि उनले त्रिचन्द्रमा आइकमको पढाइ सुरु गरे ।
२०१६ सालमा एसएलसी दिएर त्रिचन्द्र भर्ना भएका उनले २०१८ सालमा आइकम पनि पास गरे ।
उनको अंग्रेजी राम्रो भएकोले पनि दीर्घराज कोइरालाले आफूलाई एसएलसी दिन उत्प्रेरित गरेको श्रेष्ठको ठहर छ । हिसाबका विषयमा भने उनले सामान्य नियमहरू जानेका थिए । जोड, घटाउ, गुणा, भागा आउँथ्यो । तर गणित विषयमा उनको पकड कलेज गएपछि मात्रै बढेर गयो । त्रिचन्द्र कलेजमा मित्रनाथ देवकोटाले हिसाब पढाउने गरेको उनी सम्झिँदै थिए । उनका अनुसार मित्रनाथले नै उनको हिसाब दह्रो बनाएका हुन् ।
मजिष्ट्रेट कार्यालयमा हुँदा गर्ने कामको पनि बयान गरे, देविचन्द्रले । त्यसबेला उनले सुरक्षा कानुन सम्बन्धी काम गर्नुपर्दथ्यो । देविचन्द्र श्रेष्ठ फेरि पुराना कुरा सम्झेर मुस्कुराए । भने, “त्यस बेला मजिष्ट्रेट अफिसमा विष्णुमणि आचार्य कमिश्नर थिए । उनी पावरफूल हाकिम थिए । त्यसबेला उपत्यकाका तीनै जिल्लामा मजिस्ट्रेट भए पनि तीन वटाकै टुप्पी समाउने गरी विष्णुमणि आचार्य खटिएका थिए ।”
सुरक्षा कानुन आइसकेको थियो । सुरुसुरुमा त पत्रिका दर्ता गर्ने, पत्रिकामा छापिएका विषयहरूले दरबारलाई मुछेको छ कि छैन भन्ने विषयमा चेकजाँच गर्ने र नराम्रो भए कारबाहीको लागि काम अगाडि बढाउने जिम्मा उनीहरूको थियो । देविचन्द्र भन्छन्, “२०१७ साल पुस १ गतेपछि भने यो काममा हामीले धेरै नै खट्नु पर्यो । त्यसैबेला कैयन कांग्रेसीहरुको बयान लिएँ मैले ।”
०००
आई कम पास गरेर उनी त्रिचन्द्र कलेजमै बीकममा भर्ना भए । त्यसको केही समयपछि नै नेपाल राष्ट्र बैंकमा सहायक कर्मचारीको माग भयो । उनलाई मजिष्ट्रेट कार्यालयबाट नेपाल राष्ट्र बैंक तिर जान मन लाग्यो । कमर्श पढेकोले पनि होला, उनको रुची त्यतातिर रह्यो । उनले राष्ट्र बैंकमा आवेदन दिए । लिखित र मौखिक परीक्षा दिए । र, पास भए ।
अब उनको कामको विषय बन्यो हिसाबकिताब । उनी नेपाल राष्ट्र बैंकको ब्यालेन्ससिट मिलाउने विभागमा काम गर्न थाले । नेपाल बैंकको नीति निर्माणको काममा उनले लाग्नु परेन । उनको शैक्षिक पृष्ठभूमि कमर्श भएकाले उनले सोही अनुरुप काम पाएका थिए । त्यसबेला लक्ष्मीनाथ गौतम राष्ट्र बैंकका गभर्नर थिए । एकाउण्टका हाकिम थिए धीरविक्रम शाह । जो, पछि राष्ट्रिय वाणिज्य बैंकको महाप्रवन्धक पनि भए ।
त्यसैबखत नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा ल्याउने कामलाई अगाडि बढायो । त्यसका लागि अधिकृत र सहायक कर्मचारीहरू आवश्यक थियो नै । वाणिज्य बैंकका लागि अधिकृत र सहायक कर्मचारीहरू माग गरियो । राष्ट्र बैंकका कतिपय सहायक कर्मचारी राष्ट्रिय वाणिज्य बैंकमा अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट पास भएर गए । कतिपय माथिल्लो तहमा पनि पठाइए । कतिपय खुलाबाटै फ्रेस कर्मचारीहरू छानिए ।
देविचन्द्र श्रेष्ठ राष्ट्र बैंकमा सहायक कर्मचारी थिए । राष्ट्रि वाणिज्य बैंकमा अधिकृत भए । आफ्नो करीअरका लागि यो बाटो उत्तम हुने उनले सोचे । त्यो समयमा वाणिज्य बैंकको रुपमै स्थापित थियो नेपाल बैंक लिमिटेड । तर पनि राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकको स्थापनाको अवधारणा अगाडि ल्यायो ।
नेपाल बैंक लिमिटेड हुँदाहुँदै पनि वाणिज्य बैंक खोल्ने अवस्था आउनुको सन्दर्भमा देविचन्द्र चर्चा गर्दै थिए, “राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडलाई मुलुकका विभिन्न गाउँठाउँमा गएर शाखा खोल्न अह्राएको थियो । किनभने राष्ट्र बैंक केन्द्रीय बैंक भएकोले त्यसको व्यवस्थापन पनि राष्ट्र बैंकले गर्नु पर्दथ्यो । तर नेपाल बैंक लिमिटेडले जहाँतहीँ शाखा खोल्न मानेनन् ।”
यसरी राष्ट्र बैंकको अनुरोध अस्वीकार गरेपछि राष्ट्र बैंकले नेपाल बैंकलाई बाइपास गर्न राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरेको थियो । उनी भन्छन्, “राष्ट्रिय वाणिज्य बैंक स्थापनामा अर्को कुरो पनि जोडिएको थियो । राष्ट्र बैंकमा गभर्नर नियुक्त गरिँदा कमर्सियल बैंकिङमा सफल भएको व्यक्तिलाई मात्रै गभर्नरमा ल्याउने व्यवस्थाका लागि पनि राष्ट्रिय वाणिज्य बैंकको स्थापना गरिएको थियो । तर लक्ष्मीनाथ गौतमले सोचे अनुरुप तथा तत्कालीन ऐन अनुरुप उक्त कार्य सफल हुन सकेन् ।”
त्यसपछि वाणिज्य बैंकको काम ग्राहकसँग निक्षेप संकलन गर्ने र व्यापारिक कर्जा लगानी गर्ने मात्रै हुनगयो ।
देविचन्द्र श्रेष्ठका अनुसार यदि गभर्नर गौतमको सोच र तत्कालीन ऐन अनुसार काम भएको भए कमर्सियल बैंकमा सफल भएको व्यक्ति मात्रै गभर्नर हुन पाउने थिए । देविचन्द्र भन्छन्, “आज त भाँड भैलो छ । अहिले त पार्टीको टीका लगाएपछि गभर्नर पद पाइन्छ ।”
०००
राष्ट्रिय वाणिज्य बैंकको स्थापनासँंगै देविचन्द्रको कामको गति पनि बढ्यो । चुनौती धेरै थियो । काम सजिलो थिएन् । तर पनि उनीहरू काममा सक्रिय रहे । त्यसबेला बैंकिङ जानेका केही कर्मचारीहरु नेपाल बैंकबाट पनि वाणिज्य बैंकमा आए । अहिले पनि नयाँ बैंकले पुरानो बैंकबाट मानिस ल्याएर काम गरे जस्तै उति बेला पनि भएको श्रेष्ठ बताउँछन् ।
बैंक सञ्चालन कठिन काम थियो । तथापी, नयाँ सडकको रैन बसेरा भवनबाट वाणिज्य बैंकले कारोबार सुरु ग¥यो । पछि बैंकको उदघाटन हुँदा बागबजारमा केन्द्रीय कार्यालय रहेको थियो । तत्कालीन राजा महेन्द्रले बैंकको उदघाटन गरे ।
देविचन्द्रका अनुसार त्यसबेला कृष्णबम मल्ल पहिलो जीएम थिए वाणिज्य बैंकको ।
त्यसबेला बैंकिङ पद्धतिलाई अगाडि बढाउनु नै पनि गाह्रो थियो । ब्याज दिन–लिन पनि गाह्रो थियो । हातले नै गुणा भाग गरेर ब्याज लिनु र दिनु पर्दथ्यो । पछि ब्याज निकाल्ने एउटा पुस्तक आयो जसमा कति रकमको ब्याज कति हुन्छ भन्ने लेखिएको हुन्थ्यो । देविचन्द्र श्रेष्ठका अनुसार त्यतिबेला जति काम हुन्थ्यो सबै म्यानुअल्ली मात्रै हुन्थ्यो । पछिपछि मात्रै क्याल्कुलेटर आयो जसले हिसाबलाई सहज बनायो ।
उनी भन्छन्, “काम गाह्रो थियो । तर ग्राहक कम थिए । त्यसैले हिसाब निकाल्न पनि सजिलै थियो ।” वाणिज्य बैंकमा जागिर खाएको केही वर्षपछि देविचन्द्र श्रेष्ठ जुम्ला शाखाको म्यानेजर भएर गए । २०२३ सालतिर एकपटक तत्कालीन राजा महेन्द्र क्षेत्रीय भ्रमणमा जुम्ला गएका थिए । त्यहाँ जाँदा उनले जुम्लाबासीहरूलाई जुम्लामा बैंक खोली दिन्छु भनेर आश्वासन दिएर फर्किए ।
यो विषय राष्ट्रिय वाणिज्य बैंकमा पुग्यो । राजाको भनाइलाई कार्यान्वयन गर्नु थियो । त्यसैले पश्चिमको दूर्गम जिल्ला जुम्लामा पनि शाखा खोलिने भयो । त्यसबखत जुम्ला जानै कठिन थियो । जुम्ला को जाने ? यो प्रश्न खडा भयो । कोही जान मानेनन् । अनि देवीचन्द्र श्रेष्ठलाई लाग्यो “देश र दुनियाँ घुम्नु पर्छ । सबैतिर हेर्नुपर्छ । बुझ्नु पर्छ ।” यसैले उनलाई जुम्ला जान अभिप्रेरित गर्यो ।
उनले पनि ‘म जान्छु’ भने । र उनी राजा महेन्द्रले चढ्ने गरेको प्लेन नै चढेर जुम्ला पुगे । २०२३ सालको कुरा आज पनि उनी सम्झिँदा रोमाञ्चित हुन्छन् । बैंकमा रहँदा पछि हुम्ला पनि गए उनी, शाखा स्थापना गर्नका लागि । र त्यहीँबाट उनले मानसरोबरको यात्रा गरेका थिए ।
त्यहीँबाट जन्मिएको थियोे उनको नियात्रा कृति ‘हुम्ला बोल्छ मानसरोबरमा’ । जसको चर्चा साहित्यिक वृत्तमा आज पनि हुने गरेको छ ।
पछि बैंकमा हुँदा नै उनले कर्णालीको मुगु, कालिकोटमा पनि शाखा खोल्न पहल गरे । खोले पनि ।
०००
वि.सं. २०३०–०३१ सालतिर उनी युनिभर्सल बैंकिङ विषयको तालिम लिन जर्मनी पुगे । करिब छ महिना त्यहाँ बसे । त्यहाँको बैंकिङ सिस्टम देखेर आफू छक्क परेको उनी बताउँदै थिए । आकास जमिनको फरक थियो, नेपालको बैंकिङ पद्धती र जर्मनीको बैंकिङ पद्धतीमा । जर्मनीहरू उद्योगलाई बढी प्राथमिकतामा राख्थे । नेपालमा भने व्यापारमा बढी ध्यान दिने चलन थियो ।
पछि नेपालमा उद्योगमा लगानी गर्ने भनेरै एनआइडीसीको स्थापना गरिएको उनी बताउँदै थिए । बैंकमा कार्यरत रहँदा नै तालिमको प्रशिक्षकका रुपमा मुम्बई पनि गए देविचन्द्र । उताबाट फर्किएपछि नै उनले एउटा पुस्तक लेखे, ‘प्रयोगात्मक बैंकिङ’ । यो पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको थियो ।
‘प्रयोगात्मक बैंकिङ’ पुस्तक लेखेका देविचन्द्र श्रेष्ठ भन्छन्, “वास्तवमा त्यसबेला बैंकिङ साक्षरता छँदैथिएन् । बैंकमा त आम जनता आउँदै आउँथेनन् । व्यापारीहरू मात्रै बैंकिङ पद्धतीसँग जोडिएका थिए ।” आम नागरिकहरुलाई बैंकदेखि त्यति चासो पनि थिएन सायद । कारण आम मानिससँग त्यसबेला बचत गर्ने पैसा पनि हुन्थेन् । त्यसबेला बडो मुस्किलले डिपोजिट तान्नु परेको श्रेष्ठको भनाईले पनि यसलाई पुष्टि गर्दछ ।
पछिपछि प्राथमिकता क्षेत्र र घरेलु क्षेत्रमा कर्जा लगानी गर्ने भएपछि कृषक र साना–साना व्यापारीहरु बैंकमा आउन थालेको उनी बताउँछन् । तर आज बैंकहरुको भीड छ नेपालमा । निजी क्षेत्रका बैंकहरू प्रशस्त छन् । उनी भन्छन्, “नेपालको इकोनोमिक ग्रोथ भएरै यति बिघ्न निजी बैंकहरु खुलेका हुन र ? यस विषयमा बृहत् अध्ययन कहाँ भएको छ र ?”
०००
उनी जुम्ला जाँदा बाटो थिएन । उनी राजा महेन्द्र चढ्ने प्लेन चढेर त्यहाँ पुगेका थिए । राजाले पनि दूर्गम क्षेत्रमा पहिलो बैंक खोल्ने कुरा गरेका थिए । त्यसैले शाखा खोलिएको थियो । देवीचन्द्र पनि आफू केही सहयोगीहरुका साथ गएर जुम्लामा शाखा खोले । ग्राहकहरुलाई बैंकिङ पद्धतीमा ल्याउने प्रयास गरे । बैंकमा खाता खोलेर बचत गर्ने र कर्जाका कुराहरु सिकाए ।
त्यहाँको मुख्य समस्या यातायातकै थियो । कृषि विकासका नाममा स्याउ खेतीमा लगानी भयो । तर बाटो नखुलेका कारण त्यसको बृहत्तर विकास हुन सकेन् । सडक यातायातका लागि तत्कालीन सरकारले नै त्यतातिर ध्यान नदिएको भन्ने उनलाई लाग्छ । उनले एउटा प्रसंग सुनाए ।
कर्णालीकै हरिश्चन्द्र महत पञ्चायतकालमा मन्त्री भए । उनले आफ्नो गाउँठाउँमा बाटो बनाउने कुरा उठाए । चिनियाँ सरकारले पनि बाटो बनाइदिने कुरामा सहमति पनि देखायो । त्यसपछि महत आफ्नोतर्फबाट भिडेर लागे । तर त्यसबेलाको दरबारले नै रोकिदियो । महत आफैँ जिल्ल परे ।
जुम्लाको दुःख उनले देखेका थिए । त्यसैले पनि केही लेख्नु पर्छ भन्ने उनलाई लागिरह्यो ।
पछि जुम्लाको महत्वका विषयमा, खस राज्यका विषयमा, जुम्लाको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र आर्थिक महत्वका सबै विषयहरूलाई समेटेर ‘कर्णाली प्रदेश : एक बिटो अध्ययन’ शीर्षकमा पुस्तक नै प्रकाशन गरे । आफूले पहिलोपटक बहुविधा आयाममा पुस्तक प्रकाशन गरेको उनको भनाई छ ।
०००
यसरी उनले थप केही पुस्तकहरू पनि प्रकाशित गरे । उनी आज पनि लेखनमा रमाइरहेका छन् । राष्ट्रिय वाणिज्य बैंकबाट दसौं तहको मुख्य अधिकृत पदबाट निवृत्त भएका देविचन्द्रको अहिलेको समय लेखनमै बित्छ । उनी अहिले पनि लेखनमै रमाइरहेका छन् ।