काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको चौथो खेलमा ओमानविरुद्ध १ सय ५० रनको जित निकालेको छ । २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले १ सय ५० रनको सहज जित निकालेको हो ।
पवन सराफ र सूर्य तामाङको कसिलो बलिङमा ओमानका ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । अमनप्रित सिरह र जिल टन्नाले समान १३–१३ रन बनाए । ओपनर अदिल अब्बास, आजम अलि र अर्जुन सारिथाले समान ८–८ रन बनाए । नेपालका पवन सराफले ३ विकेट लिए । सूर्य तामाङ र प्रतिश जिसीले २ विकेट लिँदा कुशल मल्ल, भिम सार्की र कमलसिह ऐरीले १–१ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । ८१ बलको सामना गरेका रोहितले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।
चौथो नम्बरमा ब्याटिङ गरेका रोहित आजम अलिको बलमा मेहतामार्फत् क्याच भए । रोहितपछि भिम सार्कीले सर्वाधिक ३९ रन बनाउँदा प्रतिस जिसीले बिस्फोटक ब्याटिङ गरे । लगातार विकेटपछि अन्तिम अवस्थामा नेपालको इनिङ्स सम्हालन आएका प्रतिशले ४१ रन बनाए । २३ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले अब समूहको अन्तिम खेल कुवेतसँग खेल्नेछ । छनोटका लागि नेपालले कुवेतसँगको जितसँगै युएईको नतिजामा समेत भर पर्नु पर्नेछ । युएई पराजित भएको अवस्थामा नेपाल छनोट हुने सम्भावना रहनेछ ।