धर्म र राजनीतिको गजबको सम्मिश्रणको यो अनुभव सुरु गर्नुअघि थोरै पृष्ठभूमि ।
नेपालका गुगल ब्वाइ अर्थात् ‘बाल गुरु आदित्य दाहाल‘ का विषयमा धेरै नेपालीले सुनेको हुनुपर्छ । असाधारण प्रतिभाका धनी आठ वर्षमात्रका यी बाल गुरुसँग भेट्ने अवसर मिलाए पत्रकार मित्र देवप्रकाश त्रिपाठीले । बाल गुरुलाई भेट्ने विषयमा सोचेको थिइन तर नभेट्नुपर्ने कारण पनि केही थिएन । त्रिपाठी, परशु घिमिरे तथा गुणराज लुईंटेलसहितको हाम्रो समूह पुग्यो पशुपतिको गौरीघाट नजिक रहेको आदित्य गुरुको आश्रममा । बाल गुरुको प्रत्यक्ष रेखदेखमा बनिरहेको त्रिगजुरसहितको बसाहाभित्र शिवलिंग साह्रै सुन्दर देखिएको थियो । बसाहाको नजर सिधै पशुपतिको गजुरमा परेको छ भनियो । मन्दिर यस्तो सुन्दर कि कुनै अत्यन्त प्रतिभाशाली आर्टिटेक्ट इन्जिनियरको धेरै मेहनतको प्रतिफल हो कि झैंँ लाग्ने । आश्चर्य, यस मन्दिरको डिजाइनमात्र होइन रंग, रोगन र खुड्किलाको नापसमेत बालगुरुको प्रत्यक्ष निगरानीमा भइरहेको रहेछ ।
नवनिर्मित त्रि गजुर मन्दिरदेखि अलि तल रहेको आदित्य गुरुको निवासमा पत्रकारसँग भेटघाटको व्यवस्था मिलाइएको थियो ठिक ४ बजे । समयको मामिलामा गुरु अत्यन्त सचेत छन् । बेमौसमी झरीले होला सबैजना समयमै आउन सकेनन् । गुरुले आमा ईश्वरा दाहाललाई आफ्नो असन्तोष इसारामा नै देखाए । आमामार्फत् हामीले थाहा पायौँ समयका मामिलामा गुरु कति सचेत रहेछन् भन्ने ।
त्यो भेटघाट पत्रिकामा लेख्नका लागि होइन भनियो । सायद त्यसैले होला त्यति धेरै सम्पादक तथा वरिष्ठ पत्रकार भेला भएको विषयमा कुनै चर्चा भएन । गुरुले पत्रकारलाई सम्बोधन गर्दै सुरुमै अंग्रेजीमा लेखे मिडिया, पैसा र शक्तिसँग मलाई कहिल्यै आशक्ति भएन । त्यसै विषयको एक पूरक प्रश्नको उत्तरमा गुरुले फेरि लेखे – “मेरो दूर्भाग्य, म यी तिनैसँग नजिक हुन सकिन ।”
उल्लेखित त्रि गजुर शिवालयको उद्घाटन गर्ने विषयमा समाचार प्रकाशित गर्न प्रेस सम्मेलन पूर्वको अनौपचारिक भेटघाट रहेछ सम्पादकसँगको सो भेट । धेरै पत्रकारले गुरुलाई पहिलोपल्ट भेटेका थिए र उनको अलौकिक प्रतिभा देखेर आश्चर्यचकित पनि थिए । नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलको पत्रकारका लागि केही सन्देश भए पाऊँ भन्ने अनुरोधमा गुरुले दिएको जवाफ पत्रकारिताका धुरन्धर पनि छक्क पर्ने गहिराइको थियो । गुरुले भने – “सत्य खोज, तथ्य लेख ।”
गुरुको पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’ बोकेर भौतिकवादी युगमा यस्तो अचम्मको अलौकिक शक्तिको उपस्थितिलाई आफ्नै आँखाले हेरेर पत्याएर आइयो । अब देशको राजनीति र समाजमा गलत गर्ने व्यक्तिका लागि बालगुरु आदित्य पनि एक सशक्त लगाम हुनसक्ने अनुमान लगाइयो । उक्त भेटमा पनि उनले मातृभूमि नेपालले अध्यात्ममार्फत एकदिन विश्वमा नेतृत्व लिने बताएका थिए ।
अफसोच, शक्ति र पैसाको अगाडि महादेवको तेस्रो नेत्र पनि खुल्छ भन्ने कुराको प्रमाणले मलाई पर्खिरहेको रहेछ ।
विसं २०७५ सालको अन्तिम दिन अर्थात् चैत्र ३० गते त्रि गजुर मन्दिरको प्राण प्रतिष्ठा तथा बाल गुरुको नेपाली किताबको अंग्रेजी संस्करणको विमोचन नेपालका तीन धुरन्धर नेताले संयुक्तरुपमा गरे । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (नेकपा) का दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । अझ केही समयअघि सोही पुस्तकको नेपाली संस्करणको लोकार्पणमा पनि ओली र प्रचण्ड पुगेका थिए । भौतिकवादी नेता र अध्यात्मवादी बाल गुरुको यो संगममा त्यही बेला सबैले विस्मय प्रकट गरेका थिए ।
पुस्तकको विमोचन पूर्व सबैलाई सन्देश दिने क्रममा बालगुरुले आफ्नी आमाको काखमा बसेर एक वाक्य लेखे – “म ईंटा जोडेर मन्दिरमात्र होइन आत्मा जोडेर राष्ट्र बनाउन चाहन्छु ।”
सर्वसाधारण जनता गरिबी, महँगी, भ्रष्टाचार, अधिनायकवादको चुल्होमा पिल्सीरहेको यस्तो अवस्थामा यो देशमा शान्ति, अमन चयन र मानवताको शीतल लहरको सन्देश दिने बाल गुरुका लागि पनि ओली, दाहाल र देउवा नै यस देशको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुने रहेछन् भने जनसाधारणले किन यी नेताका विरोधमा सडकमा ओर्लनु ? तीनैजना नेताको भागबण्डामा देशको यो गति भएको भन्ने महसुस भएका सबैलाई आदित्य गुरुले गलत साबित गरेको सन्देश गएको छ ।
यस देशमा डा. गोविन्द के.सी., डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, केदारभक्त माथेमा, महाविर पुनः जस्ता व्यक्तिलाई आध्यात्मिक र लोक कल्याणकारी गुरुले पनि चिनेनन् । उल्लेखित सबैको विषयमा केही न केही विवादास्पद घटना होलान् तर सबैले चिन्ने व्यक्ति भएको आधारमा यिनको नाम यहाँ लिइएको हो । उनको ब्रतवन्ध र पुस्तक विमोचनमा ठूला नेता, खर्बपति, अर्बपति, सुरक्षा निकायका उपल्ला तहका कर्मचारीलाई मात्र सत्कार गर्ने हो भने अहिलेको अवस्थाबाट देशलाई अर्को धारमा लग्नु नपर्ने सन्देश मनन् गर्ने त होलान् नि गुरु आदित्यका अनुयायीले ।