आँधीपछिको सन्नाटा
बिहीबार फेटा पुग्दा अँध्यारो छिप्पिइसकेको थियो । फेटाबासीको अनुहारमा त्योभन्दा अगाडि नै रात परिसकेको रहेछ । आइतबार साँझैबाट उनीहरूको अनुहारका घाम अस्ताइसकेको हुँदो हो, सायद ।
बाटामा नयाँ अनुहार देख्नेबित्तिकै फेटाबासीको अनुहारमा राहतको अतृत्प आशा सलबलाउँदो रहेछ । झरीले चुटेका बचेराहरूले माउ कुरेर बसेझैँ ।
गण्डक नहरबाट पूर्वतिर अघि बढ्नेबित्तिकै एकजना वयोवृद्ध भूमरी–पीडितसँग जम्काभेट भइहाल्यो । पोल ढलेर अँध्याराले निलेको बाटो टर्च लाइटको सहाराले पछ्याउँदै रहेछन् ।
“राहत लिएर आउनुभएको होला, आँधी गएको ठाउँ ऊ त्यहीँ हो !”
उनले हातैले इशारा गरे । फेटा–६ को गाछी टोल देखाइदिए ।
तर, मसँग राहत थिएन । हातमा खाली कापी र कलम थियो । केटाकेटी, बालबालिकालाई थोरै किन नहोस्, सहयोग गर्ने मन थियो । तर, अँध्यारो बाधक बनिदियो ।
विवश भएर भन्नै पर्यो, “म पत्रकार, काठमाडौंबाट समाचार संकलन गर्न आएको, राहत बाँड्न आएको होइन !”
“ए !,” उनले बडा नमीठोसँग आँखीभौँ खुम्च्याए । टर्च लाइटको धमिलो उज्यालोमा प्रष्टै देखियो उनको अमिलो अनुहार ।
मलाई निकै ननिको लाग्यो ।
नहरको पुलबाट दश गज पूर्वतिर अघि बढ्नेबित्तिकै आँधीको विध्वंशसँग साक्षात्कार भइहालियो ।
भीषण सामुद्रिक ज्वारभाटा, भयानक सुनामीपछिको शान्त टापुझैँ मुर्दा शान्ति छाएको रहेछ– फेटा–६ गाछी टोलमा । ढलेका आँपका बोट, ठिङ्ग उभिइरहेन सुपारीका बोट र बाँसका झ्याङ्ग नै लडेर बस्तीलाई माटोमा मिलाएका थिए । टोलका बालक, वयोवृद्धाहरूको अनुहारमा आँधीको डरलाग्दो आतङ्क पोतिएको थियो । र, तुफानपछिको सन्नाटा छाएको थियो, बस्तीमा । र त, पूर्वतिरको कलैया र पश्चिमतिरको वीरगञ्ज मस्त निद्रामा परिसक्दा पनि अनिदै बसेको थियो, गाछी टोल ।
“ओत लाग्न पालसम्म पाएका छैनौँ, कहाँ सुत्नु ?,” मुस्लिम बहुल गाउँ रहेछ त्यो, स्थानीय मञ्जुर आलम मियाँले मलिन अनुहार बनाउँदै सुनाइ हाले ।
विपन्नमाथि नै महाविपत्तिको बज्र
मधेस वर्ण, नश्ल र रंगको कोपभाजनमा छ । ०६३ को मधेस आन्दोलनपछि तराईलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको छ । र, यसले मधेसलाई कहीँ न कहीँ विकासको गतिमा एक्ल्याएको छ ।
तर, त्यो भन्दा अघिदेखि नै तराई–मधेस गरिबीको पुस्तैनी चक्रव्यूहमा परिसकेको थियो । चुरे झरेर जति दक्षिण ओह्रालो लाग्यो उती नै गरिबी र अभावसँग जम्काभेट हुन्छ । रीतिका रूपमा बाँचिरहेको कुरीति र थितिका रूपमा बाँचिरहेको बेथितिसँग मन नलागे पनि चिनापर्ची गर्नुपर्छ ।
तराईले विपत्तिको सामना गरेको यो वसन्तमा मात्र होइन । हरेक साल वर्षा काल बनेर आउँछ । सहकाल बन्नुपर्ने शीतयाम मधेसका लागि महाकाल बन्छ ।
यसपालीको चैते हुरी मधेसका लागि झनै डरलाग्दो बनेको छ ।
मधेसले स–साना हुरीका झोक्काको सामना नगरेको होइन । स–साना मोहोरीसँग मुकाबिला नगरेको पनि होइन ।
तर, सात समुद्रपारि अमेरिकामा आउने विनासकारी टोरनेडो आफ्नै थाप्लामाथि बज्रँदा बारा–पर्साका विपन्न उठ्नै नसक्ने गरी थला बसेका छन् ।
“६५ वर्षको उमेर भयो हजुर, अहिलेसम्म यस्तो विपत्तिको सामना गर्नुपरेको थिएन । भूमरीले बाजे–बराजुको सम्पत्तिसमेत उजाड्यो,” गणेश यादव तत्क्षण सम्झन्छन् ।
‘जहाँ कंगाल, त्यहाँ कर्म चण्डाल’– खै कसले बनायो यो लौकिक कहावत् ? तर पनि यो आहान मधेसमा पनि बारबार गला लाग्छ । आँधीले घरको श्रीसम्पत्ति उजाडे पनि मधेसको विकृति विसङ्गती सग्लै छाडेको छ । हुरीले धनी–गरिब, तल्लो–माथ्लो जातलाई सरोबरी बनाएर त्रिपालमुनि ल्याइदिए पनि पुस्तैनी साेंच भत्काउन सकेको देखिएन । त्रिपालमुनि नै देखिन्छ– जात–सम्प्रदायबीच आलो विभेद ।
एउटा समुदायले अर्को समुदायलाई राहत नबाँड्ने, सहायता नगर्ने मात्र होइन, एउटै वडाभित्र बसोबास गर्ने आफूभन्दा फरक सम्प्रदायलाई गर्ने तुच्छ व्यवहार ‘टोरनेडो’भन्दा शक्तिशाली र डरलाग्दो रहेछ ।
यस्तै दृष्य देखियो– भलुही चोकमा ।
आँधीले वितण्डा मच्चाएको भोलिपल्टैदेखि जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले मेस चलाएको थियो, बङ्ग्रीको किनार अर्थात् भलुही चोकमा । त्यहीँ मेसमा भात लिन आएका थिइन्– दलित महिला ।
“भाँडो निचे गिरा...!,” तुच्छ तवरले हप्काइन्, उनीसँगै उभिएकी माथ्लो जातकी महिलाले !
उनले प्रतिवाद गर्न सकिनन् । भाँडो तलै राखिन् र घर लगेर बालबालिकाको पेट उकासिन् ।
यो त नमूना परिदृष्यमात्रै रहेछ । बारा–पर्साका आँधीबाट थातथलो उखेलिएका दलितहरू कहीँकतै मेसमा सँगै बसेर भात खान सकेको देखिएन । भरबलियाका दलित महिलाहरू पनि आफ्नै आँगनमा घुम्टो ओढेर भात गाँस हालिरहेको दृष्य निकै टीठलाग्दो थियो ।
मधेस मू्लधारका राजनीतिले मात्रै पछाडि परेन । जातीय, क्षेत्रीय, वर्ण र नश्लको राजनीतिले पनि पछाडि पर्यो । अझ बढी मधेसी नेताकै कारणले पछाडि पर्यो ।
यसलाई पुष्टि गर्न एउटै दृष्य काफी हुन्छ ।
शुक्रबार दिउँसो पुनः हावाहुरी आउने भविष्यवाणी जल तथा मौसम विज्ञान विभागले गरेको थियो ।
आइतबारको भूमरीले होस–हवास गुमाएका भलुहीका पीडितहरू चोकमा टाँगेको पण्डालमुनि गुटमुटिएका थिए ।
बिहान साढे दश बजेको हुँदो हो । रातो रङ्गको गाडी अचानक मेसअघि देखा पर्यो ।
एकजना मधेसी नेतृ सरासर पन्डाल भएतिर आइन् र कुर्सी तानेर बसिन् ।
आफ्नै सजातीय नेतृ देखेपछि पीडितको आँखामा अलग्गै खुसी छाउनु स्वभाविकै थियो । र त, केही राहत पाउने आशमा छरिएका पीडितहरू पनि पन्डालतिरै एकोहोरिए ।
संघीय समाजवादी फोरम, नेपालकी सरिता गिरी रहिछन्, ती नेतृ ।
रित्तो हात आँधीले उजाडेको बस्ती घुम्न आएकी गिरीले पीडितको घाउमा मल्हमपट्टी गर्नु त कहाँ हो कहाँ, उल्टै धारा–प्रवाह प्रवचन दिन थालिन्– “यो विपत्ती कसरी आएको थाहा छ तपाईंहरूलाई ? ‘ग्लोबल वार्मिङ’ (विश्वव्यापी जलवायु परिवर्तनको असर हो यो ! जन्मिएर यत्रो भएँ, आँपका गाछी, बाँसको झ्याङ् उखेल्ने आँधी अहिलेसम्म देखेकी थिइनँ !”
शिक्षाबाट कोशौँ टाढा रहेका आँधीपीडितहरूलाई के थाहा ग्लोबल वार्मिङ ? न त्यसको निहितार्थ नै बुझुन् । तथापी आफ्नो प्रिय नेताको प्रवचन ध्यानमा निमग्न हुँदै सुनिरहेँ ।
प्रवचनको अन्तिममा केही न केही राहत पाउने आशा पीडितहरूको हुँदो हो । गिरीको गाडीलाई पछ्याउँदै आएका तीनवटा गाडी बाटामै रोकिइराखेका थिए । तर, ग्लोबल वार्मिङसम्बन्धि एकघन्टे प्रवचन सुनाएकी गिरी अन्नतः बस्तीलाई एक मुस्लो धूलो उपहार थमाउँदै बिदा भइन् ।