रंगहरुको पर्वकै रूपमा पनि होलीको आफ्नै महत्त्व छ तर होली रंगहरुको मात्रै नभएर आपसी मित्रता र सदभावको पर्व पनि हो । होलीले व्यक्तिलाई सद्भावका साथ जीवन बिताउने सन्देश दिन्छ । मिथकका रुपमा होली पर्वसँग भक्त प्रह्लादको नाम जोडिएर आएको छ । प्रह्लादको भक्तिभावको कथा हिन्दु धर्म ग्रन्थमा वर्णन गरिएको छ । प्रल्हादको चरित्रलाई हिन्दुहरुले उदाहरणीय र प्रेरणाका अजस्र स्रोतका रुपमा लिँदैआएका छन् ।
राजा हिरण्यकश्यप प्रल्हादका पिता थिए । उनी आफ्नो भौतिक बल र आर्थिक समृद्धिका कारण उन्मत्त थिए । उनमा अजेय शक्तिशाली राजा भएको दम्भ पनि थियो । त्यसैले उनले देवीदेवतालाई पनि मान्दैनथे । उनी आफूलाई सम्पूर्ण लोकको अधिपति ठान्थे ।
मभन्दा ठूलो र शक्तिशाली राजा कोहि छैन । म नै राजा हुँ, म नै भगवान हुँ भन्ने घमण्ड उनका थियो । त्यसैले देवी देवताको अस्तित्व निमिट्यान्न पारेर त्यस स्थानमा आफ्नो नाम स्थापित गर्ने इच्छा उनको थियो । उनको क्रियाकलाप राक्षसी प्रकृतिको थियो ।
यिनै राजा हिरण्यकश्यपकी बहिनी अर्थात् प्रह्लादकी फुपु हुन् होलिका । उनले घोर तपस्या गरेर शक्तिशाली हुने वरदान प्राप्त गरेकी थिइन् । होलिकालाई आगोले डढाउन सक्तैनथ्यो । आफू शक्तिशाली भए पनि होलिका आफ्ना दाजुको आज्ञा शिरोपर गर्थिन् ।
उता राक्षसी प्रवृत्तिका राजा हिरण्यकश्यपका छोरा प्रह्लाद भने आफ्ना बाबुको अभिमानी चरित्रलाई उपहास गर्दै नारायणको भक्ति गर्थे । प्रह्लादको भक्तिबाट नारायण प्रशन्न थिए । आफूलाई स्वघोषित भगवान मान्ने हिरण्यकश्यप भने प्रह्लादले नारायण भक्तिबाट क्रुद्ध थिए ।
उनी प्रह्लादले नारायणको भसक्त नगरून् भनेर करबल गर्थे । तर प्रह्लाद भने नारायणका ठूला भक्त थिए । उनी सधैँ नारायणकै अर्चना र भक्तिमा लिन रहन्थे । प्रह्लादको बालक चित्त नारायणको भक्तिबाट कहिल्यै विचलित हुँदैनथियो । कति सम्झाउँदा, फकाउँदा र हप्काउँदा पनि प्रह्लाद नमानेपछि हिरण्यकश्यपले आफ्नै छोरा प्रह्लादलाई अनेकौं प्रकारले यातना दिए । तर, प्रह्लाद नारायण भक्तिबाट डगमगाएनन् ।
हिरण्यकश्यपको आदेशानुसार प्रह्लादलाई मार्न भिरपहराबाट समेत फ्याँकियो, हात्तीले कुल्च्याइयो, विष खुवाइयो । तर, कुनै यत्न गर्दा पनि प्रह्लाद मरेनन् । प्रह्लादलाई सधै नैं भगवत् कृपाले बचायो र पाल्यो । यिनै प्रह्लादलाई मार्ने क्रममा हिरण्यकश्यपले अक्कल निकाले ।
हिरण्यकश्यपकी बहिनी होलिकाले आगोमा नपोलिने वर पाएकी थिइन् । नपोलिने भएपछि फुपुले भदाहा प्रह्लादलाई काखमा लिएर बस्ने र प्रह्लादलाई समाप्त गर्ने तयारी गरियो । यस अवस्थामा प्रह्लाद जलेर मर्ने निश्चित थियो ।
राजा हिरण्य कशिपुले होलिकालाई आदेश दिए। आदेशको पालना भयो । होलिका प्रह्लादलाई लिएर आगोमा पसिन् । आश्चर्य, होलिकाका वस्त्र जले तर प्रल्हादले लगाएका वस्त्रहरु जलेनन् । अन्ततः होलिकाको अन्त्य जलेरै भयो । नारायण प्रह्लाद जीवित रहे ।
यही न्याय र विजय अनि अन्यायको पराजय स्वरुप मनाईँदै आएको होलीका पर्व अर्थात होली हरेक वर्ष फागुन पुर्णिमाका दिन मनाईँदै आइएको छ । यसै घटनामा राक्षसीका लुगा जलेकाले चीरदाहको प्रचलन चलेको मान्यता छ ।
यसै पर्वलाई स्थानअनुसार आआफ्नै प्रकारले मनाउने प्रचलन बढ्दै गएको छ । सबै धार्मिक समुदायले भगवानलाइ नाप्ने, तौलिने, बुझ्ने र विश्वास गर्ने एकै मार्ग भएको भए दुनियाँभर धार्मिक दंगा फसाद हुने निै थएनन् होला । धर्मका नाममा राजनीति पनि हुने थिएन होला । इतिहासदेखि वर्तमानसम्म लाखौँको ज्यान जाने थिएन होला ।
भाङको नशाले मानिस आत्म केन्द्रित हुन सक्छ र साधुहरुमा आत्मकेन्द्रित भएर तपस्या गर्न गाँजा भाङको प्रचलन रहेको देखिन्छ । तर भाङ नशाका रुपमा प्रयोग गर्ने हो भने त्यो घातक सिद्ध हुनसक्छ । आजकल होली भाङ खाने चाडको रुपसमेत हुनपुगेको छ । निरीह बटुवालाई पानी हालेको लोलाले हान्ने दूषित वातावरण पैदा भएको छ । यो सद्भावको पर्वका लागि न्यायपूर्ण हैन ।
कुनै पनि चाडपर्वका नराम्रा चलन हटाऊँ र राम्रा कुराहरुमात्रै अनुसरण गरौँ । विजयको प्रतीकका रुपमा रातो, हरियो, नीलो टीकामात्रै लगाएर हाँसीखुसीसहित होली मनाऊँँ । सायद, आजको समयले पनि यही भन्छ ।