site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेल जानुअघि बालबालिका जाँच्थेँ 
SkywellSkywell

त्यतिबेला लोकसेवा आयोगले एमबीबीएस डाक्टरका लागि तीन वटा पदको सूचना निकाल्यो । एउटा इएमओ अर्थात् इमरजेन्सी मेडिकल अफिसर र अरु दुई डाक्टरको पद । इएमओ तत्कालिन मीरसुब्बा इश्वरीमानका भाइका लागि खडा गरिएको थियो । 

अर्काे दुईवटामा खोकना लेप्रोसी अस्पताल र जेल अस्पतालका लागि डाक्टर चाहिएको थियो ।  लोकसेवामा नाम निस्किएपछि उनले खोकनाभन्दा जेल अस्पताल नै राम्रो हुने ठाने । र, नियुक्ति लिएर काठमाडौंका जेलहरुमा गएर कैदीहरुको उपचार गर्न थाले ।

यसरी २०१८ सालमा जेल डाक्टर भएपछि उनको जेलका कैदीहरुलाई उपचार गर्ने क्रमको सुरुआत भयो । २०१७ सालको राजनैतिक परिवर्तनका कारण जेल नेताहरुले भरिएको थियो । महिला जेलमा उनकी बहिनी विजया शर्मा पनि थिइन् ।

KFC Island Ad
NIC Asia

ए क्लासका राजनीतिज्ञहरुलाई नक्खु जेलमा राखिएको थियो । सेन्ट्रल जेल, भद्रगोल जेल, डिल्लीबजार सदर खोर, हनुमान ढोकामा रहेका कैदीहरुलाई पनि उनले जाँच्नु पर्दथ्यो । जहाँबाट खबर आयो त्यहाँ पुगेर उपचार गर्ने उनको दैनिकी भएको थियो । 
वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. मणिन्द्ररञ्जन बराल (८०) सोमबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आफ्नो कार्यकक्षमा यस पङ्तिकारसँग कुरा गर्दै थिए । 

उनी स्मरण गर्दैथिए ती प्रारम्भिक दिनहरु । भने, “जेल अस्पतालमा ड्युटी भएको समयमा पनि म वीर अस्पताल जान्थेँ र भोलिन्टियरी बालबालिकाहरुलाई जाँच्थेँ । डा. महेन्द्र प्रसाद मेडिकल डाइरेक्टर थिए । उनले प्रशासन हेर्नुपर्ने भएकोले पेसेन्ट हेर्न खासै भ्याउँथेनन् । त्यसैले उनले मलाई र डा. हेमाङ्ग दीक्षितलाई आफ्ना बिरामी जाँचेर सहयोग गर्न भनेका थिए । त्यसैले म वीरमा केटाकेटी जाँचेर मात्रै २ बजे जेलका बिरामी हेर्न जान्थेँ ।”

Royal Enfield Island Ad

त्यसैताका वीरमा आरएमओको पद खाली भयो । डा. एस के भट्टाचार्य त्यतिबेलै बेलायत गए । त्यो पदमा खाली भएपछि डा. महेन्द्र प्रसादले बराललाई वीरमा सरुवा गराए । जबकी कुनै बेला तिनै डा. महेन्द्र प्रसादले ‘डा. बराललाई वीरमा खुट्टा हाल्न दिन्न’ भनेका थिए ।

बरालको कडा मेहनत देखेर डा. महेन्द्र प्रसादले पद खाली हुनासाथ वीरमा सरुवा गराए । यसरी जेल डाक्टरबाट उनी वीर अस्पतालकोे आरएमओ अर्थात् रेसिडेन्सीयल मेडिकल अफिसर भए । उनको रातीको ड्युटी पर्दथ्यो । साँझ ८ बजेदेखि बिहान ८ बजेसम्म । 
एक रात १२ बजेतिर वीर अस्पतालका मेडिकल डाइरेक्टर डा. महेन्द्र प्रसाद इमरजेन्सीमा आए । उनले तत्कालिन गृहमन्त्री दिलबहादुर श्रेष्ठलाई जाँच्न जाउ भनेर डा. मणिन्द्रलाई अह्राए । 

त्योबेला डा. मृगेन्द्रराज पाण्डे क्याबिनेटका डाक्टर थिए । तर गृहमन्त्री दिलबहादुरले उनलाई बोलाउन सकेनन् । डा. तुलसी गिरी तत्कालिन सरकारमा मन्त्रीपरिषदको उपाध्यक्ष थिए । गृहमन्त्रीले डा. तुलसी गिरीलाई फोन गरेछन् । डा. गिरीले वीरका मेडिकल डाईरेक्टर डा. मेहन्द्रलाई भनेछन् । डा. महेन्द्रले पनि इमरजेन्सीमा कार्यरत डा. मणिन्द्रलाई अह्राउँदै सानेपा जान भने । 

मध्यरातमा डा. बराल मन्त्री दिलबहादुर श्रेष्ठको निवासमा पुगे, अस्पतालको जीप लिएर । उनले इमरजेन्सी ब्यागमा सरसामान र औषधि बोकेका थिए ।  गृहमन्त्री श्रेष्ठलाई एकदमै नमिठो दर्द भइरहेको रहेछ । डा. बरालले मन्त्रीलाई दुखाई कम हुने इन्जेक्सन दिने प्रयास गरे, तर दिलबहादुरले सुई लिन मान्दै मानेनन् । उनले आफूलाई खाने औषधि मात्रै दिन भने । 

\"\"

त्यस पछि केही नलागेर डा. बरालले पनि दुई तीन किसिमको दवाई दिए । दुखाई कम हुने, निन्द्रा लाग्ने, बान्ता रोक्ने सबै । डा. बरालले उनलाई जुका हुनसक्ने अनुमान गर्दै ‘तपाईलाई जुका पनि हुनसक्छ’ भनेछन् । र, दिलबहादुरलाई दुई चक्की जुकाको औषधि पनि दिएछन् । 

भोलीपल्ट बिहानै ८ बजे गृह मन्त्रीको भोल्गा गाडी इमरजेन्सीको अगाडि आईपुग्यो । उनी अब फेरि के भयो भनेर गाडी चढेर मन्त्रीको निवास स्थान पुगे । पुग्दा त मन्त्री त दंग परेर बाहिर बसिरहेका रहेछन् । डा. बराललाई देख्ने बित्तिकै मन्त्रीले हाँसेर भने ‘डाक्टर साब, आज बिहानैदेखि ट्वाईलेट जाँदा जुका निस्किएको निस्कीएकै छ !’

त्यसपछि डा. बराल गृहमन्त्रीको नजरमा चढे । त्यसको केही समयपछि गृहमन्त्रीको पत्नीलाई पेनिसिलीनको इन्जेक्सन दिइँदा रियाक्सन भएको रहेछ । तिनको शरीरभरि डाबरैडाबर आएको रहेछ । डा. बरालकहाँ उनलाई लिन तुरुन्तै मन्त्रीको गाडी आयो । उनी मन्त्री निवास पुगे । रियाक्सन कम हुने औषधि दिए । केही समयपछि मन्त्री पत्नीको डाबर कम भयो । त्यस पछि मात्रै उनी फर्किए ।

यिनै दुई घटनाले डा. बराललाई गृहमन्त्री दिलबहादुर श्रेष्ठको नजिक पुर्यायो । पछि उनको र उनको परिवारका सबैको उपचारमा डा. बराल सक्रिय भए । केही महिनापछि नै दिलबहादुर स्वास्थ्य मन्त्री भए । डा. बराल बधाइ दिन दिलबहादुरको घरमै गए । त्यसैबेला उनले आफ्नो मनको कुरा मन्त्री समक्ष पोखे, “मैले थप अध्ययन गर्ने मौका पाइनँ” भनेर । 

मन्त्रीले डा. बराललाई दिउँसो मन्त्रालयमा बोलाए । मन्त्रालयमा डाईरेक्टर भरतलाल बैद्यलाई बोलाएर ‘उहाँले जुन विषयमा भन्नु हुन्छ त्यो विषयमा पढ्न पठाउने’ भनेर अह्राए । लगत्तै स्वास्थ्यले ब्रिटिस काउन्सिलसँग छात्रवृत्ति मागेर, गोरखापत्रमा विज्ञापन छपाएर उनको सेलेक्सन गर्यो । यसरी डा. मणिन्द्ररञ्जन बराल  बाल विशेषज्ञको तालिम लिन गए । र, तीन वर्षपछि फर्किए । 

प्राडा बराल भन्छन्, “नियती ! कहाँको मानिस म बाल विशेषज्ञता हासिल गर्न बेलायत पुगेँ । जबकी संस्कृतको अध्ययनबाट मेरो शिक्षा प्रारम्भ भएको थियो ।”

०००

सिरहा जिल्लाको उत्तरी भेगको एउटा ग्रामिण बस्ती बस्तीपुरमा उनको जन्म भयो । उनको बाल्यकाल गाउँमै बित्यो । त्यस उप्रान्त उनको प्रारम्भीक पढाई संस्कृत शिक्षाबाट सुरु भयो ।  उनको परिवार पण्डित परिवार भएकोले संस्कृत शिक्षामा जोड दिईनु अस्वाभाविक थिएन । त्यसैले प्रारम्भिक शिक्षादीक्षा संस्कृतका श्लोक र पुस्तकहरुबाटै सुरु भयो ।

उनले भारतको मधुवनीबाट संस्कृतमा प्रथमा पास गरिसकेका थिए । मध्यमाको तयारी गर्दैथिए । सोही समयमा उनको बस्तीपुरमा हाईस्कूल खुल्यो । उक्त भेगमा त्यो पहिलो हाईस्कूल थियो । त्यहाँ उनका माहिला दाइ हेडमास्टर भए ।

\"\"

उनी मधुवनीबाट गाउँ फर्किए । अनि हाईस्कूलमा एकै पटक ६ कक्षामा भर्ना भए । उनका दाजुले पनि घरमा पढ्न उनलाई मद्दत गर्थे । उनको पढाई अगाडि बढ्दै गयो ।

उनका जेठा दाइ साहित्यकार इश्वर बराल भने त्यसबेला दार्जिलिङको सरकारी कलेजमा नेपाली भाषाका प्राध्यापक थिए । उनका दिदीहरुमध्येकै एक हुन् विजया शर्मा । जसले शैलजा आचार्यसँग मिलेर रानी एलिजावेथलाई कालो झण्डा देखाएकी थिईन् ।   गाउँमा आएका बखत उनका जेठा दाजु इश्वर बरालले उनलाई दार्जिलिङ हिँड्न भने । पहिलो पटकमा उनी जान मानेनन् । गाउँघर छोडेर बाहिर जाने इच्छा भएन उनको ।

पछि उनको माहिला दाइले सम्झाए । त्यसबेला गाउँका कतिपय युवा बस्तीपुरभन्दा बाहिरै गएर पढ्दथे । तुलसी गिरी, जयनारायण गिरीहरु बाहिरै पढ्थे । गाउँ फर्किँदा तिनीहरुको खुबै चर्चा र प्रशंसा हुन्थ्यो । तिनको रवापैm ठूलो मानिन्थ्यो । माहिला दाजुको कुराले उनको मनमा छाप पार्यो । रुद्रप्रसाद गिरी र तुलसी गिरी त्यतिबेला जयनगरमा पढ्थे भने जयनारायण गिरी लखनउमा ।

दाजुहरुले सम्झाएपछि उनी मणिन्द्ररञ्जन पढ्न भनेर दार्जिलिङ पुगे । त्यसबेला धरणीधर कोइराला डिस्ट्रिक एडुकेसन अफिसर थिए । उनकै कारणले मणिन्द्रको टर्नबूल हाईस्कूलमा कक्षा आठमा भर्ना भयो ।  उनी संस्कृत पढेको मानिस । त्यहाँ पुगेपछि बाईबल पढ्नु पर्ने भयो । त्यसमाथि टाउकोमा लामो टुपी पनि थियो । दार्जिलिङमा त्यस बेला पनि कृश्चियन समाज थियो ।

हाईस्कूलमा एउटा कक्षा संस्कृतको पनि थियो । तर त्यहाँका विद्यार्थीहरुलाई संस्कृत आउँथेन । त्यसैले हरिप्रसाद नाम गरेका एक शिक्षकले स्कूलमा बराललाई देखाउँदै भने ‘केटा हो, म नआएको दिन तिमीहरुलाई संस्कृत यो केटाले पढाउँछ’ । अम्बर गुरुङ पनि बरालका साथी थिए । उनी संस्कृत सिक्न मणिन्द्रकोमा आए । मणिन्द्रलाई पनि संगीतमा सोख भएकोले उनले अम्बरसँग संगीत सिक्न थाले । यसरी एक अर्काले सहयोग गर्न थाले । 

अम्बरले पनि विभिन्न कार्यक्रमहरु हुँदा मणिन्द्रलाई लान्थे । कार्यक्रममा मणिन्द्र पनि बाजा बजाउँथे ।

तर उनी दार्जिलिङमा टिक्न सकेनन् । हुनत आठ कक्षामा उनी फस्र्ट भएका थिए । तथापि उनको इच्छा दार्जिलिङमा बसेर पढ्ने भएन । फलतः उनले जेठा दाइलाई आफू फर्किने कुरा सुनाए । दाइ इश्वर बरालकोे पनि त्यहाँ बस्ने इच्छा थिएन, सायद । त्यसैले उनले गाउँ फर्कन मौन स्वीकृति दिए । 

मणिन्द्ररञ्जन त्यसपछि अगाडि पढ्नलाई बनारस पुगे । अनि नौ र दश कक्षा बनारसमै पढे । सन् १९५१मा बनारसबाटै म्याट्रिक सिध्याए । र आईएससी पढ्न काठमाडौं आए ।  उनी त्रिचन्द्र कलेजमा आईएससीमा भर्ना भए । तर केही महिना पछि नै फेरि काठमाडौं छोडेर बनारस पुगे । र त्यहीँबाट आइएससी गरे ।

डा. बराल हाँसे । भने, “म तराईको मान्छे । काठमाडौंको वातावरण सुट भएन सायद । अर्को कुरो तराईको लवजले पनि हामीलाई धेरै अप्ठेरो पारेको मैले महसुस गरेँ । त्यसैले काठमाडौं बस्न मन लागेन । बनारस फर्किएँ । र उतैबाट आईएससी सिध्याएँ ।”

आईएससी सेकेन्ड डिभिजनमा राम्रो नम्बरले पास गरेर काठमाडौं आएका उनी मेडिकल पढ्नका लागि कोलम्बो प्लान अन्तर्गत छनौट भए र ग्वालियर गए । पाँच वर्षपछि ६ महिनाको व्यवहारिक तालिम अर्थात् इन्टर्न गरेर काठमाडौं आए । 

त्यसबेला वीरमा डाक्टर लिईन्थ्यो । जसलाई ‘डंकी जब’ भनिन्थ्यो । उनले मासिक १ सय ५० रुपैयामा त्यो ‘डंकी जब’ स्वीकारे । त्यसबेला उनी तत्कालिन सर्जन डा. अञ्जनीकुमार शर्माको मातहतमा खटाईए ।  तर हाउस जब नगरेकालाई थप अध्ययनको मौका पाउन गाह्रो हुने भएकोले करिब एक महिना पछि उनी कसैलाई नभनेर हाउस जब गर्न ग्वालियर फर्किए ।

हँसिला डा. बरालको मुहारमा मुस्कान छायो । उनी भन्छन्, “डा.महेन्द्र प्रसाद डाईरेक्टर हुनुहुन्थ्यो । उहाँले नै डा. अन्जनीकुमार शर्माको अण्डरमा राखिदिनु भएको थियो । तर म दुबै जनालाई नभनेर हाउस जब गर्न ग्वालियर हिँडेँ । त्यसैबेला मलाई मेडिकल डाईरेक्टर महेन्द्र प्रसादले वीर अस्पतालमा बराललाई खुट्टा हाल्न दिन्न भनेका थिए ।”

तर केही समयपछि उनी हाउस जब सिध्याएर काठमाडौं फर्किए । उनले डा. महेन्द्रले आफूलाई वीर छिर्न नदिने कुरा गरेको थाहा पाएका थिए । त्यसबेला डा. तुलसी गिरी तत्कालिन मन्त्रिपरिषदका उपाध्यक्ष थिए । त्यसैले उनी डा. तुलसी गिरीलाई भेट्न गए । गिरीले पनि उनलाई तिमीले नराम्रै गरेका हौ भन्दै वीरमा जाऊ, म डा. महेन्द्रलाई फोन गरिदिन्छु भनेर पठाए । 

डा. महेन्द्र प्रसादलाई फोन आउनासाथ उनले वीरमा फेरि उही पुरानो जब डंकी जब दिए । लोकसेवाको परीक्षा पास नहुन्जेलसम्म कुनै पद पाईन्थेन, वीरमा । पाईने भनेको ‘डंकी जब’ नै हो । 

डा. बराल भन्छन्, “वीरमा मलाई देख्नासाथ डा. महेन्द्र रिसाए । तर मैले मलाई डा. तुलसी गिरीले पठाएको भने पछि उनी चुप भए । केही बेरमै तुलसी गिरीको फोन आयो । डा. महेन्द्रले उपाध्यक्षको कुरा नाइँ भन्न कसरी सक्थे । उनले पनि हस् हस् भने र वीरमै काम दिए । त्यसको केही महिना पछि मात्रै मैले लोकसेवा पास गरेँ ।”

०००

उनी आरएमओ हुँदा रातभरि इमरजेन्सीमा काम गर्थे र दिउँसो नयाँसडकमा औषधि पसलहरुमा बसेर बिरामीको निःशुल्क उपचार गर्थे । उनले नयाँसडकका मारवाडीहरुसँग पनि सम्पर्क बढाउँदै गए । तिनको उपचार गर्न थाले । सुरुमा उनको नियुक्ति जेलमा भएकोले पहिले जनसम्पर्क ठ्याम्मै थिएन । त्यसैले उनले जनसम्पर्क बढाउन यो काम थालेका थिए ।

\"\"

उनका अनुसार उनी दिनको चार पाँच घन्टा मात्रै सुत्दथे । बाँकी समय काममा लाग्थे । रातभर वीर अस्पतालको इमरजेन्सी । दिउँसो मारवाडी र अन्यसँगको सम्पर्क र साँझ न्युरोडका औषधि पसलहरुमा बसेर फ्रि उपचार सेवा । उनी त्यसबेला रसियन मोटरसाइकल चढ्थे । त्यो रसियन मोटरलाईकल मासिक ३२ रुपैया तिर्नेगरी किस्तामा लिएका थिए ।

उनी भन्छन्, “इन्द्रचोक र नयाँसडकका मारवाडीहरुको उपचारमा संलग्न भएपछि मेरो जनसम्पर्क पनि बढ्यो । यसका साथै प्य्राक्टिस पनि बढ्यो । यसले मलाई धेरै फाइदा दियो ।” एक समय उनलाई मारवाडीको डाक्टर पनि भनियो । त्यो उनको कडा मेहनतकै फल थियो । 

०००

बेलायतबाट बालबालिकाको उपचार र शल्यक्रिया विषयमा थप विशेषज्ञ  तालिम लिएर फर्किए पछि डा. मणिन्द्ररञ्जन बराल वीर अस्पताल फर्किए । वीरमा जम्मा १० वटा बेड थियो । ६ जना डाक्टर थिए । साधन स्रोतको अभाव त थियो नै । यो स्थितिमा उपचार गर्नुपर्ने अवस्था थियो ।

त्यसैबेला रसियनहरुले कान्ति अस्पताल यत्तिक्कै छोडेर गएका थिए । त्यहाँ बिरामी जान्थेनन् । अर्थात् कान्ति अस्पताल खाली नै थियो । त्यसैले त्यसबेलाको सरकारले कान्तिमा बालबालिकाको अस्पताल राख्ने निर्णय गर्यो ।  प्रा. डा. मणिन्द्ररञ्जन बराल भन्छन्, “तर, त्यहाँ प्रमुख हुनै कोही नचाहने । किनभने त्यो अस्पतालका लागि सालको १२ लाख बजेट छुट्याईएको थियो । नौ लाख तलब भत्तामा खर्च हुन्थ्यो । बाँकी तीन लाखले के अस्पताल चल्थ्यो ?”

डा. बरालमा हिम्मत थियो । त्यही हिम्मतले उनले त्यहाँको प्रमुख हुने आँट गरे । कान्ति अस्पतालको प्रमुख भइसकेपछि उनले तत्कालिन प्रधानमन्त्री सूर्यबहादूर थापालाई भेटे । उनको छोरा सुनीलको उपचार उनले नै गरेका थिए । त्यसैले उनले प्रधानमन्त्री थापालाई सिधै गएर १२ लाखले अस्पताल चल्न नसक्ने बताए । केही समयमै थापाले कान्ति अस्पतालको बजेट एक करोड पुर्याए । 

तिनताक त्रिवि शिक्षण अस्पताल जापान सरकारले बनाइदिएको थियो ।  कुनै काम विशेषले रियुतारो हासिमोतो नेपाल आएका थिए । उनी अन्नपूर्ण पदमार्ग आएका थिए । याक एण्ड यतिमा बसेका थिए । डा. बरालले यो कुरा थाहा पाएपछि अस्पतालका अध्यक्षलाई लिँदै याक एण्ड यति होटल पुगे । हासिमोतोसँग भेटे । 

बरालले हासिमोतोलाई भेट्दा ‘तपाईहरु महिला र केटाकेटीलाई प्राथमिकताको सूचीमा राख्नु हुन्छ । एक पटक बालबालिकाको अस्पताल अवलोकन गर्न हिँडनुस्’ भने । 

पहिले त उनी मानेनन् । पछि हासिमोतो माने र कान्ति अस्पताल हेर्न पुगे । त्यसबेला कान्ति अस्पताल देखेर हासिमोतो द्रवित भए । उनी अनेक सोच्दै जापान पुगे र जापान पुगेर उनले कान्ति बाल अस्पताललाई सहयोग गर्ने क्रमको सुरुआत गरे । यसरी उनको सक्रियताले आजको कान्ति बाल अस्पताल उभिएको छ । 

तर, गिरिजा कोइराला सत्तामा आएपछि उनी कान्ति बाल अस्पतालबाट र त्यसबेला उनी अध्यक्ष रहेको नेपाल मेडिकल काउन्सिलबाट हटाईए । त्यो समयमा उनी काम विशेषले जापान पुगेका थिए । जापानबाट नेपाल फर्किँदासम्म उनको दुबै पद खोसिएको थियो । 

जापानबाट नेपाल फर्किनासाथ उनले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग कुरा गरे । तर गिरिजाप्रसादले ‘म मन्त्रीले गरेको काममा कुनै  इन्टरफेयर गर्दिन भनिदिए । त्यसपछि उनले सर्वोच्चमा रिट निवेदन हाले । अदालतले उनको रिटमाथि सुनुवाई गर्यो स्टे अर्डर जारी भयो । उनको मेडिकल काउन्सिलमा पुनर्बहाली भयो । 

\"\"

०००

गिरिजाप्रसादकोे पजनीमा परेपछि उनी गाउँतिर पनि गए । गाउँसँगको सम्बन्ध विस्तार गर्दै हिँडे र निरन्तर समाजसेवामा सक्रिय भइरहे । यसरी समाजसेवामा सक्रिय हुँदाहुँदै उनी २०५६ सालमा सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको सदस्यमा स्वतन्त्र उम्मेदवारी दिए । उनले आफ्नो क्षेत्रमा बिरामीहरु जाँचेर सबैको मन जितेका थिए । तर उनले चुनाव भने जित्न सकेनन् । 

आज पनि उनी सक्रिय छन्, आफूले जानेको विषय सिकाउने कर्ममा । केएमसीमा प्राध्यापन गर्दैआएका वरिष्ठ बालरोग विशेषज्ञ मणिन्द्ररञ्जन बरालले आफ्नो जीवनका यावत प्रसंगहरुलाई, जीवनको भोगाइ र अनुभूतिलाई पुस्तकको रुप दिएका छन् । ‘नियति र अनुभूति’ शीर्षकका साथ बजारमा आएको उनको पुस्तकले उनको जीवनका अधिकांश घटनाहरु समेटेको छ ।  
तस्बिर, साैरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro