म कम्युनिटी एक्सन, नेपालको १९ औं साधारण सभा तथा सातौं महाधिवेशन उद्घाटन र बन्द सत्र संचालन गर्दै थिएँ । अचानक ठूलो आवाज आयो । सबैको ध्यान मतिर आकर्षित भयो । सबै झसङ्ग भएका थिए । मेरो ह्विलचिएर ट्युब र टायरसहित पड्किएको रहेछ । सामान्य ठाने होलान् सबैले । करिब ४० – ४५ जना सहभागी थिए । तर, मलाई भने अत्यन्त पीडा बोध भएको थियो । मलाइ थाहा थियो मेरो ह्विलचियरको टायर ट्युब नेपालमा पाइँदैन र मर्मत गर्न पनि सकिन्न । मनमा पीडा र कौतुहल बोकेरै करिब ४ बजेतिर पन्चर भएको ह्विल्चियरमै बसेर घर फर्केँ ।
बाटोमा आउँदै गर्दा कतै साइकल पसलमा मर्मत गर्न सकिन्छ कि भनेर कुपन्डोलस्थित साइकल पसलमा सोधेँ । यस्तो त बनाएको छैन,असनतिर जानुस् भनेर सहज ढङ्गले हाँस्दै सल्लाह दिए । हिँड्दा हिँड्दै गोडा भाँचिदाको कति पीडा होला ? अरुको हल्का हांसोले पनि मलाई गिज्याए जस्तो हुन्थ्यो । हुन पनि गोडा हुनेहरुका लागि त्यो ह्विलचियरको टायर पञ्चरको के महत्त्व हुन्थ्यो र !
म कुपन्डोलस्थित कानदेवता स्थान हुँदै भित्र छिरेँ । त्यहाँ एमएम साइकल पसल देखेँ र स्कुटी त्यतै घुमाएँ । समस्या बताएपछि पसलेले हुन्छ भनेर टाएर निकाले । टायरको तार नै बाहिर निक्लेको रहेछ । एस्तो टायर पाइन्न भन्ने थाहा थियो तैपनि छ कि भनेर आशा लाग्यो । उनले त्यो टायर तार ल्याएर सिलाए । मिहेनत गरेर नयाँ ट्युब हाले । तर, हावा भर्दा कामै लागेन । दिक्क मानेर उनले यो हँुंदैन भनेको सुनेपछि म झन निराश भएँ ।
झट्ट सोचेँ मेरो पहिलेको पुरानो टायर थियो । अफिसमा छ कि भनेर रत्न राई दाइलाई अफिसको साँचो छ कि भनेर फोन गरेँ । उनी भृकुटीमण्डप रहेछन् । साँचो पर्दैन अफिस बाहिरबाट निकाल्न सकिन्छ भने । म गएँ । एक जना भाइसँग सहयोग मागेँ उनले सहयोग त गरे तर त्यो पुरानो टायर नभएर अर्कै जोडी टायर ल्याइदिए । मिल्छ कि भनेर ल्याएर साइकल पसलेलाई दिएँ । तर त्यो मिलेन ।
अनि सोचें म अब वास्तवमै म अपाङ्गता भएको व्यक्ति भएँ । भोलिदेखि सामाजिक कार्यमा सहभागी कसरी हुने? के गर्ने? अब जापानबाहेक कतैबाट पनि मिल्ने टायर आउँदैन । बिलखबन्दमा परें । स्कुटरमा राखेर जहाँ जान पनि मिल्ने ह्विलचियर बिग्रँदा मन साह्रै खलबलियो । मनमा अनेकौं कुरा खेले । कृष्ण गौतम समस्या पोखेँ । नेपालमा न टायर न ट्युब नै पाइन्छ ? स्कुटरमा राख्न नमिल्ने ह्विलचियर त छ तर तपाईँलाई मिल्दैन भने ।
बाटोमा आउँदा आउँदै फेरि फोन आयो – टायर त एकजोर छ मिल्छ कि मिल्दैन ? नभन्दै साइजकै रहेछ । ढुक्क भएँ । अब एक दुई वर्ष त भयो भन्ने लाग्यो । तर स्कुटरबाट ह्विलचियर झारेँ र ओर्लन लागेँ । हावाविनाको ह्विलचिएर सन्तुलन बिग्रेर गुड्यो । म भुइँमा पछारिएँ । बल्ल बल्ल उठेर ह्विलचियरविना बामे सर्दै कोठामा पुगेँ ।
अपाङ्गता अधिकार आन्दोलनमा जीवनका सारा समय हिँडियो । सडक संघर्ष गरियो । तीन पटकसम्म मन्त्रिपरिषद्को निर्णयले शान्ति तथा पुनर्निर्माण परामर्श समिति सदस्य, समाज कल्याण परिषद् सदस्य र अपाङ्गता भएका व्यक्तिहरुविरुद्ध हुने विभेदविरुद्ध बनेको प्रधानमन्त्रीको सल्लाहकार समितिको सदस्य भएको मजस्तो व्यक्तिको यो हालत देख्दा आफैँलाई धिक्कार्न मन लाग्यो । मौलिक हकअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री अपरिहार्य भए पनि अपाङ्गता भएका व्यक्ति, संघसंस्था वा राज्यले कसैले पनि प्राथमिकता नदिँदा बेहोर्नु परेको पीडा कति दर्दनाक होला ?
राष्ट्रिय स्तरमा नाम कहलिएका अपाङ्गता भएका थोरै व्यक्तिमा पर्ने मलाई त यो समस्याले आज यस्तो अवस्थामा पु¥यायो भने अरू लाखौं पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिको कस्तो दुर्दशा होला ? नेपाली नागरिकले स्वतन्त्र आवागमन गर्न पाउने भन्ने संविधान प्रदत्त मौलिक अधिकारलाई हामी अपाङ्गता भएका नेपालीले कसरी लिने ? यौटा ह्विलचियर मर्मत गर्ने वर्कसपसमेत नभएको देशमा भिख मागेर अर्काको जडौरी ह्विलचियर चलायर कति दिन अधिकारको पैरवी गर्ने ?
बैशाखी, सेतो छडी, क्रचेज, कृत्रिम अंगहरुसमेत अत्यन्त महंगा र अवैज्ञानिक हुँदा दैनिक समस्या आइरहेको छ । आत्मनिर्भर हुनुपर्नेमा सधैँ अरुको भरमा बाँच्नुपर्ने बाध्यता छ । सहायक सामग्री र प्रविधि, सहयोगी सेवा, सबैका लागि मानव निर्मित भौतिक संरचना, रोजगार वा बेरोजगारीको हकमा बाँच्न पुग्ने सामाजिक सुरक्षा भत्ता, बस्न योग्य सामुदायिक वा व्यक्तिगत घरको व्यवस्थापन, विकासका हरेक गतिविधिमा प्रत्यक्ष संलग्नता भएमात्र अपाङ्गता भएका व्यक्तिको जीवन सहज हुन्छ ।
यातायातमा र सञ्चारमा समान पहुँच, शिक्षा, स्वास्थ्य, रोजगार र खेलकुदमा समान अवसर हुन सक्यो भने र अपाङ्गता भएका व्यक्तिहरुका लागि संयुक्त राष्ट्रसंघीय महासन्धी अनुरुप राजनीतिक तथा नागरिक अधिकार एवं ऐननियम कानुन कार्यान्वयन गर्नसके समुन्नत समाज निर्माणमा सहयोग पुग्नेछ ।
विडम्बना, नेपालमा अहिलेसम्मका अधिकारमुखी ऐननियम, नीति भए पनि कार्यान्वयनकर्ता कल्याणकारी सोचले ग्रस्त भएकाले देशले मात्र हैन अपाङ्गता अधिकारले पनि गति लिन सकेको छैन । र, कानुनभन्दा सोच बदल्न निकै कठिन हुँदोरहेछ । यस्तो अवस्थाले गर्दा तनको पीडा कम हुँदा पनि मन दुखिरहँदो रहेछ ।