मैले मेरो नाम विनोद मण्डल हो भन्नेबित्तिकै कतिपयले सबैभन्दा पहिले यो तराई मूलको मधेसी समुदायको व्यक्ति हो भन्ने सोचिहाल्छन् । तर, म त सबैभन्दा पहिले यस देशमा बसोवास गर्ने अरूजस्तै सामान्य नेपाली नै हु ।
नेपालको दक्षिणतर्फको भूभागमा अवस्थित समथर, सदावहार र हरियालीले ढाकिएको सुन्दर भूमि हो मधेस । प्राकृतिकरूपमै समथर र नेपालका अन्य भूभागभन्दा बढी उर्वर भए पनि मधेसले बेलाबखत प्राकृतिक विपत्तिको पीडा भोगिरहनुपर्छ । यही कारणले अहिले सुनका टुक्राजस्ता मधेसका जमिन प्रायः सुख्खा र अनुर्वर हुँदै गएको छ । यही तराईको मुटुमा अवस्थित एसियाकै प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको आफ्नै विशेष धार्मिक महत्त्व छ । तर, दुई चारजना पाखण्डीहरूको सोचका कारण उक्त मन्दिरको पवित्रतामा सबाल उठ्न थालेको छ ।
कुनैबेला शान्तिका अगुवा हामी मधेसी आज दुईचार जना सीमित स्वार्थी नेताको भ्रमबाट आक्रान्त छौँ । यो समाजमा मधेसको हितको लागि भन्दै दर्जनौ पार्टी, सयांै गैरसरकारी संस्था दर्ता भए पनि आजसम्म समग्र मधेसको हिमा कसैले सोचेको देखिएको छैन। यसलाई सुन्दर र समृद्ध समाज बनाउन न त कुनै नेतासँग दूरदृष्टि छ न त कसैले प्रयासै गरेका छन् । जनतालाई कसरी भेडा बनाएर प्रदेशको मुख्यमन्त्री बन्ने, जातीय नाराको भरमा राज गर्ने भन्नेमात्र सोच्छन् । तिनले साँच्चै नै जनताको हितमा पनि सोचिदिएको भए आज मधेस यस आवस्थामा पक्कै रहने थिएन । अहिलेसम्म तिनले सोझा र निमुखा जनताको रगत चुस्ने काममात्र गरेका छन् ।
बाहिर समानता र नारी आधिकारका आवाज उठाउनेहरूबाट नै सबैभन्दा पीडित छन् मधेसका नारी । नारीलाई विभिन्न बहानामा होच्याउने र दाइजो प्रथाको कारण झन् झन कठिनाइ बढ्दै गईरखेको छ । राज्यले नै नारी र पुरुष समान छन् भने पनि मधेसका लाखौं चेली आफ्नै परिवारको दवाबले गर्दा अहिलेसम्म स्कुलको ढोकासम्म पनि पुग्नसकेका छैनन् । तर, मधेसमा यस्ता विषयमा बहस गरिँदैन ।
उत्तिकै खर्च लगाएर छोरी र छोरालाई पढाइन्छ तर विवाहका बेला छोरा पढाएको खर्च बेहुली पक्षबाट असुल गर्ने चलन छ । समाजमा प्रगतिसँगै दाइजो प्रथा उन्मूलन हुँदै जानुपर्नेमा यो विकृति झन् बढ्दै गएको देखिएको छ ।
मधेसी समुदायमा देखिने अर्को विकृति जातिको मोह पनि हो । अरू बेला जति नै मनमुटाव भए पनि चुनावका बेला मधेसी समुदायमा जातीय मोह जागेर आउँछ । यसको परिणाम राम्रो व्यक्ति जनप्रतिनिधि चुनिनै नसक्ने स्थिति छ । यसबाट मधेसी समाज कता जादैँछ भन्ने देखिन्छ ।
मधेस र देशको हित चाहने हो भने चुनावका बेलामा जातीय मोह त्यागौँ । कुशल, नैतिक, इमानदार र दूरदर्र्शी व्यक्तिलाई समाज परिवर्तनको निमित अघि सारौँ । यसबाट मात्र केही हदसम्म भए पनि हाम्रा सन्ततिको भलो हुनेछ । हामी जातिमा विभाजित हुनमा हैन सिंगो मधेसी भएर राम्रो उदाहरण बनौ र आफूलाई नेपालि भनी चिनाउनमा गर्व गरौँ । हामी मिलेर सिंगो नेपाल निर्माणतर्फ लागौँ । केही स्वार्थी र धूर्त नेताहरूको गफ सुनेर उत्तेजित नहोऊँ । जसले जे भने नि पत्याउने र पछि लाग्ने भेँडा नबनेर आफ्नोे समाजमा रहेका अशिक्षा, घरेलु हिंसा, अन्धविश्वास जातीय भेदभावजस्ता विसंगतिसँग लड़ौँ ! म आफूलाई नेपाली र मधेसी दुवै भन्न गर्व गर्न चाहन्छु ।
सचिव, अखिल क्रान्तिकारी मूल इकाइ कमिटी, कान्तिपुर सिटी कलेज, काठमाडौं