दक्षिण भारतको केरला राज्यमा अवस्थित प्रसिद्ध सबरीमाला मन्दिर भारतको धार्मिकमात्र हैन राजनीतिक सामाजिक वृत्तमा पनि अहिले निकै चर्चामा छ । कारण त्यस मन्दिरमा महिलाको प्रवेशमा वर्षौंदेखि लगाइएको बन्देजलाई असंवैधानिक ठहर गरी त्यहाँको सर्वोच्च अदालतले फुकुवा गरिदिएको छ । महिलाको रजस्वलाका कारणले सो मन्दिरमा महिला प्रवेशमा वर्जित थियो ।
यो समाचार सुन्दै गर्दा सारभुत समानतासँग मेलखाने र महिला भएकै कारण मन्दिरमा हुनेगरेका विभेदका घटना मेरा मानस पटलमा घुमिरहे । केही वर्षअघि म आफ्नो परिवारसँग सुदुरपश्चिमको बैतडीमा अवस्थित प्रख्यात त्रिपुरासुन्दरीको मन्दिरमा पूजा गर्न गएकी थिएँ । मन्दिरको प्रचलन थाहा नपाएर म मूल ढोकाबाट प्रवेश गर्न खोज्दा एक जना महिलाले मलाई ढोकाबाट प्रवेश गर्नबाट रोकिन् र मन्दिरमा झ्यालको आकारको देखिने अर्को स्थानबाट प्रवेश गर्न भनिन् । म छक्क परँे । पछि थाहा पाएँ त्यहाँ देवीको दर्शन गर्र्नेे महिलाको प्रवेशका लागि छुट्टै सानो ढोका बनाइएको रहेछ । देवीको मन्दिरमा महिला मूल ढोकाबाट प्रवेश गर्न नपाइने सुनेर र देखेर अचम्म परेँ । जिज्ञासा, कौतुहल, नभोगेको, नदेखेको नमीठो अनुभव लिएर घर गएँ र आफन्त महिलालाई घटना वृतान्त बतााएर सोधँे । प्रतिउत्तरमा बडो सहजरुपमा स्थानीय भाषामा जबाब दिनुभयो – हामी पुरुषभन्दा साना अथवा निम्न कोटीका हौँ त्यही भएर यो चलन चलेको हो । यो परम्परा हामीले स्वीकार गनुपर्छ भन्ने सुझाव पनि सँगै दिनुभयो । म अझै छक्क परे ।
त्यसै घटनालाई निरन्तरता दिने तर मेरो मानसपटलको क्यानभासमा नमेटिने गरी बसेको अर्को चित्र सम्झेँ । सोही मन्दिरको प्रांगणमा एउटा झुण्डमा केही वृद्धा देउकी महिला थिए । एक समयमा मन्दिरकै सम्पत्ति मानिने देउकीहरु बाहिर अलग्गै बसिरहेका थिए । देउकीको जीवन बारेमा धेरै कुरा त्यहीँ थाहा पाएँ । अनि अनुमान लगाएँ उमेर बढ्दै गएपछि अनुहार र यौवनमा खस्केका कारण उनीहरुको अधिकार पनि कटौती भएको हुनसक्छ वा अन्य विविध कारणले त्यसो भएको हुनसक्छ । ठ्याक्कै अनुमान लगाउन गाह्रो थियो । किनभने हाम्रो अनुमान जतिसुकै सत्य भए पनि धर्मका ठेकेदारले गर्ने व्याखामा नै समाजले मोहर लगाउँछ र सत्य गलत ठहरिन्छ ।
त्रिपुरासुन्दरी विगतमा देउकीमा रुपमा महिला देवीलाई चढाइने मन्दिर हो । महिलालाई भाकलका रुपमा मन्दिरमा चढाइने र मन्दिरका पुजारी तथा सरोकारवालाले इच्छाबमोजिम प्रयोग गर्ने ती महिलाको विगत कस्तो हँुदो हो ? सहज जीवन बाँचिरहेकी म सायद अनुमान पनि लगाउन सक्दिनथेँ । सामान्य घरको कठघरामा, सीमित व्यक्तिबाट नियन्त्रण हुँदा त सास फेर्न मुस्किल हुन्छ भने असीमित क्रूरताबाट शारीरिक र मानसिक यातना भोग्ने शहनशक्ति ती महिलाहरुले कताबाट उत्पन्न गर्थे होलान् ! सुदूरपश्चिमका अन्य मन्दिर पनि सम्झेँ जहाँ महिलालाई वस्तुसरह चढाइने कुचलन व्यापक थियो । ती देउकी महिलाको रजस्वलाले त्यहाँ के अर्थ राख्थ्यो होला ?
महिलालाई जन्मजातरूपमा पुरुषभन्दा सानो मान्ने समाजले सो मान्यतालाई साबित गर्न पटकपटक धर्मको सहारा लिँदो रहेछ । लैंगिक अध्यनमा पढेको यस्ता सैद्धान्तिक ज्ञानलाई त्यस्ता घटनाले अझ सूक्ष्मरूपमा बुझ्ने मौका दियो । त्यसैले समाजको सोचाइ समयको गतिसँगै अघि बढिरहेकोमा विश्वास गर्न सहज लाग्दैन । यहाँ “एक्स एक्स” क्रोमोजोमहरु मिलेदेखि नै संघर्ष गर्नुपर्ने । पहिलो छोरी जन्मिएपछि त्यसपछि कति छोरीहरुलाई तुहाउनुपर्ने हो भन्ने डरले प्रत्येक महिलाको मनमा जरा गाडेको समाज । जन्मिसकेपछि पनि प्रकृति प्रदत्त परिवर्तनलाई सहजरुपले लिन नदिने कस्तो समाजिक संरचना र सोबाट जन्मिएको तुच्छ मानसिकताका सिकार कहिलेसम्म महिलाले हुनपर्ने हो ?
रजस्वला महिला भएकै कारण अमानवीय व्यवहार भोग्न बाध्य पार्नेे एउटा अवस्था बन्दैआएको छ । यसविरुद्ध आवाज उठाउन खोज्दा धर्मकै आडमा वैज्ञानिक र व्यावहारिक तर्कहरु परास्त हुनुपर्छ । यो समाजमा जरा गाडेर बसेका अव्यावहारिक सामाजिक मान्यता, संरचनालाई परिवर्तन गर्न तयार नहुने मानसिकता हो । हाम्रो सामाजिक यथार्थ बनेको धर्म पितृसत्तालाई जीवित राख्ने एउटा अस्त्र बन्दै आएको छ । महिलालाई तिम्रो जन्म निम्न कोटीको हो र तल्लो स्तरको हो भनेर परिभाषित गर्न यस्ता अस्त्र बारम्बार प्रहार गरिन्छन् । फलस्वरूप, महिला पितृसत्ताबाट सृजित मान्यताबाट जलप लगाइएका अदृश्य राजनीतिको प्रतिकार गर्न सक्दैनन् । धर्मलाइ पितृसत्ताको पक्षपोषण गरिरहने बह्मास्त्र बनाइएको छ । पितृसत्ता पुरुषको सत्ता नभई पुरुष मानसिकतालाई मलजल गर्ने महिला पुरुष दुवैमा भएको मानसिकता हो । त्यसैले हाम्रो समाजमा महिलाले नै महिलामाथि गरेका अत्याचारका घटना थुप्रै देखिन्छन् ।
महिलालाई नियन्त्रणमा लिने बलियो र भरपर्दो माध्यम धर्मका चलनहरू बन्दै गए । हामी आफनो बच्चालाई ऊ जेसँग डराउँछ त्यसैलाई माध्यम बनाएर आफ्ना कुरा मनाउन वा त्रास देखाउन खोज्छाैं र सफल पनि हुन्छौँ । हो ठ्याक्कै त्यही तरिका पितृसत्तामा महिलामाथि थिचोमिचो गर्ने प्रवृत्तिमा पनि लागु हुन्छ । धर्मकै आडमा महिलामाथि विभिन्न प्रकारका हिंसा भइरहेका हुन्छन् । खासगरी उसको यौनिकतामा नियन्त्रण गर्न धर्मको सहारा लिइँदै आइएको छ । पुरुषले महिलाको यौनिक अधिकारमा विभिन्न तवरबाट नियन्त्रण गर्ने उदाहरणहरुले यस्ता सन्दर्भहरू प्रष्ट पार्छन् ।
रजस्वला महिलाको शरीरमा हुने प्राकृतिक क्रिया हो । तर, यसमा नराम्रो राजनीति गरिदै आएको छ । सबैभन्दा बढी मन्दिरमा । रजस्वला त प्रकृतिले महिलालाई दिएको सृष्टि गर्ने अनुमति अधिकार होइन र ? मेरी आमा रजस्वला नभइदिएको भए म कहाँ हुन्थे ? म रजस्वला नहुने भएको भए मैले सन्तान कसरी जन्माउन सक्थँे र ? रजस्वला पाप नै भए विभिन्न कारणले रजस्वला नहुने महिलालाई समाजले स्वीकार्छ त ?
आफ्नै वरपरका कतिपय मन्दिरमा दर्शनका लागि जाँदा पुजारीले महिलालाई प्रसाद टाढैबाट फाल्ने तर पुरुषको हातमै टक्र्याई दिने घटना सम्झँदा लाग्छ यो कस्तो ढाेंग हो । समाजमा कथित धार्मिक गुरुहरु यौन दुराचारका घटनाका कारण पटकपटक विवादमा परिरहन्छन् । यौन चाहना पूरा गर्न महिलाका जति शरीर भए पनि कम हुने तर महिलालाई प्रसाद बाँडने क्रममा छुँदा अशुभ हुने वाह ! हाम्रो समाज निर्माणका संरचना । महिलाको शरीर जसरी पनि पुरुष मानसिकता बमोजिम प्रयोग हुनुपर्ने ? यस्ता विभिन्न चलन÷ कुचलनका माध्यमबाट पुरुषले पितृसत्ताको फाइदा सँधै आफू लिन चाहन्छ र कतै यो माध्यम फुत्केला कि भन्ने डर पनि त्यत्तिकै देखिन्छ । त्यसैले सामाजिक संरचनाकै आडमा परिवर्तन विरोधी पनि भइरहन्छ । उच्चताग्रन्थी (सुपेरियरिटी कम्पप्लेक्स)को ताज पहिरिएर वास्तवमा न ऊ आफू मुक्त भई बाँच्न सक्छ न आफ्ना वरपरका महिलालाई नै बाँच्न दिइरहेको हुन्छ ।